कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : सरकारले नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको रिक्त सदस्यमा तीन जना पर्यटन व्यवसायीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको सदस्य पदमा रामप्रसाद सापकोटा, राजेन्द्र बहादुर लामा र ऋषिराम भण्डारीलाई नियुक्त गरेको हो ।
यो नियुक्तिले माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ । बोर्ड सदस्य नियुक्तिसँगै १६ माघदेखि नै रिक्त रहेको बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया पनि अघि बढ्ने भएको छ । बोर्ड सञ्चालक समितिले बोर्डको सीईओ नियुक्त गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको समेत जानकारी दिएको छ ।
काठमाडौं : स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्तर्गत होण्डा कारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडी खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुविधासहित स्कीम निकालेको छ ।
जस अन्तर्गत २०५ डाउन पेमेन्ट, १०.४९५ ब्याजदर, एक आर्थिक वर्षको ट्याक्स फ्री, एक आर्थिक वर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुटसहित ग्राहकको सुविधालाई ध्यानमा राखी रोड साइड असिस्ट पनि फ्री दिने घोषणा गरेको जनाएको हो । यो अफर चैत १ गतेबाट लागू गरिएको र आगामी वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघको २५औँ वार्षिक साधारण सभा बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ । साधारण सभा शुक्रवारदेखि शुरु हुने महासंघले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
२५औँ वार्षिक साधारण सभा चैत्र १६ र १७ गते हुने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव रोशन दाहालले साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने जानकारी दिए । साथै उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री धनबहादुर बुढाको उपस्थिति रहनेछ ।
साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु राखिनेछन् । २५औँ साधारण सभा मुलुकका समस्त निर्माण व्यवसायीहरुको सीप, दक्षता, क्षमता र गुणस्तरीयता अभिवृद्धि गर्न महत्वपूर्ण हुने लक्ष्य लिएको दाहालले बताए । उनले निर्माण उद्योगमा देखिएको चुनौतीका बारेमा घनिभूत छलफल गर्दै निर्माण उद्योगको विकास विस्तारका लागि साधारण सभाले गरेका महत्त्वपूर्ण निर्णयहरु लिपिबद्ध गर्दै घोषणा पत्र जारी गर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले साधारण सभामा मुलुकभरबाट एक हजार भन्दा बढी पर्यवेक्षक र प्रतिनिधिहरुको उपस्थिति रहने बताए । उनले निर्माण उद्योगले अहिले भोगिरहेको समस्या समाधान गर्नु नै महासंघको मुख्य चुनौती रहेको बताए । उनले सरकारले आफूले गर्ने निर्णयहरु समयमा नगर्ने र राजनीतिक नेतृत्वहरु परिवर्तन हुने बित्तिकै सरकारी कर्मचारीको परिवर्तन हुने, योजना प्रमुख परिवर्तन हुने र गैर जिम्मेवार रुपमा निर्णयहरु हुने कारणले गर्दा काम समयमा सम्पन्न हुन नसकेको जिकिर गरे ।
काठमाडौं : मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता हुने ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजकले ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।
ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामनहरु इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ । ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्सको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिने ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।
ललितपुर चेम्बर अफ कमर्सले इण्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिसँगका सहकार्यमा पहिलो पटक ललितपुरको मुख्यकेन्द्र बिन्दु जावलाखेल फुटबल ग्राउण्डमा आयोजना गर्न लागेको एक्स्पोमा मेड ईन ललितपुरको पेभिलिन रहने छ । जसमा ललितपुरमा उत्पादन हुने मौलिक निकासी योग्य समानहरु र दैनिक उपभोग्य सामानहरुका अतिरिक्त आफ्नो ब्राण्डको परिचित गराउने र ललितपुरको विभिन्न वडाहरुबाट उत्पादन हुने विभिन्न सामग्रीहरुको प्रर्दशनी रहने अध्यक्ष शाक्यले जानकारी दिए ।
साथै, एक्स्पोमा सहभागी विभिन्न छिमेकी मित्र राष्ट्रहरुका प्रतिष्ठित व्यवसायीहरुको सहभागिता रहने जनाइएको छ । एक्स्पोले सार्क राष्ट्रबीचको कला संस्कृति र रितीरिवाज आदान प्रदान गर्न उत्कृष्ट भुमिका खेल्न र आर्थिक गतिविधिमा सहयोग पुर्याउने अमूर्त सम्पदा र कला संस्कृतिको प्रस्तुतिमा कुमारी नाच, भैरव, योगिनी, सप्तलोचनी र ताराको नृत्य प्रस्तुत गरिने इन्ट्रोडक्सन ट्रेड शोका म्यानेजिङ डाइरेक्टर सुमन महर्जनले बताए ।
पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागिता रहनेछ । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको छ । सार्क मुलुकमा निर्मित सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरुले अन्य मुलुकमा प्रभाव जमाएको र मेलामार्फत सहभागी देशहरुको उत्पादनको प्रवद्र्धनमा सघाउ पुग्ने छ ।
मेलाको आकर्षणको रुपमा खानाको विभिन्न देशका विभिन्न स्वादका फुड स्टल, साना बालबालिकाहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्याण्ड, टर्की, मलेसिया, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको करिब एक सय भन्दा बढी स्टलहरु रहने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए । मेलाको आकर्षणको रुपमा ललितपुरमा उत्पादित काठ बाट बनाइएका कलाकृर्तिहरु, मूर्ति, कार्पेट र कपडाको जीवन्त प्रदर्शन गरिने छ ।
विराटनगर : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विराटनगरमा अवस्थित मानव सेवा आश्रमलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।
घरबारविहिन, बेसाहारा, अशक्त, असहाय, अनाथ सडक आश्रित करिव एक सय ३० जना नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्री लगायत अन्य आवश्यक सामाग्रीहरु उपलब्ध गराएको जनाएको छ ।
सेवा आश्रममा शुक्रबार आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले मानव सेवामा समर्पित आश्रम सञ्चालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सानै भएपनि सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महसुस भएको कुरा व्यक्त गरे । उनले दीनदुःखी बेसाहाराहरुलाई सानो भएतापनि सहयोग गरेर समाजप्रतिको उत्तरदायित्वबोध गर्न पाँउदा हर्षित भएको पनि बताए ।
काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अंकले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहकोे शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कुल ६६ लाख १४ हजार चार सय ४५ कित्ता शेयर रु दुई अर्ब ६५ करोड ३३ लाख ४९ हजार चार सय ६८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १९ करोड ३७ लाख ६२ हजार आठ सय ६९ बराबरको कारोबार भयो ।
त्यस्तै, गुर्खाज फाइनान्स रु १६ करोड १९ लाख ८९ हजार पाँच सय ५८, शिवम् सिमेन्ट रु १५ करोड ३९ लाख ३३ हजार छ सय ४९, सोनापुर मिनरल्स रु ११ करोड १८ लाख ५३ हजार एक सय ६८ र पिपल्स पावर रु सात करोड तीन लाख २३ हजार एक सय ७९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट नौ दशमलव ९६, हिमालयन हाइड्रोपावर आठ दशमलव ७३, सामलिङ पावर कम्पनी आठ दशमलव शून्य सात र पिपल्स पावरका लगानीकर्ताले सात दशमलव ४४ प्रतिशतले कमाएका छन् ।
उन्नति सहकार्य लघुवित्त १०, धवलागिरि लघुवित्त १०, हिमालयन बैंकको म्युचुअल फण्ड छ दशमलव ८०, जोशी हाइड्रोपावर तीन दशमलव ३४ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव २८ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम आईएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, बैंकको जोखिम व्यवस्थापन नीतिलाई अन्तर्राष्ट्रियस्तरमा कायम जोखिम व्यवस्थापन अभ्यास अनुरुप परिमार्जन गर्नेलगायतका विषयहरुमा परामर्श प्रदान गर्नेछ ।
आईएफसीले जलवायु वित्त क्षमता निर्माणका लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरुमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ । साथै आईएफसीले ग्लोबल आइएमई बैंकलाई स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनाहरुलगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा पनि विशेष परामर्श दिनेछ ।
आईएफसीको यस सम्भौताअनुसारको परामर्शले नेपालमा जोखिम व्यवस्थापन, लैंगिक वित्त तथा जलवायु वित्त क्षेत्रमा नयाँ आयाम थपिनेमा विश्वास रहेको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
काठमाडौं : गोखार्ज फाइनान्स लिमिटेडको ग्लोबल मनी वीक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय संस्थाका सातै प्रदेशमा रहेका १८ शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झण्डै एक हजार विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र वित्तीय चेतना तथा बैंक वित्तीय संस्थाले दिने सेवा र यसमा ग्राहकले अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी दिइएको छ ।
हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा समेत वित्तीय चेतनालाई वृद्धि गर्दै समाजमा बैंक वित्तीय संस्थाप्रति विश्वास दिलाउन अन्य यस्तै प्रकारका कार्यक्रमहरु आयोजना गर्ने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले जानकारी दिए ।
काठमाडौं : गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई २०८१ वैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंकमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेको बैंकले जनाएको छ । उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न थिए ।
बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुने भएसँगै २०८१ वैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।
साथै सोही बैठकले बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई २०८० चैत १५ गतेदेखि लागू हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा रु एक लाख २७ हजार नौ सय तोकिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलाको रु एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ ।
बुधबार प्रतितोला रु एक हजार चार सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार पाँच सय १० निर्धारण गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies