काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पुष ४ गतेका लागि संसद बैठक आह्वान गरेकी छिन् । मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुष ४ गते दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिए ।
‘मिति २०७६ साल मंसिर २४ गते मंगलबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०७६ साल पुष ४ गते शुक्रबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’, प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संसदको चौथो अधिवेशन गत असोज २ गते सकिएको थियो । संसद अधिवेशन सकिएलगत्तै तत्कालिन सभामुख कृष्णबहादुर महरा जवर्जस्ती करणी उद्योगमा मुछिएपछि राजीनामा दिएका थिए । हाल प्रतिनिधिसभा सभामुखविहीन छ । सभामुख नहुँदा उपसभामुखको अध्यक्षतामा बैठक बस्न सक्ने प्रावधान छ । अब बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन् ।
संसद सञ्चालनमा आएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ ।अधिवेशनमा अघिल्लो वर्ष दर्ता भएका विधेयकमा समेत छलफल चलाइने तयारी छ । संसदको दोस्रो अधिवेशनबाट थाति रहेका वीमा र नागरिकता विधेयक यसपटकको अधिवेशनबाट पारित गर्ने तयारी गरिएको छ । २५ वटा विधेयक मध्ये तेस्रो अधिवेशनमा दर्ता भएका १३ र चौथो अधिवेशनका १० वटा विधेयक माथि पनि अधिवेशनमा छलफल हुनेछ । नयाँ विधयेक भने संसद सचिवालयमा दर्ता भएका छैनन् ।
प्रतिनिधिसभामा उत्पन्न भएका दुईवटा विधेयक राष्ट्रियसभामा पठाइएको छ । अघिल्लो अधिवेशन अन्तपछि तीन महिनाको अवधिमा कुनैपनि समितिले प्रतिवेदन वुझाएका छैनन् । सभामुख नहुँदा समितिमा उत्पन्न विवादीत बनेका विधेयक अलपत्र रहँदा संविधान कार्यान्वयनका लागि महत्वपुर्ण विधयेक अब हुन लागेको अधिवेशनबाट पारित हुनेमा शंका उत्पन्न भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies