दिपेश न्यौपाने/मध्यान्ह
ककनी : ९ वर्षदेखि अवरुद्ध रहेको पासाङ ल्हामु राजमार्गको तीनपिप्ले-रानीपौवा सडकको निर्माण कार्य शुरु भएको छ । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले शुक्रबार निर्माण कार्यको उद्घाटन गरेका हुन् । अध्यक्ष तामाङकै सक्रियतामा तीनपिप्ले-रानीपौवा सडकको निर्माण कार्य शुरु गरिएको हो ।
उद्घाटन गर्दै अध्यक्ष तामाङले मानव जीवनस्तरसँग जोडिएको सडक मार्ग ९ वर्षदेखि लथालिङ्ग अवस्थामा रहँदा नागरिकले निकै नै सास्ती खेप्नु परेको बताउँदै निर्माण कार्य समयमा नै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् । समय र गुणस्तरलाई ख्यालमा राख्दै काम गर्न उनले अनुरोध गरेका छ्न् ।
सडक निर्माण कार्य शुरु भएपछि यहाँका स्थानीय हर्षित भएका छन् । सडक निर्माण भएसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र पर्यटकको आगमनसँगै स्थानीयको जीवनस्तर सुधारिने जानकारहरु बताउँछन् ।
लामो अवधिसम्म पनि निर्माण हुन नसकेको तीनपिप्ले-पिपलटार सडकखण्डमध्ये पहिलो चरणमा तीनपिप्लेदेखि रानीपौवासम्मको सडक निर्माणको जिम्मा मोतीदान कन्स्ट्रक्सन सेवाले ८३ करोड ३१ लाख रुपैयाँमा पाएकाे छ । निर्माण ठेक्का अवधि दुई वर्ष रहेको छ । २०८० फागुन ३० गते सम्झौता भएको र २०८२ फागुन २९ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ । पहिलाे चरणमा १४.५ किलोमिटर सडक कालोपत्रेसहित निर्माण हुने भएको छ । रानीपौवा बजारबाट २ किलोमिटर तलसम्म सडक कालोपत्रे गर्न सकिने निर्माण कम्पनीले जनाएको छ ।
बालाजु–रानीपौवा–पीपलटार सडकको कूल दूरी भने ५५.५ किमि हो । उक्त दूरीमध्ये केही खण्डमा काम भइसकेको छ । उक्त सडकको शुरुको ठेक्काअनुसार काम नभएपछि ठेक्का तोडेर दोस्रो ठेक्का लगाइएको हो । शुरुमा बालाजु–रानीपौवा खण्डको ठेक्का भएको थियो । तर सात पटक म्याद थप्दा गर्दा पनि काम भएको थिएन ।
काममा कुनै प्रगति नभएपछि बालाजु–रानीपौवा खण्डको ठेक्का लिने इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सन जेभीसँग ०७९ असार ५ मा सम्झौता तोडिएको थियो । ठेक्का तोडेसँगै ती कम्पनीलाई सडक विभागअन्तर्गत सडक सुधार तथा विकास आयोजना निर्देशनालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गरेको थियो । जसअनुसार उक्त कम्पनीलाई ०७९ भदौ ८ देखि ०८२ भदौ ७ सम्म कालोसूचीमा राखिएको छ । शैलुङ कन्सट्रक्सन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको कम्पनी हो ।
रानीपौवा–पीपलटार खण्डसम्म भारतीय एक्जिम बैंकको ऋण सहयोगमा काम हुँदैछ । त्यसका लागि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) गरेपछि ठेक्का लगाइने बताइएको छ । उक्त खण्ड निर्माणका लागि २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । रानीपौवा–पीपलटार भारतकै दिनेशचन्द्र आर अग्रवाल र नागार्जुन–कोसी एन्ड न्यौपाने जेभीले ठेक्का लिएका थिए । उक्त निर्माण कम्पनीसँग पनि ०७७ असार ९ मा ठेक्का सम्झौता तोडिएको थियो । अहिले यो कम्पनीलाई कालोसूचीमा राखिएको छ ।
नौ वर्षदेखि सडक स्तरोन्नति गर्ने भन्दै सडक भत्काएर अलपत्र पार्दा स्थानीय समस्या छन् । सडककै कारण व्यापार व्यवसाय चौपट बनेको उनीहरूको गुनासो छ । सडक भत्काएर वर्षौंसम्म नबनाउँदा स्थानीयको दैनिक जीवनयापन नै प्रभावित बनेको छ ।
मकवानपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो संकटमा नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारण सभालाई आज हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रको सूचकांकमा सुधार देखिएको उल्लेख गरे । तर उनले देशको अर्थतन्त्र अझै पनि दबाबमुक्त भने नरहेको भन्दै यसका लागि घनिभूत छलफल आवश्यक रहेको पनि बताए ।
प्रधानमन्त्री दाहालले आगामी नीति कार्यक्रम र बजेटमा सबै क्षेत्रलाई समेट्ने गरी बजेट तयारीसमेत भइरहेको बताए । उनले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको उल्लेख गर्दै निर्माण व्यवसायीको बक्यौता रकम तत्काल निकास गर्न सरकार लागिपरेको बताए ।
प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीले सम्झौताबमोजिमको काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको भन्दै राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर रहेको बताए ।
निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा आयोजनाको काम समयमै सम्पन्न नभएको, सम्झौताअनुरूप गुणस्तरको काम नभएको, निर्माणको अवधि लम्बिँदा राज्यको अतिरिक्त दायित्व थपिनेजस्ता समस्या गम्भीररुपमा देखापरेको प्रधानमन्त्री दाहालको भनाइ थियो । राज्यका रणनीतिक महत्वका आयोजना ओझेलमा पर्ने, अनावश्यक योजना थपिँदै जाने, राज्यको दायित्व बढ्दै जाने र खास गुणात्मक प्रतिफल नदिने, बेथितिको दुष्चक्रबाट मुक्त हुने गरी काम गर्न आफूले अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयलाई निर्देशित गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अब देशमा विकासको कामले गति लिने बताए ।
“सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनपछि राज्यको दायित्वमा आउने आयोजनामध्ये स्रोत सुनिश्चितता नभएका आयोजना सहमतिका आधारमा अन्त्य गर्ने कुरामा सरकार सकारात्मक छ”, प्रधानमन्त्री दाहालले भने, “राज्यको संरचनागत कमजोरी र समयमै भुक्तानी दिन नसकेका कारण व्यवसायी अप्ठ्यारोमा परेकाले कतिपय आयोजनाको काम समयमै सम्पन्न हुन नसकेका समस्याको सम्बोधनका लागि सरकारले आवश्यक निर्णय लिनेछ ।”
पूर्वाधार विकासका दृष्टिले हाम्रा कतिपय ऐन कानुन बाधक देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पर्यावरणको रक्षाप्रति सचेत रहँदै प्रचलित कानूनलाई विकासमैत्री बनाउँदै लगिने बताए । “वन ऐनलगायत महत्वपूर्ण ऐन संशोधन गर्ने प्रक्रिया प्रारम्भ भएको छ”, उनले भने, “यसले निर्माण उद्योगका लागि अत्यावश्यक नदीजन्य तथा खानीजन्य सामग्रीलाई सर्वसुलभरूपमा उपलब्ध गराउन राम्रो वातावरण बन्नेछ ।”
काठमाडौं : आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने भएको छ । प्रदेशका आयोजनाका लागि छुट्टै स्टल राखिनेछ ।
बिहीबार बसेको लगानी सम्मेलन निर्देशक समितिको बैठकमा अर्थमन्त्री एवम् लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले प्रदेशका योजनामा पनि लगानी जुटाउनका लागि लगानी सोकेसमा राखिने जानकारी दिए ।
लगानी सम्मेलन निर्देशक समितिले बिहीबार प्रदेश मुख्यमन्त्रीहरुसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिकस्तरका आयोजनाहरुको तयारीबारे छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनोट गरी लगानी सम्मेलनमा समावेश गर्न निर्देशक समितिले प्रदेशहरुसँग आग्रह गरेको छ ।
जलविद्युत, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने धारणा प्रदेशबाट आएको छ । त्यस्तै, निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुले औंल्याएका विद्यमान केही कानुनमा संशोधन तथा विदेशी लगानीकर्तालाई मुनाफा लैजान सकिने आधार तय गर्नुपर्ने सुझाव मुख्यमन्त्रीहरुबाट आएको थियो ।
निर्देशक समिति बैठकमा अर्थमन्त्री पुनले लगानी वातावरण सुधारका लागि आवश्यक कानुनमा परिमार्जनको प्रक्रिया अघि बढेको जानकारी दिए । उनले गैरआवासीय नेपालीलाई पनि लगानी सम्मेलनमा आउन आह्वान गरिएको बताए ।
“गैरआवासीय नेपालीहरुलाई पनि लगानी सम्मेलनमा आमन्त्रण गरेका छौँ”, अर्थमन्त्री पुनले भने, “परिस्थितिवश अरु देशको नागरिकता लिएको भए पनि उहाँहरु नेपाली नै हुनुहुन्छ । आफ्नो मातृभूमिमा आएर लगानी गर्न इच्छुक पनि हुनुभएको मैले पाएको छु ।”
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।
बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु एक लाख ३० हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय २५ पुगेको छ ।
काठमाडौं : सिद्धार्थ बैंक र इन्टरनेशनल फाइनान्स कोअपरेसन (आईएफसी)बीच बिहीबार सम्झौता भएको छ । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि बैंक र आईएफसीबीच सम्झौता भएको हो ।
बैंकले ‘डिजिटल फर्स्ट’ अभ्यास अपनाइ सुशासन पक्षहरुमा केन्द्रित हुदै दिगो विकासलाई सधैं प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीतिहरु वातावरण मैत्री एवम् समाज केन्द्रित बनाउँदै आएको जानाएको छ । उक्त सम्झौताले उल्लेखित क्षेत्रहरुमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सवल बनाई आफ्ना लक्ष्यहरु हासिल गर्न थप टेवा पुग्ने विश्वास लिएको उल्लेख गरिएको छ ।
आईएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको सिद्धार्थ बैंकले आईएफसीद्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा ‘बेस्ट अपरेसन बैंक इन साउथ एसिया २०२१’ अवार्डबाट पनि सम्मानित भएको थियो ।
त्यसैगरी केही समयअघि मात्र पनि सिद्धार्थ बैंक र आईएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरुको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भइसकेको छ । जसअन्तर्गत बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण पनि प्रदान गरेको छ ।
कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : सरकारले नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको रिक्त सदस्यमा तीन जना पर्यटन व्यवसायीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको सदस्य पदमा रामप्रसाद सापकोटा, राजेन्द्र बहादुर लामा र ऋषिराम भण्डारीलाई नियुक्त गरेको हो ।
यो नियुक्तिले माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ । बोर्ड सदस्य नियुक्तिसँगै १६ माघदेखि नै रिक्त रहेको बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया पनि अघि बढ्ने भएको छ । बोर्ड सञ्चालक समितिले बोर्डको सीईओ नियुक्त गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको समेत जानकारी दिएको छ ।
काठमाडौं : स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्तर्गत होण्डा कारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडी खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुविधासहित स्कीम निकालेको छ ।
जस अन्तर्गत २०५ डाउन पेमेन्ट, १०.४९५ ब्याजदर, एक आर्थिक वर्षको ट्याक्स फ्री, एक आर्थिक वर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुटसहित ग्राहकको सुविधालाई ध्यानमा राखी रोड साइड असिस्ट पनि फ्री दिने घोषणा गरेको जनाएको हो । यो अफर चैत १ गतेबाट लागू गरिएको र आगामी वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघको २५औँ वार्षिक साधारण सभा बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ । साधारण सभा शुक्रवारदेखि शुरु हुने महासंघले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
२५औँ वार्षिक साधारण सभा चैत्र १६ र १७ गते हुने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव रोशन दाहालले साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने जानकारी दिए । साथै उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री धनबहादुर बुढाको उपस्थिति रहनेछ ।
साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु राखिनेछन् । २५औँ साधारण सभा मुलुकका समस्त निर्माण व्यवसायीहरुको सीप, दक्षता, क्षमता र गुणस्तरीयता अभिवृद्धि गर्न महत्वपूर्ण हुने लक्ष्य लिएको दाहालले बताए । उनले निर्माण उद्योगमा देखिएको चुनौतीका बारेमा घनिभूत छलफल गर्दै निर्माण उद्योगको विकास विस्तारका लागि साधारण सभाले गरेका महत्त्वपूर्ण निर्णयहरु लिपिबद्ध गर्दै घोषणा पत्र जारी गर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले साधारण सभामा मुलुकभरबाट एक हजार भन्दा बढी पर्यवेक्षक र प्रतिनिधिहरुको उपस्थिति रहने बताए । उनले निर्माण उद्योगले अहिले भोगिरहेको समस्या समाधान गर्नु नै महासंघको मुख्य चुनौती रहेको बताए । उनले सरकारले आफूले गर्ने निर्णयहरु समयमा नगर्ने र राजनीतिक नेतृत्वहरु परिवर्तन हुने बित्तिकै सरकारी कर्मचारीको परिवर्तन हुने, योजना प्रमुख परिवर्तन हुने र गैर जिम्मेवार रुपमा निर्णयहरु हुने कारणले गर्दा काम समयमा सम्पन्न हुन नसकेको जिकिर गरे ।
काठमाडौं : मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता हुने ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजकले ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।
ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामनहरु इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ । ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्सको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिने ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।
ललितपुर चेम्बर अफ कमर्सले इण्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिसँगका सहकार्यमा पहिलो पटक ललितपुरको मुख्यकेन्द्र बिन्दु जावलाखेल फुटबल ग्राउण्डमा आयोजना गर्न लागेको एक्स्पोमा मेड ईन ललितपुरको पेभिलिन रहने छ । जसमा ललितपुरमा उत्पादन हुने मौलिक निकासी योग्य समानहरु र दैनिक उपभोग्य सामानहरुका अतिरिक्त आफ्नो ब्राण्डको परिचित गराउने र ललितपुरको विभिन्न वडाहरुबाट उत्पादन हुने विभिन्न सामग्रीहरुको प्रर्दशनी रहने अध्यक्ष शाक्यले जानकारी दिए ।
साथै, एक्स्पोमा सहभागी विभिन्न छिमेकी मित्र राष्ट्रहरुका प्रतिष्ठित व्यवसायीहरुको सहभागिता रहने जनाइएको छ । एक्स्पोले सार्क राष्ट्रबीचको कला संस्कृति र रितीरिवाज आदान प्रदान गर्न उत्कृष्ट भुमिका खेल्न र आर्थिक गतिविधिमा सहयोग पुर्याउने अमूर्त सम्पदा र कला संस्कृतिको प्रस्तुतिमा कुमारी नाच, भैरव, योगिनी, सप्तलोचनी र ताराको नृत्य प्रस्तुत गरिने इन्ट्रोडक्सन ट्रेड शोका म्यानेजिङ डाइरेक्टर सुमन महर्जनले बताए ।
पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागिता रहनेछ । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको छ । सार्क मुलुकमा निर्मित सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरुले अन्य मुलुकमा प्रभाव जमाएको र मेलामार्फत सहभागी देशहरुको उत्पादनको प्रवद्र्धनमा सघाउ पुग्ने छ ।
मेलाको आकर्षणको रुपमा खानाको विभिन्न देशका विभिन्न स्वादका फुड स्टल, साना बालबालिकाहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्याण्ड, टर्की, मलेसिया, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको करिब एक सय भन्दा बढी स्टलहरु रहने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए । मेलाको आकर्षणको रुपमा ललितपुरमा उत्पादित काठ बाट बनाइएका कलाकृर्तिहरु, मूर्ति, कार्पेट र कपडाको जीवन्त प्रदर्शन गरिने छ ।
विराटनगर : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विराटनगरमा अवस्थित मानव सेवा आश्रमलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।
घरबारविहिन, बेसाहारा, अशक्त, असहाय, अनाथ सडक आश्रित करिव एक सय ३० जना नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्री लगायत अन्य आवश्यक सामाग्रीहरु उपलब्ध गराएको जनाएको छ ।
सेवा आश्रममा शुक्रबार आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले मानव सेवामा समर्पित आश्रम सञ्चालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सानै भएपनि सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महसुस भएको कुरा व्यक्त गरे । उनले दीनदुःखी बेसाहाराहरुलाई सानो भएतापनि सहयोग गरेर समाजप्रतिको उत्तरदायित्वबोध गर्न पाँउदा हर्षित भएको पनि बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies