काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भइ लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
हाल अमेरिकामा रहनुभएका अर्थमन्त्री पुनले अमेरिकी च्याम्वर अफ कमर्सद्वारा वासिङ्गटन डिसीमा आयोजना गरेको राउण्ड टेवल छलफलमा सो आग्रह गरेका हुन् ।
कार्यक्रममा अमेरिकी सहयोग नियोगकी उपसहायक प्रशासक अञ्नली कौर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, अमेरिकी च्याम्वर अफ कमर्सको दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल कश्यपलगायतले नेपालको उक्त लगानी सम्मेलनको बारेमा धारणा राखेका थिए । सो कार्यक्रममा नेपालमा लगानी गरिरहेका अमेरिकी कम्पनीहरुको समेत सहभागिता रहेको थियो ।
नेपालमा वैदेशिक लगानी भित्र्याउने अभिप्रायले गर्न लागिएको तेस्रो लगानी सम्मेलन यही वैशाख १६ र १७ गते आयोजना गरिएको छ ।
यसैबीच अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्षहरु अकिहितो निशीओ र गुन्जे चेनसँग भेटघाट गरेका छन् । चेनसँगको भेटघाटमा मन्त्री पुनले उपल्लो अरुण जलविद्युत आयोजनाका लागि बैंकको लगानीसम्बन्धी विषयमा छलफल गरेका थिए ।
यसैगरी अर्थमन्त्री पुनले अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग भेट गरी अर्को चरणको निगमको लगानीमा विस्तार गर्नेबारेमा समेत छलफल गरेका थिए । निगमले नेपालमा साना व्यवसायको वित्तीय साधन पहुँचका लागि महिलाहरुले सञ्चालन गरेका फर्म तथा पर्यावरणमैत्री आयोजनाका लागि ग्लोबल आइएमई बैंकमार्फत पाँच करोड ६० लाख डलर बराबरको लगानी गरेको छ ।
छबि सापकोटा/मध्यान्ह
भैरहवा : नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण प्रकिया शुरु गरेको छ । निगमले भैरहवाबाट ७ किलोमिटर टाढा रहेको ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाको बीचमा रोहिणी खोला किनारामा रहेको १४ बिगाहा जग्गामा भण्डारण गृह निमार्ण प्रक्रिया बुधबारदेखि शुरु गरेको हो ।
निमार्ण प्रक्रिया शुरु भएसँगै भूमि सम्याउने तथा रिटेनिङ वाल निमार्णको कार्य शुरु गरिएको छ । पेट्रोलियम भण्डारण गृह निर्माण परियोजना प्रमुख प्रदीप यादवले भने ‘निमार्ण प्रक्रिया शुरु भएको छ । डिजेल भण्डारणका लागि दुई हजार १ सय किलोलिटर क्षमताका तीन वटा, पेट्रोल भण्डारणका लागि एक हजार ६ सय किलोलिटर क्षमताका दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटर क्षमताका तीन वटा ट्यांक निर्माण गरिनेछ ।’
उनले अगाडि भने, ‘यो भण्डारण गृह बनेपछि डिजेल २० दिनका लागि पुग्छ । अहिले भलवारी डिपोमा ७ दिनका लागि मात्र पुग्ने छ । भलवारी १० वटा गाडीको प्रोटोलियम पदार्थ भण्डारणका लागि बनाइएको डिपोमा अहिले सय गाडी राख्नु परेको छ । त्यसैले भलवारीको विकल्पमा रोहिणीमामा भण्डारण गृह छिटो बनाउनुको विकल्प छैन ।’
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले परियोजना निर्माणमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले परियोजना स्थानीयवासीलाई रोजगारीको अवसर तथा विकासका लागि महत्वपुर्ण हुने बताए । आयोजनाको लागत करिब तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
भण्डारण डिपो निर्माणस्थल नजिक बस्ती नभएकाले डिपो भण्डारणका लागि उत्तम थलो रहेको निगमले जनाएको छ । अब निर्माणस्थल नजिक रहेको खोलामा करिब दुई मिटर अग्लो बाँध निर्माण गरिने छ । आगामी असारसम्म तटबन्ध लगाउने काम सम्पन्न गरेर असोजभित्र परियोजनाको डिपिआर बन्नेछ । यस्तै आगामी मंसिरमा भण्डारण परियोजना निर्माणको शिलान्यास गर्ने र २०८३ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
परियोजनाको डिजाइन काठमाडौं विश्वविद्यालयले गर्नेछ । काठमाडौं विश्वविद्यालयका प्राध्यापक विवेक बरालले भने, ‘यो उर्जाको संरचना बन्न लागेको छ । सम्रग उर्जाको भण्डारणमा टेवा दिने छ । मुलुकको ऊर्जा सुरक्षाका लागि भण्डारणगृह महत्वपूर्ण छ ।’
२०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थको हाहाकार भएपनि निगमले सातै प्रदेशमा पेट्रोलियम पदार्थको जग्गा खरिद गरेको थियो । २०७२ साल असोज ५ गते जग्गा खरिद गरिएको थियो । निगमले झापा, सर्लाही, चितवन, भैरहवाको जग्गामा परियोजना अगाडि बढाउनुपर्ने भनेर बजेट समेत स्वीकृत भएको नियमले जनाएको छ ।
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । आकिहिको निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ । अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटीसँग अर्थमन्त्री पुनले भेटवार्ता गरेका थिए ।
सो अवसरमा अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्ष आकिहिको निसिओसँग आगामी जुनमा काठमाडौंमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१)को बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिए । सो बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको बताए । उनले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह गरे ।
नेपालजस्ता विकासोन्मुख देशका लागि भरपर्दो माध्यम बनाउन सकिने भन्दै मन्त्री पुनले पछिल्लो दशकमा दूरसञ्चार, यातायात, स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व समुदायले हेर्न लायक भएको उल्लेख गरे ।
नेपाल सरकार र १६ विकास साझेदारले सन् २०२१ मा संयुक्त रुपमा अनुमोदन गरेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का लागि रणनीतिक कार्ययोजना समावेश गरिएको काठमाडौँ घोषणापत्रको मार्गनिर्देशनमा अघि बढेको उनले जानकारी दिए । सो घोषणापत्रको अवधारणाअनुसार आगामी वर्ष पहिलो हरित उत्थान र समावेशी विकास कार्यक्रम अन्तर्गतको (ग्रिड डिपीसी) कार्यान्वयन गर्न लागिएको उनको भनाइ थियो ।
मन्त्री पुनले एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलाशययुक्त आयोजना र छ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा विश्व बैंकले लगानी गर्न देखाएको तत्परताका लागि प्रशंसा गरे ।
विश्व बैंकको पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेनसँग भएको भेटमा मन्त्री पुनले नेपालले पूर्वधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । सरकारका तर्फबाट ऊर्जा, यातायात र सहरी पूर्वाधार केन्द्रित योजनामा जोड दिइएको उनको भनाइ थियो । उनले गत साता मात्र दुई ठूला जलविद्युत आयोजनाहरू माथिल्लो अरुण र दूधकोशीको वित्तीय ढाँचाबारे विश्व बैंकका काठमाडौंस्थित अधिकारीहरुसँग भएको ‘राउण्डटेबल’ बैठक फलदायी भएको भन्दै छिट्टै वित्तीय व्यवस्थापनको टुंगो लाग्नेमा आशा व्यक्त गरे ।
माथिल्लो अरुण आयोजना क्षेत्रका प्रभावितलाई मुआब्जा र क्षतिपूर्ति वितरण, पहुँचमार्ग निर्माण तथा जमिनको अधिग्रहणजस्ता काम सकिने चरणमा पुनेको उनले जानकारी दिए । नेपालले जलविद्युत्का लागि क्षेत्रीय बजारको समेत सुनिश्चितता गरेको भन्दै उनले भारतसँग आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरेको र बंगलादेशले समेत नेपालको विद्युत किन्ने प्रक्रिया अघि बढिसकेको स्पष्ट पारे ।
आईएफसीका उपाध्यक्ष पुलिटीसँगको भेटमा मन्त्री पुनले आगामी दिनमा आईएफसी र नेपालबीचको सहकार्य थप प्रगाढ र सुदृढ भएर जाने विश्वास व्यक्त गरे ।
मान्म - कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । सदरमुकाम मान्म बजारबाट दुई किलोमिटर टाढा रहेको कोटदरबार क्षेत्रबाट जिल्लाभरको दृश्य अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको रोजाइमा परेको हो ।
कोटदरबार क्षेत्र अग्लो स्थानमा रहेकाले दैलेखको पश्चिम र अछामको पूर्वी भागका साथै कालिकोटको अधिकांश भू–भागको अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको खाँडाचक्र–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताए । सदरमुकामबाट नजिकै भएकाले स्थानीय बिहान मर्निङ वाक गर्न तथा बेलुका आरामका लागि पनि यहाँ पुग्ने गरेका उनको भनाइ छ । वडाध्यक्ष ताम्राकारले, ‘सदरमुकाम बस्ने कर्मचारी, व्यापारी र स्थानीय जिल्लाको दृश्य अवलोकन गर्न तथा आराम गर्न यहाँ आउने गरेका छन् । बिदाका दिन तथा चाडपर्वमा यो क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुने गर्छ ।’ स्थानीय तथा प्रदेश सरकारबाट कोटदरबार क्षेत्रमा पर्यटकीयस्थल संरक्षणका लागि ग्याबिन तार, तीन वटा प्रतिक्षालय, खानेपानीको धारा र राजा मलय बम्मको सालिक राख्न आवश्यक पूर्वाधार निर्माणलगायत काम भइरहेको स्थानीयवासी नरेन्द्रबहादुर शाहीले बताए ।
‘यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय र प्रदेश सरकारले केही रकम विनियोजन गरेर गोरेटो बाटो, प्रतिक्षालय, मन्दिर तथा अन्य संरचना नभएको थियो । ती संरचनाको संरक्षण नहुँदा जीर्ण बन्दै गएका छन्’, उनले भने । स्थानीय सरकारमा यसको संरक्षण र प्रवद्र्धनका लागि नीतिगत रुपमा काम गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
नेपालमा बाइसे–चौबिसे राज्य हुँदा राजकाजका लागि प्रयोग भएको कोटदरबार क्षेत्र अहिले पर्यटकीय क्षेत्र बनेको पूर्वमान्म गाउँ विकास समितिका अध्यक्ष अजबहादुर शाहीले बताए । ‘यो दरबारमा विसं १३४४ सम्म मलय बम्मका सन्तानले दरबार बनाएर राज्य गरेका थिए ।’ उनले भने, ‘बम्मका सन्तानले पछि दरबार छोडेर गएसँगै यो भग्नावशेषमा परिणत भएको छ ।’ बाइसे–चौबिसे राज्यका राजाहरु अग्लो टाकुरामा बस्ने भएकाले कोटदरबार पनि त्यही ऐतिहासिकतासँग जोडिएको खाँडाचक्र–१ का प्रेमबहादुर शाहीले बताए । ‘यो दरबार क्षेत्रमा प्रवेश गर्दा रानी ढुङ्गा, कैदी राख्ने ठाउँ र घोडाबास छुट्टाछुट्टै स्थानमा देखिन्थ्यो ।’ उनले भने, ‘अहिले ती स्थानमा भग्नावशेष मात्रै देखिन्छ । संरक्षणका लागि केही प्रयास भए पनि सदुपयोग हुन सकेको छैन् ।’
नगरपालिकाले रु २४ लाखको लगानीमा कोटदरबारको घेराबार गरेको थियो । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु ५० लाख बजेट खर्च गरेर केही संरचना बनाएको भए पनि संरक्षणको अभावमा अहिले जीर्ण हुँदै गएको स्थानीय बजुरे खड्काले जानकारी दिए ।
‘पहिले स्थानीय सरकारले संरक्षणका लागि केही रकम विनियोजन गरेर केही संरचना निर्माण भएका थिए ।’ उनले भने ‘अहिले ती बनेका संरचना पनि भत्किने अवस्थामा पुगेका छन् । यहाँ नयाँ संरचना बनाउनुभन्दा पनि भएका संरचनाको संरक्षण गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु जरुरी छ ।’ आन्तरिक पर्यटकको रोजाइमा परेको कोटदरबार क्षेत्रलाई ‘पर्यटकीय हब’का रुपमा विकास गर्न नगरपालिकाले गुरुयोजना तयार गरिरहेको नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले बताए ।
‘स्थानीय र प्रदेश सरकारले यस क्षेत्रको पर्यटन विकासका लागि काम गर्दै आएको छ ।’ उनले भने । ‘यसका लागि हामीले गुरुयोजना तयार पारेर पर्यटकीय आकर्षणको केन्द्र बनाउने गरी काम गरिरहेका छौं ।’ कोटदरबारबाट कोटबाँडाको सुनथराली विमानस्थल जोड्ने केवुलकार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको भन्दै केवुलकार बनेपछि यहाँ आन्तरिकका साथै बाह्य पर्यटकको आगमन पनि बढ्ने उपप्रमुख शाहीले बताए ।
‘केवुलकार निर्माणका लागि प्रदेश सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ । कुन ‘मोडालिटी’मा बनाउने भन्ने विषय टुङ्गो नलागेकाले अहिले केवुलकारको काम अगाडि बढेको छैन् ।’ उनले भने, ‘केवुलकार बनेमा कोटदरबार क्षेत्र पर्यटकीय हबका रुपमा विकास हुँदै जानेछ । यसले यहाँका स्थानीयवासीको जीवनस्तर उकास्न पनि टेवा पु¥याउनेछ ।’
काठमाडौं : नेपाल धितोपत्र बोर्डको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था संशोधन गरिएसँगै शाक्यले अध्यक्षको हैसियत पाएका हुन् । संशोधित व्यवस्थामा बोर्ड अध्यक्ष पद रिक्त रहे मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यले नै अध्यक्षको हैसियतमा काम गर्ने उल्लेख छ ।
संशोधित ऐनमा थप गरिएको उपदफा ८ मा छ, ‘अध्यक्षको पद रिक्त भए नेपाल सरकारले निजलाई पदबाट हटाए वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भए बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतमा काम गर्ने छ ।’ सोही संशोधित व्यवस्थाका कारण शाक्यले तत्कालका लागि बोर्डको अध्यक्ष पद सम्हालेका हुन् । रिक्त अध्यक्ष पद नियुक्तिका लागि पाँच जना ‘सर्टलिस्ट’ मा परेका छन् । सर्टलिस्टमा परेकाले आफ्नो कार्ययोजना प्रस्तुत गर्न बाँकी छ ।
काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा एसबिआई बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेकुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरे । नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १ गते देखि वैशाख ३१ गते सम्म लागू हुनेगरी विभिन्न सेवा सुविधामा छुट तथा क्यासब्याकका योजनाहरु ल्याएको हो ।
क्यासब्याक तथा छुट योजना अन्तर्गत डेविट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईनमार्फत् एक हजार रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा एक सय ७० रुपैयाँ क्यासब्याक दिइने बैंकको विज्ञप्तिमा उल्लेख छ । साथै इकमर्स कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इकमर्स कार्ड लिन चाहनेलाई निःशुल्क रुपमा उपलब्ध गराउने जनाएको छ ।
योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने र मोबाईल बैंकिङ निष्क्रिय भएका ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ एक सय ५० रुपैयाँ छुट प्रदान गरिने समेत बैंकले जनाएको छ ।
काठमाडौं : प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई स्काइवाक टावरमा विशेष छुट हुने भएको छ । बैंकका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । बैंक र वन्डर्स नेपाल प्रालिबीच सो सम्बन्धी दुई पक्षीय समझदारी भएको छ । समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल र वन्डर्स नेपाल प्रालिका तर्फबाट कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले सो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेस गर्नुपर्ने छ ।
काठमाडौं : जेसीबीले आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्समार्फत् नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने तयारी गरेको छ । नेपाली बजारलाई सहयोग गर्ने उद्देश्यले जेसीबी इन्डियाले ट्रयाक गरिएका केही एक्साभेटरका लागि ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना ल्याएको हो ।
एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशकदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरु बिक्री गर्दै आएको छ । नेपाल भ्रमणका क्रममा जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दीपक शेट्टीले दक्षिण एशियाली क्षेत्रमा नेपाल महत्वपूर्ण बजार भएको बताए । नेपालको नौलो पहिचान र स्थानका कारण ग्राहकका लागि सधैँ अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरु प्रस्तुत गर्दै आएको उनले बताए । कम्पनीको आधिकारिक डिलर एमएडब्लू अर्थ मुभर्समार्फत निरन्तर घनिष्ठ सम्बन्ध कायम राख्न सफल भएको उनको भनाइ छ ।
कम्पनीका अनुसार नेपालमा जेसीबीका १० हजार पाँच सय भन्दा धेरै उपकरणहरु सञ्चालनमा छन् । जसमध्ये व्याकहो लोडर्स, एक्साभेटर, विल्ड लोडर्स र टेलिह्यान्डलर्स प्रशिद्ध छन् । यी सम्पूर्ण उपकरणहरुका पार्टपुर्जा र सर्भिसमा एमएडब्लू अर्थ मुभर्सका राष्ट्रव्यापी आउटलेट सञ्जालमार्फत सर्भिस भ्यानहरु परिचालन गरी ग्राहकलाई सेवा सहायता प्रदान गरिने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा निर्माण प्रक्रियाका विभिन्न चरणहरुमा रहेका पूर्वाधार परियोजनाले गर्दा आगामी वर्षहरुमा वृद्धिको बलियो अवसर रहेको र जेसीबी यस प्रक्रियाको हिस्सा बन्न तत्पर रहेको शेट्टीले बताए । त्यस्तै, एमएडब्लूका प्रिन्सिपल डिलर विष्णु अग्रवालले विश्वस्तरीय जेसीबीका उपकरणबाट ग्राहकलाई सहायता गर्ने बाहेक नेपाली युवा जनशक्तिलाई देशमै रोजगारका अवसरहरु प्रदान गर्न पाउँदा निकै खुसी लागेको बताए ।
काठमाडौं : प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बीच दुई पक्षीय समझदारी भएको छ । सो समझदारी पत्रमा प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि. (स्काइवाक)का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन् । सम्झौताअनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले कमलादीस्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने छ ।
यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक इकाइहरुमा समेत भएको प्रभु बैंकले जनाएको छ । स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा द्दश्यावलोकन गरी मनोरञ्जन लिन सकिन्छ ।
प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैकिङ तथा वित्तीय सेवा प्रवाह गर्दै आएको छ । बैंकले विश्वभरबाट रेमिट्यान्स सेवा दिँदै रेमिट्यान्स खातामार्फत उच्च ब्याजदरमा आफ्ना ग्राहक वर्गहरुलाई सेवा दिँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies