-डा. उद्धव पुरी
धर्मको कुरा गर्दा बुद्धको धर्मलाई जति सरल र सहज बुझिन्छ अरु धर्मको बुझ्न सकिँदैन । हिन्दू धर्मको कुरा गर्ने हो भने धर्म ग्रन्थलाई भन्दा पनि व्याख्या गर्ने लोभी कर्मकान्डी ठेकेदार भनिनेहरुले भनेको जति र चाहेको जति सबै गर्न पाइन्छ र उनीहरुले पाप लाग्छ भनेको जति गर्न मिल्दैन, गरेमा समाजबाट बहिष्कार हुनुपर्छ । यो प्रचलन संसारका सबै धर्महरु मध्ये हिन्दू धर्ममा बढी छ । त्यसैले यो धर्ममा कुन सही र कुन गलत हो सर्वसाधारणले बुझ्दैनन् । बौद्ध धर्ममा पनि महायानी परम्परामा यस्ता धेरै कुराहरु छन् जहाँ बज्राचार्य र लामा गुरुहरुले आफू अनुकूल व्याख्या गर्दछन् ।
जुन बुद्धको मूल शिक्षासँग नमिलिरहेको पनि देखिन्छ । प्रसंग हिजो एक थेरवाद भिक्षुले मलाई यस्तै कुरा लेखी पठाउनु भयो । उहाँले गर्जुतन्त्र वज्राचार्य र धर्मोदय सभासँग जोडेर थेरवाद र भिक्षुहरुमाथि ज्यादती भइरहेकोले सचेत रहिदिन उपासक उपासिकाहरुलाई अनुरोध गर्नुभएको थियो । यो पनि हिंसा बिरुद्धकै आवाज हो । यो पनि विषयसँग जोडिएको छ । बौद्ध धर्म अर्थात यहाँ धर्मको अर्थ ज्ञान हो, अन्धभक्ति होइन । किनभने बुद्धले आफू भगवान नभएको र आफूले कुनै जादु र चटक पनि गर्न नसक्ने आफैँले बताउनु भएको छ । उहाँले आफूले प्राप्त गरेको ज्ञान पनि व्यक्ति विशेषलाई अनुभव गरेरमात्र स्वीकार्दा हुन्छ भन्नु भएको छ । त्यसैले बुद्ध धर्म भनेको अध्ययन र परीक्षणसँग जोडिएको छ जुन अरु धर्ममा जस्तो अन्ध परम्परामा आधारित हुनु पर्दैन । बौद्ध धर्म स्वतन्त्र चिन्तनको मार्ग हो र थेरवाद परम्परालाई बौद्ध धर्ममा उनैका अनुयायीहरु मानिन्छन् । उनीहरु बुद्धको शिक्षालाई सोही रुपमा अर्थाउन र व्यवहारमा प्रयोग गर्न चाहन्छन् जुन कर्मकान्डी परम्परामा धेरै मेल खादैन । बुद्धको जीवनमा जोडिएको एउटा कथन यहाँ सान्दर्भिक हुने ठान्दछु । बहुजन हित र बहुजन सुखसँग जोडिएको बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धसँग कसैले सोधेछ कि उत्तम धर्म भनेको के हो ? बुद्धले सहज उत्तर दिएछन् कि जुन धर्म दुःख र दुःखमुक्तिको लागि हुन्छ, त्यही धर्म उत्तम हो । बुद्धले त्यसको व्याख्या पनि गरेका छन् । तर, त्यसलाई यहाँ सबै व्याख्या गरिराख्नु आवश्यक ठान्दिन । आजको विषय एक थेरवादी भिक्षुले सचेतनाको लागि पठाउनु भएको अनुरोध र यौन हिंसासँग जोडेर व्याख्या गर्न खोज्दैछु । किनभने अहिले नेपालमा महिला हिंसाका कुरालाई लिएर अभियान चलाइरहेको समय पनि हो ।
गौतम बुद्ध आफ्नो धर्म प्रचारको क्रममा धेरै स्थानमा घुम्नुभयो । एक दिन उहाँ कुनै गाउँमा पुग्नुभयो । बुद्ध अरु धर्ममा जस्तो जात–पात र भेदभावमा विश्वास नगर्ने भएका कारण उनी सबै मानव वा प्राणीले आफ्नो शिक्षा लिउन् भन्ने चाहनुहुन्थ्यो । जुन गाउँँमा उहाँ पुग्नु भयो त्यसदिन त्यस गाउँँको एक महिलाले बुद्धलाई भोजन दान गर्ने निधो गरिन् र बुद्धको नजिक पुगिन् । तर उनलाई ती गाउँवासीहरुले बुद्धको समीपमा जान रोके । उनीहरुले अब ठुलो बिपत्ति पर्नेभयो भनी खैलाबैला मच्चाए । बुद्धलाई उनीहरुले तत्कालै भन्न थाले कि भगवान ती महिलाको हातबाट भोजनदान लिनु भनेको ठुलो अपराध हुन्छ र अनर्थ पर्न सक्छ भने । बुद्धलाई अनौठो लाग्यो र उनले उनीहरुसँग सोध्नुभयो किन के भयो र ती महिलाको हातबाट मैले भोजन नलिनु । उनीहरु सबैले एकै स्वरमा भने भगवान ती महिला एक वेश्या हुन् र उनले यो समाजलाई पूरै बदनाम गरेकी छिन् । उनलाई त यो समाजबाट निकाल्नु पर्दछ । ती महिलाको बारेमा धेरैले धेरै कुरा गरे । बुद्धले लामो समय दिएर सबैको कुरा सुने । सबैले अब बुद्धले ती महिलालाई कुनै कारबाही गर्ने निर्णय सुनाउँछन् भन्ने ठाने भने ती महिला पनि आफ्नो दैनिकीको विषयलाई लिएर ठुलो त्रासमा परिन् । म माथि अब ठुलै बज्रपात हुनेभयो भनेर उनले सोचिन्, म बेकारमा बुद्धको समीपमा आएछु, नआउनु पर्ने रहेछ ।
सबैलाई शान्त रहन आग्रह गर्दै बुद्धले आफ्नो सन्देश दिन थाल्नुभयो जहाँ समाजका सबै मान्यजनहरु र उनीहरुले अपराधीको रुपमा पुष्टि गर्न खोजेको महिला समेत थिइन् । महिला निरीह बनेर कामी रहेकी थिइन् । बुद्धले आफ्ना केही नैतिक ज्ञानगुनका कुरा गरेर ती महिलालाई सोध्नुभयो कि के उनीहरुले तिमी माथि लगाएको आरोप सही हो । ती महिला नाजवाफ भइन् अर्थात आफू वेश्या भएको स्वीकारिन् । अनि बुद्धले त्यहाँ भेला भएको त्यही समाजमा प्रश्न राख्नुभयो कि यिनी कुन गाउँँकी महिला हुन् । उनीहरु मध्ये कसैले भन्यो यही गाउँकी हुन् । बुद्धले फेरि उनीहरुलाई प्रश्न गर्नुभयो कि यी महिलासँग सहबासका लागि को र कहाँका मानिस आउछन् ? बुद्धको यस प्रश्नको उत्तर दिन कोही तयार भएनन् र मौन बसे । बुद्धले धेरै पटक सोध्नुभयो, कोही बोलेनन् । अन्त्यमा बुद्धले तिनै महिलालाई सोध्नुभयो । तर उनी डरले जबाफ दिन सकिनन् । बुद्धले धेरै जोड गरेपछि उनी सुस्तरी बोलिन् कि यही गाउँँका मानिसहरु मकाहाँ आउँछन् । यसबेला गाउँका मान्यजनहरु सबै डराए कि कतै ती महिलाले आफ्नो नाम पो लिने हो कि भनेर । ज्ञानी बुद्धले सभाको त्यो भाव बुझेपछि एकदमै सरल र सहज तरिकाले ती मान्यजनहरुलाई भन्नुभयो कि यी महिला पनि यही गाउँँकी रहिछन् र उनीसँग सहबासको लागि जाने पनि यही गाउँका मानिसहरु रहेछन् । अब भन्नुहोस् यी महिलालाई कसले वेश्या बनाएको हो र वेश्याको अर्थ के हो । यी महिलालाई तपाई पुरुषहरुले नै आफ्नो घरको महिलालाई झैँ व्यवहार नगरी आफ्नो उपभोगको साधन बनाउनु भएको रहेछ । यी महिला नभएको भएपनि तपाईहरु अरु कुनै महिलालाई त्यही स्थानमा राख्नु हुने रहेछ । ती महिलाकोमा नजाने चाहिँ को को हुनुहुन्छ होला त भनी फेरि प्रश्न राख्दा कोही पनि बोल्न सकेनन् र सबै निहुरिएर मौन बसे । सभा ज्यादै मौन बन्यो । सबैले बुद्धको फरक र यथार्थ धारणा सुनेर नाजवाफ बने । बुद्धले उनीहरु सबैलाई सम्झाउँदै आफ्नो शिक्षा दिन थाल्नुभयो । उहाँको निचोड थियो कि यी महिला पनि तपाईहरुको घरकी आमा, श्रीमती र छोरी जस्तै हुन् । उनी जन्मँदै वेश्या बनेर जन्म लिएकी हैनन् । मानिस जन्मले कोही पनि जात–जाति र वर्गको हिसाबमा जन्मेको हुँदैन । उनलाई उचनिच र यो दैनिकीमा ल्याउने काम अन्त वा अरु कसैबाट नभएर यही समाजले बनाएको हो । बुद्धको यस्ता कुरा सुनेपछि सबै उपस्थितहरु मौन नै रहिरहे । बुद्धले उनीहरुलाई सुझाव दिनुभयो कि आजको दिनबाट तपाई गाउँँबासी उनीकहाँ त्यो अभिलाषा राखेर नजानुहोस् । भोलिदेखि ती महिला वेश्या बन्नु पर्दैन । त्यसैले उनलाई वेश्या बनाउने र अपमानित जीवनयापन गर्न बाध्य पार्ने तपाईहरु नै हो, ती महिलाको कुनै दोष छैन भनिदिए । सबे मौन भए र आफू आफूमै आत्मामन्थन गर्न थाले । बुद्धको शिक्षालाई कुनै कोणबाट पनि नकार्न सकेनन् । अन्तत बुद्धले भन्नुभयो कि मेरा लागि यी महिला तपाईहरु र तपाईहरुको घरमा रहेकी महिला भन्दा फरक छैनन् । उनको पवित्र सोच र चाहना अनुसार म आज उनको हातबाट दान हुने भोजन ग्रहण गर्दछु । किनभने यहाँ उनको कुनै दोष पनि छैन । सबैले बुद्धको कुरालाई स्वीकारे । ती महिला पनि डरमुक्त भइन् र आफू पनि समाजको एक भद्र महिला बन्न पुगिन् ।
बुद्धको शिक्षा हिंसारहित हो र हिंसा नगर्नु भन्ने बुद्धको शिक्षा हो । समाजमा केही न केही र कतै न कतै हिंसा भइरहन्छ । जसका पछाडि बुद्ध शिक्षा र ज्ञानको कमी छ । हुन त संसारका सबै धर्मले हिंसालाई स्वीकार्दैन, यो पनि सत्य हो । हिंसाका धेरै प्रकार मध्ये महिला हिंसाको कुरा त्यो पनि यौनसँग जोडिएर आउने वा उठाइने गरिन्छ । तर त्यस प्रकारको हिंसा पुरुषमाथि पनि हुन्छ । प्राकृतिक स्वरुपले महिला र पुरुषबीचको स्वभाव र अर्थ भिन्न छ । समाजिक व्यवहारमा यौनबिना समाज व्यवस्थित बन्न पनि सक्दैन । यौन प्राकृतिक हो भने आशक्ति त्यसको बाधक हो । यो अज्ञानी पुरुष र महिला दुबैमा हुन्छ । कतै बढी कतै कम, त्यो बेग्लै कुरा हो । समाज त्यसको मूल जिम्मेवार हो । जन्मको आधारले महिला र पुरुष दुबै निरीह र कठैबरा हुँदैनन् । समाजलाई सभ्य र भव्य बनाउने कुरामा दुबै समान हुन् । त्यसैले दुबैमा यो सचेतना हुनु जरुरी छ । बरु अहिलेको कतिपय कानूनले यसमा बिभेदता ल्याउन खोजेको देखिन्छ । स्वतन्त्रताको अर्थ त्यसको दुरुपयोग गर्न पाउनुपर्छ भन्ने पनि हुनु हँुदैन । समाजमा यस्ता बिभेदलाई प्रश्रय दिने गतिविधि दुबै प्रदर्शन गर्नु हुँदैन । कसैलाई आशक्तिको नजिक लैजाने कार्य गर्नुपनि हुँदैन । यसका अनेक अर्थ र कारण छन् । आफू अनुकूल पुरुष र महिलाले बुझ्नु पर्दछ । त्यसैले बुद्धको पञ्चशीललाई र बुद्धले प्राप्त गरेका चार आर्य सत्यलाई हुबहु व्यवहारमा लागू गर्न नसकेपनि अध्ययन गरेर केही ज्ञान लियो भने समाज धेरै सुसंस्कारित हुन्छ र सबै प्रकारका हिंसा कम हुँदै जान्छन् ।
-uddhab.puri@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies