सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : जिल्लाको मध्यभागमा रहेको गरुडा तथा शिवनगरमा रहेका दर्जनौं बैंकहरुले आम नागरिकलाई गुणस्तरीय तथा भरपर्दो बैंकिङ सेवा उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । बैंकप्रति आम नागरिकलाई अझै जिम्मेवार, जवाफदेही र विश्वासिलो बनाउने तथा बैंकबाट प्रदान गरिने विभिन्न सेवाहरुका बारेमा जानकारी दिने उद्देश्यले गरुडामा गरुडा र शिवनगरका सम्पूर्ण बैंकका कर्मचारीहरुले बृहत् र्याली प्रदर्शन गरेका छन् ।
'बैंकबाट कारोबार गर्नुहोस्, बचत तथा बैंकमा आफनो पैसा सुरक्षित गरी आफनो भविष्य सुरक्षित गर्नुहोस्' भन्ने मूल नाराका साथ इलाका प्रहरी कार्यालय गरुडाको अगाडिबाट निस्केको र्याली गरुडा बजार परिक्रमा गरी मेथुरचौधरी चोकमा गएर कोणसभामा गएर परिणत भएको थियो । र्यालीमा गरुडामा रहेका दर्जनौं बैंक तथा वित्तीय संस्थाका म्यानेजर र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
गरुडाका राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, प्रभु बैंक, लक्ष्मी विकास बैंक, कैलाश विकास बैंक, मुक्तिनाथ बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, माच्छापुच्छ्रे बैंक, नबिल बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंकका प्रबन्ध निर्देशक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बैंकमा ग्राहकले जम्मा गरेको निक्षेपको सुरक्षाको अवस्था, बैंकबाट लिएका ऋण कस्ता क्षेत्र वा व्यापारमा लगानी गर्ने, बैंकबाट लिइएको ऋण कसरी सदुपयोग गर्नेलगायतका विषयमा आम नागरिकलाई जानकारी दिने उद्देश्यका साथ सम्पूर्ण बैंकरहरुको सहभागितामा उक्त र्याली निकालिएको राष्ट्रिय वाणिज्य बैंक गरुडा शाखाका प्रबन्ध निर्देशक अरविन्द झाले जानकारी दिए । बैंकिंङ कारोबार अन्य कारोबार भन्दा भरपर्दो र सुरक्षित रहेकाले बैंकबाट नै कारोबार गर्न झाले सबैलाई आग्रह गरे ।
उनले भने, ‘वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्था नै बैंक हो । रुपैयाँ बचत, त्यसको भुक्तानी, ऋण प्रवाह र अन्य सेवाहरू बैंकले प्रदान गर्छ । बैंकले बचतकर्ताबाट पैसा लिन्छ अनि दोस्रो व्यक्ति वा संस्थालाई ऋण दिन्छ । त्यसैले बैंकलाई वित्तीय मध्यस्थकर्ता पनि भनिन्छ,' उनले भने, 'बैंकमा पैसा राख्नु भनेको आफ्नो कमाइलाई पारदर्शी र सुरक्षित बनाउनु हो, बैंकबाट पाउने ब्याज, भुक्तानी रकम वा निक्षेपको पूर्ण जानकारी पाउन सकिने भएको हुँदा बैंकबाट कारोबार गर्नेतिर सबै लाग्नुपर्छ ।'
देशको समग्र बैंकिङ तथा वित्तीय प्रणालीप्रति जनविश्वास बढाउन, निक्षेपकर्ताको हकहितको संरक्षण, सम्बर्द्धन गर्न, गुणस्तरीय तथा भरपर्दो बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराइ वित्तीय स्थायित्व कायम गर्न बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख दायित्व रहेको हुँदा सोहीअनुसार आफूहरुले काम गरिरहेको प्रबन्ध निर्देशक झाले बताए ।
त्यस्तै एनएमबि बैंक गरुडा शाखाका प्रबन्ध निर्देशक अर्जुण कुमार ठाकुरले सुरक्षित, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सेवा उपलब्ध गराउन कुनै कसर बाँकी नराखेको बताए । बैंकिंङ क्षेत्रमा हुने गलत एवम् अपराधिक कार्यलाई रोक्न आफूहरुले कुनै कसर बाँकी नराखेको बताउँदै प्रबन्ध निर्देशक ठाकुरले आम नागरिकलाई सरल एवम् सहज रुपमा सेवा उपलब्ध गराउने बैंकको प्रमुख दायित्व रहेकाले सोहीअनुसार सेवा प्रवाह गर्दै आएको बताए ।
त्यस्तै प्रभु बैंक गरुडा शाखाका प्रबन्ध निर्देशक रामेश्वर श्रैष्ठले बैंक प्रयोगर्ताहरुलाई आ-आफना अकाउण्टको यूजर आइडी र पासवर्ड कसैलाई नदिन तथा यस्ता संवेदनशील विषयमा सावधानी अपनाउन आग्रह गरे । पछिल्लो समय बैंकिङ ठगीका घटना बढेको भन्दै उनले ग्राहकहरुलाई आफ्नो बैंकिङ विवरण अन्य कसैलाई पनि नदिन र सचेत हुन आग्रह गरे । आफ्नो पासवर्ड, ओटीपी कोड, डेबिट तथा क्रेडिट कार्ड नम्बर, पिन नम्बर, सीभीभी लगायतका अन्य कुनै पनि बैंकिङ विवरण अरुसँग शेयर नगर्न उनले आग्रह गरे ।
साथै उनले चिठ्ठा तथा उपहार परेको प्रलोभनमा त्यसको नाममा भन्सार एवम् कर तिर्नुपर्ने भन्दै रकम जम्मा गर्न लगाएर ठगी गर्ने क्रमसमेत बढेकोले त्यस किसिमका भ्रम तथा प्रलोभनमा नपर्न पनि आग्रह गरे ।
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : कोरोना महामारीपछि खस्किदै गएको अर्थतन्त्रमा सुधार आउन नसक्दा ब्यापार ब्यवसाय र उद्योग क्षेत्रमा समस्या देखिएका छन् । योसँगै उच्च मूल्य बृद्धि, उच्च बेरोजगारका कारण नेपाली अर्थतन्त्रमा उतार चढाव त कायमै छ । तर ब्यवस्थित र स्थायित्व कायम गर्दै जनताले महशुस गर्ने अर्थतन्त्र बनाउने अभिभारा बोकेका दुई महत्वपूर्ण निकाय अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको टसल वर्षौंदेखि उस्तै छ ।
पछिल्लो दशकमा नेपाली अर्थतन्त्रमा आएको उतारचढावलाई ब्यवस्थित गर्ने दायित्व बोकेका अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको ‘टसल’ सधैं नै रह्यो । योबीचमा अर्थमन्त्री बनेका सबैजसोको एउटै गुनासो रह्यो, राष्ट्र बैंकले समग्र अर्थतन्त्रको सुधारका लागि काम गर्न सकेन ।’ गभर्नरहरूको प्रतिरक्षा हुने गर्छ, ‘राष्ट्र बैंकले मौद्रिक नीतिमा काम गर्ने हो, अरू काम होइन ।’
२०७४ पहिलो साता एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेसँगै आर्थिक स्थायित्वको संचार पैदा भएको थियो । त्यो सरकारमा अर्थविज्ञ डा. युवराज खतिवडा अर्थमन्त्री बनेर सिंहदरबार छिरेपछि अर्थतन्त्र ‘भी सेभ’मै माथि उठ्ने विज्ञहरूको आँकलन थियो ।
तर अर्थ मन्त्रालय र केन्द्रिय बैंकबीचको टसल झन् बढेपछि अर्थतन्त्र निराश बन्यो । तत्कालीन गभर्नर चिरञ्जिवी नेपालसँग खतिवडाको शीतयुद्ध नै चल्यो । सरकारको आर्थिक सल्लाहकार मानिने गभर्नरलाई खतिवडासँग अर्थमन्त्रीले कुनै सल्लाह त लिएनन् नै सार्वजनिक कार्यक्रममा बोलचाल समेत बन्द भयो । त्यतिबेला खतिवडाको आरोप थियो, ‘अर्थतन्त्र सुदृढिकरणका लागि काम गर्न नसक्ने गभर्नरले बजेट निर्माण सहयोग गर्न सक्दैनन् ।’
तत्कालीन गभर्नर नेपालको कार्यकाल सकिएपछि २०७६ चैतको अन्तिम साता खतिवडाले आफ्नै दल एमाले निकट महाप्रसाद अधिकारीलाई गभर्नरमा नियुक्त गरे । तर त्यसको केही समयमा खतिवडा नै अर्थ मन्त्रालयबाट बाहिरिए । त्यसपछि अर्थमन्त्री रूपमा सिंहदरबार छिरेका बिष्णुप्रसाद पौडेलसँग भने केही समय गभर्नर अधिकारीको सम्बन्ध सुमधुर रह्यो । बिष्णु पौडेलले त्यतिबेला गभर्नर अधिकारी र निजी क्षेत्रसँग कयौं छलफल गरे । शेयर बजार र निजी क्षेत्रमा केही सकारात्मक सञ्चार आयो ।
तर सो सम्बन्ध लामो समय टिकेन । तत्कालीन अर्थमन्त्री पौडेल कोरोना महामारीको संकट ब्यवस्थापनसँगै अर्थतन्त्रको सुदुढिकरणको लागि गभर्नरमा भर पर्न थालेपछि फेरि अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सम्बन्ध भित्रभित्रै चिसिएको बताइन्थ्यो ।
सत्ताबाट ओली मन्त्रीमण्डल बाहिरएपछि दुईपटक अर्थमन्त्री बनेका माओवादीका जनार्दन शर्मा र गर्भनर अधिकारीबीच सार्वजनिक रूपमै आरोप प्रत्यारोप चल्यो । कुरा यतिमै सीमित रहेन, अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई पदबाट निलम्बन नै गरे । पछि सर्वोच्चको फैसलापछि अधिकारीको पुनर्वहाली भयो ।
पछिल्लो पटक अर्थमन्त्री बनेका काँगेसका डा. प्रकाशसरण महतसँग पनि गभर्नरको सम्बन्ध उस्तै रह्यो । अर्थमन्त्री महतले गभर्नर अधिकारीले अर्थतन्त्र सुधारका लागि काम गर्न नगरेको आरोप पटकपटक लगाइरहे ।
भर्खरै अर्थमन्त्रीका रुपमा सिंहदरबार छिरेका वर्षमान पुन र गभर्नबीचको समबन्धका विषय बाहिरने समय नै भएको छैन । यद्यपि दलीय आस्थाकै हिसाबले यी दुइको पृष्ठभूमी पनि फरक भएकाले अथतन्त्रको सुधारका लागि एकै बाटो होला भन्ने शंका गर्ने ठाउँ प्रसस्तै छन् ।
राष्ट्र बैंकको भूमिका
केन्द्रिय बैंकको कार्य गर्न नेपाल राष्ट्र बैंकको स्थापना गर्न बनेको ऐनको प्रस्तावनामा उल्लेख छ, ‘नेपालको अर्थतन्त्रको दीगो विकासमा सहयोग पुग्ने गरी मूल्य र शोधनान्तर स्थिरता तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नका लागि केन्द्रिय बैंकको रूपमा नेपाल राष्ट्र बैंकको स्थापना गर्नु वाञ्छनीय भएकाले...’
सोही ‘नेपाल राष्ट्र बैंक ऐन २०५८’ को दफा ४ को २ मा भनेको छ, ‘उपदफा १ बमोजिमको उद्देश्यमा कुनै प्रतिकूल प्रभाव नपर्ने गरी बैंकले नेपाल सरकारको आर्थिक नीति कार्यान्वयनमा सहयोग पु¥याउने छ ।’ ऐनको यो बुँदामा उल्लेख भएको उपदफा २ मा मूल्य र शोधनान्तर स्थिरता, वित्तीय सेवाको पहुँच, बैंकिङ्ग प्रणालीलाई सुरक्षित भरपर्दो बनाउने विषय उल्लेख छन् ।
यसरी नेपालको संवैधानिक स्वायत्त निकाय नेपाल राष्ट्र बैंकको भूमिका मौद्रिक नीति र वित्तीय बजारमा काम गर्ने मात्रै होइन्, समग्र अर्थतन्त्रको सुधारका लागि हो भन्ने कुरा ऐनले नै स्पष्ट पारेको छ ।
तर राष्ट्र बैंकले अहिले निरन्तर बजार मूल्यको अध्ययन र बैंकिङ्ग प्रणालीको नियमन गरिरहेको छ । उसो त नेपाल राष्ट्र बैंकले पनि हरेक वर्ष निकाल्ने मौद्रिक नीतिमा सरकारको वित्त स्थितिबारे समीक्षा गरिन्छ । तर त्यसको अन्य निकायको तथ्यांक मात्रै समावेश गरिन्छ ।
यस बाहेक समग्र अर्थतन्त्रबारे राष्ट्र बैंकले किन अध्ययन गर्दैन त ? राष्ट्र बैंकको आफ्नो जिम्मेवारी मौद्रिक व्यवस्थापन मात्रै भएको दाबी पटक पटक गरिहन्छ भने अर्थमन्त्री’हरू प्रश्न गरिरहन्छन् । उसोभए किन प्रष्ट भएन ? ‘राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला भन्छन्, ‘यो त सरकारमा रहनेहरूले नबुझेको हो । राष्ट्र बैंकले आफुले गर्ने काम गरिरहेको छ ।’
लामो समय राष्ट्र बैंकमै काम गरी गभर्नर समेत भएका तिलक रावल भने यो विषय खास ठूलो नभएको बताउँछन् । उनी भन्छन्, ‘पछिल्ला वर्षमा राष्ट्र बैंकले मौद्रिक नीतिमा करेक्सन गरिरहेको छ । अनावश्यक अपेक्षा राख्नु त उनिहरूको कमजोरी हो ।’
पूर्व गभर्नर चिरिन्जिवी नेपाल पनि गभर्नर र अर्थमन्त्रीबीच संसारभर नै टसल हुने भएकाले यो सामान्य विषय भएको बताउँछन् । नेपालको बुझाइमा अहिलेको समस्या स्पष्ट आर्थिक नीति नहनु हो ।
मौद्रिक कार्य र समग्र अर्थतन्त्र फरक हो ?
कुनै पनि देशको समग्र आर्थिक स्थितिले त्यहाँको सरकारी वित्त नीति र मौद्रिक नीतिको स्वरूप निर्धारण गर्छ । यसको अर्थ जब कुनै पनि देशको अर्थतन्त्रमा संकट देखिन्छ त्यो समयमा बन्ने वित्त नीति र मौद्रिक नीति दुबै संकट समाधानमा केन्द्रित हुनुपर्छ भने अर्थतन्त्र ठिकठाक छ भने दुबैले उचितब्यवस्थापन र प्रभावकारी नियमनमा केन्द्रित हुनुपर्छ । त्यसकाराण मौद्रिक बजार देशको समग्र अर्थतन्त्र भित्रैको एक क्षेत्र हो ।
जब कुनै पनि देशमा आर्थिक मन्दीको संकेत देखिन्छ । त्यसको प्रमुख आधार त्यहाँ आर्थिक क्रियाकलाप कमजार भएको बुझिन्छ । त्यहाँ स्वाभाविक रूपमा आम्दानी र क्रमशक्तिमा ह्रास आउँछ । त्यैको प्रभावले उपभोग र बस्तु तथा सेवाको मागमा कमी कमी आउँछ । यसैको प्रभावले ब्यसायी तथा उद्योगीहरूको कारोबार र आयमा पनि कमी आइ सरकारी आम्दानीमा पनि चाप पर्छ ।
सरकारी आम्दानी घटदा आन्तरिक स्रोतबाट धान्नुपर्ने कामहरू पभावित हुन जान्छन् र सरकारले आन्तरिक ऋणले काम चलाउनुपर्ने बाध्यता हुन जान्छ । फेरि यसको असर चाहिँ बैंकहरूको लगानीयोग्य पूँजीमा कमी आउँछ र निजी क्षेत्रको लगानीमा उच्च प्रभाव पर्न जाने हुँदा रोजगारी, आम्दानी, क्रयशक्ति र उपभोगमा पनि चाप पर्न जान्छ । यो अर्थतन्त्रको चक्र हो ।
यही तर्क दिदै अर्थशास्त्रीहरू भन्छन्, ‘त्यसकारण बजारको मूल्य स्थयित्व र रोजगारी एक अर्काका परिपुरक हुन् । मौद्रिक प्रणाली, मूल्य र अन्य अर्थतन्त्र फरक हुन भन्न मिल्दैन ।’ यसै सन्दर्भमा राष्ट्र बैंकको दोहोरो भुमिका ‘डुवल म्याडेट’ सन्दर्भमा पछिल्लो दशकमा संसारभर चर्चा र काम भइरहेका छन् ।’
पूर्वअर्थमन्त्री एवम् अर्थशास्त्री डा. युवराज खतिवडा पनि यसमा सहमत छन् । ‘सरकारले अधिक आन्तरिक ऋण लिन थालेपछि बैंकबाट निजी क्षेत्रलाई कर्जामार्फत जानुपर्ने रकम सरकारमा आउँछ । निजी क्षेत्रले कर्जा पाउन छाड्छ वा बढी ब्याज तिरेर मात्र कर्जा पाउंँछ । बैंकबाट भने जति पैसा पाउन छाडेपछि निजी क्षेत्रले कर्जा संकुचन (क्रेडिट क्रन्च) को अवस्था महसुस गर्छ । त्यसो हुँदा व्यावसायिक मनोबल गिर्दै जान्छ ।’
नेपालको सन्दर्भमा उनले लेखेको एक लेखमा भनिएको छ, ‘समग्रमा, सरकारले आफ्नो खर्च धान्न ऋणपत्र जारी गर्दै उच्च ब्याजमा बैंकबाट पैसा लिन थालेपछि निजी क्षेत्रले सस्तो ब्याजमा कर्जा पाउँदैन । केही समय अघिसम्म सस्तो ब्याजमा जति पनि कर्जा पाइरहेकामा भने जति रकम सस्तो ब्याजमा पाउन छाड्दा निजी क्षेत्र विचलित हुने स्थितिमा पुग्छ । अझ सस्तो ब्याजमा लिएको कर्जा लगानी भएका क्षेत्रमा शिथिलता आउँदा सम्पत्ति बेचबिखन गरेर कारोबार धान्ने वा कर्जा तिर्ने अवस्था पनि बन्दैन ।’
अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ ?
आर्थिक स्थायित्वलाई प्रभावकारी रूपमा अघि बढाउन खोजिरहेका अधिकांश देशका केन्द्रिय बैंकले मूल्यको स्थिरता र आर्थिक बृद्धि दुबैमा काम गरिरहेका छन् । छिमेकी देश भारतका केन्द्रिय बैंकले पनि मौद्रक कार्य मात्रै होइन, अर्थतन्त्रमा अन्य क्षेत्रमा पनि दोहोरो भूमिकामा नै काम गरिरहेका छ ।
यसको अर्थ केन्द्रिय बैंकले देशमा अधिकतम रोजगारीको सृजना गरेर मानिसहरूको क्रयशक्ति बढाउनु र मूल्यमा स्थायित्व कायम गर्नु हो । अझैं भन्नुपर्दा केन्द्रिय बैंकले मुद्रा आपूर्तिलाई नियन्त्रण गरेर अर्थतन्त्रको गति सुस्त हुँदा वा छिटो हुँदा दुबै अवस्थामा ब्याजदरहरू बढाएर वा घटाएर काम गर्ने गर्छ ।
राष्ट्र बैंकले काम कसरी गर्न सक्छ ?
रोजगारीको मापनले नै समग्र अर्थतन्त्रमा सो देशको मुद्रास्फीतिको दबाब महशुस हुन्छ । अधिकतम वा पूर्ण रोजगारीका सवालमा केन्द्रिय बैंकले कसरी काम गर्न सक्छ त ?
कुनै पनि देशमा रहेको बेरोजगारी स्तर मापन सामान्य आर्थिक अवस्था वा बूम वा मन्दीको अवस्थाले निर्धारण गर्छ । यस्तो अवस्थाबाहेक सामान्यतया आफै हुने बेरोजगारी अर्थात् वार्षिक वा मासिक रूपमा श्रमबजारमा स्वभाविक आउने जनशक्ति हुन्छ । ती दुबै बेरोजगारीलाई ब्यवस्थापन गर्न सक्नु मात्रै सबल अर्थतन्त्र हो ।
नेपालको सन्दर्भमा हरेक महिना वा आवधिक रूपमा आउने राष्ट्र बैंकको सर्वेक्षणमा बजारमा बेरोजगारी र रोजगारीको अवस्था ल्याउन सकिन्थ्यो । यस्तो तथ्यांकले रोजगारी सृजनाका लागि सहयोग हुन सक्छ ।
कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँगको भेटघाट गर्दै नेपालमा वैदैशिक लगानी भित्र्याउन पहल गर्ने बताएका छन् । सिंहदरबारस्थित अर्थमन्त्रालयमा अर्थमन्त्री पुनसँग भेटको क्रममा उनले सो आश्वासन दिएका हुन् । भेटमा क्रममा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरियन सरकारलाई धन्यवाद दिएका छन् ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को लगानीमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार गरी हाल निर्माणाधीन ११ विभिन्न आयोजनामा लगानी गरेको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको जानकारी दिए । मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको सहभागिताका लागि प्रेरित गरिदिन राजदूत थेयङलाई आग्रह गरेका छन् ।
ठूलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा आफूहरु स्पष्ट भएकाले त्यसका लागि आवश्यक नीतिगत र कानुनी अड्चन हटाउन लागिएको जानकारी दिए । मन्त्री पुनले नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको बताए । राजदूत थेयङले यस अघिको विकास साझेदारी र रोगजारी प्रणाली (ईपीएस) लाई निरन्तरता दिदै जाने बताए । नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औं वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा लगानी गर्न चाहेको उनले बताएका छन् ।
कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा ईपीएस सम्झौता भएको १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको उनले जानकारी दिएका छन् । नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको उनले बताए । उनले नेपालमा कृषि उत्पादन बढाउन तथा वातावरण परिवर्तनले कृषि उत्पादनमा पारेको नकारात्मक प्रभाव कम गर्न केन्द्र स्थापना गरिएको उल्लेख गरे ।
गण्डकीमा सञ्चालित कोरियन भोकेसनल सेन्टरलाई सातवटै प्रदेशमा विस्तार गर्ने नीति रहेको । नेपालले आगामी सन् २०२६ भित्र सहश्राब्दी विकास लक्ष्य हासिल गर्नुपर्ने भएकाले त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयात बढाउन चाहेको समेत उनले जानकारी दिए ।
आगामी मे महिनाबाट नेपालमै हुन्डाई कम्पनीका गाडी उत्पादन हुन लागेको बताउँदै उनले वार्षिक चार हजार पाँच सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । त्यसका लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन उनले अर्थमन्त्री पुनलाई आग्रह गरेका छन् । कोरियाले नेपालमा धेरैधन्दा धेरै विदेशी लगानी भित्र्याएर रोजगारीका अवसर सिर्जना होस् भन्ने चाहना राखेकाले लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
‘धेरै देशले नेपालमा लगानी गर्न चाहनुको साथै अन्य मुलुकबाट ठूलो संख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान रहोस्’, राजदूत थेयङले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौं ।’ नेपालले दोहोरो कर र लगानी संरक्षण ग्यारेन्टी गर्नु पर्नेमा भने उनको चासो थियो । राजदूत थेयङले रोजगार प्रणाली अन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको समेत जानकारी दिएका छन् ।
काठमाडौं : ग्लोबल मनी वीकको अवसरमा समृद्धि फाइनान्सले बिहीवार बुटवल शाखा र शुक्रवारको दिन कसाहा शाखा र बनेपा शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
‘प्रोटेक्ट योर मनी, सेक्युयर योर फ्युचर’ भन्ने मूल नाराका साथ बुटवल शाखाबाट साधना महिला विद्यालयका ८६ जना महिला विद्यार्थीलाई, कसाहा शाखाबाट दिव्य शक्ति तरकारी खेती पकेट समूह धनगडी माई ७ फुलकाहाका ४९ किसानहरुलाई र बनेपा शाखाबाट काभ्रे मल्टीपल क्याम्पसका ५३ जना विद्यार्थीहरुलाई वित्तीय साक्षरता दिईएको थियो ।
कार्यक्रममा अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषयमा प्रस्तुतीकरण गरिएको थियो । सो अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरुबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
काठमाडौं : नेपालका लागि जापानी दूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले वीरगञ्जस्थित परवानीपुरमा रहेको केएनपी जापान प्रालिले सञ्चालन गरेको फ्याक्ट्री अवलोकन भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले फ्याक्ट्री सञ्चालन तरिका र सुविधाका बारेमा जानकारी लिएका थिए ।
अवलोकन भ्रमणका क्रममा फ्याक्ट्रीको उच्च प्रविधि युक्त उत्पादन प्लान्ट देखेर तामुराले खुसी व्यक्त गरेको कम्पनीले बताएको छ । केएनपी जापानको सिसारहित र न्यून भीओसी भएको पेन्ट्सले सर्वसाधारणलाई स्वस्थ पेन्टको महत्व दर्शाउने काम गरेकोमा कम्पनीलाई धन्यवाद व्यक्त गरेको कम्पनीको भनाइ छ ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नाडा सदस्यबीच नेपालमै चार पांग्रे सवारी साधनको एसेम्बलिङ गर्ने सम्बन्धमा छलफल भएको छ । बिहीबार नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले मन्त्री भण्डारीसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको हो ।
उक्त भेटघाट तथा छलफलमा वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा दुई पांग्रे सवारी साधनहरुको एसेम्बलिङ उद्योगहरु खुल्दै गएको र चार पांग्रे एसेम्बलिङ उद्योगहरु पनि खुल्ने क्रममा रहेको तर सरकारको अस्थिर नीतिका कारण अधिकांश अटोमोबाइल उद्यमी र व्यवसायीहरु ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए ।
यसकारण अटोमोबाइल उद्योगलाई अघि बढाउनका लागि सरकारले स्थायी नीति ल्याउन आवश्यक रहेको उनले बताए । सरकारले गत फागुन २५ गतेको राजपत्रमार्फत् एजेन्सी, संशोधन र एकीकरण सम्बन्धी पहिलो संशोधन जारी गरेको सन्दर्भमा त्यसका केही बुदाँहरुमा द्विविधा उत्पन्न भएकाले आवश्यक प्रष्टताका लागि समेत वरिष्ठ उपाध्यक्ष गोल्छाले मन्त्रीलाई अनुरोध गरेका थिए ।
छलफलको अन्त्यमा मन्त्री भण्डारीले सरकारले उद्योग व्यवसायको उत्थानको लागि सक्दो सहयोग र साथ दिने बताए । यसबाहेक उनले नेपालीहरुको विदेशिने क्रमलाई रोक्न व्यवसायीहरुले रोजगारी सिर्जना गर्नुपर्ने बताउँदै रोजगारी सिर्जना गर्न आग्रह गरे । मन्त्री भण्डारीले व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारले नीतिगत न्यूनतम कार्यक्रम बनाउन लागेको र त्यसले वर्तमान निराशालाई चिर्दै आशा जगाउने विश्वास व्यक्त गरे ।
उक्त छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ, नाडाका सह–कोषाध्यक्ष पंकज अग्रवाल, नाडाका केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल, नाडाको सदस्य कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनीबाट अभिमन्यू गोल्छा र एमए डब्लु इन्टरप्राइजेजबाट धर्वेन्द श्रेष्ठको उपस्थिति थियो ।
काठमाडौं : एनसेलले फागु पूर्णिमा अर्थात होली पर्वको अवसरमा होली अफर ल्याएको छ । सो अफर अन्तर्गत एनसेलले आफ्ना ग्राहकहरुलाई इण्डिया रोमिङ् प्याकमा २५ प्रतिशत छुट उपलब्ध गराएको हो । सो अफरमार्फत ग्राहकहरुले अझ सुलभ शुल्कमा इण्डिया भ्रमणमा रहँदा सहजै सम्पर्कमा रहन सक्ने कम्पनीले बताएको छ ।
शुक्रबारबाट सञ्चालनमा आएको यो छुट योजनामा ग्राहकले कर सहित एक सय पर्ने इण्डिया रोमिङ् प्याक अब मात्र ७५ रुपैयाँमा सुचारु गर्न सक्छन् । विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने ग्राहकले यो प्याक लिएर आफ्नो दूरसञ्चार सेवा खर्चमा कटौती गर्न सक्छन् ।
यो प्याक सुचारु गरेपछि प्रतिदिन २५ रुपैयाँका दरले तीन दिनसम्म रोमिङ् सेवाको पहुँचबाट फाइदा लिन सकिन्छ । यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल पाँच सय एमबी डेटा पाउँछन् जसले सामाजिक सञ्जाललगायतका माध्यमहरु मार्फत सम्पर्कमा सहिरहन मद्दत गर्दछ । साथै भ्वाइस र एसएमएस सेवाको शुल्कमा पनि भारी छुट पाउँछन् ।
यो प्याकमा आगमन कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट रहेको छ । यसको मतलब ग्राहकले कर सहित मात्र १६.४८ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित ६.३४ मा एसएमएस पठाउन सकिन्छ ।
काठमाडौं : ग्लोबल मनी वीक २०२४ को अवसरमा ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको छ । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) ले शुक्रबार विद्यार्थीहरुको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको हो । ग्लोबल मनी वीक २०२४ को उपलक्ष्यमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका एमबिए अध्ययनरत विद्यार्थीहरुलाई सन सेक्युरिटिज प्रालिले ब्रोकर अफिस भिजिट कार्यक्रम सञ्चालन गरेको हो ।
सो अवसरमा सन सेक्युरिटिजले प्रदान गर्ने कारोबार सेवा तथा डिम्याट खाता सेवाका साथै ब्रोकर अफिस अन्तरगत आन्तरिक रुपमा सञ्चालन हुने विभिन्न विभाग तथा सो अन्तर्गत सञ्चालन हुने विभिन्न कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । पुँजीबजार अन्तरगतको एक अभिन्न क्षेत्रको रुपमा रहेको ब्रोकर व्यवसाय विस्तारै थप व्यवसायिक तथा प्रतिस्पर्धी बन्दै गएको अवस्थामा सन सेक्युरिटिज प्रालिको अत्याधुनिक कारोबार स्थलमा बसेर कारोबार गर्ने लगानीकर्ताहरुले सुरक्षित रुपमा लगानी गर्न सक्नेगरी भौतिक पूर्वाधार तयार गरेको छ ।
जसमा लगानीकर्ताहरुले चार घण्टाको समय कारोबार गर्न फराकिलो एवं सहज कारोबार स्थल, चिया कफिका लागि क्याफे सेवा तथा आफैँले कारोबार गर्न नजान्ने लगानीकर्ताहरुका लागि खरिदबिक्री गर्न अनुभवी ट्रेडिङ कर्मचारी लगायतको सुविधा प्रदान गर्नुका साथै आफैंले खरिदबिक्री गर्ने लगानीकर्तालाई निःशुल्क इन्टरनेट सेवा एवं पूँजीबजार तथा लगानी सम्बन्धमा अध्ययन गर्ने विभिन्न श्रोत सामाग्री तथा पुस्तकहरु समेत प्रदान गरिरहेको जानकारी सन सेक्युरिटिजका अध्यक्ष कृष्ण गिरीले विद्यार्थीहरुलाई जानकारी गराए ।
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका एक सय ११ वटा शाखा कार्यालयमार्फत् एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
बैंकले ग्लोबल मनी वीक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।
ग्लोबल आइएमई बैंकले आफ्ना तीन सय ५४ वटै शाखाहरुमार्फत् वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरुसञ्चालन गर्ने उद्देश्य राखेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरु लगायतका सहभागितामा विभिन्न सन्देशमूलक प्लेकार्डसहित प्रभातफेरी कार्यक्रमसहित कम्पनीको वार्षिकोत्सव सम्पन्न भएको हो ।
उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घण्टाघर–भद्रकाली–जमल हुँदै पुनः कमलादीमा पुगेर टुंगिएको थियो । साथै मानव जीवनको रक्षा गर्ने उद्देश्यले नेपाल रेड क्रस सोसाईटीसँगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा ५५ जना भन्दा बढी सहभागीहरुले रक्तदान गरेका थिए । साथै काठमाडौं शान्तिनगरस्थित असहाय वृद्धवृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको निःसहाय सेवा सदनमा आहार बिहार र देशैभरी विभिन्न शाखा कार्यालयहरुमार्फत् सामाजिक उत्तरदायित्व अन्तर्गत सोही किसिमका कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । सानिमा रिलायन्सको चुक्ता पुँजी ४.१८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष १२.६९ अर्ब रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies