एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले १० वर्ष जेल सजाय सुनाएको छ । पूर्वप्रधानमन्त्री खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा अदालतले १० वर्षको जेल सजाय सुनाएको हो ।
अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय सुनाएको छ । कुरैशी खानको पाकिस्तान तारीख-ए-इन्साफ (पीटीआई) का उपाध्यक्ष पनि हुन् ।
उक्त मुद्दा वाशिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ । ती दस्तावेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए ।
पाकिस्तानमा आम चुनावको केही दिनअघि इमरानमाथि सजाय सुनाइएको हो । पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुँदैछ । उनकाे पार्टी पाकिस्तान पीटीआईले झुटो मुद्दामा सजाय सुनाइएको भन्दै आपत्ति जनाएकाे छ ।
एजेन्सी : बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड)का अध्यक्ष नितिश कुमारले आइतबार पटनास्थित राजभवन पुगेर राज्यपाल राजेन्द्र अर्लेकरलाई आफ्नो राजीनामा बुझाएका छन् ।
राजभवनमा राज्यपाललाई भेटेर नितिशले भने, 'हामीले राज्यमा महागठबन्धनसँग सम्बन्ध तोड्ने निर्णय गरेका छौं ।' नितिशले भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा पुनः सामेल हुने र राज्यमा ‘महागठबन्धन’ शासनको अन्त्य गर्ने चर्चा चलिरहेकै बेला यो घटना भएको हो ।
पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख तथा पूर्वमुख्यमन्त्री लालु यादवकी छोरी रोहिणी आचार्यले सामाजिक सञ्जालमार्फत जारी एक पोस्टमा जेडियूमाथि कटाक्ष गर्दै भनिन्, 'समाजवादी पार्टीले आफूलाई प्रगतिशील समूहको रूपमा प्रस्तुत गर्छ, तर यसको विचारधारा बदलिँदो वायुको ढाँचासँग परिवर्तन हुन्छ ।' नितिशको यो निर्णयले उहाँको सत्ता समिकरणका लागि चौथो अभ्यास (गठबन्धन) हुनेछ ।
कूल २४३ सदस्यीय बिहार विधानसभामा आरजेडीसँग ७९ विधायक छन् भने भाजपासँग ७८ विधायक छन् । विधानसभामा जेडीयू ४५, काङ्ग्रेस १९, भाकपा (एम–एल) १२, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) को चार र सीपीआई (एम) र भाकपाको एक/एक सदस्य छन् ।
एआईएमआईएम अन्य दुई सिट र एक स्वतन्त्र सदस्य रहेका छन् । आचार्यले एक नयाँ पोस्टमा साम्प्रदायिक शक्तिविरुद्ध आफ्नो संघर्ष मृत्युपर्यन्त जारी रहने बताएकी छन् । 'साम्प्रदायिक शक्तिविरुद्ध हाम्रो लडाइँ सास रहेसम्म जारी रहनेछ,' उनले ट्वीटरमा लेखेकी छन् ।
एजेन्सी : उत्तरपश्चिमी कम्बोडियाको प्रेह विहेर प्रान्तको सैन्य प्रहरीले छिमेकी देशबाट तस्करी गरिएको १.०२ टन अवैध लागुऔषध बरामद गरेको छ ।
प्रेह विहेर प्रान्तीय सैन्य प्रहरीका प्रमुख ब्रिगेडियर जेनेल काङ साओकुनले जनवरी २० को राति चे सेन जिल्लामा छाडिएको एसयूभी कारमा उक्त परिमाणको लागुऔषध भेला पारिएको बताएका छन् ।
उनले छिमेकी मुलुकबाट सीमा पार गरेर लागुऔषध ओसारपसार गर्ने शंकास्पद व्यक्तिहरू उक्त क्षेत्रमा गस्तीमा रहेका प्रान्तीय सैनिक प्रहरी अधिकारीले देखेपछि कार छाडेर नजिकैको जंगलमा भागेको पनि उहाँले जानकारी दिएका छन् । "कुल १ हजार २० किलोग्राम क्रिस्टल मेथाम्फेटामाइन बरामद गरिएको छ र हामी संदिग्ध (हरू) को खोजी गरिरहेका छौं," उनले सिन्ह्वालाई भने ।
सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्मको कारबाहीका क्रममा लागुऔषध संदिग्ध कारोबारीहरूको कब्जाबाट कुल २.९७ टन सबै प्रकारका अवैध लागुऔषध बरामद गरिएको प्रतिवेदनले जनाएको छ ।
बरामद लागुऔषधमा हेरोइन, एक्स्टेसी, केटामाइन, निमेटजेपाम, कोकिन, क्रिस्टल मेथाम्फेटामाइन, मेथाम्फेटामाइन चक्की, क्याथिनोन लगायतका लागुऔषध रहेका छन् । यहाँ अवैध लागुऔषध तस्करलाई मृत्युदण्डको सजाय छैन तर ८० ग्रामभन्दा बढी अवैध लागुऔषध ओसारपसारमा दोषी पाइएमा आजीवन कैद सजाय हुनसक्ने प्रावधान छ ।
एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार अयोध्याको श्री राम जन्मभूमि मन्दिरमा राम लल्लाको मूर्ति अनावरण गरिएको छ ।
मन्दिरको गर्भगृहमा भएको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीले अनुष्ठानको नेतृत्व गरेका थिए । गहिरो भक्तिभावको वातावरणमा समारोहको आयोजना भएको हो । राम लल्लाको मूर्ति अनावरण हुनेबित्तिकै भारतीय वायु सेना (आइएएफ) का हेलिकप्टरहरूले अयोध्यामा श्री राम जन्मभूमि मन्दिर परिसरमा फूलको वर्षा गरेका थिए । समारोह आयोजना भएकामा भक्त तथा अतिथिहरूले ‘जय श्री राम’ को नारा लगाएका थिए ।
समारोहमा राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ उपस्थित थिए । भव्य मन्दिरमा समारोहका लागि आठ हजारभन्दा धेरै अतिथिलाई आमन्त्रण गरिएको थियो । ऐतिहासिक प्राण प्रतिष्ठा समारोहमा मुलुकका सबै प्रमुख आध्यात्मिक तथा धार्मिक सम्प्रदायका प्रतिनिधिले भाग लिएका छन् । समारोहमा विभिन्न आदिवासी समुदायका प्रतिनिधिसहित सबै क्षेत्रका मानिस पनि सहभागी भएका छन् ।
श्री राम जन्मभूमिको निर्माण परम्परागत नगारा शैलीमा गरिएको हो । यसको लम्बाइ (पूर्व–पश्चिम) तीन सय ८० फिट, चौडाइ दुई सय ५० फिट र उचाइ एक सय ६१ फिट रहेको छ । समग्रमा मन्दिरमा कूल तीन सय ९२ स्तम्भ र ४४ ढोका छन् । मन्दिरको स्तम्भ र पर्खालहरूमा हिन्दू देवी–देवताका साथै देवीहरूका जटिल मूर्तिकला प्रदर्शित छन् । भुइँतलामा रहेको मुख्य गर्भगृहमा भगवान् श्री रामको बाल्यकालको स्वरूप (श्री राम लल्लाको मूर्ति) राखिएको छ ।
मन्दिरको मुख्य प्रवेशद्वार पूर्वी दिशामा रहेको छ । त्यहाँ सिंहद्वार हुँदै ३२ सिँढी चढेर पुग्न सकिन्छ । मन्दिरमा कूल पाँच मण्डप (हल) नृत्य मण्डप, रङ्ग मण्डप, सभा मण्डप, प्रार्थना मण्डप र कीर्तन मण्डप छन् । मन्दिर नजिकै ऐतिहासिक इनार (सीता कूप) छ । यो इनार प्राचीनकालको हो । मन्दिर परिसरको दक्षिणपश्चिमी भागमा रहेको कुबेर टिलामा भगवान् शिवको प्राचीन मन्दिरको जीर्णोद्धार गरिएको छ भने जटायुको एउटा मूर्ति पनि स्थापना गरिएको छ ।
मन्दिरको जगलाई कृत्रिम रूप दिने गरी रोलर–कम्प्याक्ट कङ्क्रिकट (आरसिसी) को १४ मिटर बाक्लो तहले निर्माण गरिएको छ । मन्दिरमा कतै पनि फलामको प्रयोग गरिएको छैन । जमिनको चिसोबाट बचाउनका लागि ग्रेनाइटको प्रयोग गरेर २१ फिट अग्लो स्तम्भमुनि चौकी निर्माण गरिएको छ । मन्दिर परिसरमा एउटा ढल प्रशोधन संयन्त्र, पानी प्रशोधन संयन्त्र, अग्नि सुरक्षाका लागि पानीको आपूर्ति र एउटा स्वतन्त्र पावर स्टेसन राखिएको छ । मुलुकको परम्परागत र स्वदेशी प्रविधि प्रयोग गरी मन्दिर निर्माण गरिएको हो ।
एजेन्सी : जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मंगलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहले बताएका छन् ।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द भएका थिए ।
हवाईजहाज, रेल र पानीजहाजमा भएका गम्भीर दुर्घटनाको अनुसन्धान गर्ने सरकारी निकाय जापान यातायात सुरक्षा बोर्डले बुधबार दिउसो विमानको भग्नावशेषको जाँच गरेको छ भने प्रहरीले पनि दुर्घटनास्थलको निरीक्षण गरेको थियो ।
सुरक्षा बोर्डले सामुद्रिक सुरक्षा गार्डको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू भेट्टाएको र होक्काइदो प्रान्तको न्यू चिटोस विमानस्थलबाट उडेको जापान एयरलाइन्सको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू खोजी गरिरहेको स्थानीय सञ्चार माध्यमहरू अधिकारीहलाई उद्धृत गरी जनाएका छन् ।
“हनेदा एयर ट्राफिक कन्ट्रोलरले दुर्घटना हुनुअघि यात्रुवाहक विमानलाई धावनमार्गमा अवतरण गर्न अनुमति दिएका थिए र कोस्ट गार्ड विमानलाई ‘छोटो समयका लागि धावन मार्गमा पर्खिन’ निर्देशन दिएका थिए,” जापानको यातायात मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै राष्ट्रिय प्रसारणकर्ता एनएचकेले जनाएको छ ।
जापानको राष्ट्रिय समाचार एजेन्सी क्योदोले जापान एयरलाइन्सलाई उद्धृत गर्दै भनेको छ, “विमानका चालक दलका सदस्यले एयर ट्राफिक कन्ट्रोलको पुष्टि भएपछि अवतरण प्रक्रिया अघि बढाएको र उडानका क्रममा विमानमा कुनै असामान्यता नभएको बताएका थिए ।”
दुर्घटनाका कारण विमानस्थलका सबै धावनमार्ग केही घण्टाका लागि बन्द गर्नुपरेको थियो जसका कारण हनेदाबाट आउने र जाने २२६ उडान रद्द भएका थिए जसका कारण ४० हजारभन्दा बढी यात्रु प्रभावित भएका थिए ।
बुधबार तीनवटा धावनमार्ग खुला गरिए पनि दिनभरि करिब १०० वटा उडान बन्द हुने अनुमान गरिएको छ, जसका कारण १९ हजार यात्रुको यात्रा योजना प्रभावित हुनेछ ।
स्थानीय समयअनुसार मङ्गलबार साँझ ६ बजे एआरएल फ्लाइट ५१६, एयरबस ए–३५० हानेदाको सी–रनवेमा अवतरण गर्ने क्रममा कोस्ट गार्डको विमान एमए–७२२ र बम्बार्डियर ड्यास–८ दुर्घटना हुँदा दुवै विमानमा आगो लागेको थियो ।
मङ्गलबार टेलिभिजन फुटेजमा जापान एयरलाइन्सको विमान धावनमार्गमा गुडिरहेको बेला त्यसको छेउबाट ठूलो मात्रामा आगो लागेको देखिएको थियो । त्यसपछि विमानको पखेटा वरपरको क्षेत्रमा आगो लागेको थियो । त्यसको एक घण्टापछि देखिएको फुटेजमा विमान आगोले जलेको देखिएको छ ।
एमए–७२२ विमानमा सवार चालक दलका छ सदस्यमध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुर्घटनापछि विमानबाट उम्कनसफल क्याप्टेन गम्भीर घाइते भएका छन् ।
कोस्ट गार्डका प्रवक्ता योशिनोरी यानागिशिमाका अनुसार मध्य जापानमा सोमबार अपराह्न ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि हनेदा विमानस्थल बेससँग सम्बन्धित कोस्ट गार्डको विमान निगाता प्रान्तको भूकम्प प्रभावित क्षेत्रका लागि राहत सामग्री ढुवानी गर्न धावनमार्गमा विस्तारै गुडिरहेको थियो ।
यात्रुबहाक विमानमा सवार सबै ३६७ यात्रु र चालक दलका १२ सदस्य विमानबाट उम्कन सफल भएका छन् । टोकियोको दमकल विभागका अनुसार दुर्घटनापछि आगो निभाउन आठ घण्टाभन्दा बढी समय लागेको थियो ।
जिपि लामिछाने/मध्यान्ह
जापान : जापानको टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेलगत्तै जापान एअरलाइन्सको एउटा यात्रुवाहक विमानमा भीषण आगलागी भएको छ ।
सापोरो शहरको न्यू चिटोज विमानस्थलबाट हानेदा विमानस्थलमा पुगेको फ्लाइट ५१६ नम्बरको जापान एयरलाइन्सको विमान ल्याण्ड गर्दा धावन मार्ग नजिक ठोकिएर आगलागी भएको हो । विमान कोस्ट गार्डको अर्को विमानसँग ठोकिएको अनुमान गरिएको छ ।
जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको छ । यता कोस्ट गार्ड विमानमा सवार ६ जनामध्ये ५ जनाको मृत्यु भएको छ भने १ जना भाग्न सफल भएका छन् । कोस्ट गार्डको विमान भने सोमबार गएको भूकम्प प्रभावित क्षेत्र निगातामा राहत सामग्री बोकेर उड्न लागेको बताइएको छ ।
यो समाचार तयार पार्दा सम्म जापान एयर्लाइन्समा लागेको आगो नियन्त्रणमा आउन सकेको थिएन । अहिले जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले आगलागी कसरी भएको हो भन्नेबारे छानबिन गरिरहेको बताएको छ भने अहिलेसम्म हानेदा विमानस्थलका सबै उडानहरू स्थगित छन् ।
एजेन्सी : मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको संख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ। क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखवरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् ।
सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ। सोमबारदेखि जापानमा कम्तिमा १ सय ५५ भूकम्प गएको छ ।
एजेन्सी : जापानको मध्य भागमा सोमबार ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (युएसजीएस) ले जनाएको छ ।
इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ः१० बजे गएको भूकम्पपछि राष्ट्रिय प्रसारक एनएचकेले भनेको छ, “सबै बासिन्दालाई तत्काल उच्च स्थानमा स्थानान्तरण गर्न आवश्यक छ ।”
जापानको तटीय क्षेत्रमा केन्द्रबिन्दु रहेको ३०० किलोमिटरभित्र सुनामीको खतरनाक छाल आउन सक्ने हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ ।
भूकम्पपछि इशिकावा प्रान्तको वाजिमा शहरमा १.२ मिटरको सामुद्रिक छालह आएको जापानी सञ्चारमाध्यम एनएचके ले जनाएको छ ।
जापानको मौसम विज्ञान निकाय (जेएमए) का अनुसार सोही क्षेत्रको नोटोमा पाँच मिटरभन्दा बढी सुनामी आउने अनुमान गरिएको छ ।
जेएमएका अनुसार जापानको मुख्य टापु होन्शुको सागरमा रहेको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ बजेर ६ मिनेटमा ५.७ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
त्यसपछि अपरान्ह ४ः१० मा ७.६ म्याग्निच्युड, ४ः१८ मा ६.१ म्याग्निच्युड, ४ः२३ मा ४.५ म्याग्निच्युड, ४ः२९ मिनेटमा ४.६ म्याग्निच्युड र ४ः३२ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसको केही समयपछि ६.२ म्याग्निच्युडको अर्को भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको सबैभन्दा ठूलो धक्कापछि जापानी सञ्चारमाध्यमले विशेष प्रशारण गरी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई उच्च भूमिमा जानको लागि तत्काल आग्रह गरेका हुन् ।
“हामी तपाईंको घरको मायालाई बुझ्छौं, तपाईंको सामानहरू सबै तपाईंको लागि बहुमूल्य छन्, तर तपाईंको जीवन सबैभन्दा महत्वपूर्ण छ । सम्भव भएसम्म छिट्टै अग्लो जमिनमा पुग्नुहोस्,” एनएचकेमार्फत् प्रशारण गरिएको कार्यक्रममा प्रस्तोताले दर्शकहरूको सुरक्षाका लागि आग्रह गरे ।
जापानमा भवनहरूले शक्तिशाली भूकम्प सहन सकून् भन्ने उद्देश्यले कडा निर्माण नियमहरू छन् र ठूलो झट्काको लागि तयारी गर्न नियमित रूपमा आपतकालीन अभ्यासहरू हुने गर्छन् ।
तर सन् २०११ को मार्चमा उत्तरपूर्वी जापानमा गएको ९.० म्याग्निच्यूडको भूकम्पका कारण आएको सुनामीका कारण करिब १८ हजार ५०० जनाको मृत्यु भएको थियो ।
सन् २०११ को सुनामीले फुकुशिमा आणविक केन्द्रमा तीनवटा रिएक्टरहरू पनि ध्वस्त पारेको थियो, जसले गर्दा जापानको युद्धपछिको सबैभन्दा खराब विपत्ति र चेर्नोबिलपछिको सबैभन्दा गम्भीर आणविक दुर्घटना भएको थियो ।
सन् २०२२ को मार्चमा फुकुशिमाको तटीय क्षेत्रमा गएको ७.४ म्याग्निच्यूडको भूकम्पले पूर्वी जापानको ठूलो क्षेत्रमा धक्का महशुस गरिएको थियो । राजधानी टोकियोलाई एक शताब्दीअघि सन् १९२३ मा आएको विनाशकारी भूकम्पले तहसनहस बनाएको थियो ।
एजेन्सी : चीनको गान्सु प्रान्तमा मङ्गलबार बिहान गएको भूकम्पमा परी एक सय जनाभन्दा बढीको मृत्यु भएको छ । सरकारी सञ्चार माध्यम सिन्ह्वाले प्रान्तीय भूकम्प राहत मुख्यालयलाई उद्धृत गर्दै जनाए अनुसार उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिशान काउन्टीमा ६ दशमलव २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
सोमबार साँझ गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी एक सय १८ जनाको मृत्यु भएको तथा दुई सय जनाभन्दा बढी घाइते भएको पनि प्रान्तीय भूकम्प राहत मुख्यालयले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु लिनक्सिया चेङगुआन्जेन, गान्सुबाट ३७ किलोमिटर र लान्झाउ, गान्सुबाट करिब १०० किलोमिटर टाढा रहेको थियो । भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ । उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारमा जारी दोहा एक्स्पोमा नयाँ विश्व रेकर्ड कायम भएको छ । एक्स्पोमा प्लास्टिकको बोतलहरूबाट बनेको सबैभन्दा ठूलो ‘वाक्य चित्रण’को लागि गिनिज वर्ल्ड रेकर्ड प्रदान गरिएको हो । उक्त वाक्य ३५ हजार प्लास्टिकका बोतलबाट अरबी भाषामा ‘कतारका उत्कृष्ट’ शब्दहरू लेख्दै विश्व कीर्तिमान कायम भएको हो ।
एक्स्पो २०२३ दोहा र एक्स्पोको आधिकारिक सस्टेनेबल फुड पार्टनर मज्रअती कम्पनीले मिलेर उपलब्धि हासिल गरेको हो । ‘मज्रअती कतार, तपाईं सबैभन्दा ठूलो प्लास्टिकको बोतल वाक्यको लागि गिनिज वर्ल्ड रेकर्डको शीर्षक धारक हुनुहुन्छ । बधाई छ ।’ गिनिज बुकका प्रतिनिधिले भने ।
एक्स्पो २०२३ दोहामा हासिल गरिएको विश्व कीर्तिमानमा यो पछिल्लो पटक कतारका नाममा थपिएको हो । अघिल्ला रेकर्डहरूमा एक्स्पो २०२३ को बिल्डिङलाई विश्वको ‘सबैभन्दा ठूलो हरियो छाना’ नाम दिइएको थियो । जुन अत्याधुनिक थ्रिडी प्रिन्टिङ प्रविधि प्रयोग गरेर सबैभन्दा लामो संरचना निर्माण गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हासिल गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies