तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : सञ्चारकर्मी, सर्जक तथा लोक दोहोरी गायक अमित विश्वकर्माले ‘मनकी रानी गुल्मी बजारमा’ पञ्चेबाजा गीत बजारमा ल्याएका छन् । विश्वकर्माकै शब्दमा रहेको गीतमा स्वर अमितसँगै गायिका सुनिता बुढा क्षेत्रीको रहेको छ । विकास अनुरागी विश्वकर्माको लय रहेको गीतको म्युजिक भिडियो अमित विश्वकर्मा युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
आशिष अविरलले संगीत संयोजन गरेको गीतको भिडियोमा दीप सागर र जुना गुरुङको आकर्षक अभिनयसहितको नृत्य रहेको छ । दुर्गा पौडेलको छायाँकन र निर्देशन रहेको भिडियो मंगला गाउँपालिका ३ बरंजा, खानीगाउँ घाम्ताङमा छायाँकन गरिएको हो । गीतको म्युजिक भिडियोमा बरंजाको ऐतिहासिक पर्यटकीय स्थल चिनाकोत धुरी (बाइसे, चौबिसे राजाको दरबारका भग्नावशेष रहेको ठाउँ)लाई समेत समावेश गरिएको छ । गुल्मी र बेनी बजारका मायालु जोडिएको प्रेमका भावहरूलाई गीतमा व्यक्त गरिएको छ ।
चिनाकोटको प्रचार प्रसारमा सहयोग पुगोस् भन्ने हेतुले चिनाकोट धुरीमै पुगेर गीतको भिडियो निर्माण गरिएको गायक विश्वकर्माले बताए । गीतको भिडियोमा गायक तथा मोडल ध्रुव जिसी, गायक रवि कार्की, विजुन केसी, भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ, सर्जक कलाधर कँडेल, गोकुल विश्वकर्मा, गायक जीवन कार्की लगायतलाई पनि देख्न सकिन्छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारमा रहेको र नेपाली व्यवसायीले सञ्चालन गरेको एक मात्र एसियाना दोहोरीसाँझ तथा गजल बारमा शुक्रबार 'एड्भान्स क्रिसमस सांस्कृतिक धमाका' हुने भएको छ । उक्त धमाकामा दोहोरीसाँझमा रहेका कलाकारसँगै नेपालबाट आमन्त्रित कलाकारहरूले प्रस्तुति दिने सञ्चालकले जानकारी दिए ।
नेपालबाट आमन्त्रित कलाकारहरूमा पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारी र तुलसी प्रसाद सिवाकोटी रहेका छन् । प्रवेश शुल्क पचास कतारी रियाल कायम गरिएको कार्यक्रममा कलाकारद्वयले कतारवासी नेपालीहरूलाई निमन्त्रणा गरेका छन् । शुक्रबार दिउँसो २ बजेबाट गेट खुला रहने कार्यक्रम दिउँसो ४ बजेबाट शुरु हुनेछ भने राती अबेर सम्म चल्ने छ ।
शुक्रबार सार्वजनिक बिदाको दिन र एक हप्ताको कामको थकावट मेट्न र चाडबाडसँगै विशुद्ध मनोरञ्जन प्रदान गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
काठमाडौं : साम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कंगारु’मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । राजिब गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा केही दिनअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले साइन गरेका थिए ।
केदारको प्रवेशसँगै फिल्मको अर्को प्रमुख पात्रमा अर्पण थापाले पनि साइन गरेका छन् । थापा र यो फिल्मको निर्माण पक्षबिच आज औपचारिक रूपमा सम्झौता भएको हो ।
यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो । फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।
फिल्मको सह–निर्मातामा रोनिश बहादुर बस्नेत छन् । टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलिया) रहेको छ ।
फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् । निर्देशक बस्नेतले कंगारुमा केही फरक कथा भन्न मन लागेको र दर्शकले फरक स्वादमा हेर्न पाउने बताएका छन् ।
काठमाडौं : नेपालका वरिष्ठ गायक, गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् सांगीतिक समारोह आयोजना गरिएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आयोजित ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२३’ मा नेपालका वरिष्ठ कलाकारहरुले प्रस्तुति दिएका छन् ।
कार्यक्रममा वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्य, गायक एवं संगीतकार कालिप्रसाद बाँस्कोटा, गायिका प्रविसा अधिकारी, दोहोरीगीत प्रस्तोता कृष्ण कँडेल तथा गायक विमल डाँगी र निशा विश्वकर्माको प्रस्तुतिले अमेरिकामा रहेका नेपाली भाषी दर्शकलाई मनोरञ्जन दिएको थियो ।
समारोहमा नेपाली गीतमा ह्यारिसवर्ग, ल्यान्क्यास्टर र स्क्रान्टन सहरका इन्ट्रा संगीत एवं नृत्य विद्यालयका बालबालिका र किशोरकिशोरीको प्रस्तुति एवं ती सहरका स्थानीय नेपाली कलाकारका सांस्कृतिक प्रस्तुति निकै रोचक थिए ।
त्यसैगरी गायक केशव पौडेल, मुस्कान मगर, जीवन गुरुङ तथा मोडल एवं नृत्य प्रशिक्षक शंकर विसी, पार्वती राई र रुपेस उप्रतीको सांगीतिक प्रस्तुतिले पनि यहाँ उपस्थित रहेका नेपाली भाषीलाई थप मनोरञ्जन दिएको थियो ।
कार्यक्रममा पेन्सिलभेनिया राज्यका सांसदहरु प्याटी किम, डेभिड मेड्सेन र जस्टिन फ्लेमिङ्ग एवं यहाँका स्थानीय सङ्घसंस्थाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै इन्ट्रा–फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारभरकै नेपाली जातिलाई कला र संस्कृतिका माध्यमबाट एकसूत्रमा बाँध्न सकिने र सांस्कृतिक एकताको अभियान नै चलाएर नेपालीहरुको मनलाई जोड्न सकिने भएकाले समयसमयमा यस्ता कार्यक्रम गर्ने गरेको बताए ।
फाउण्डेसनका निर्देशक ओम गुरुङले नेपाली भाषा, संस्कृति मानेका कारण नै भुटानबाट लखेटिएर आफ्नो पितृभूमि नेपाल पुग्दा शरणार्थी बन्न बाध्य हुनुपरेकाले अमेरिका आएर पनि आफ्नो नेपाली जातीय पहिचानलाई अघि बढाइरहेको जानकारी दिए ।
गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बञ्जाडे र भुटानिज कम्युनिटी इन ह्यारिसवर्गका अध्यक्ष तिलक निरौलालेले संस्कृतिका माध्यमबाट अमेरिकामा नेपाली पहिचानलाई जीवन्त राख्न गरिएको प्रयासको प्रशंसा गरे ।
नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु भएको सो सांगितीक कार्यक्रममा स्थानीय कलाकारहरुले लोक तथा आधुनिक गीत, टप्पा र साकेला नृत्यसमेत प्रस्तुत गरेर नेपालको पहिचानलाई अमेरिकी नेपालीबीच प्रस्तुत गरेका थिए ।
काठमाडौं : पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित 'चित्रा'ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ । फिल्ममा डेब्यू गरेका अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का, मेनुका प्रधान, सिम्रन खड्का, अञ्जना बराइली, प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको प्रमूख भूमिका रहेको छ।
फिल्मले बाबुछोरीको मार्मिक कथा पेस गर्ने भएकाले निर्माण पक्षले यस्तो घोषणा गरेको हो । टिकट १० वर्ष मुनिका बालबालिका लागि निःशुल्क भएपनि अभिभावकका लागि भने शुल्क लाग्ने छ। यो सँगै 'चित्रा' नाम भएकी बालिकाले सोको प्रमाण पेस गरेमा ३ वटा टिकट नि:शुल्क पाउने घोषणा फिल्मका कार्यकारी निर्माता सन्तोष अधिकारीले जानकारी दिए ।
उनले यो घोषणा व्यापारिक रणनीतिका लागि मात्र नभइ आफ्नो फिल्म धेरैभन्दा धेरै दर्शकहरुले हेरुन् भन्ने उदेश्यसँगै नेपाली बालबालिकाहरुलाई सानैदेखि नेपाली फिल्म हेर्नुपर्छ र साँच्चै राम्रा नेपाली फिल्मको कमी छैन भन्ने सन्देशका लागि गरिएको बताए । 'यसले नेपाली फिल्मको प्रवर्द्धनमा सहयोग पुग्ने मेरो विश्वास छ । यसका साथै यसले प्रस्तुत गरेको कथा पारिवारिक छ र आमाबाबु तथा सन्तानले यसलाई एकसाथ हेर्नुहोस् भन्ने चाहनाले यस्तो घोषणा गरेको हुँ', उनले भने, 'म आफू पनि एक सन्तानका पिता भएकाले यस्तो गरेको हुँ ।'
'चित्रा'लाई आशिष थापा मगरले निर्माण गरेका हुन् । फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ भने संगीतकार राजनराज शिवाकोटी हुन् । महेश पौडेलले छायाँकन गरेको फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ । फिल्ममा पार्श्व संगीत शैलेश श्रेष्ठको छ ।
सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मलाई केदार पराजुलीको श्री कृष्ण फिल्म्सले वितरण गर्नेछ । यस्तै फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।
काठमाडौं : लोक दोहोरी, लोक पप तथा आधुनिक गीत–संगीत क्षेत्रमा चर्चित नाम हो, गीता भट्टराई । नवलपुर मध्यविन्दु नगरपालिका वडा नं ८ मा बुबा रामप्रसाद आचार्य र आमा इन्द्रादेवी आचार्यको कोखबाट जन्मिएकी गायिका भट्टराईलाई सानैदेखि गीत–संगीतमा रुची थियो । गीता सानैदेखि घरका काम गर्दा, बाटोमा हिँड्दा पनि गीत गुनगुनाउने गर्थिन् । सानैदेखिको रुचीलाई वास्तविकतामा परिणत गर्न धेरै मिहिनेत गरिन् गीताले । आफ्नो गायिका बन्ने धोको पूरा गर्न उनले संगीत पनि सिकिन् । संगीत सिकेर यो क्षेत्रमा होमिएकी गायिका भट्टराईले पछाडि फर्किएर हेर्नु परेको छैन ।
काठमाडौंको बनस्थली बस्दै आएकी गायिका भट्टराई विद्यालयमा हुने हरेक कार्यक्रममा गायनका लागि तम्तयार भएर बस्थिन् । विद्यालयका कार्यक्रममा आफ्नो गायनको प्रतिभा देखेर विद्यालयका शिक्षक, शिक्षिका तथा साथीहरुले बेजोड प्रशंसा गर्ने गरेको उनले सुनाइन् । गायन कौशल राम्रो भएकै कारण उनी विद्यालयका कार्यक्रममा विभिन्न पुरस्कारबाट पुरस्कृत हुन्थिन् ।त्यस्ता कार्यक्रममा उनी प्रथम, द्वितीय तथा तृतीय हुन्थिन् ।
२०६८ सालबाट औपचारिकरुपमा गीत–संगीत क्षेत्रमा लागेकी गायिका भट्टराईले हालसम्म एक सय वटा भन्दा बढी गीत बजारमा ल्याइसकेकी छिन् । उनका ‘चन्द्रागिरि घुम्न जाँदा’, ‘स्विट्जरल्यान्ड घुम्न जाँदा’, ‘माया जालमा परें’, ‘रेलको साँचो रेलैले भाँच्यो’, ‘भुल्न गाह्रो भो’, ‘ए ठूले’, ‘नक्कलीले खायो मेरो देश’, ‘मेरो प्यारा परदेशी भूमिमा’, ‘मोतीराम र जमुना’, ‘बिहे गर्ने भन्दाभन्दै जोवन ढल्क्यो’ लगायतका गीत दर्शक स्रोतामाझ चर्चित छ । उनको आफ्नै रचना, लय र स्वर रहेको ‘ए ठूले’ बोलको गीत झण्डै करोड क्लबमा पुग्न सफल भएको छ । गायिका भट्टराईको पछिल्लो पटक सार्वजनिक भएको ‘चोखो मायामा’ बोलको गीत पनि दर्शक स्रोताले रुचाएका थिए । उनको उक्त गीत युट्युबको ट्रेन्डिङमा पनि आएको थियो । साथै आफू अहिले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको पनि उनले सुनाइन् । हाल उक्त गीतको रेकर्डिङको काम भइरहेको उनले बताइन् । उनले लोक दोहोरी, लोक पप, तीज, रक, आधुनिकलगायतका विभिन्न विधाका गीतमा आफ्नो सुमधुर स्वर दिएकी छिन् भने सबै विधामा सफलतासँगै चर्चा कमाउन सफल भएकी छिन् । गायनसँगै गायिका भट्टराईले केही म्युजिक भिडियोमा अभिनय पनि गरेकी छिन् । आफ्नो मुख्य विधा गायन नै भएपनि नयाँ केही गर्ने उत्साह र इच्छाका कारण मोडलिङ गरेको उनी बताउँछिन् ।
दर्शक स्रोताले माया गरेकै कारण देश तथा विदेशमा हुने विभिन्न कार्यक्रममा उनको माग पनि उत्तिकै छ । गायिका भट्टराईले देशका विभिन्न जिल्ला तथा विदेशमा आफ्नो प्रस्तुतिबाट दर्शक स्रोताको मन जितिसकेकी छिन् । गायिका भट्टराईले कतारमा लोक दोहोरी प्रतिष्ठान दोहा, कतारले आयोजना गरेको कार्यक्रम तथा भारतीय दूतावासले कतारमा आयोजना गरेको कार्यक्रममा पनि सांगीतिक प्रस्तुति दिइसकेकी छिन् । सन् २०२२ मा कतारमा आयोजित फिफा विश्वकप फुटबलको अवसरमा विभिन्न भारतीय तथा नेपाली समाजले गरेका कार्यक्रमहरुमा गायिका गीताले नेपालको राष्ट्रिय झण्डा बोकेर आफ्नो प्रस्तुति दिएकी थिइन् ।
लोकसंगीत बहुउद्देश्यीय सहकारी संस्थाको संस्थापक सदस्य, लोकदोहोरी प्रतिष्ठानको आजीवन सदस्य तथा सहयात्रा नेपालको मानार्थ सदस्यसमेत रहेकी गायिका भट्टराई आफ्नो प्रस्तुतिले दर्शक स्रोताको मुहारमा खुसी ल्याउँदा जस्तो आनन्दको अनुभूति अन्य केही गर्दा नपाइने बताउँछिन् । दर्शक स्रोताको मायाले नै आफूलाई यस क्षेत्रमा झनै क्रियाशील भएर लाग्न उत्प्रेरित गरेको उनको भनाइ छ ।
एक दशक लामो सांगीतिक यात्रमा गायिका भट्टराई विभिन्न अवार्डबाट सम्मानित पनि भएकी छिन् । उनले ‘जमुना र मोती’ बोलको गीतबाट ‘सहयात्रा तीज म्युजिक अवार्ड २०७५’मा सर्वोत्कृष्ट अवार्ड, ‘मेलोडी म्युजिक अवार्ड २०७७’मा सर्वोत्कृष्ट गायिका, ‘ए ठूले’ बोलको गीतबाट ‘हिमालयन इन्टरनेशनल नेपाली म्युजिक अवार्ड २०७८’मा सम्मान, ‘माया जालमा परें’ बोलको गीतबाट ‘स्टार इन्टरनेशल अवार्ड २०७८’मा उत्कृष्ट अवार्ड, ‘चन्द्रागिरि घुम्न जाँदा’ बोलको गीतबाट ‘तेस्रो एपिक म्युजिक अवार्ड २०७८’मा सम्मान पाएकी छिन् ।
गत साउनमा राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको जनचेतनामूलक सांगीतिक कार्यक्रममा गायिका भट्टराईले हजारौं दर्शकहरुलाई आफ्नो सुमधुर स्वरले मन्त्रमुग्ध बनाइन् । हजारौं दर्शक स्रोताहरुबाट वाहवाही कमाइन् ।
मिहिनेत, लगनशीलता तथा दृढ संकल्प लिएर अगाडि बढेमात्र जिन्दगीमा सफलता पाइने बताउने गायिका भट्टराईले यही मूलमन्त्रका साथ सांगीतिक क्षेत्रमा सफलता हासिल गरेकी छिन् । आफ्नो गायिका बन्ने सपना पूरा गरेकी उनले यस क्षेत्रमा आउने नयाँ प्रतिभाहरुको सपना पूरा गर्नका लागि प्रशिक्षण दिँदै आएकी छिन् । साथै गायिका भट्टराईले विभिन्न गायन प्रतियोगिताहरुमा निर्णयकको भूमिका पनि निभाउँदै आएकी छिन् । पछिल्लो समय गत असोजमा तीजको अवसर पारेर हेटौंडामा भएको तीज गीत प्रतियोगिता एवम् महोत्सवमा पनि गायिका भट्टराईले निर्णायकको भूमिका निभाएकी थिइन् । गायिका भट्टराईले युनिभर्सल टेलिभिजनमा तीज विशेष कार्यक्रम पनि सञ्चालन गरेकी थिइन् । सांगीतिक क्षेत्रमा लाग्ने बाल्यकालको इच्छा, सांगीतिक क्षेत्रमा गरेको संघर्ष र अहिले संगीत प्रशिक्षण दिनेसम्मको यात्रा सम्झिँदा गायिका भट्टराई निकै खुसी महसुस गर्छिन् ।
भविष्यमा पनि गीत संगीतकै माध्यमबाट देश र जनताका साथै दर्शक स्रोताहरुलाई मनोरञ्जन प्रदान गर्नु नै आफ्नो मुख्य लक्ष्य रहेको गायिका भट्टराईले बताइन् । गीत–संगीत नै आफ्नो जिन्दगी रहेको र बाँचुञ्जेल यसै क्षेत्रमा क्रियाशील भइरहने गायिका भट्टराईको अठोट छ । मिहिनेत गर्नेलाई गीत–संगीतमा करियर बनाउन गाह्रो नभएको तथा यसै क्षेत्रबाट नाम र दाम दुबै कमाउन सकिने बताउँदै गायिका भट्टराई गीत–संगीत क्षेत्रमा प्रवेश गर्नेहरुलाई प्रशिक्षण लिएर र पूर्णरुपमा केही गर्छु भन्ने अठोट लिएर मात्र आउन सुझाव दिन्छिन् । साथै गायिका भट्टराई गीतका अन्य विधासँगै नेपालको मौलिक लोक भाकालाई बचाइराख्नुपर्नेमा जोड दिन्छिन् । लोक भाकाको संरक्षणसँगै नेपालको गीत–संगीत क्षेत्रको उत्थानका लागि सरकारले विषेश पहल गर्नुपर्ने उनी बताउँछिन् ।
काठमाडौं : पशुपति गन्धर्व नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेका एक होनाहार संगीतकर्मी हुन् । सानै उमेरमा तबला बाद्यनमा नाम कमाएका पशुपति अहिलेका जल्दाबल्दा तबला बाद्यकमा गनिन्छन् । कपिलवस्तुको सालझन्डीमा जन्मे हुर्केका पशुपति चार कक्षा पढ्दादेखि नै स्कुलका कार्यक्रमहरुमा तबला बजाउने गीत गाउने गर्थे । कपिलवस्तुको नवप्रभात बोर्डिङ स्कुलमा पढ्दै गर्दा पशुपतिले स्कुलका कार्यक्रममा मादल तबला बजाउने मात्र गर्दैनथे, स्कुलका कार्यक्रममा भाग लिएर प्रथम पुरस्कारसमेत जित्ने गर्दथे ।
कपितवस्तुबाट क्याम्पस पढ्न काठमाडौं आएपछि आफ्नो सांगीतिक रफ्तार अझ बढेको उनी बताउँछन् । तबला बाद्यक भुवन गन्धर्वबाट प्रभावित भएर यो क्षेत्रमा लागेको बताउने पशुपतिलाई एक दिन भुवन जस्तै प्रख्यात तबला बाद्यक बन्ने इच्छा रहेको छ । नेपालका चर्चित वरिष्ठ तबला बाद्यक कुमार महाराज पनि मनपर्ने बताउने पशुपति मोडलिङमा पनि बिस्तारै पाइला चाल्दैछन् । कुनै सिनेमाको हिरो भन्दा कम नदेखिने पशुपतिले देशका विभिन्न ठाउँमा हुने कार्यक्रमहरुमा तबला बाद्यकको रुपमा भाग लिइसकेका छन् । गायक संगीतकार थानेश्वर गौतमको गीतहरुमा विषेश गरी पशुपतिलाई तबला बजाइरहेको देख्न सकिन्छ ।
आमा कलि कुमारी गन्धर्व र लोक गायक सरोज कुमार गन्धर्वका छोराको रुपमा कपिलवस्तुमा जन्मेका पशुपतिको घरपरिवारमा सांगीतिक माहोल थियो । त्यही माहोलले यो क्षेत्रमा लाग्न प्रेरणा मिलेको उनी बताउँछन् । जुनकिरि लाइफ दोहोरी साँझमा तबला बाद्यकको रुपमा समेत कार्यरत पशुपतिले रे टेलिभिजनमा समेत तबला बाद्यकको रुपमा कार्यक्रममा भाग लिएका थिए ।
स्कुल कजेलका कार्यक्रमहरुमा प्रथम भएर पुरस्कार जितेका दिनहरु सम्झँदै उनी भन्छन्, ‘आजको यो अवस्थामा आइपुग्नलाई ती दिनहरुको महत्वपूर्ण भूमिका रहेको छ ।’ नेपाली सांगीतिक क्षेत्रमा राम्रो काम गरेर सबैको मन जित्ने सपना रहेको बताउने पशुपति नेपाली सांगीतिक क्षेत्रमा सानो उमेरमै सफलता चुम्ने संगीतकर्मी हुन् ।
स्व. सम्राट नारायण गोपालका गीतदेखि अहिलेका प्रताप दास, अस्मिता अधिकारी सबैका गीतसंगीत उनलाई मनपर्छ । लोक संगीत, आधुनिक, पप सबै प्रकारका गीत संगीतमा उनको उक्तिकै रुची छ । नेपाली, हिन्दी, अँग्रेजी चलचित्र हेर्न रुचाउने पशुपतिलाई दयाहाङ राई, राजेश हमाललगायतका कलाकार मनपर्छ । जन्मभूमीसँगै उनलाई मनपर्ने ठाउँहरुमा पोखरा, मुस्ताङ, कालिञ्चोक रहेका छन् । फुर्सद मिल्ना साथ उनी पोखरा घुम्न हिँडिहाल्छन् ।
कार्यक्रमको सिलसिलामा देशको विभिन्न ठाउँमा घुम्दै रमाउँदै अघि बढेका उनी तबलामा नेपालकै एक उच्चकोटीको तबला बाद्यक बन्ने सपना रहेको बताउँछन् । साथै मोडलिङमा पनि उत्तिकै रहर पालेका पशुपति मोडलसँगै नायक बन्ने तयारीमा समेत रहेका छन् । ‘राम्रो चलचित्रमा अफर आयो भने भविष्यमा नायक बन्न पनि सक्छु,’ उनी भन्छन् । गीत गाउन त्यति मन नपराउने पशुपति गीत सुन्न भने एकदमै मनपराउँछन् । नेपाली, हिन्दी गीतहरु विशेष मनपराउने उनले तबलामै केही गर्ने लक्ष्य राखेका छन् । तीन दर्जन गीतहरुमा तबला बाद्यकको रुपमा काम गरिसकेका पशुपतिले त्यत्तिकै संख्यामा कार्यक्रमहरुमा तबला बाद्यकको रुपमा भाग लिइसकेका छन् ।
काठमाडौं : वरिष्ठ चलचित्र निर्देशक मदन घिमिरेको निर्देशनमा ‘बास देउ मलाई’को म्युजिक भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ ।
निर्देशक घिमिरेको शब्द, दिपक लिम्बू र अनु चौधरीको स्वर, सञ्जय खड्कीको संगीत संयोजन रहेको उक्त म्युजिक भिडियोमा जितेन्द्र केसी र आयुष्मा कार्कीको अभिनय रहेको छ ।
म्युजिक भिडियोमा मेकअप अशोक रोक्का, सम्पादन तारा थापा ‘किम्ले’ तथा छायाँकन रामेश्वर हुमागाईंको रहेको छ ।
काठमाडौं : गायक पदम राईले हङकङमा आफ्नो प्रस्तुति दिएका छन् । गत महिना दक्षिण कोरियाको सांगीतिक भ्रमण सकाएर नेपाल फर्केलगत्तै दशैंको अवसर पारेर पूर्वाञ्चलको इलाम, पाँचथर, धरान, इटहरी लगायतका स्थानमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा व्यस्त रहेका गायक राईले मंसिर १६ गते हङकङमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा हजारौंको संख्यामा उपस्थित दर्शकमाझ आफ्नो लोकप्रिय गीतहरु गाएर हङकङवासी नेपालीहरुलाई आफूसँगै नचाए ।
एभरेष्ट इन्टरटेनमेन्ट ट्रेर्डिङ को.द्वारा हङकङस्थित याक एण्ड यति रेष्टुरेण्ट एण्ड बारमा आयोजित विशेष सांगीतिक कार्यक्रममा गायक राईले आफ्नो दर्जनभन्दा बढी चर्चित गीतहरु गाएर उपस्थित पाहुनाहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका हुन् । कार्यक्रममा गायिका खुशी थुलुङको पनि प्रस्तुति रहेको थियो ।
गायक राईको पछिल्लो समय सार्वजनिक भएको ‘के गुलियो छ र सखर चिनी’, ‘पछि पछि लागेर’, ‘जागिर खान्छु सरकारी अड्डामा’, ‘यसो हेरे पूर्वतिर’लगायतका गीगहरु चर्चामा रहेका छन् । गायक राईको हालसालै बजारमा आएको ‘बाटो घुमाउरो’ बोलको म्युजिक भिडियो आम स्रोता, दर्शको रुचीको बनेपछि गायक राई स्थानीय स्तरमा आयोजना हुने स्टेज कार्यक्रममा मात्र नभइ विदेशमा हुने सांगीतिक कार्यक्रममा समेत अत्याधिक माग बढेको छ ।
अनुज अधिकारी/मध्यान्ह
लमजुङ : गुरुङ चलचित्र क्षेत्रमा स्थापित नाम हो मनोज गुरुङ । लमजुङको बेसीशहर नगरपालिका ४ पुरानोकोटमा जन्मिएका गुरुङ पछिल्लो समय व्यस्त कलाकारका रुपमा चिनिन्छन् । २०५९ साल फागुन २५ गते जन्मिएका गुरुङले २१ वर्षकै उमेरमा गुरुङ भाषाको ६ वटा चलचित्रमा अभिनय गरिसकेका छन् ।
मुख्य नायकको रुपमा ६ वटा चलचित्रमा अभिनय गरिसकेका गुरुङले झण्डै ७० वटा म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । २०७५ सालमा कक्षा ११ मा अध्ययन गर्दै गर्दा जनक गुरुङको निर्देशनमा बनेको ‘आमाको मन’ नामक नेपाली भाषाको गुरुङ चलचित्रबाट उनले डेब्यू गरेका हुन् । त्यसपछि उनले क्रमशः एकपछि अर्को चलचित्र र म्युजिक भिडियोमा काम गर्ने अवसर पाए ।
उनले विद्यालयमा पढ्दादेखि नै विद्यालय तथा अन्य संघ संस्थाको आयोजनामा हुने कार्यक्रमहरुमा नृत्य गर्दै आएका थिए । २०७४ सालमा गाउँकै सेवा सदन माध्यामिक विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि लमजुङ सदरमुकाम बेसीशहरको अथ्र्ली प्याराडाइज बोर्डिङ स्कुलमा भर्ना भएका गुरुङले जिल्लामा आयोजना हुने नृत्य प्रतियोगितामा भाग लिन शुरु गरे । उनले लमजुङ टेलिभिजनले सञ्चालन गरेको रियालिटी शो ‘लमजुङ डान्स च्याम्प सिजन–२’ मा अडिसन दिए । पहिलो अडिसनमा छनोट भएका गुरुङले निर्णायकको राम्रो प्रतिक्रिया पाए । त्यसबखत निर्णायक केदार बोहरा र विष्णु घलेले गुरुङको खुलेर प्रशंसा गरेका थिए । उनीहरुले गुरुङ चलचित्रको नायक भन्दा कम नभएको भन्दै ‘भोलिका दिनमा तिमी एउटा राम्रो कलाकारको रुपमा स्थापित हुन्छौ’ भनेको उनले आज पनि झलझली सम्झिरहेको बताउँछन् ।
हुन पनि त्यस्तै भयो उनलाई त्यही रियालिटी शोपश्चात् गुरुङ चलचित्रमा अफर आएको थियो । त्यसपछि उनी निरन्तर चलचित्र र म्युजिक भिडियोमा आफूलाई उभ्याउन सफल भएका छन् । उनले शुरुवातको समयमा केही म्युजिक भिडियोहरुमा कोरस नृत्यसमेत गरेका थिए । यस क्षेत्रमा लाग्न उनलाई आमा मोतीमाया गुरुङ र बुबा डम्बर गुरुङको एकदमै राम्रो साथ रहेको छ । गुरुङले हालसम्म गुरुङ चलचित्र दिदीबहिनी, ङोल्स्यो माया, पूर्णिमा, सम्बन्धको डोरी, मेरो इच्छामा अभिनय गरिसकेका छन् । उनले निकट भविष्यमा बन्न लागेको कुलदेउता र अर्को एक चलचित्रका लागि सम्झौता समेत गरिसकेका छन् ।
गुरुङले विशेषगरी गाउँ चिनारी, सालैजो, कौडा, झ्याउरे र गुरुङ भाषको गीतमा आफ्नो उत्कृष्ट नृत्य र अभिनय गरेका छन् । गुरुङले हालसम्म गरेका करिब ७० म्युजिक भिडियोमध्ये चलेछ्याबा, परदेशी, अमिलो कागती, ताँजे गाउँ चिनारी, क्यों बिना, डाँडापारी हिमाललगायतका म्युजिक भिडियोलाई स्रोता दर्शकले अत्यधिक मन पराएका छन् ।
गुरुङले झण्डै आधा दर्जन अवार्डसमेत जितेका छन् । उनले आदिम कलामञ्च अवार्ड, गुरुङ फिल्म एशोसिशन नेपाल जिफान, सुभेक्षा फिल्म नेपाल, स्वस्ति फिल्म अवार्डबाट बेस्ट एक्टर र परफरमेन्स उपाधिसहित अवार्ड जितेका छन् । गुरुङ चलचित्र र म्युजिक भिडियोमा छुट्टै पहिचान बनाउन सफल गुरुङको अब ठूलो पर्दामा देखिने गरी नेपाली चलचित्र खेल्ने ठूलो चाहना छ । त्यसका लागि उनले आफूलाई निखार्न र तिखार्नका लागि निकै कडा मेहनत र परिश्रम गरिरहेको बताएका छन् ।
गुरुङ समुदायमा जन्मिएको हुनाले ठूलो भएपछि लाहुरे बन्ने, लाहुरे बन्न नसके विदेश पलायन हुने सोच बनाएका गुरुङले अहिले आफ्नै देशको कला क्षेत्रमा भविष्य देखेका छन् । आफूले गरेको कामप्रति एकदमै सन्तुष्टी मिलेको गुरुङ बताउँछन् । गुरुङलाई नेपाली भाषाको चलचित्रबाट अफर भने नआएको होइन । उनले राम्रो कथावस्तु भएको प्रोजेक्टमा जोडिएर काम गर्ने इच्छा भएको भन्दै कथावस्तु राम्रो नलागेकै कारण आफूले रिजेक्ट गरेको बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies