सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको जानकारी दिए । मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओली मंसिर १८ सम्म शिक्षण अस्पतालको आईसीयूमा बसेका थिए । शल्यक्रिया गरिएका घाउ निको पार्न र त्यसअवधिमा बाह्य संक्रमण हुन नदिन प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखिएको थियो ।
मिर्गौलाले काम नगरेपछि नियमित डायलासिस गराउँदै आएका प्रधानमन्त्री ओलीको शल्यक्रिया गर्नु परेकाले यसबारे जनचासो स्वभाविक थियो । त्यही चासोलाई सम्बोधन गर्न विभिन्न माध्यमबाट स्वास्थ्य जानकारी गराउँदै आएको प्रधानमन्त्रीको सचिवालयले सोमबार पत्रकार सम्मेलन गर्यो । देशको कार्यकारी प्रधानमन्त्री र सत्तारुढ दलकै अध्यक्षको स्वास्थ्यबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलन सकारात्मक पहल थियो । तर, पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री सचिवालय मिडिया प्रति नै आक्रोशित देखियो ।
मिडिया सामग्रीका विषयलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले असन्तुष्टि जनाए । प्रधानमन्त्रीको स्वास्थ्यबारे अनेकन अड्कलबाजीका समाचार आएकोमा उनको असन्तुष्टि थियो । उसोत, मिडिया र विश्लेषकहरुप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि र आलोचना पुरानै हो । प्रधानमन्त्री ओलीको राजनीतिक व्यक्तित्वको विकास नै त्यसरी भयो । मूलधारे मिडिया र देशको संस्थापनप्रति आलोचनात्मक दृष्टिकोणमा आधारित नीति तथा कार्यक्रम लिएर बनेकै पार्टीमा आवद्ध भएकाले ओलीको असन्तुष्टिलाई अस्वभाविक मान्न सकिदैन ।
तर, आफैंले संस्थापनको नेतृत्व गरिरहँदा समेत मिडियाप्रति असन्तुष्टि हुनु चाहिँ प्रधानमन्त्रीको व्यक्तित्वलाई सुहाउँदो होइन । विशेषगरी विश्लेषकहरुप्रति प्रधानमन्त्री ओलीको आपत्ति चर्को छ । प्रतिपक्षी दलका नेता हुँदा जस्तो शैली अपनाउथे, कार्यकारी पदमा रहँदा पनि मिडियाप्रति उस्तै असन्तुष्टि छ, यसले प्रधानमन्त्री ओली पूर्ण प्रेस स्वतन्त्रता प्रति कति प्रतिबद्ध छन् भन्ने समेत अनुमान लगाउन गाह्रो पर्दैन ।
ओलीको स्वभाव र व्यक्तित्व निर्माण जसरी भए पनि उनका सचिवालयले जस्तो प्रतिक्रिया जनाइरहेका छन्– त्यो बिल्कुल उचित छैन । किनभने, देशको कार्यकारीको स्वास्थ्य आमचासोको विषय हो भने मिडिया सामग्री पनि हो । यसमा कमजोरी प्रधानमन्त्री ओलीका सचिवालयकै हो । यदि, उचित समय र आवश्यक जानकारी मिडियाले पाएका थिए भने अड्कलबाजीको समाचार नआउन सक्थ्यो । त्यसैले मिडियाप्रति प्रधानमन्त्री ओली र उनका सचिवालय कहिलेसम्म रिसाइरहने बातावरण बनाउने भन्ने विषय स्वयम् बालुवाटारमै निर्भर छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies