काठमाडौं : खल्तीले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरुका लागि ‘क्यासब्याक मेला’ अफर ल्याएको छ । यूनियन पे सँग सहकार्य गर्दै प्रदान गरिएको सो अफरमा खल्ती प्रयोगकर्ताहरुले तोकिएका ब्राण्डहरुको एक सयभन्दा बढी आउटलेटहरुमा यूनियन पे को क्यूआर स्क्यान गरी भुक्तानी गर्दा थुप्रै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
चैत्र १४ देखि वैशाख ३० गतेसम्म लागू हुने सो अफरमा खल्ती प्रयोगकर्ताहरुले यूनियन पे को क्यूआर खल्तीमार्फत् स्क्यान गरी छिटो र सरल तरिकाले भुक्तानी गर्दै १० प्रतिशत क्यासब्याकको लाभ समेत उठाउन सक्ने खल्तीले जनाएको छ ।
विभिन्न मुभी हल, क्याफे तथा रेस्टुरेन्ट, स्वास्थ्य सेवा प्रदायक, फेसन ब्राण्ड, ट्राभल तथा एड्भेन्चर, डिपार्टमेन्टल स्टोरहरुका आउटलेटहरुमा भुक्तानी गर्दा उक्त क्यासब्याकको लाभ लिन सकिने कम्पनीले जनाएको छ । आइएनआइ सिनेमा, न्यू म्यू डल्ले, मोन्स्टर मिल, ई–फार्मेसी, मनकामना दर्शन लगायतका थुप्रै ब्राण्डहरुको आउटलेटहरुमा सो अफर उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं : प्रभु बैंकले पोखरा महानगरपालिका–१५ स्थित नयाँगाउँमा ३ सय २औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको नयाँगाउँ शाखा कार्यालयको प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरे ।
बैंकको नयाँगाउँ शाखा कार्यालयको शान्ती शेरचन गौचनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिंङ सेवा विस्तार गरेको बताए ।
प्रभु बैंकको यो अभियानले देशभरी नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै शाखालाई सफलताको शुभकामना व्यक्त गरे ।
बैंकको नयाँगाउँ शाखामार्फत् स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले क्रेडिट कार्ड प्रयोग गरेर स्वदेश तथा विदेश भ्रमणको प्याकेज खरिद गर्न सकिने योजना ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले आफ्ना क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको हो ।
आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको छ । बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् तीन हजार दुई सय १० रुपैयाँ र विदेश भ्रमणको लागि छ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो ।
बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ । साथै, यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहने ग्राहकहरुलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट समेत प्राप्त गर्न सक्ने जनाइएको छ ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्लाका किसानले अनुदानमा मीनी हाते ट्याक्टर पाएका छन् । परम्परागत कृषि प्रणालीलाई यान्त्रिकीरण र व्यवसायीकरण गर्न स्याउ सुपोरजोन जुम्लाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर पाएका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत उपलब्ध बजेट र किसानको मागका आधारमा जिल्लाका विभिन्न व्यक्ति, समूह, फर्म र सहकारीलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको स्याउ सुपरजोन जुम्लाका प्रमुख खेम राज शाहीले बताए । उनका अनुसार यस वर्ष ६१ वटा मिनी हाते ट्याक्टर वितरण गरिएको छ । यान्त्रिकीरण वितरण कार्यविधिअनुसार कार्यक्रममा आएको १२ लाख स्याउ सुपरजोनको बजेट र किसानको १२ लाख गरी ६१ वटा हाते ट्याक्टर वितरण गरिएको हो ।
हाते ट्याक्टरमार्फत् कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीसँग जोड्न सजिलो हुने र खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने भएकोले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर दिइएको हो । उनका अनुसार यो खेत जोत्ने ट्याक्टर ३९ हजार नौ सय रुपैयाँ मूल्यको हो । जसमा आधा १९ हजार नौ सय ५० रुपैयाँ किसानको लगानी रहेको छ ।
‘जुम्लाको आर्थिक समृद्धिका लागि कृषि नै पहिलो रोजाई भएकाले अब कृषि र वन पैदावारको औद्योगिकरण गरी रोजगारीमा ध्यान दिन आवश्यक रहेको छ’, प्रमुख शाहीले भने, ‘सहुलियत अनुदानमा गरिएको वितरणले यहाँको कृषि उत्पादनमा यान्त्रिकीरणको प्रयोग बढ्ने र उत्पादनले समेत बजार पाउने देखिन्छ ।’
काठमाडौं : नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् ।
प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो । मुख्य सुरुङसँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै ब्रेक थ्रु भएको थियो ।
धादिङको सिस्नेखोला र काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ । समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारीको उपस्थिति थियो । यस्तै समारोहमा संघीय सांसद एवम् प्रदेश सांसदहरुको पनि उपस्थिति थियो ।
नागढुंगाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई उक्त सुरुङमार्ग निर्माण भएपछि थप सहज हुनेछ । आज छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।
नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरका अनुसार एक विशेष समारोहबीच सुरुङको ब्रेक थ्रु गरिएको हो । सो सुरुङमार्गको कूल लम्बाई दुई हजार छ सय ८८ मिटर छ । सुरुङबाट काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सकिने आयोजनाले जनाएको छ ।
सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्नेछ । आयोजनाको कूल लागत झण्डै रु २२ अर्ब बराबर छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो ।
काठमाडौं : यही वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ ।
लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ ।
दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ ।
‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन काठमाडौंस्थित सोल्टी होटलमा आयोजना गर्नेगरी स्थान तय भइसकेको छ । सम्मेलनका लागि एक सय ५० हाराहारी आयोजना ‘सोकेस’मा लैजाने तयारी छ । यसअघि लगानी बोर्डले एक सय २५ वटा आयोनजा ‘सोकेस’मा लैजाने तयारी गरिहेकोमा अहिले निजी क्षेत्र, प्रदेश र स्थानीय तहकासमेत केही आयोजना थपिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।
“निजी क्षेत्र, प्रदेश र स्थानीय तहबाटसमेत सोकेसका लागि प्रस्ताव गरिएका आयोजनासमेत गरेर एक सय ५० हाराहारी पुगेका छन् । निजी क्षेत्र र स्थानीय तहका आयोजनाबारे जानकारी दिने छुट्टै कक्ष र उहाँहरुकै जनशक्ति खटाइनेछ”, प्रवक्ता उपाध्यायले भने, “कुन प्रदर्शनी कक्षमा कस्ता आयोजना राख्ने, त्यसको व्यवस्थापन कसरी गर्ने र लगानीकर्तालाई आयोजनाबारे अधितम जानकारी कसरी दिन सकिन्छ भनेर पूर्वतयारी चलिरहेको छ ।” लगानी सम्मेलन स्थलमा २२ देखि २५ वटा कक्ष रहनेगरी तयारी भइरहेको उनको भनाइ छ ।
सम्मेलनका लागि अब १२ दिन मात्रै बाँकी छ । सम्मेलन स्थलको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा स्वयम्सेवक परिचालन, विदेशी लगानीकर्तालाई विभिन्न आयोजनाबारे जानकारी दिनका लागि कक्ष व्यवस्थापनलगायतका कामको पूर्व तयारी तीव्र बनाइएको उपाध्यायले जानकारी दिए । आइतबार बेलुकासम्ममा ३१ देशका दुई सय ६० भन्दा बढी अतिथि सम्मेलनमा आउने निक्र्योल भइसकेको बोर्डले जनाएको छ ।
लगानी सम्मेलनका क्रममा तीनवटा परियोजनाको विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट–पिडिए) गर्ने तयारी भइरहेको र अहिले विकासकर्ता कम्पनीसँग त्यसबारे वार्ता चलिरहेको प्रवक्ता उपाध्यायले बताए । सम्मेलनका क्रममा नेपाल–चीन मैत्री औद्योगिक पार्क, अपर मर्स्याङ्दी–२ जलविद्युत आयोजना, कोहलपुर तथा वाणगङ्गा सौर्य ऊर्जा आयोजनाको पिडिए सम्झौता हुँदैछ ।
त्यस्तै, डावर नेपाल प्राइभेट लिमिटेडसँग आयोजना लगानी सम्झौता (प्रोजेक्ट इन्भेस्टमेन्ट एग्रिमेन्ट–पिआईए) को तयारी छ । लगानी सम्मेलनअघि प्रधानमन्त्रीको अध्यक्षतामा रहने लगानी बोर्डको बैठक बस्ने तयारी भइरहेको पनि बोर्डले जनाएको छ ।
सम्मेलनमार्फत विभिन्न २० वटा आयोजनाका लागि लगानीकर्तासँग आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–इओआई) माग गरिँदैछ । त्यस्तै, अगाडि बढाउन सकिने सम्भावित आयोजनाका रुपमा ‘मार्केट साउण्डिङ प्रोजेक्ट’ छ वटा, आयोजना पहिचानको प्रारम्भिक चरणका ३३ वटा, वित्तीय लगानी जुटाउने अवस्थाका २० वटालगायतका आयोजना सोकेसमा लगिँदैछ ।
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला सात सय रुपैयाँले वृद्धि भइ एक लाख ३७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा आइतबार दुई हजार दुई सय रुपैयाँले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो ।
यस्तै, तेजाबी सुन आज प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार सात सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय १५ रुपैयाँ निर्धारण भएको छ ।
छबि सापकोटा/मध्यान्ह
काठमाडौं : आर्थिक वर्ष २०८१/८२ को बजेटको मस्यौया लेखनमा ब्यस्त छ अर्थमन्त्रालय । जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकोले बजेट लेखन तिब्रगतिमा भएको छ । राजस्व महाशाखा प्रमुख धनिराम शर्माको नेतृत्वमा गठित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्माको ६ सदस्यीय बजेट मस्यौदा लेखन समितिले बजेट निमार्णमा जुटेको छ ।
१० दिन अघिदेखि नै अर्थमन्त्रालयको ढोका बन्द गरेर बजेटको मस्यौदा लेखन कार्य भइरहेको छ । बजेट मस्यौदा लेखन सुरु भएको समय नलिई अर्थमन्त्रालय प्रवेशको जो केहीको लागि सहज छैन । तर सघिय सांसद, प्रदेश सांसद र स्थानीयत तहका जनप्रतिनीधिहरु सिंहदरवारमा बजेटको लागि दौडधुप गरिरहेका छन ।
योजना मागको सम्बन्धमा भनेर ३ करोड भन्दा बढिको बितृत आयोजना प्रतिबेदन (डिपिआर) को फाइल लिएर मन्त्रालय ध्याउने संख्या बढ्दो छ । बजेटमा आफ्ना आयोजना तथा कार्यक्रम पारिदिन माग गर्दै मन्त्रीदेखि सचिवालया कर्मचारीलाई हार गुहार गरिरहेको देखिन्छन् । अहिले बिकासले मन्त्रालयको मन्त्रीको सचिवालयमा नेताहरु कार्यकर्ता आयोजनाको फाइल टेबलमा देखिन्छन । अर्थमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बजेटको माग्नेको भिड बढि देखिन्छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक सहसचिव भन्छन् ‘मन्त्रायलमा अहिलेसम्म १२ हजार बढि योजनाको माग भएको छ । व्यक्ति पिच्छे योजना दिएर आउनेको पनि संख्या धेरै छ । मन्त्रीज्यू कर्णाली प्रदेशको भएको हुनाले पनि, योजना माग सबै भन्दा धेरै सुदुरपश्चिम र कर्णालीबाट भएको छ ।’ देश संघीयतामा गए पनि बजेट माग्नका लागि सिंहदरबार भित्रको भिडले प्रदेश र स्थानीय सरकार प्रतिको विश्वास अझै छैन भन्ने देखाएको छ ।
यस्तै अर्थमन्त्रालयका एक उच्च कर्मचारीले भने ‘अर्थमन्त्रालयमा समेत पाँच बजेटपछि बजेट माग्न आउनेको भिडको जात्रा नै लाग्ने गरेको छ । अझै पनि सबै अधिकार सिंहदरबारमा मात्र केन्द्रित हुदाँ योजना माग्न सिंहदरबार ध्याउने बढेको देखिन्छ । बजेट आवश्यकताका आधार नभई मन्त्री,कर्मचारी चिनेको भरमा योजना माग गर्नेको संख्या धेरै आइरहेको छ ।’
मन्त्रालयका योजना अर्थमा पठाउने अन्तिम तयारीमा हुदैँ गर्दा योजना माग्न मन्त्रीलाई भेट्नेका लागि मन्त्रीको सचिवालयदेखि मन्त्रालय परिसरमा भिड देखिन्छ । अर्थमन्त्रालयले विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर बजेट लेखन गरिरहेको छ ।
काठमाडौं : अर्थ मन्त्रालयले खर्च हुन नसकेको आयोजनाबाट रकमान्तर गर्ने, कार्यक्रम संशोधन गर्ने र विविध शीर्षकबाट खर्च बढाउने नीति लिएको छ । अर्थमन्त्री वर्षमान पुनको सचिवालयका अनुसार पछिल्लो एक महिनामा मात्र सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ । यस्तै दुई अर्ब ६३ करोड बराबरको कार्यक्रम संशोधन गरिएको छ भने विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड खर्च गरिएको छ ।
बजेटको एउटा शीर्षकबाट अर्को शीर्षकमा पैसा पठाएर खर्च गर्ने काम रकमान्तर हो । एउटै शीर्षकभित्र बजेट परेका एउटा निकायबाट अर्को निकाय वा एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पैसा पठाएर खर्च गर्ने कामलाई कार्यक्रम संशोधन भनिन्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनमा रकमान्तर, स्रोतान्तर र थप निकासाबाट खर्च गर्न पाउने व्यवस्था राखिएको छ । ऐनको उक्त व्यवस्थाभित्रै रहेर खर्च बढाउने प्रयास मन्त्रालयले गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
पछिल्लो एक महिना अवधिमा कुल रकमान्तर भएको एक अर्ब ६३ करोडमध्ये सबैभन्दा बढी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको छ । स्वास्थ्य मन्त्रालयमातहतका सरकारी निकायले ६४ करोड ४१ लाख बराबर रकमान्तर गरेका छन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४८ करोड ८६ लाखको रकमान्तर गरेको छ । विभिन्न २८ स्थानीय तहका लागि पालिकाअन्तर्गत निर्माणाधीन आधारभूत अस्पतालको कार्यप्रगति तथा ‘मोबिलाइजेसन’ भुक्तानीको रकमान्तर गरिएको छ । उक्त शीर्षकमा ४९ करोड २४ लाख ३१ हजार खर्च भएको जनाइएको छ ।
छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र भत्ता भुक्तानी गर्न स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका लागि ३२ लाख रकमान्तर भएको छ । यस्तै मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यानसर रोगी र मेरुदण्ड पक्षघातका विरामीका लागि औषधि उपचार खर्चबापत मासिक पाँच हजारका दरले उपलब्ध गराइने रकम भुक्तानी गर्न १४ करोड ८५ लाख निकासा भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत महाकाली कोरिडोर (ब्रम्हदेव–झुलाघाट–दार्चुला–टिङकर) अन्तर्गत विकास निर्माण निर्देशनालयका लागि ७० लाख रकमान्तर गरी खर्च भएको छ । सडक निर्माणको दायित्व प्राथमिकताको आधारमा भुक्तानी गर्न सडक डिभिजन, घोराही (दाङ) लाई नौ करोड चार लाख रकम निकासा दिइएको छ । उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालीगण्डकी र कोशी) का लागि करार सेवा शुल्क स्वीकृत दरबन्दीको करार कर्मचारीमा नपुग रकम रहेको दुई लाख ९६ हजार बराबर रकम पठाइएको छ ।
रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षणअन्तर्गतका कार्यालयहरुमा २५ करोड नौ लाख रकमान्तर भएको छ । तमोर कोरिडोर चतरा–मुलघाट–सुभाडखोला सडक योजना मुलघाट (सुनसरी) का लागि १४ करोड निकासा गरिएको छ । मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई ऋण लगानी गर्नका लागि औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ऋण लगानी गर्न दुई करोड २४ लाख दिइएको छ ।
रक्षा मन्त्रालयमातहत जङ्गी अड्डा, सैनिक हवाई महा–निर्देशनालय, वीरेन्द्र अस्पताल (पोष्ट एक्सीडेन्ट सेन्टर समेत) र राष्ट्रिय सेवा दलअन्तर्गतका कार्यक्रममा थपघट र रकमान्तर गरिएका छन् । स्थानीय तहहरुबाट खर्च हुने गरी स्वास्थ्य मन्त्रालयअन्तर्गतको एकीकृत स्वास्थ्य पुर्वाधार विकास कार्यक्रम अन्तर्गतको ५५ करोड ७२ लाखको कार्यक्रम संशोधन गरी रकम पठाइएको छ । कृषि विकास मन्त्रालयअन्तर्गतको पेशु सेवा विभागको आग्रहमा ४८ करोड बराबरको कार्यक्रम संशोधन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गतका ४५ करोड ४५ लाख तथा प्रदेशअन्तर्गतका एक करोड ८१ लाखका कार्यक्रम संशोधन भएका छन् । नेपाल विद्युत् प्राधिकरणमा सरकारको ऋण लगानी रहने गरी एक अर्ब ६३ करोड १७ लाख निकासा गरिएको जनाइएको छ ।
काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहरदास मुलले पद तथा गोपनियताको शपथ लिएका छन् । इन्स्योरेन्सको चैत्र २७ गते मंगलबार सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको सोही मितिमा सम्पन्न बैठकले कम्पनीको अध्यक्षमा मुललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
आइतबार नवनियुक्त अध्यक्ष मुलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरे । शपथ ग्रहण समारोहमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवं कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies