काठमाडौ : नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख दिन माग गरेको छ । यस्तै रजत पदक विजेतालाई १५ लाख र कास्य पदक विजेतालाई १० लाख दिन पनि तरुण दलले माग गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज एक विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।
तरुण दलले सागमा खेलकुद मन्त्रालय र खेलकुद परिषद (राखेप)ले भ्रष्टाचार गरेको आरोप पनि लगाएको छ । तरुण दलले खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई बर्खास्त गर्न माग गरेको छ । दुवैलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी कारवाही गर्न तरुण दलले माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेकपा सरकारका भ्रष्ट, नालायक, अपराधीका संरक्षक मन्त्रीहरुलाई साग खेलकुदको रकमबाट दौरा सुरुवाल खरिद गर्नुले देशकै बदनाम भएको ठहरसहित नेपाल तरुण दलको ध्यान आकर्षण भएको छ । नेपाली खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले मन्त्रीहरुको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies