काठमाडौं : १६औं योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलसँग छलफल गरेको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आयोगले दलका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका तर्फबाट उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, जनता समाजवादी पार्टीबाट अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्लेलगायत सहभागी थिए ।
आयोगका उपाध्यक्षले १६औं योजनाको तयारीबारे जानकारी गराएका थिए भने आयोगका सहसचिव महेश भट्टराईले प्रस्तुति राखेका थिए । उपाध्यक्ष डा. श्रेष्ठका अनुसार राजनीतिक दलबाट प्राप्त सुझाव समेटेर मस्यौदालाई अन्तिम रुप दिइनेछ । आयोगले यसअघि विज्ञहरुसँग सुझाव लिइसकेको छ । आयोगले पहिलो पटक आवधिक योजनाका लागि सबै प्रदेशमा पुगेर प्रदेश सरकार र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग सुझावसमेत लिइसकेको छ ।
काठमाडौं : प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता भएको छ । नेपाल र भारतमा कारोबारको क्रममा सहज भुक्तानीका लागि सो सम्झौता गरिएको हो ।
सम्झौतामा प्रभु बैंक तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम अन्तरदेशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा शुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ ।
यसैगरी भारतमा रहेका नेपाली नागरिकहरुले पनि यूपीआई ईनेबल्ड एपहरु प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था समेत मिलाईएको बैंकले जनाएको छ ।
काठमाडौं : चालु आर्थिक वर्ष (आव)को ८ महिनामा बाणिज्य र विकास बैंकहरुले ४५ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएका छन् । चालु आवको ८ महिना २० बाणिज्य बैंकले ४२ अर्ब ३० करोड ६९ लाख, विकास बैंकहरुले तीन अर्ब ५१ करोड ४० लाखगरी ४५ अर्ब ८२ करोड नौ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
बाणिज्य बैंकहरुतर्फ चालु वर्षको फागुन मसान्तसम्म सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ भने, सबैभन्दा कम नेपाल एसबिआई बैंकको रहेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको छ । चालु आवको ८ महिनामा नबिलले सबैभन्दा धेरै चार अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने दोस्रो नम्बरमा ग्लोबल आईएमइले तीन अर्ब ४३ करोड रुपैयाँ आर्जन गरेको छ ।
त्यस्तै क्रमशः तेस्रो र चौथो स्तरमा प्राइम कर्मसियलले दुई अर्ब ८८ करोड र राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ८७ करोड रुपैयाँ आर्जन गरेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ८० करोड, एनआइसी एशियाले दुई अर्ब ५४ करोड, एभरेष्टले दुई अर्ब २९ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकले दुई अर्ब आठ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले एक अर्ब रुपैयाँ, माछापुच्छ«े बैंकले एक अर्ब १६ करोड रुपैयाँ र कुमारी बैंकले एक अर्ब ४२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यसैगरी लक्ष्मी सनराइजले एक अर्ब ८२ करोड रुपैयाँ, सिद्धार्थले एक अर्ब ६९ करोड रुपैयाँ, कृषि विकास बैंकले एक अर्ब ९८ करोड रुपैयाँ, सिटिजन्स इन्टरनेशनलले एक अर्ब २२ करोड रुपैयाँ, एनएमबीले एक अर्ब ९२ करोड रुपैयाँ, प्रभुले एक अर्ब ५१ करोड रुपैयाँ र सानिमाले एक अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
समीक्षा अवधिमा विकास बैंकहरुतर्फ सबैभन्दा बढी मुक्तिनाथ विकासले ६५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ भने सबै भन्दा कम कर्पोरेट डेभलपमेन्टले एक करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । विकास बैंकहरुको तथ्यांकमा नारायणी, एक्सेल, कामना, साल्पा र सम्तकोशी डेभलपमेन्ट बैंकको तथ्यांक समावेश गरिएको छैन ।
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताएका छन् ।
महासंघको ५८औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र यसअघिको नियन्त्रणमुखी नीति तथा कार्यक्रमका कारण समयानुकुल विकास हुन नसकी समस्यामा पर्दै गएको बताए ।
पहिला देशको अर्थतन्त्रमा अझै समस्या छ भन्ने स्वीकार गरेपछि मात्र यसको समाधानको खोजी सहज हुने उनको भनाइ थियो । उनले भने, “अहिले आम्दानी र खर्चबीच तालमेल मिलेको छैन । मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ, तर राज्यका तर्फबाट त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट प्रोत्साहन चाहेको छ । अहिलेको अवस्थामा निजी क्षेत्रलाई काम गर्ने वातावरण र अर्थतन्त्र सुधारका लागि राज्यका प्रभावकारी नीति आवश्यक छ ।”
केही समयअघि नेपाल पनि श्रीलंकाको जस्तो अर्थतन्त्रमा पुग्छ भन्ने त्रासले निकै नै नियन्त्रणमुखी कार्यक्रमहरु नेपाल सरकार तथा केन्द्रीय बैंकले अवलम्बन गरेका कारण अर्थतन्त्र यसरी सङ्कुचन हुन पुगेको र अर्थतन्त्र सुधारका लागि दिगो कार्यक्रम अवलम्बन गर्न नसकिएको उनको भनाइ थियो ।
करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदानका लागि मुलुकका सबै निजीक्षेत्रका तर्फबाट साझा सुझाव दिएको र ती सुझावहरु राज्यका सम्बद्ध निकायले लागू नगर्दा समस्या झन् बल्झिँदै गएको उनले बताए ।
अध्यक्ष ढकालले भने, “अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्र सुधारका लागि राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुप¥यो । कानुनी अड्चन हुन गएका अवस्थामा त्यसलाई सहजीकरण गरिदिनुपर्यो र वातावरणीय रुपमा दिगो कार्यक्रमहरु अवलम्बन गर्नुपर्यो ।”
उनले वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्चभन्दा झण्डै दोब्बर भएको अहिलेको अवस्थामा आन्तरिक स्रोत बढाउन सक्नुपर्ने र यसो गर्न नसकिएमा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको औंल्याए ।
निजी क्षेत्रले निर्वाध रुपमा लगानी गरेर काम गर्न पाएको अवस्थामा मात्र पछिल्लो दुई वर्षमा देखिँदै गएको न्यून आर्थिक वृद्धिको समस्या हल हुने उनको निष्कर्ष थियो ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै मुलुकको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वित्तीय प्रणालीको स्वस्थ र सबल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
निजी क्षेत्रका सम्पूर्ण संघसंस्था र प्रतिनिधिहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न अपिल गर्दै प्रधानमन्त्री दाहालले भने, “यहाँहरूले देखाउनुभएको चासो र मागलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रको बलियो एकता आवश्यक छ ।”
लगानी बढाउन र रोजगारी सिर्जना गरी उत्पादन बढाउन निजी क्षेत्रले अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राज्यका तीन वटै तहका सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणमा निजी क्षेत्रसँग समन्वय गर्दै आएको बताए ।
सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रुत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ नेपाल केन्द्रित भएको बताउँदै प्रधानमन्त्री दाहालले निर्धारित लक्ष्य हासिल गर्नका लागि सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, “देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्र्याउन हाम्रा नीति, कानून, सोच, संरचना र कार्यशैलीमा धेरै चुनौती र सीमा छन् । त्यसलाई सम्बोधन गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्र्याउन प्रतिकूल देखिएका ऐनहरू संशोधन गरी लगानीका लागि सरलीकृत नीति र प्रक्रियाका तयारी गरिएको छ ।”
सरकारले गरेको तयारीबाट लगानीका नयाँ–नयाँ क्षेत्रहरूको पहिचान र छनोट एवं प्रतिबद्धताबमोजिम लगानी भित्र्याउन महत्वपूर्ण योगदान पुग्ने सरकारको विश्वास रहेको प्रधानमन्त्री दाहालले बताए ।
सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले वित्तीय नीति र मौद्रिक नीतिबीच तादाम्य कायम एवं निजी क्षेत्रसँग बलियो सहकार्य अर्थतन्त्रका आधारभूत सूचकांकहरू सकारात्मक हुँदै जानु सुखद कुरा भएको बताए । उनले राष्ट्रिय आकांक्षा र आवश्यकताअनुरूप अर्थतन्त्रले अपेक्षित प्रगति हासिल गर्न बाँकी रहेको बताए ।
प्रधानमन्त्री दाहालले भने, “अर्थतन्त्र सुधारको प्रक्रियालाई तीव्रता दिनका लागि थप दृढताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध छ ।” परम्परागत ढाँचाको नीति तथा कार्यक्रम र बजेटले देशको समृद्धि र रूपान्तरण सम्भव छैन भन्ने यथार्थ आत्मसात् गरी यस वर्ष सरकारले अध्यादेश नै ल्याएर बजेटसम्बन्धी नीति, ढाँचा र कार्यतालिका परिमार्जन गरेको बताउँदै प्रधानमन्त्री दाहालले यसपटक नीति तथा कार्यक्रममाथि जनप्रतिनिधिहरू, उद्योगी–व्यवसायीहरू, बुद्धिजीवीहरू र आम जनसमुदायका बीचमा गहन छलफल र अन्तरक्रिया हुने जानकारी दिए ।
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ ।
मंगलबार प्रतितोला रु एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ ।
त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासंघले आजका लागि भने रु एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रु १५ ले बढेर एक हजार सात सय कायम भएको छ ।
काठमाडौं : पछिल्लो समयमा नेपालमा निजी तथा सार्वजनिक यातायातको रुपमा विद्युतीय सवारी साधनको आकर्षण बढ्दै गएको छ । जसकारणले सवारी साधनहरुले विद्युतीय चार्जिङ स्टेशनबाट बिजुली खपत गर्ने दर पनि बढ्दै गएको छ ।
विद्युतीय चार्जिङ स्टेसनहरुले मात्रै दैनिक एक लाख युनिट बिजुली खपत गरिरहेको छ । साझा यातायातले सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको शुभारम्भ गर्ने कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा मात्रै दैनिक एक लाख युनिट विद्युत खपत हुने गरेको बताए । उनले सो विद्युत खपतबाट दैनिक करिब दुई करोड रुपैयाँ बराबरको डिजेल/पेट्रोल प्रतिस्थापन हुने गरेको समेत उनले बताए ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षमा चार हजार ५० वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो भने तर, चालु आवको आठ महिनामा छ हजार चार सय ३५ वटा विद्युतीय गाडी आयात भइसकेको छ । जुन हालसम्मकै उच्च संख्या हो । पछिल्लो समयमा नेपालमा विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले पेट्रोल पम्पको सट्टामा चार्जिङ स्टेसन व्यवसायको सम्भावना समेत बढेर गएको देखाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पेट्रोलियम पदार्थका सवारी साधनलाई प्रतिस्थापन गर्न विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्ने गरी आवश्यक नीति ल्याउन गृहकार्य भइरहेको पनि बताएका छन् ।
प्राधिकरणका निर्देशक घिसिङकाअनुसार चार्जिङ स्टेसनहरुमा भइरहेको अहिलेको दरमा विद्युत खपत हुँदा भविष्यमा पाँच खर्बको आयातलाई प्रतिस्थापन गर्न सकिन्छ । उनले चार्जिङ स्टेसनको माग पछिल्लो समय अत्याधिक रुपमा वृद्धि भएको बताए । नगरपालिका, अस्पताल र निजी क्षेत्रबाट विद्युतीय चार्जिङ स्टेसन राख्न माग आइरहेको उनको भनाइ छ ।
निजी क्षेत्रसहित चार सय वटा चार्जिङ स्टेसन जडान भएको ती चार्जिङ स्टेसनमार्फत् करिब हजार भन्दा बढी माइक्रोबसहरु देशभर चलिरहेको निर्देशक घिसिङले बताएका छन् । विद्युतीय बस डिजेलबाट सञ्चालन हुने बसको तुलनामा १० देखि १५ गुणा सस्तो हुने उनको भनाइ छ । विद्युत खपतमा वृद्धि गर्नको लागि पनि सरकारले पुराना बस प्रतिस्थापनको नीति ल्याउनुपर्ने उनले बताएका छन् ।
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । संस्थाले चैत्र २७ गते स्थापनाको १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाइएको हो ।
संस्थाको केन्द्रीय कार्यालय रुपन्देहीमा आयोजना भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप–निर्देशक जिवन प्रकाश पाण्डे रहेका थिए । उनले वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना दिँदै नेपालमा रहेका लघुवित्तहरुमध्ये जनउत्थान सामुदायिक लघुवित्तको उद्देश्य तथा लक्षित समुदाय अलि फरक रहेको बताए ।
कार्यक्रममा सञ्चालक तथा पूर्व अध्यक्ष रेवन्त बहादुर विश्वकर्मा, सञ्चालक मानबहादुर विश्वकर्मा (एम.बी), संस्थापक जोगलाल विश्वकर्मा, संस्थापक माधवप्रसाद नेपाल र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार रायले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै वित्तीय संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले १४औं वर्षसम्म संस्थालाई साथ र सहयोग गर्ने नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकाय तथा सरोकारवाला निकायहरुप्रति हार्दिक आभार प्रकट गरेका थिए ।
काठमाडौं : प्रभु बैंक लिमिटेडले नगदरहित भुक्तानी प्रणालीका लागि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समिति’ लाई क्यूआर स्ट्यान्ड उपलब्ध गराएको छ । बैंकले कागबेनीमा आउने भक्तजनहरुको सहजीकरणका तथा सुविधाका लागि ‘कागबेनी मन्दिर श्राद्घस्थल व्यवस्थापन समिति’ लाई एक समारोहका बीच क्यू आर स्ट्यान्ड उपलब्ध गराएको हो ।
मुस्ताङको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि बैंकले वित्तीय सेवा मात्र नभएर वित्तीय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैंकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ । हिमाल पारिको जिल्ला मुस्ताङको विभिन्न गाउँपालिकाहरुमा सात वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराईरहेको प्रभु बैंक, मुस्ताङ जिल्लाको वित्तिय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङबासीहरु बताउँछन् ।
काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीले २७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले सञ्चालक समितिको २७औं वार्षिक प्रतिवेदन २०७९/८० र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ ।
साथै, सभाले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको कम्पनी गाभिनुभन्दा अघिको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह, अनुसूचिहरु, सञ्चालक समितिले सिफारिस गरेबमोजिम आव २०७९/०८० पाँच प्रतिशत नगद लाभांश पारित गरेको छ ।
२०८०/०८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने, स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धरलाई गरिएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव लगायतका विषय पनि सभाले पारित गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies