काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार व्यवसायी र वैदेशिक रोजगारीमा जाने कामदारहरुको हित प्रवर्द्धनका लागि यूएईमा आगामी फागुनमा रोजगार मेला ‘जव फेयर’ गर्ने बताएको छ ।
यूएईको सबै क्षेत्रमा नेपाली कामदारको डिमाण्ड रहेको भएपनि बिचौलियाहरुका कारण उक्त डिमाण्ड अन्यत्र जाने अवस्था रहेको भन्दै संघले बिचौलियाहरूलाई कामदारको भर्ना प्रक्रियामा निषेध गरी रोजगारदातासँग नेपाली म्यानपावरको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवधारणाअनुसार रोजगार मेलाको तयारी भएको संघका महासचिव तथा प्रवक्ता मेघनाथ भुर्तेलले जानकारी दिए ।
संघको समन्वयमा आगामी फागुन ३ अर्थात फेब्रुअरी १५ तारिकमा यूएई सरकारका प्रतिनिधि, त्यहाँका बहुराष्ट्रियसहित ठूला रोजगारदाता कम्पनी, चेम्बर अफ कमर्सलगायत विभिन्न व्यावसायिक संस्थाको सहभागितामा जव फेयर गरिने भन्दै महासचिव भुर्तेलले त्यस विषयमा संघलाई छातासंस्था मान्ने शुभेच्छुक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग सोमबार प्रारम्भिक चरणमा छलफल गरिएको जानकारी दिए । जव फेयरमा सहभागी हुन इच्छुक म्यानपावर कम्पनीहरुको नामावली संकलन गर्न संघबाट निर्णय भइ केही दिनभित्रै सूचना प्रकाशित गरिने भन्दै संघले इच्छुक व्यवसायीहरुले आफ्नो विवरण संघ कार्यालयमा उपलब्ध गराउन सक्ने बताएको छ ।
यूएईमा विभिन्न देशका कामदार कार्यरत रहेका छन् । त्यसमध्ये फिलिपिन्सले सरकारीस्तरमा नै पटक–पटक ‘जव फेयर’ गरेर बजार प्रवर्द्धनमा अगाडि रहेको छ । नेपालले भने १७ वर्षअघि जव फेयर गरेपनि त्यसलाई निरन्तरता दिन सकेको छैन । हाल प्रतिनिधि सभा सदस्य रहेका संघका तत्कालीन अध्यक्ष लालप्रसाद साँवा लिम्बूको कार्यकालमा सन् २००७ को जुन ६ तारिकमा दुबईको ग्राण्ड हायात होटलमा ‘जव फेयर’को आयोजना गरेको थियोे ।
त्यतिबेला २६ कम्पनीले स्टल राखेर आ–आफ्ना सूचनाहरू प्रवाह गरेका थिए भने वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले नेपालमा उपलब्ध अदक्ष, अर्धदक्ष तथा दक्ष कामदारहरूको बारेमा विस्तृत जानकारीगराएपछि नेपालमा कामदारहरू अदक्ष मात्र उपलब्ध छन् भन्ने यूएईका रोजगारदाताहरूको सोचाइ नै परिवर्तन भएको धेरैको बुझाइ छ ।
यूएईमा जव फेयर भएको १७ वर्षको अवधिमा बजार प्रवर्द्धनका नाममा काठमाडौंमा धेरै कार्यपत्र प्रस्तुत भएपनि ठोस् काम भने हुन नसकेको वैदेशिक रोजगार व्यवसायीको भनाइ छ । पछिल्ला महिनाहरूमा यूएई धेरै नेपाली कामदार जाने श्रम गन्तव्य मुलुकको शीर्ष स्थानमा रहेको छ ।
काठमाडौं : वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिन्छु भन्दै ठगी गरेको उजुरीका आधारमा प्रहरीले काठमाडौं महाराजगञ्ज बस्ने पृथ्वीराज सिग्देललाई पक्राउ गरेको छ । मनिराम तिमल्सिनासमेतलाई वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्छ भनि २ लाख ७० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको अवस्थामा सिग्देल पक्राउ परेको प्रहरीले बताएको छ ।
सिग्देलले मकाउ पुगेपछि मासिक १ लाख ८० हजार रुपैयाँ तलब हुने प्रतिष्ठित कम्पनीमा सुरक्षागार्डको काम लगाइदिने भनेर प्रलोभनमा पारी पटक–पटक रकम लिइ ठगी गरेको प्रहरीको भनाइ छ । दरबारमार्गबाट पक्राउ परेका सिग्देललाई वैदेशिक रोजगार ऐनअनुसार अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।
काठमाडौं : साउदी अरेबियाले अवैधानिकरुपमा बसेका विदेशी कामदारसहित गैरआवासीयहरुविरुद्व धरपकड तीव्र पारेको छ । एकहप्ताको अवधिमा १९ हजारभन्दा बढी अवैधानिक विदेशीहरुलाई पक्राउ गरेकोे साउदीले १० हजारभन्दा बढी अवैध आप्रवासी कामदारलाई देशबाट निकाला गरेको बताएको छ ।
साउदीमा मुख्यगरी सप्लाइ कम्पनीमा कार्यरत धेरै नेपाली कामदारको भिसा नवीकरण नगरेको भएपनि डिपोर्ट गरिएका नेपालीको संख्या भने समाचारमा खुलाइएको छैन । साउदी गजेटका अनुसार पक्राउ परेका मध्ये ११ हजार ४ सय २७ रेसिडेन्सी कानून उल्लंघन गर्ने, ४ हजार ६ सय ९७ सीमा सुरक्षा कानून उल्लंघन गर्ने र ३ हजार १९७ श्रम कानून उल्लंघन गर्नेहरु रहेका छन् । साउदीको सुरक्षा निकाय र सम्बन्धित सरकारी निकायले गरेको संयुक्त क्षेत्रीय सुरक्षा अभियानका क्रममा पक्राउ परेकाहरुमध्ये सबैभन्दा बढी यमनी र इथोपियन रहेकोे बताइएको छ ।
बसोबास, काम र सीमा सुरक्षा नियम उल्लंघन गर्नेलाई ओसारपसार गर्ने र काममा लगाउने तथा आश्रय दिने ११ जना स्थानीय पनि पक्राउ परेका छन् । अवैधानिकरुपमा बसेका विदेशीलाई पक्राउ गर्ने अभियान शुरु गरेपछि हालसम्म ५० हजार ४ सय ८९ पुरुष र ५ हजार २ हजार ६७ महिलासहित ५५ हजार ७ सय ५६ विदेशी पक्राउ परेको प्रहरीलाई उद्धृत गर्दै साउदी गजेटले उल्लेख गरेको छ । पक्राउ परेका ४३ हजार विदेशीलाई देश निकाला अर्थात डिपोट गर्नका लागि सम्बन्धित देशको दूतावासलाई ट्राभल डकुमेन्ट जारी गर्न पत्रचार गरिएको जनाइएको छ ।
काठमाडौं : प्रहरीले भिजिट भिसाको सेटिङमा वैदेशिक रोजगारमा पठाउने गिरोहको भ्रष्टाचारसम्बन्धी अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको छ । प्रहरीले उक्त प्रकरणमा १० जनालाई पक्राउ गरेको छ भने कुनै बेला वैदेशिक रोजगार विभागमा चल्तीका अधिकृत कुशल बरालसहित ११ जना फरार रहेको बताइएको छ ।
फरार हुनेहरुमा ८ जना अधिकृत रहेकोे बताइएको छ । अधिकृत बरालसहित शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागो तथा तीन जना बिचौलियाहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले बताएको छ ।
गत असोजमा भिजिट भिसामा विदेश पठाउने प्रयोजनका १ हजार ५ सय १३ वटा कागजातहरु बरामद भएपछि प्रहरीले डीएसपी गोविन्द पन्थीको नेतृत्वमा अनुसन्धान शुरु गरेको थियोे ।
नेपालीलाई भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाएको भन्दै प्रहरीले अध्यागमन कार्यालय, नेपाल वायु सेवा निगमका कर्मचारी र प्रहरी जवानलाई पक्राउ गरेको थियो । गत मंसिरमा अध्यागमन अधिकृत नरवीर खड्का पक्राउ परेपछि अधिकृत बरालसहितका अन्य अधिकृतहरु तानिएको बताइएको छ ।
तत्कालीन अध्यागमन अधिकृत ताराबहादुर कुँवरलाई पनि भिजिट प्रकरणका मुख्य नाइकेका रुपमा चित्रण गरिएको छ । उनीहरुले भिजिट भिसाको सेटिङमा पठाउँदा ४४ देखि ५५ हजारसम्म लिने गरेको पोल खोलाखोल भएको अनुसन्धानमा संलग्न स्रोतले बताएको छ ।
सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । अभियोग पत्र दायर भएपछि फरार रहेकाहरु अदालतमा हाजिर हुने र धरौटीमा छुट्ने गरेका छन् ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण तालिम तथा स्वास्थ्य परीक्षणमा रहेका कमीकमजोरी हटाउन सरोकारवालाहरुसँग बृहत् प्रतिबद्धता लिएको छ ।
शुक्रबार मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले आयोजना गरेको छलफलमा मन्त्रालयको वैदेशिक रोजगार महाशाखा, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल अभिमुखीकरण व्यवसायी महासंघ, नेपाल स्वास्थ्य व्यवसायी महासंघलगायतका सरोकारवालाहरुको संस्थागत उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा पूर्वप्रस्थान अभिमुखीकरण तालिम तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको सम्बन्धमा मन्त्रालयबाट भएको आन्तरिक अनुगमन प्रतिवेदनमा छलफल भएको थियो ।
छलफलपछि मन्त्रालयका प्रवक्ता राजीव पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यमा हाल देखिएका कमी कमजोरी हटाइ सुरक्षित, मर्यादित वैदेशिक रोजगारसँग जोडिएका दुवै कार्यलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउने विषयमा व्यापक छलफल भएको र सरोकारवालाहरुबाट सोही अनुसारको प्रतिबद्धता आएको उल्लेख छ ।
छलफलमा अभिमुखीकरण र स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउन अभिमुखीकरण तालिम संस्थामार्फत आफूसँग सरोकार राख्ने सम्पूर्ण सूचनाहरु नपाइ वैदेशिक रोजगारमा जाने कामदारहरुको संख्यालाई शून्यमा झार्ने र स्वास्थ्य परीक्षण गर्ने मेडिकल सेन्टरहरुले नपुग पूर्वाधार एक महिनाभित्र अनिवार्यरुपमा पु¥याउने प्रतिबद्धता आएको मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगार विभाग तथा अन्य निकायहरुले अनुगमन कार्यलाई प्रविधिको माध्यमबाट अनुगमन गर्ने कार्यलाई तीव्रता दिने र हालै गरिएको अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को दोस्रो संशोधनलाई क्रमशः कार्यान्वयन गर्दै लगेर वैदेशिक रोजगारमा जाने कामदारहरुलाई अनिवार्यरुपमा पूर्वप्रस्थान तालिम दिएरमात्र प्रमाणपत्र जारी गर्ने प्रतिबद्धता पनि सरोकारवालाहरुबाट आएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सो बृहत् छलफलबाट आएका प्रमुख ४ वटा विषयहरु कार्यान्वयनका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आवश्यक सहयोग र सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपाल अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को दोस्रो संशोधनका प्रावधान आवश्यक रहेको सरोकारवाला सबै पक्षले अनुभूति गरेको र कार्यविधिलाई कार्यान्वयनमा लगेर कार्यान्वयनमा देखिने कमीकमजोरी संशोधन र सुधार गर्दै लैजाने विषयमा सबैको एकै धारणा प्रस्तुत भएको बताए ।
काठमाडौं : वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक पोर्चुगल पठाइदिन्छु भनि ठगी गरेको उजुरीका आधारमा प्रहरीले नुवाकोट लिखुका रोजिन न्यौपानेलाई पक्राउ गरेको छ । हाल काठमाडौंको तारकेश्वर नेपालटार बस्ने न्यौपानेले निरज धमलासमेत ७ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति दश लाख रुपैयाँ लाग्ने बताएर १२ लाख रुपैयाँ लिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
न्यौपानेले धमलासमेत ७ जनालाई पोर्चुगल पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिन्छु, मासिक एक लाख २० हजार रुपैयाँ तलब हुन्छ भनि प्रलोभनमा पारी उनीहरूबाट पटक–पटक गरी १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूले जाहेरीमा उल्लेख गरेका छन् ।
काठमाडौंको माछापोखरीबाट पक्राउ परेका न्यौपानेलाई वैदेशिक रोजगार ऐनअनुसार थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।
काठमाडौं : जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी बीमाबाट उल्लेख्य आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८०–०८१ को ६ महिना अर्थात पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखबाट करिब डेढ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणका अनुसार हाल १० वटा बीमा कम्पनीहरुले वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी बीमा गरिरहेका छन् ।
वैदेशिक रोजगार बीमालेखबाट १० बीमा कम्पनीले १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ संकलन गरेका छन् । वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी आर्जन गर्ने बीमा कम्पनीमा लाइफ बीमा क्षेत्रमा नयाँ कम्पनीको रूपमा रहेको सन नेपाल लाइफ लिमिटेड शीर्ष स्थानमा रहेको छ । कम्पनीले ६ महिनामा वैदेशिक रोजगारमा गएका कामदारबाट ३६ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाल लाइफले ३२ करोड ५ लाख, तेस्रोमा रहेको आइएमई लाइफ कम्पनी लिमिटेड र चौथो स्थानमा रहेको एसियन लाइफले समान १६ करोड ४१ लाख रुपैयाँ, पाँचौं स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १२ करोड ५७ लाख रुपैयाँ र छैटौं स्थानमा रहेको सूर्यज्योति लाइफले १० करोड ४ लाख रुपैयाँ आर्जन गरेका छ ।
त्यस्तै सातौं स्थानमा रहेको सानिमा रिलायन्स लाइफ कम्पनी लिमिटेडले ९ करोड ७१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ कम्पनी लिमिटेडले ८ करोड ८३ लाख रुपैयाँ, सिटिजन लाइफ कम्पनी लिमिटेडले ६ करोड ९ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ कम्पनी लिमिटेडले १४ लाख ८४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ । वैदेशिक रोजगार ऐनले श्रम स्वीकृतिका लागि बीमा अनिवार्य गरेको छ ।
वैदेशिक रोजगारी (म्यादी) जीवन बीमा गरेका कामदार ६ महिनासम्ममा पनि विदेश नगए बीमालेख स्वतः रद्द हुने व्यवस्था छ । बीमालेख रद्द गर्दा कम्पनीले ५ सय रुपैयाँ कट्टा गरी बाँकी बीमा शुल्क फिर्ता दिनुपर्ने व्यवस्था छ । तर व्यवहारमा वैदेशिक रोजगारमा नजाने कामदार बीमा शुल्क फिर्ता लिन बीमा कम्पनी जाने गरेका छैनन् ।
वैदेशिक रोजगारमा जाने कामदारको भिसाको अवधिभन्दा थप १ वर्ष बढीको बीमालेख जारी गर्ने गरिएको छ । सरकारले २०७३ फागुन १ गतेदेखि लागू हुने गरी वैदेशिक रोजगार बीमामा घातक रोग पनि समावेश गरेको हो । जसअन्तर्गत क्यान्सर, मिर्गौला फेलियर, प्राइमरी पल्मोनरी आर्टरियल हाइपरटेन्सन, अयोर्टा ग्राफ्ट सर्जरी, मुटुको भल्भ सर्जरी, स्ट्रोक, पहिलो हृदयाघात, मल्टिपल स्क्लेरोसिस, महत्वपूर्ण अंग प्रत्यारोपण, कोरोनरी आर्टेरियल बाइपास ग्राफ्ट, कोमा, पूर्ण अन्धोपन, प्यारालाइसिस, बेनाइन ब्रेन ट्युमर, दुर्घटनाका कारणले भएको मानसिक रोग समावेश छन् ।
बीमा अवधिमा कामदारको मृत्यु भएमा आश्रित परिवारले १० लाख रुपैयाँ र घातक रोग लागि मृत्यु नभएको, तर शारिरीकरूपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा १३ लाख रूपैयाँसम्म भुक्तानी पाउने व्यवस्था छ । घातक रोगमात्रै लागेको अवस्थामा भने ५ लाख भुक्तानी पाउने व्यवस्था छ । त्यस्तै बिमितको आयको नोक्सानीबापत २ लाख, किरिया खर्चबापत १ लाख, औषधि उपचार खर्चबापत १ लाखसम्म, शव ल्याउने खर्चबापत १ लाख रूपैयाँ भुक्तानी दिनुपर्ने व्यवस्था छ ।
चन्द्र गोतामे/मध्यान्ह
कुवेत : कुवेतस्थित नेपाली दूतावासले इराकमा राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ । इराकमा रहेका नेपाली नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै नेपाली दूतावास कुवेतले पहिलो पटक इराकमा राहदानी नवीकरण शिविर सञ्चालन गर्न लागेको हो । इराकमा हाल १५ हजारको हाराहारीमा नेपाली नागरिक रहेको दूतावासका प्रथम सचिव प्रेमराज गौतमले जानकारी दिए ।
नेपाली दूतावास कुवेतले त्यहाँ रहेका नेपालीलाई लक्षित गरी फेब्रुअरी २ देखि ७ तारिकसम्म इराकको सुलेमानिया सौलाखा अरबिल अन्कावामा राहदानी नवीकरण शिविर सञ्चालन गर्न लागेको हो ।
राहदानी नविकरणको सेवा लिन चाहने नेपाली नागरिकहरुले आफ्नो सक्कल राहदानी, नागरिकताको प्रतिलिपि, राहदानीको प्रिइनरोलमेन्ट फारम, नवीकरण दस्तुर १६ के.डी. र राहदानी हराएको÷बिग्रेको भएमा ३२ के.डी. राजस्वसहित उपस्थित हुनुपर्ने दूतावासले जनाएको छ ।
इराकमा रहेका नेपालीहरु राहदानी नवीकरणका लागि कुवेत आउन भिसा लगाउनुपर्ने हुँदा आवतजावतमा समेत समस्या हुने र पहिला मेसिन रिडेबल राहदानी (एमआरपी) हुलाकमार्फत पठाउने गरिएको भएता पनि हाल विद्युतीय राहदानी हुलाकमार्फत पठाउन नमिल्ने भएकाले शिविरको आयोजना गर्न लागिएको प्रथम सचिव गौतमले बताए ।
इराकमा रहेका नेपाली नागरिकहरुको समस्या कुवेतस्थित नेपाली दूतावासले हेर्दै आएको छ । नेपाली नागरिकहरु इराक जान सरकारले प्रतिबन्ध लगाए पनि अवैध बाटो भएर इराक पुग्ने गरेका छन् । खाडीका अन्य मुलुकमा भन्दा राम्रो तलब सुविधा पाइने इराकको रोजगारीमा जान सहज बनाउनुपर्ने गैरआवासीय नेपालीहरुको माग रहेको छ ।
काठमाडौं : मलेसियामा विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्ने विषयमा आन्तरिक असमझदारी बढेको छ । मलेसियन उत्पादकहरुको महासंघ (एफएमएम)ले आप्रवासी कामदारहरुका लागि आवश्यक पर्ने चिकित्सा परीक्षणको शुल्क वृद्धि र अन्य परिवर्तन चिन्ताजनक भएको बताएको छ । मलेसियामा स्वास्थ्य मन्त्रालयको एजेन्सीका हैसियतले फोमेमाले विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्ने गरेको छ ।
फोमेमाले विदेशी कामदारको स्वास्थ्य परीक्षण शुल्क १४ देखि १५ प्रतिशतले वृद्धि गरेको छ । एफएमएमले स्वास्थ्य परीक्षण शुल्क वृद्धिले रोजगारदाताहरुलाई वार्षिक १२४ दशमलव २ मिलियन मलेसियन रिँगेट खर्च थप गरेको दाबी गरेको छ ।
मलेसियामा वार्षिक ६ लाख विदेशी कामदारको स्वास्थ्य परीक्षण हुने गरेको छ । स्वास्थ्य परीक्षण शुल्क बढेर पुरुषका लागि २ सय ७ रिँगेट र महिलाका लागि २ सय १७ रिँगेट पुगेको छ ।
फोमेमाले अबदेखि एचआईभी, हेपाटाइटिस बी, सिफिलिस, गर्भावस्था, ओपिएट्सको अतिरिक्त फाइलेरियासिस, हेपाटाइटिस सी र मेथाम्फेटामिन रोग परीक्षण गरिने बताएको छ । रोजगारदाताहरुले स्वास्थ्य परीक्षणको संख्या वृद्धिमा पनि असहमति जनाएका छन् ।
काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गरिरहेको जानकारी दिएका छन् । वैदेशिक रोजगारको मागपत्र प्रमाणीकरण अनावश्यकरुपमा ढिलाइ भएको र मलेसियामा नेपाली कामदारको कल्याणकारी कामका लागि भन्दै ४५ अमेरिकी डलर उठाउने विषय सार्वजनिक भएपछि ती विषयमा परराष्ट्र मन्त्रालय तथा श्रम मन्त्रालयका बीचमा प्राथमिकता र दृष्टिकोणमा एकरुपता देखिएको छैन ।
परराष्ट्र मन्त्रालय मातहत रहेका कूटनैतिक नियोगहरुले समयमा मागपत्र प्रमाणीकरण नगरिदिँदा नेपाली कामदारका लागि आउने युरोपेली देशहरुको आकर्षक रोजगारीको अवसर मात्रै नभइ खाडी मुलुकको रोजगारीको अवसर पनि गुमिरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गुनासो रहँदै आएको छ ।
श्रम मन्त्रालयको पहलले मात्रै समस्याको समाधान नभएपछि संघले परराष्ट्रमन्त्री साउदलाई भेटेर मागपत्र प्रमाणीकरण सम्बन्धमा रहेका समस्या, महिला कामदार पठाउन श्रम स्वीकृति दिने र विदेशमा संरक्षण दिने सम्बन्धमा रहेका समस्या, दक्षिण कोरियामा ई ७ भिसा र इजारायलमा कामदार पठाउन पाउन पाउनुपर्ने विषय, जापान रोजगारका सम्बन्धमा लामो समयदेखि थाती रहेका समस्यासहित साउदी अरबमा कामदार पठाउन उत्पन्न समस्या सम्बन्धमा ध्यानाकर्षण गराएको महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।
श्रम मन्त्रालयले विदेशस्थित नेपाली दूतावास र महावाणिज्यदूतावासले मागपत्र प्रमाणीकरण नगरिदिँदा नेपाली कामदारको रोजगारीको अवसर गुमेको भन्दै वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८० जारी गरेर मागपत्र प्रमाणीकरण गर्ने बताएको थियो । तर मागपत्र प्रमाणीकरण शुरुवात गर्दा परराष्ट्र मन्त्रालय रिसाउने र अन्य मामिलामासमेत उसले असहयोग गर्न सक्ने त्रासले श्रम मन्त्रालयले मागपत्र प्रमाणीकरण गर्ने साहस निकाल्न सकेको छैन ।
संघले श्रम मन्त्रालयले हालै जारी गरेको वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८० अनुसार नेपाली दूतावास र महावाणिज्यदूतावासले १५ दिनभित्र प्रमाणीकरण नगरेका मागपत्र प्रमाणीकरण गर्न परराष्ट्र मन्त्रालयले सहयोग र समन्वय गरिदिनुपर्ने माग परराष्ट्रमन्त्री साउदसँग राखेको पनि महासचिव भुर्तेलले बताए ।
जवाफमा मन्त्री साउदले श्रम मन्त्रालयसँग समन्वय गर्नुपर्ने विषय थपिँदै गएको भन्दै श्रम मन्त्रालयसँग समन्वय गरी काम गर्न छुट्टै शाखा नै स्थापना गरिएको जानकारी व्यवसायीलाई दिएको महासचिव भुर्तेलले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies