काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एक वर्षपछि स्थायी समितिको बैठक बोलाएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले मंसिर २९ गते काठमाडौंमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।
नेकपाको स्थायी समितिको बैठक गत वर्ष पुसदेखि बस्न सकेको थिएन । पछिल्लो समय नेताहरूले पार्टीभित्र समसामयिक राजनीतिक विषयमा छलफल गर्न स्थायी समिति बोलाउनु पर्ने माग गर्दै आएका थिए । सचिवालय बैठक बस्नुअघि २७ गते नेकपा सचिवालय बेठक बस्नेछ । स्थायी समिति बैठकले यसअघि सचिवालयले गरेका निर्णय अनुमोदन गर्ने छ ।
यसैबीच आजको बैठकले उपनिर्वाचन भएका ठाउँबाट समीक्षा प्रतिवेदन पठाउने समय थप गरेको छ । यसअघि सचिवालय बैठकले मंसिर २२ गतेसम्म समीक्षा रिपोर्ट पठाउन निर्देशन दिएपनि केही जिल्लाबाट रिपोर्ट नआएकोले पाँच दिन थप गरिएको हो । बैठकले पाँच दिनभित्र अनिवार्य रूपमा उपनिर्वाचनको रिपोर्ट पेश गर्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
रिपोर्ट प्राप्त भएपछि महासचिव विष्णु पौडेलले अर्को सचिवालय बैठकमा पेश गर्ने प्रवक्ता श्रेष्ठले बताए । बैठकले केन्द्रिय आयोग र विभागहरुको पूर्णताका लागि प्रमुख र उपप्रमुखलाई सात दिन भित्र महासचिव विष्णु पौडेलसमक्ष प्रस्ताव पेश गर्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सबै आयोग र विभागहरुका प्रमुख र उपप्रमुखले प्रस्ताव पेश गरेपछि आगामी सचिवालय बैठकले छलफल गरेर पूर्णता दिने निर्णय भएको श्रेष्ठले बताए । बैठकले कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजिनामा अस्वीकार गर्दै पूर्ववत काममा फर्किन निर्देशन दिएको छ । बैठकले विधान संशोधनका लागि स्थायी कमिटिमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies