बैतडी : लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु गरिएएको छ । विसं २०७५ को असारमा कालोपत्र गरिसक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल १६ महिनापछि कालोपत्रको कार्य शुरु गरिएको हो ।
कालोपत्रको काम अबका २० दिनमै सकिने निर्माण कम्पनी ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीका इञ्जिनीयर पुरन रावलले बताए । वर्षा नभई मौसमले साथ दियो भने २० दिनभित्रै कालोपत्रको काम सकिने उनको दाबी छ । लामो समयपछि विमानस्थल कालोपत्रको काम अगाडि बढेपछि स्थानीय बासिन्दा खुशी भएका स्थानीय पत्रकार वसन्त विष्टले बताए ।
विमानस्थल कालोपत्रपश्चात् अन्य संरचना बनाउन अझै समय लाग्नेछ । विमानस्थलको ५९० मिटर लम्बाइ र २० मिटर चौडाइ रनवे कालोपत्र गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिनेछ । यसका लागि करीब मूल्य अभिवृद्धि करबाहेक ११ करोड २९ लाख रुपैयाँको लागतमा काम भइरहेको छ ।
पाटनमा विसं २०३२ मा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।
उक्त विमानस्थल सञ्चालन भएमा दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सजिलो हुने विश्वास गरिएको छ । विमानस्थल सञ्चालनमा आएपछि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्ने बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies