काठमाडौं : आफ्नो एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रसिद्ध बौद्ध धर्मगुरु दलाई लामाले माफी मागेका छन् ।
दलाई लामा तिब्बतबाट निर्वासित भएदेखि नै भारतमा बस्दै आएका छन् । भाइरल भइरहेको दलाई लामासँग सम्बन्धित भिडियोमा उनी एक नाबालकको ओठमा चुम्बन गरिरहेको देखिन्छ । बच्चाको ओठमा चुम्बन गरेपछि उनले जिब्रो चुस्न भनिरहेका हुन्छन् ।
आइतबार उक्त भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा दलाई लामाको चौतर्फी आलोचना भइरहेको छ ।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले यसलाई असहज भनिरहेका छन् । उक्त भिडियोमा जनताको आक्रोश देखेर दलाई लामाले एक विज्ञप्ति जारी गर्दै बच्चा र उनको परिवारसँग माफी मागेका छन् ।
यसअघि पनि दलाई लामाले विवादास्पद अभिव्यक्तिका लागि माफी मागेका थिए । बीबीसीसँगको अन्तर्वार्तामा उनले एउटी महिला दलाई लामा बन्ने हो भने उनी आकर्षक हुनुपर्छ भनेका थिए ।
तर पछि उनको कार्यालयले माफी माग्दै दलाई लामाले मजाक गरेको बताएको थियो ।
एजेन्सी : बेलायती ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी)ले ट्विटरले आफूलाई सरकारी अनुदानबाट चलाएको मिडिया भनेकोमा आपत्ति जनाएको छ ।
ट्विटरले बिबिसीको भेरिफाइड खातालाई सरकारले पैसा दिने मिडिया भनेर लेबल गरेको छ ।
एक वक्तव्य जारी गर्दै बीबीसीले आफू एक स्वतन्त्र संस्था भएकाले सरकारले पैसा दिने भनी ट्विटरले लगाइदिएको लेबल हटाउनु पर्ने बताएको छ ।
बीबीसीले आफ्नो वक्तव्यमा भनेको छ, ‘बीबीसी सधैं स्वतन्त्र रहेको छ । हामीलाई बेलायती जनताले तिरेको इजाजतपत्र शुल्कबाट आर्थिक सहयोग मिल्छ ।'
बीबीसी भन्दा पहिले ट्विटरले अमेरिकी समाचार समूह एनपीआरलाई पनि सरकारी अनुदान प्राप्त मिडियाको रूपमा लेबल गरेको थियो ।
यस विषयमा बयानका लागि ट्विटरलाई सम्पर्क गरिएको बीबीसीले जनाएको छ ।
एजेन्सी : चिनियाँ सेनाले ताइवानलाई घेरा हाल्ने अभ्यास शुरु गरेको छ । चीनको यो तीन दिने सैन्य अभ्यास ताइवानका राष्ट्रपति साई इङ–वेन अमेरिका भ्रमणबाट फर्केको केही घण्टापछि शुरु भएको हो । त्यसैले चीनले यो अभियानलाई ताइवान सरकारका लागि ‘कडा चेतावनी’ भनेको छ ।
ताइवानका रक्षामन्त्रीले चिनियाँ सेनाका ४२ विमान र ८ जहाजले ‘ताइवान स्ट्रेट मेडियन लाइन’ पार गरेको जानकारी दिएका छन् । समुद्रको बीचमा बनेको यो गैर–आधिकारिक लाइनले ताइवानलाई चीनबाट अलग गर्छ । चीनको सरकारी मिडियाका अनुसार यो सैन्य अभ्यास ताइवानको टापु वरिपरि हुनेछ । ताइवान वरिपरि चीनको तीन दिने सैन्य अभियानलाई ‘युनाइटेड शार्प स्वर्ड’ भनिएको छ । यो अभियान सोमबारसम्म चल्ने पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पूर्वी थिएटर कमाण्डले जनाएको छ ।
यस अभ्यासमा चिनियाँ सेनाले लामो दुरीका रकेट, नौसेना विध्वंसक, मिसाइल डुंगा, वायुसेनाका लडाकु, बमवर्षक, ज्यामर र इन्धन भर्ने सवारी साधनहरू तैनाथ गरेको छ ।
ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न देश ठान्दछ । यद्यपि चीनले ताइवान आफ्नो हिस्सा भएको दाबी गर्दै आएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँगको ‘पुनः एकीकरण’ पूरा गर्नुपर्ने बताएका छन् ।
चीनले प्रायः ताइवानको वरिपरि यस्तो खालको सैन्य अभ्यास गर्ने गर्छ । तर यसपटक ताइवानकी राष्ट्रपतिले बुधवार अमेरिकी तल्लो सदनमा सभामुखसँग भेटेपछि त्यसको प्रतिक्रियास्वरुप अहिलेको सैन्य अभ्यास गरेको ठानिएको छ ।
ताइवानी राष्ट्रपति शनिबार उनको सरकारले अमेरिका र अन्य लोकतान्त्रिक राष्ट्रहरूसँग काम गरिरहने बताएकी छन् । उक्त टापुले चीनबाट निरन्तर अधिनायकवादी विस्तारवादको सामना गरिरहेको उनको भनाइ छ ।
काठमाडौं : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् ।
उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको बीबीसीले जनाएको छ । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ ।
गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै ट्रम्पले अवैध तरिकाले पैसा दिएको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात लगेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोलगायत ट्रम्पमाथि आरोप रहेका छन् ।
काठमाडौं : सीईओ एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । ट्वीटरमा निलो चराकाे ठाउँमा कुकुरको चित्र ल्याइएको छ ।
यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ । मोबाइल एपमा भने पुरानै निलो रंगको चरा नै देखिन्छ । अब ट्वीटरमा लगअन गर्दा कुकुरको चित्र देखिने छ ।
साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि साेहि कुकुरको चित्र देखिन थालेको छ ।
एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएसँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो बहालवाला वा पूर्व राष्ट्रपति बनेका छन् ।
पोर्नस्टार मुद्दामा ट्रम्पलाई कारबाही गरिने भएको हो । यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पोर्नस्टार स्टर्मी डेनियललाई पैसा दिएको विषयसँग सम्बन्धित छ ।
यस मामिलामा ट्रम्पले कस्तो आरोपको सामना गर्नेछन् भन्ने बारे जानकारी हाल दिइएको छैन । निर्णायकको भोटिङपछि ट्रम्पमाथि मुद्दा चलाउने बाटो सम्भव भएको छ ।
७६ वर्षीय ट्रम्पले यस मामिलामा आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै आएका छन् ।
म्यानहटनस्थित सरकारी वकिलको कार्यालयले ट्रम्पको आत्मसमर्पणका लागि सहजीकरण गर्न समन्वयका लागि उनका वकिललाई सम्पर्क गरिएको बताएका छन् ।
अदालतमा ट्रम्पको औँलाका छाप, अभियोजन प्रक्रियाका लागि तस्बिर र डीएनएको नमूना लिइनेछ ।
त्यसपछि उनले न्यायाधीशहरूसामु ती अभियोगलाई लिएर अपिल गर्न सक्नेछन् । जुन अवस्थामा सम्भवतः ट्रम्पलाई जमानत दिइनेछ ।
एजेन्सी : उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन् ।
हत्या आरोपी कक्षा आठमा पढ्ने उनले केटाहरूको संगत गर्न आमाबाबुले नदिएको झोकमा उनीहरूलाई मारेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । मृतक दम्पतिकी चार छोरीमध्ये जेठी उनले १५ दिनअघि आमाबाबुलाई मारेको स्वीकार गरेकी शिकारपुर प्रहरी कार्यालयले जनाएको छ ।
केटाहरूसँग कुराकानी गरेकामा आमाबाबुले गाली गर्दा रिसाएकी उनले दैनिक काम सकेर घर आएका आमाबाबुलाई चियामा निद्रा लाग्ने औषधि हालेर खुवाएकी थिइन् । औषधिको प्रभावले मस्त निदाएका आफ्ना बाआमाका शिरमा उनले निर्ममतापूर्वक पटक–पटक बञ्चरो प्रहार गरेकी थिइन् ।
४८ वर्षीय मोहम्मद शब्बीर र ४४ वर्षीया रेहाना केही दिनदेखि नदेखिएका तथता उनीहरूको घरबाहिर रगतका टाटा देखेपछि छिमेकीले आपराधको आशंका प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो तर अभियुक्तको मोबइल फोनमा भेटिएको ‘अडियो’ लाई लिएर कठोर रुपमा केरकार गरेपछि उनले अपराध स्वीकार गरिन् ।
हत्यामा प्रयोग गरिएको हतियार पनि प्रहरीले बरामद गरेको छ । अभियुक्तलाई बाल सुधार गृहमा पठाइएको छ । निद्राको औषधि बेच्ने २२ वर्षीय मोहम्मद अकिललाई पनि पक्राउ गरिएको छ ।
एजेन्सी : मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
विगत केही दिनयता टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा अवस्थित सिउडाड जुआरेजमा अमेरिका प्रवेश गर्न चाहने धेरै आप्रवासीको भीड लाग्ने गरेको छ । अमेरिका सरकारले भने आप्रवासीलाई आफ्नो भूमिमा गैरकानुनीरूपमा प्रवेश गर्न नदिन कठोर नियम अवलम्बन गर्नाका साथै निष्कासनसमेत गर्दै आएको छ ।
आप्रवासीहरूले आफूहरूलाई देश निकाला गरिने जानकारी पाएपछि गद्दा जलाएर त्यसको विरोध गर्दा उक्त हताहती भएको मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बताएका छन् । उनीहरूको विरोधको तरिकाले यति भयानक परिस्थिति निम्त्याउने उनीहरूले नसोचेका उनले बताएका छन् ।
सामाजिक सञ्जाजलमा सार्वजनिक भएका दृश्यमा केन्द्र बाहिरको फुटपाथमा लाशहरू प्लाष्टिकले बेरेर लाइनमा राखिएको देखिन्छ । सुरक्षाका लागि राखिएका सिसिटिभी क्यामरामा केन्द्रको हिरासतमा रहेका आप्रवासीले गद्दामा आगो लगाएपछि धुँवाको मुस्लो छुट्दो सुरक्षाकर्मीहरू त्यसलाई बेवास्ता गर्दै भवनबाट बाहिरिएका देखिन्छन् । भिडियोमा उनीहरूले आप्रवासीलाई हिरासत मुक्त नगरेको देखिन्छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आप्रवासीहरूलाई मेक्सिको र अमेरिकालाई जोड्ने स्ट्यान्टन–लेर्डो पुल नजिक रहेका केन्द्रको भवनभित्र लगेका थिए जहाँ उनीहरूले विरोधस्वरुप गद्दामा आगो लगाएका थिए ।
आगलागीमा परी २९ जना घाइते समेत भएका छन् । मेक्सिकोको नेशनल माइग्रेसन इन्स्टिच्युट (आईएनएम)द्वारा सञ्चालित उक्त केन्द्रमा आगलागीका बेला मध्य र दक्षिण अमेरिकाका ६८ जना पुरुष थिए ।
अमेरिकी भन्सार र सीमा सुरक्षा अधिकारीले आगलागीमा परी घाइते भएकाहरूलाई आप्रवासीलाई स्वीकार गर्ने प्रक्रिया प्रारम्भ गर्न आफूहरू तयार रहेको जनाएका छन् । घाइतेहरूलाई मेक्सिकोबाट एम्बुलेन्समार्फत उपचारका लागि अमेरिकी उपचार केन्द्रहरूमा पुर्याइएको छ ।
मेक्सिकोका अधिकारीहरूले आगलागीमा ग्वाटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, कोलम्बिया र इक्वेडरका नागरिक घाइते भएका तथा ज्यान गुमाएका बताएका छन् । विदेशमन्त्री मारियो बुकारोले आगलागीमा आफ्नो देशका २८ जनाको मृत्यु भएको पत्रकारहरूलाई बताएका छन् ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले उक्त घटनाको गम्भीर छानबिन गर्न आग्रह गरेका छन् । महासचिवका प्रवक्ताले सुरक्षित एवम् संगठित आप्रवासन मार्गहरू स्थापनाका लागि आवागमन हुने सम्बद्ध देशका अधिकारीहरूसँग काम राष्ट्रसंघले सहकार्य गर्ने प्रतिबद्धता महासचिवले व्यक्त गरेको बताएका छन् ।
मेक्सिकोका लागि अमेरिकी राजदूत केन सालाजारले अनियमित आप्रवासनका जोखिमहरू समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आफ्नो देशको सरकार सचेत रहेको बताएका छन् । कोभिड महामारीको शुरुमा लागू गरिएको नियमका कारण उनीहरूले अमेरिका प्रवेशको अनुमति नपाएका उनको भनाइ छ ।
बाइडेन प्रशासनले तत्कालीन राष्ट्रपति ट्रम्पको नीतिको प्रयोग अन्त्य गर्ने आफ्नो चाहना घोषणा गरेको भए पनि अहिलेसम्म त्यो खारेज भएको छैन । राष्ट्रपतिको उक्त घोषणापछि प्रतिबन्धहरू हट्ने आशमा सिउडाड जुआरेजमा आप्रवासीहरूको आगमन निरन्तर बढिरहेको छ ।
हालै भेनेजुएलाका सयौँ आप्रवासीले मेक्सिकोको यो शहरबाट एल पासोस्थित अन्तर्राष्ट्रिय पुल पार गरेर जबरजस्ती अमेरिका प्रवेशको प्रयास गरेका थिए । अमेरिकी अधिकारीहरूले भने भौतिक अवरोध खडा गरेर उनीहरूको अमेरिका पुग्ने सपनालाई चक्नाचुर पारेका थिए ।
मेक्सिकोका अध्यागमन हिरासतमा बेलाबेलामा आप्रवासीको भीडभाड, दङ्गा र विरोध प्रदर्शन हुने गरेका छन् । गत अक्टोबरमा भेनेजुएलाका आप्रवासीको एउटा समूहका कारण टिजुअनास्थित आप्रवासी केन्द्रमा दङ्गा भएको थियो भने नोभेम्बरमा ग्वाटेमालाको सीमा नजिकको मेक्सीकाको दक्षिणी शहर तपाचुलाको अर्को केन्द्रमा त्यस्तै दङ्गा भएको थियो ।
अमेरिका र जर्मनीपछि मेक्सिको शरणार्थीका लागि लोकप्रिय गन्तव्य बनेको छ । मेक्सिको भएर अमेरिका प्रवेश गर्न चाहने धेरै आप्रवासी संसारका विभिन्न भागबाट मेक्सिको पुग्ने गरेका छन् ।
शरण खोज्न चाहनेले जहाँ आवेदन गरेको हो त्यहीँ बस्नुपर्ने प्रावधान भए पनि ग्वाटेमालालगायत दक्षिण अमेरिकी मुलुकका नागरिक मेक्सीको छाडेर अमेरिका नै जान चाहन्छन् । अहिले पनि ग्वाटेमालाका साथै मेक्सिकोका दक्षिणी सिमानामा दशौँ हजार आप्रवासीको भीड लागेको छ ।
यसैबीच, मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले आगलागीको घटना मेक्सिको र संयुक्त राज्य अमेरिकाको प्रतिबन्धात्मक एवम् क्रुर आप्रवास नीतिको परिणाम भएको टिप्पणी गरेको छ । उक्त घटनाले अध्यागमनसम्बन्धी अमानवीय प्रणालीलाई उजागर गरेको जनाउँदै एम्नेष्टीले बन्दीहरूलाई आगोमा नै छाडेर हिँड्नु अमानवीयताको परकाष्ठा हो भनेको छ ।
एजेन्सी : देशको दक्षिणी राज्य मिसिसिपी र अल्बामा आएको भीषण आँधीमा परी २६ जनाले ज्यान गुमाएका छन्भने सयौँ घाइते भएका छन् । खोज तथा उद्धार प्रयास जारी छ भने राज्य सरकारले आपत्काल घोषणा गरेको छ ।
आँधीबाट रोलिङफार्क अति प्रभावित भएको छ । कुच्चिएका मोटरकार, इँटा र शिशाले सडक हेरिनसक्नु छ भने पुरै शहर प्रायः भग्नावशेषमा परिणत भएको छ । यहाँका एक जना बासिन्दाले आँधीका बेला ‘बाथ टब’मा बस्दा आफ्नो ज्यान जोगिएको बताएका छन् ।
पश्चिमी शार्की काउन्टीको अवस्था पनि त्यस्तै छ । सबैतिर तहस–नहस । वरिपरिको खेतबारीका रमणीय वातावरण पनि आँधीको चपेटामा परेको छ । वोटविरुवा सोत्तर भएका छन् ।
घरहरू भत्केका छन्, तिनका भग्नावशेष यत्रतत्र फैलिएका छन् । रुख जरैदेखि उखेलिएका छन् । मोटरकार उत्तानो परेका छन् । घरका पर्खाल र छाना देखिदैनन् । भग्नावशेषको उरुङबाहेक केही देखिँदैन । अकल्पनीय क्षति । आँधीका कारण विद्युत् आपूर्ति नहुँदा शनिबार सबैतिर अन्धकार भयो । दुई सय ६५ देखि तीन सय २० किलोमिटरको बेगमा पाँचदेखि १० मिनेटसम्म आएको आँधीले केही राखेको छैन– सबैतिर विनाशै विनाश, क्षति नै क्षति । अकल्पनीय क्षति ।
निरपेक्ष गरिबीको रेखामुनि रहेका यहाँका करिब दुई हजार जनतालाई तत्काल सहायता परिचालन गर्न राष्ट्रपति जो बाइडेनले संघीय सरकारलाई आदेश दिएका छन् । अस्थायी आवास, घरमर्मत, बीमा नगरिएको सम्पत्तिको नोक्सानी क्षतिपूर्तिस्वरुप ऋण अनुदानलगायत सुविधा उपलब्ध गराउन उनले आदेश दिएका हुन् ।
एजेन्सी : भारतीय कांग्रेस आईका नेता राहुल गान्धीलाई चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा सुरतको एक अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । तर उनले तत्काल जमानत पनि पाएका छन् ।
सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो ।
एक भाषणमा गान्धीले ‘सबै चोरको थर मोदी किन हुन्छ ?’ भनेर बोलेका थिए । गान्धीले कर्नाटकमा आयोजित चुनावी सभामा सो अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए ।
मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए । अदालतले गान्धीलाई सजायको विरुद्ध उच्च अदालतमा अपिल गर्न ३० दिनको समय दिएको छ ।
गान्धीले १० हजार रुपैयाँ धरौटीमा जमानत पाएका हुन् । वर्तमान सांसद भएकाले गान्धीको सांसद अहिले खतरामा छैन ।
गान्धीविरुद्ध भारतीय दण्डसंहिताको धारा ४९९ र ५०० अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । भारतीय दण्डसंहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ ।
सजायको घोषणापछि निवेदक पूर्णेश मोदीले सञ्चारमाध्यमसँग भने, 'हामी यो निर्णयलाई हृदयदेखि स्वागत गर्छौं । दुई वर्षको सजायको घोषणामा तपाईं सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्न होइन, यो सामाजिक आन्दोलनको कुरा हो ।'
राहुल गान्धीका वकिल किरीट पानवालालाई उद्धृत गर्दै, समाचार एजेन्सी पीटीआईले भनेको छ, 'मुख्य न्यायिक मजिस्ट्रेट (सीजेएम) एचएच वर्माको अदालतले गत हप्ता यस मामिलामा दुवै पक्षको तर्क सुनेको थियो र २३ मार्चको मिति दिएको थियो ।'
गान्धी आफ्नो बयान रेकर्ड गर्न अक्टोबर २०२१ मा सुरत अदालतमा हाजिर भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies