काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अंकले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहकोे शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कुल ६६ लाख १४ हजार चार सय ४५ कित्ता शेयर रु दुई अर्ब ६५ करोड ३३ लाख ४९ हजार चार सय ६८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १९ करोड ३७ लाख ६२ हजार आठ सय ६९ बराबरको कारोबार भयो ।
त्यस्तै, गुर्खाज फाइनान्स रु १६ करोड १९ लाख ८९ हजार पाँच सय ५८, शिवम् सिमेन्ट रु १५ करोड ३९ लाख ३३ हजार छ सय ४९, सोनापुर मिनरल्स रु ११ करोड १८ लाख ५३ हजार एक सय ६८ र पिपल्स पावर रु सात करोड तीन लाख २३ हजार एक सय ७९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट नौ दशमलव ९६, हिमालयन हाइड्रोपावर आठ दशमलव ७३, सामलिङ पावर कम्पनी आठ दशमलव शून्य सात र पिपल्स पावरका लगानीकर्ताले सात दशमलव ४४ प्रतिशतले कमाएका छन् ।
उन्नति सहकार्य लघुवित्त १०, धवलागिरि लघुवित्त १०, हिमालयन बैंकको म्युचुअल फण्ड छ दशमलव ८०, जोशी हाइड्रोपावर तीन दशमलव ३४ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव २८ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम आईएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, बैंकको जोखिम व्यवस्थापन नीतिलाई अन्तर्राष्ट्रियस्तरमा कायम जोखिम व्यवस्थापन अभ्यास अनुरुप परिमार्जन गर्नेलगायतका विषयहरुमा परामर्श प्रदान गर्नेछ ।
आईएफसीले जलवायु वित्त क्षमता निर्माणका लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरुमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ । साथै आईएफसीले ग्लोबल आइएमई बैंकलाई स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनाहरुलगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा पनि विशेष परामर्श दिनेछ ।
आईएफसीको यस सम्भौताअनुसारको परामर्शले नेपालमा जोखिम व्यवस्थापन, लैंगिक वित्त तथा जलवायु वित्त क्षेत्रमा नयाँ आयाम थपिनेमा विश्वास रहेको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
काठमाडौं : गोखार्ज फाइनान्स लिमिटेडको ग्लोबल मनी वीक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय संस्थाका सातै प्रदेशमा रहेका १८ शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झण्डै एक हजार विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र वित्तीय चेतना तथा बैंक वित्तीय संस्थाले दिने सेवा र यसमा ग्राहकले अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी दिइएको छ ।
हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा समेत वित्तीय चेतनालाई वृद्धि गर्दै समाजमा बैंक वित्तीय संस्थाप्रति विश्वास दिलाउन अन्य यस्तै प्रकारका कार्यक्रमहरु आयोजना गर्ने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले जानकारी दिए ।
काठमाडौं : गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई २०८१ वैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंकमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेको बैंकले जनाएको छ । उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न थिए ।
बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुने भएसँगै २०८१ वैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।
साथै सोही बैठकले बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई २०८० चैत १५ गतेदेखि लागू हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा रु एक लाख २७ हजार नौ सय तोकिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलाको रु एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ ।
बुधबार प्रतितोला रु एक हजार चार सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार पाँच सय १० निर्धारण गरिएको छ ।
कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : नेपाल पर्यटन बोर्डको तीन जना रिक्त बोर्ड सदस्यका लागि पाँच जनाको नाम अन्तिम छनोटका लागि सिफारिस गरिएको छ । पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले पाँच जनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो ।
समितिले पर्यटन व्यवसायी अभिषेक विक्रम शाह काठमाडौं, अम्बर जंग गुरु लम्जुङ, राजेन्द बहादुर लामा काभ्रेपलाञ्चोक, ऋषि भण्डारी कास्की र राम प्रसाद सापकोटा (कमल) धादिङलाई अन्तिम ५ मा छनोट गरेको हो । रिक्त तीन जना बोर्ड सदस्यका लागि २३ व्यवसायीले आवेदन दिएका थिए ।
२०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी उपाध्यक्षसमेत रहेका चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिएसँगै पर्यटन बोर्डमा तीन जना सदस्यको पद रिक्त भएको थियो । समितिले अन्तिम ५ जनाको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाएको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले यी अन्तिम ५ जनाबाट ३ जनाको नाम बोर्ड सदस्यका लागि छनोट गर्नेछ ।
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : गत वर्षसम्म तरलताको उच्च अभाव रहेको नेपाली बैंकिङ्ग प्रणालीमा यतिबेला तरलता (पैसा) थुप्रिएको छ । गत वर्ष बैंकहरूले साना साना कर्जा मागमा फाइलहरू फिर्ता गर्ने गरेको सूचना आउथ्यो । यति मात्रै होइन, सर्वसाधारणले आफैले बैंकमा राखेको निक्षेप झिक्न पनि सीमा तोकिएको थियो । यसको अर्थ बैंकहरुसँग पैसा नै थिएन ।
तर पछिल्लो तथ्यांकअनुसार यतिबेला बैंकहरूले पर्वाह गरेको कर्जा भन्दा ११ खर्ब भन्दा बढी रकम जम्मा भएर बसेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यही साताको आइतबारसम्ममा बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ९४ अर्ब रुपैयाँँ निक्षेप छ । यस मध्ये वाणिज्य बैंकहरूमा मात्र ५४ खर्ब ८१ अर्ब रुपैयाँँ छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूमा ७ खर्ब १३ अर्ब रूपैयाँँ छ ।
तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट ५० खर्ब ८२ अर्ब रुपैयाँँ मात्रै कर्जा पर्वाह भएको छ । यसमध्ये वाणिज्य बैंकले ४४ खर्ब ९५ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीले ५ खर्ब ८७ अर्ब रूपैयाँँ लगानी गरेका छन् ।
यो तथ्यांकले निक्षेप र कर्जाबीचको अन्तर ११ खर्ब १२ अर्ब रूपैयाँ देखिन्छ । अहिले निक्षेप र कर्जाबीचको अनुपात (सीडी रेसियो) ७९ दशमलव ६७ प्रतिशत छ । तर नेपाल राष्ट्र बैंकले बैंकहरूले ९० प्रतिशत सिडि रेसियो कायम राख्ने ब्यवस्था गरेको छ । यसको अर्थ बैंकहरूले निक्षेपको १० प्रतिशत रकम सुरक्षाका लागि राख्नुपर्ने हुन्छ । अहिलेको तथ्यांक हेर्दा १० खर्ब रूपैयाँ लगानीयोग्य रकम बैंकहरूमा नै थन्किएको छ ।
चक्रिय समस्यामा बैंकहरू
बैंकहरूमा रकम थन्किदै गएपछि पछिल्लो समय घरजग्गा किनबेचका क्षेत्रमा फेरी लगानी बढ्न थालेको छ । तर उद्योगी ब्यवसायीहरूले पर्याप्त लगानी गर्न सक्ने अवस्था नहुँदा बैंकहरू समस्यामा भने परेका छन् । यद्यपि बैंकिङ्ग प्रणालीमा तरलता कहिले घट्नु वा कहिले बढ्नुलाई अस्वभाविक होइन । यो बैंकिङ चक्र नै भएको विश्लेषकहरू बताउँछन् । तर, लामो समय सानो पूँजी पनि लगानी गर्न नसकेको बैंकहरूमा लगानीयोग्य पूँजी हुँदा धमाधम लगानी हुनुपर्ने सामान्य बुझाइ छ । यसो किन हुन सकेन त ? त्यसले कति प्रभाव पारेको छ, भन्ने कुरा महत्वपूर्ण भएको अर्थविज्ञ युवराज भुषल बताउँछन् ।
उनको बुझाइमा अहिले बजारमा रहेको अधिक तरलताको जग अघिल्लो वर्षको तरलता अभाव नै हो । यसको अर्थ कारोना महामारीपछि नेपाली अर्थबजारमा देखिएको संकटले धराशायी बनेका उद्योष्हरू माथि उठ्नै सकका छैनन् । कतिपय त बन्द नै भएका छन् ।
त्यो समय बैंकहरूले लगानी गर्न नसकेकै कारण कयौं नयाँ उद्योगहरू धरासायी बने भने अहिले तिनै उद्योगले लगानी गर्न नसक्दा बैंकहरू समस्यामा परिरहेका छन् । यसरी बजारमा लगानी गर्ने वातावरण नै बिग्रदै गएपछि फेरि बैंकहरूमा रकम जम्मा भएर थुप्रिन थालेको हो ।
‘समस्या बढ्न सक्छ’
अर्थतन्त्र चलायमान बनाउने नै पैसाले हो । जसको आधिकारिता बैंकहरूसँग मात्रै हुन्छ । यस्तो अवस्थामा बैंकहरूले सन्तुलन कायम गर्न नसक्दा अर्थतन्त्रमा समस्या देखिनु स्वभाविक हो । अहिले पनि अर्थबजारमा थुप्रिदै गएको अधिक तरलताले अर्थतन्त्रमा जोखिम बढ्न थालेको विश्लेषण हुन थालेको छ ।
अहिले बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि पछिल्ला ब्याजदर घट्ने पर्खाइमा लगानीकर्ता छन् । बजारमा आवश्यकताभन्दा बढी तरलता अर्थात् बढी पैसा भयो भने बैंकहरूले ब्याज घटाएर कर्जा बढाउनुपर्ने बैंक बजारमो आधारभुत सिद्दान्त हो । अहिले बैंकहरूले पनि धमाधम ब्याज घटाइरहेका छन् । यस्ता कव्यक्ति वा संस्थामार्फत एकैसमय धेरै रकम बाहिरिने र अनुत्पादक क्षेत्रमा लगानी बढ्ने खतरा हुनेतर्फ सरोकारवालाको चिन्ता छ ।
यही कारण अर्थतन्त्रले सन्तुलन पनि गुमाउन सक्ने खतरा रहेको अर्थविद् भुषल बताउँछन् । उनी भन्छन्, ‘राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा तरलताको निश्चित सीमा नाघ्नु दिनु हुँदैन । यसले अर्थतन्त्रमा थप समस्या निम्त्याउन सक्छ ।’
यस्तै अवस्था रहे खासगरी नेपालमा पछिल्लो दशकमा निकै फस्टाएको घरजग्गा तथा रियलस्टेट क्षेत्रमा फेरि लगानी वृद्धि हुने जोखिम बढ्ने पनि विश्लेषण हुन थालेको छ ।
काठमाडौ : सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबमाईल्सले ‘नयाँबर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ । नयाँ वर्षमा ग्राहकहरुले सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुट साथै स्क्रयाच कार्डमार्फत् एक लाखसम्म नगद छुट पाउनेगरी उक्त योजना ल्याएको हो ।
क्यास एक्कासी वा कुनैपनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्यांकन भन्दा थप मोटरसाइकलमा १५ हजार, स्कुटरमा २० हजार र फाइनान्समा शुन्य प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो छनोट गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार सो योजना आगामी जेठ १८ सम्म लागू हुनेछ ।
साथै, सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले पाँच वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध गराउने जनाएको छ ।
काठमाडौं : एभरेष्ट बैंकले चैत ५ गतेबाट शुरु भएको साताव्यापी अभियान अन्तर्गत ग्लोबल मनी वीक २०२४ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको संयोेजनमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि बैंकले ग्लोबल मनी विक कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रम अन्तर्गत बैंकले सातवटै प्रदेशका विभिन्न शाखामार्फत् विभिन्न स्कुल-क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विद्यार्थीहरुमा वित्तीय शिक्षाको प्रदान गरेको छ ।
प्रोटेक्ट योर मनी सेक्युर योर फ्युचर भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेतना गराइएको बैंकले जनाएको छ ।
काठमाडौं : अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्नो नयाँ बजेट स्मार्टफोन अनर एक्स ७ बी नेपालमा प्रवेशको घोषणा गरेको छ । लामो समयसम्म चल्ने छ हजार एमएएच ब्याट्री, १०८ मेगा पिक्सेल मेन क्यामेरा र २५६ जिबी स्टोरेज सहितको अनर एक्स सेभेन बी आगामी हप्तामा नेपाली बजारमा प्रवेश गर्ने कम्पनीले जनाएको छ ।
छ हजार एमएएच अल्ट्रा–लार्ज ब्याट्री भएको अनर एक्स सेभेन बीले डिएक्सओ मार्कबाट ब्याट्रीमा गोल्ड लेबल पाएको छ । जसले एक पटकको चार्जपछि तीन दिनसम्म ब्याट्री चल्ने जनाइएको छ । एक पटकको चार्जपछि १८ घण्टासम्मको भिडिओ स्ट्रिमिङ, २४ घण्टा सोशल मिडिया ब्राउजिङ र ६९ घण्टा संगीत स्ट्रिमिङलाई हुने कम्पनीको दाबी छ ।
मोबाइल लोइङ सिल्भर, इमराल्ड ग्रीन (हरियो) र मिडनाइट ब्ल्याक (कालो) गरी तीन रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies