काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कायम मुकायम (कामु) सिइओमा देबेन्द्ररमण खनाल भएका छन् । प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो आठ वर्षे कार्यकाल पूरा गरी सेवाबाट निवृत्त भएपछि खनालले चैत २९ गतेबाट बैंकको कामु सिइओको जिम्मेवारी पाएका हुन् ।
बैंक व्यवस्थापनको तर्फबाट बुधबार एक समारोहको आयोजना गरेर प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बिदा गरेको छ । उक्त समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं : मेटलाइफ नेपालले आफ्नो जीवन बीमा सचेतना कार्यक्रमलाई थप वित्तीय सेवाहरु नपुगेका समुदायहरुमा विस्तार गर्ने भएको छ । कम्पनीले दमक, लहान, जनकपुर, कटारी, बेशीसहर, रैनास नगरपालिका लमजुङ, नवलपुर, बारा, बर्दघाट, पाल्पा, सल्यान, दैलेख, जुम्ला, कैलाली र इलामका विभिन्न समूहहरुमा वित्तीय सचेतना प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
कार्यक्रममा सहभागीहरुले अन्तरक्रिया र जानकारीमूलक सामग्रीहरुमार्फत् जीवन बीमाको महत्व र फाइदाहरुको बारेमा शिक्षा प्राप्त गर्नसक्ने जनाइएको छ । साथै सहभागीहरुले सो कार्यक्रमबाट आफ्नो र परिवारको सम्पत्ति सुरक्षित गर्न, आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न र अप्रत्याशित चुनौतीहरुलाई आत्मविश्वासका साथ व्यवस्थापन गर्न आवश्यक ज्ञान र सीप प्राप्त गर्नसक्ने अपेक्षा कम्पनीले लिएको छ ।
काठमाडौं : कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा क्यासब्याक अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले २०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने छन् । साथै, क्यूआर भुक्तानीमार्फत् कारोबार गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले पनि सो अफरको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।
सो योजना २०८१ वैशाख १ गते बिहान ८ः०० बजे देखि राति ११ः५९ बजेसम्म लागू हुने बैंकले जनाएको छ । साथै तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलो चालिस जना कार्ड प्रयोगकर्ता र पहिलो चालिस जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले क्यासब्याक प्राप्त गर्न सक्नेछन् । ‘नयाँ वर्षको शुभारम्भमा हामी हाम्रा ग्राहकहरुलाई यो विशेष क्यासब्याक अफर प्रदान गरेर नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छौँ, यसले ग्राहकहरुमा डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुन प्रोत्साहन गर्नेछ’, बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले भने ।
काठमाडौं : सानिमा जिआइसी इन्स्योरेन्सले शेयरबजारमा साढे २ करोड रुपैयाँ लगानी थप गरेको छ । कम्पनीले गत आवमा मात्रै दुई करोड ६१ लाख रुपैयाँ लगानी थपेको हो । गत आर्थिक वर्षमा कम्पनीले सूचीकृत कम्पनीको शेयरमा कुल तीन करोड तीन लाख ३७ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा छ सय १९.८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले सूचीकृत कम्पनीको शेयरमा जम्मा ४२ लाख १४ हजार रुपैयाँ मात्रै लगानी गरेको थियो ।
गत आवमा कम्पनीले २० वटा कम्पनी र तीनवटा म्युचुअल फण्डको इकाईमा लगानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले जम्मा पाँच वटा कम्पनीको शेयर र दुईवटा म्युचुअल फण्डको इकाईमा लगानी गरेको थियो । कम्पनीले सर्वाधिक साना किसान विकास लघुवित्तको शेयरमा लगानी गरेको छ । गत आवमा कम्पनीले सो संस्थाको तीन हजार सात सय ७३ कित्ता शेयरमा ३३ लाख ९१ हजार रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, दोस्रोमा डिप्रोक्स लघुवित्तको शेयरमा २९ लाख सात हजार रुपैयाँ लगानी गरेको छ । जुन यो लगानी अघिल्लो आवको तुलनामा दुई सय नौ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले उक्त संस्थाको शेयरमा जम्मा नौ लाख ४० हजार रुपैयाँ मात्रै लगानी गरेको थियो । यसका साथै कम्पनीले सोल्टी होटलको शेयरमा २५ लाख ४६ हजार, सिटिजन्स सुपर–३० को इकाईमा २५ लाख रुपैयाँ, एनआइसी एशिया लघुवित्तको शेयरमा २३ लाख ६९ हजार रुपैयाँ, मेरो माइक्रोफाइनान्सको शेयरमा २३ लाख ३४ हजार रुपैयाँ र माछापुच्छ्रे बैंकको शेयरमा १८ लाख ५४ हजार रुपैयाँ लगानी गरेको छ ।
काठमाडौं : एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र तीन दशमलव छ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो । बैंकले बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक’ (एसियाली विकास परिदृष्य) २०८० सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०७९/८० को तुलनामा एक दशमलव नौ प्रतिशतले वृद्धि भई नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको जनाएको छ ।
नेपाल सरकारको मौद्रिक नीतिमा क्रमिकरुपमा लचकता अपनाउँदै उपभोक्ता र लगानीकर्ताको विश्वास जित्ने र पछिल्लो छ महिनामा पुँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढेको बैंकले स्पष्ट गरेको छ । बैंकले कर्जा क्षेत्रमा देखिएको सहजता, ब्याजदरमा आएको गिरावट, पर्यटन तथा कृषि क्षेत्रको सुधार एवं निर्माणाधीन केही महत्वपूर्ण जलविद्युत परियोजनाको उत्पादन शुरु भएसँगै औद्योगिक क्षेत्रमा परेको सकारात्मक प्रभावका कारण नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ ।
कार्यक्रममा एडिबी नेपालका प्रमुख अर्थशास्त्री इयान हासिनले विश्वअर्थतन्त्रमा देखिएको शिथिलतका कारण नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको पर्यटन तथा विप्रेषण क्षेत्र प्रभावित हुनसक्ने जोखिम रहेको चर्चा गर्दै गरिबी निवारण, जलवायु परिवर्तन, ऊर्जा क्षेत्रसहित समृद्ध एवं समावेशी नेपालका पक्षमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । एडिबी नेपालका वरिष्ठ अर्थशास्त्री मानवर खड्काले पछिल्लो समय दक्षिण एसियाली मुलुकअन्तर्गत भारत र बंगलादेश उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको जानकारी दिँदै बाँकी अन्य देशको तुलनामा नेपालको अर्थतन्त्र सन्तोषजनक रहेको बताए ।
एडिबीका वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले बाह्य लगानीमा भर नपरी विकास निर्माणसहित पुँजीगत खर्चको व्यवस्था देश स्वयंले गर्नुपर्ने धारणा व्यक्त गर्दै नतिजामुखी नीतिनियमसहित संरचनागत रुपान्तरणतर्फ नेपालको ध्यान जानुपर्ने सुझाव दिए । बैंकले पेट्रोलियम पदार्थको मूल्यमा देखिएको गिरावट र भारतको मुद्रास्फीति न्यूनीकरणसँगै नेपालको औसत मुद्रास्फीति गत आर्थिक वर्षको ७ दशमलव ७ को तुलनामा चालु आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । यसैगरी चालु आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०/८१ मा चालु खाता घाटा कूल ग्राहस्थ उत्पादनको शून्य दशमलव ७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । सन् १९६६ मा स्थापित एडिबीमा एसिया–प्रसान्त क्षेत्रका ४९ सहित ६९ सदस्यहरुको स्वामित्व रहेको छ ।
कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो ।
‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको हो । नेपाल सरकारले भारतमा १० बर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको इप्पानले जनाएको छ ।
तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने सो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रुप दिनेगरी निजी क्षेत्रबाट एक्स्पो आयोजनाा गरिएको आयोजकले जनाएको छ । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका वारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ ।
एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय÷कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुकोबारे नीतिगत बहसका साथै नयाँ–नयाँ प्रविधि र उपकरणहरुको प्रदर्शनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरुको सहभागिता निश्चित भएको इप्पानले जनाएको छ ।
एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।
काठमाडौं : विद्युत उत्पादनमा आएको कमिका कारण उद्योगहरुमा लोडसेडिङको समस्या बढेको छ । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पिक आवरमा अनौपचारिक रुपमा विद्युत आपूर्ति बन्द गर्ने गरेको छ । उद्योगीहरुका अनुसार पछिल्लो समयमा औद्योगिक क्षेत्रमा १२ घण्टासम्म पनि विद्युत आपूर्ति हुँदैन । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले जनकपुरमा रहेको आफ्नो उद्योगमा १२ घण्टासम्म लोडसेडिङ हुने गरेको बताए । उनले लोडसेडिङका कारण धेरै उद्योगीहरु उद्योग नै बन्द गर्ने अवस्थामा पुगेको बताएका छन् ।
‘१२ घण्टासम्म लोडसेडिङ भयो, हामी त उद्योग नै बन्द गर्ने अवस्थामा पुगिसक्यौं’, अध्यक्ष थापाले विकासन्युजसँग भने, ‘सबै औद्योगिक क्षेत्रमा लोडसेडिङ भएको छ, समय फरक–फरक होला, जनकपुरमा साँझ ६ बजेबाट बिहान ६ बजेसम्म बिजुली आउँदैन, यसरी उद्योग चल्छ ?’
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने पिक आवरमा बढी विद्युत मागका कारण औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा समस्या भएको प्रतिक्रिया दिएका छन् । तर, उनले औपचारिक रुपमा लोडसेडिङ भने नगरेको बताए । उनकाअनुसार अहिले नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेका आयोजनाहरुले अधिकतम तीन सय १० मेगावाट र निजी क्षेत्रका आयोजनाहरुले अधिकतम ७६३ मेगावाट मात्रै विद्युत उत्पादन गर्दै आएका छन् । निजी प्रवद्र्धकहरुले फागुन मसान्तसम्मको प्रतिबद्धता भन्दा दुई सय ६३ मेगावाट कम उत्पादन गर्दै आएका छन् । प्राधिकरणले भारतसँग गरेको सम्झौताअनुसार भने पाँच सय ५४ मेगावाट पनि विद्युत आयात गर्दै आएको घोषले बताए ।
तर विद्युत उत्पादन बढी हुँदा वा भारतबाट थप आपूर्ति गर्नसक्दा पनि आवश्यक पूर्वाधार नभएकोले थप विद्युत प्रशारण गर्न नसकिने अवस्था रहेको घोषले उनले बताएका छन् । आगामी दिनमा खडेरी बढ्दै जाने र प्रशारण लाइनको क्षेत्रमा पनि काम हुन नसकेमा औपचारिकरुपमा नै लोडसेडिङमा प्राधिकरण प्रवेश गर्नसक्ने देखिएको छ । त्यस्तो अवस्था सिर्जना भएमा आर्थिक मन्दीको मारमा परेका उद्योगहरु फेरि लोडसेडिङको मारमा पर्नसक्छन् ।
‘पूर्वाधार बनाउन नसकेमा थप विद्युत आपूर्ति गर्नसक्ने अवस्था छैन, ढल्केबरदेखि इनरुवासम्मको तारको काम १२ दिनमा सकिन सक्छ, तर अवरोधका कारण हुन सकिरहेको छैन’, प्रवक्ता घोषले भने, ‘एक सय ५६ किलोमिटर मध्ये २१ किलोमिटरको काम मात्रै बाँकी छ, नयाँ बुटवलदेखि बर्दघाटसम्मको जम्मा ५७ वटा टावरको काम गर्न सकिएको छैन ।’
लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकाले कृषि विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रसँग सम्झौता गरेको छ ।
किसानको खेतखेतमा विद्युतीकरण गरेर सिंचाइ सुविधा पु¥याउने र बिजुलीको सबै महशुल नगरपालिकाले तिरिदिने गरी सम्झौता भएको हो । कृषि विद्युतीकरणका लागि बुधबार नगरपालिका कार्यालयले प्राधिकरणलाई ७४ लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
नगरप्रमुख कल्पनाकुमारी कटुवाल र प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाले वितरण केन्द्र प्रमुख दिगम्बर यादवलाई उक्त चेक हस्तान्तरण गरेका छन् । वितरण केन्द्र प्रमुख यादवले अब तत्कालै नगरपालिकाले भने बमोजिमको क्षेत्रमा पोल गाडेर तार टाङ्ने काम शुरु गर्ने बताए ।
पहिलो चरणमा २ करोडको योजना अन्तर्गत कृषि विद्युतीकरण गर्न लागिएको हो । नगरपालिकाले ८० प्रतिसत र प्राधिकरणले २० प्रतिसत बेहोर्ने गरी कृषि विद्युतीकरण गर्ने सहमती भएको छ ।
नगरप्रमुख कटुवालले अधिकांश नगरवासी कृषि पेशामा आवद्ध रहेका र उनीहरुलाई निःशुल्क सिंचाइका लागि बिजुली उपलब्ध गराइ कृषि पेशामा सहुलियत दिने तथा थप आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको बताइन् ।
काठमाडौं : स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख छ हजार छ सय निर्धारण भएको छ । यस आधारमा छापावाला सुन तोलामा रु दुई सयले घटेको छ ।
यस्तै, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ ।
चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला रु एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ ।
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पु¥याउने उद्देश्यका साथ वि.सं २०८१ सालको नयाँ वर्षको पात्रो प्रकाशन गरेको छ । पात्रोको मुख्य विषयवस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन’को साथै सो गन्तव्यहरुमा जिम्मेवारपूर्वक अन्वेषण गर्नु रहेको बैंकले जनाएको छ ।
बैंकले सो पात्रोको माध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थलहरुको प्रवर्द्धन हुने अपेक्षा गरेको छ । पात्रोमा सोलुखुम्ब जिल्लामा अवस्थित दुधकुण्ड, पर्सा जिल्लामा अवस्थित घडिअर्वा पोखरी, दोलखा जिल्लामा अवस्थित सैलुङ र छोरोल्पा ताल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँच पोखरी, लमजुङ जिल्लामा अवस्थित भुजुङ गाउँ, मनाङ जिल्लामा अवस्थित नार फु उपत्यका, पूर्वी रुकुम जिल्लामा अवस्थित टकसेरा गाउँ, सल्यान जिल्लामा अवस्थित कुपिन्डे ताल, डोल्पा जिल्लामा अवस्थित अपर डोल्पा, बाजुरा जिल्लामा अवस्थित बडिमालिका र कन्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जस्ता मनमोहक पर्यटकीय गन्तव्यहरु समावेश गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies