काठमाडौं : वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि समस्या आएको थियो ।
उक्त सफ्टवेयरमा समस्या आएपछि काममा समस्या उत्पन्न भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए । उनले भने, “सम्पूर्ण ‘डाटा’ र ‘डकुमेन्ट’सहित अपलोड गरिएका कागजातले गर्दा मेमोरी भरिएर सफ्टवेयरमा समस्या आएको हो, समस्या समाधानका लागि प्राविधिकले प्रयास गरिरहेका छन्, १५ वर्षदेखिको डाटा र डकुमेन्ट भएकाले मेमोरी भरिएको हो ।”
वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारका ‘अफलाइन’मा निवेदन लिएको भए पनि भुक्तानी सफ्टवेयरबाट हुने भएकाले दिन नसकिएको प्रवक्ता ढकालले बताए । उनका अनुसार सफटवेयरले काम नगरे पनि उद्धारसहितका आकस्मिकलगायत काम अफलाइनमार्फत पत्र पठाएर सञ्चालन भइरहेको छ ।
बोर्ड सचिवालयको सफ्टवेयर fewims.feb.gov.np को सर्भरमा केही दिनदेखि समस्या आएको र सफ्टवेयर सञ्चालन हुन अझै केही दिन लाग्ने बोर्डले जनाएको छ ।
काठमाडौं : अमेरिका लैजाने प्रलोभनमा पारेर ११ जना भारतीयलाई काठमाडौंमा बन्धक बनाउने ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । बुधबार राति पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
प्रहरीले बन्धक बनाउने गिरोहका चरण जित सिंह, अशोक कुमार, अब्दुल रहिम, इन्दु सिंह यादव, निपुन गुप्ता, मनिष कुमार मल्होत्रा, रवि मिवदे र राम चन्द्र शर्मालाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार यादव बन्धक प्रकरणका मुख्य योजनाकार हुन् । नेपाली नागरिकको भने नाम खुलाइएको छैन । उनले नक्कली कागजात बनाएर भारतीयहरुलाई सहयोग गर्ने गरेको प्रहरीको दाबी छ ।
गिरोहले विभिन्न देशका नागरिकलाई युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडालगायतका देशमा पठाउने प्रलोभनमा पारेर नेपाल ल्याइ बन्धक बनाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका भारतीयहरुले बन्धक बनेकाहरुका परिवारलाई भ्रममा पार्न मेक्सिकोको भाषा, संस्कृति, संगीत आदिसँग मिल्ने खालको कृत्रिम वातावरण सिर्जना गरी भिडियो कलमार्फत आफन्तलाई देखाएर ठूलो रकम माग गर्ने गरेकोे खुलेको प्रहरीले बताएको छ ।
नेपालीसहित विश्वका विभिन्न देशका नागरिकलाई मेक्सिको, ग्वाटेमाला, पानामा सिटी हुँदै अवैधानिकरुपमा अमेरिकासम्म पुर्याउने गरेकोे यसअघि पटक–पटक सार्वजनिक भएको थियोे । भारतीयहरुले बन्धक बनाएका भारतीय नागरिकका परिवारका सदस्य अमेरिकाको दक्षिणी छिमेकी देश मेक्सिको पुगेकाले भारतीय रुपैयाँ ४० लाख भारतमा रहेका एजेन्टहरुलाई दिन बाध्य पारेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
प्रहरीले पक्राउ परेकाहरुबाट मेक्सिको र ब्राजिलको समय निर्धारण गरिएको घडी, विभिन्न देशका मुद्रा, विभिन्न एयरलाइन्सका नक्कली बोर्डिङ पास, पीडितहरुको पासपोर्ट, शारीरिक यातना दिन प्रयोग हुने पाइपलगायतका सामान बरामद भएको बताएको छ । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीले बताएको छ ।
यसैबीच वैदेशिक रोजगारीका लागि रुस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । एक लाख ६५ हजार ठगी गरेको अभियोगमा उदयपुरको उदयपुरगढी गाउँपालिका–९ ध्वासे फूलबारी घर भइ हाल काठमाडौंको स्वयम्भू बस्दै आएका ३० वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले दुई जनालाई वैदेशिक रोजगारीका लागि रुस पठाइ कन्स्ट्रक्सनमा मासिक एक लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको प्रहरीले बताएको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले सामाखुसीबाट पक्राउ गरेको हो । तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयले ७ फागुनदेखि कोरियाली भाषा परीक्षा शुरु गर्ने भएको छ ।
एक सूचना जारी गर्दै ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फ जाने श्रमिकहरुको कोरियन भाषा परीक्षा शुरु हुने र परीक्षा हुनुभन्दा एक दिनअघि ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा परीक्षार्थीले बायोमेट्रिक (फिंगरप्रिन्ट) दर्ता गर्नुपर्ने हुँदा त्यसका लागि २ घण्टा अगावै परीक्षा केन्द्रमा पुगिसक्नुपर्ने बताएको छ ।
सक्कल राहदानी र प्रवेशपत्र नभएकाहरु परीक्षामा सामेल हुन नपाउने भन्दै शाखाले परीक्षामा चिट, कपी गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गरी आगामी ४ वर्षसम्मका लागि परिक्षामा सहभागी हुन नपाउने गरी निलम्बन गर्ने बताएको छ ।
परीक्षामा उत्पादनमूलकतर्फ १ लाख ६५ हजार र सिप बिल्डिङतर्फ २१ हजार २ सय ५४ जना परीक्षार्थी रहेको शाखाले जनाएको छ ।
काठमाडौं : माघ महिनामा ७ सय ४१ म्यानपावर कम्पनीले कामदारको श्रम स्वीकृति लिएकोमा नीलकमल ह्युमन रिसोर्स प्रा.लि. धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको छ । माघमा ६ दर्जन बढी म्यानपावर कम्पनीले सयभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाउन श्रम स्वीकृति लिएका छन् ।
माघमा सय बढी कामदार पठाउने म्यानपावर कम्पनी :
नीलकमल ह्युमन रिसोर्स प्रा.लि.– ७३९
एसओएस मेनपावर सर्भिस प्रा.लि.– ७१०
एयर किङ्स प्लेसमेन्ट प्रा.लि.– ५४७
दि रिभर ओभरसिज प्रा.लि.– ५१४
इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– ४५२
सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.– ३८३
साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– ३७८
गल्फ मेनपावर सर्भिस प्रा.लि.– ३४१
अल जारफा ह्युमन रिसोर्स कन्सल्ट प्रा.लि.– ३२२
ट्रेण्ड वे इन्टरनेशनल प्रा.लि.– ३०२
ग्रेस ओभरसिज प्रा.लि.– २९६
नाइस रिक्रुटमेन्ट एजेन्सी प्रा.लि.– २८९
इन्टरनेशनल मेनपावर रिक्रुटमेन्ट प्रा.लि.– २७६
अल जाहरा ह्युमन रिसोर्स कन्सल्ट्यान्टसी प्रा.लि.– २७४
लिंक इन्टरनेशनल प्लेसमेन्ट प्रा.लि.– २७०
टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्स प्रा.लि.– २६५
हामदान ग्लोबल प्रा.लि.– २६५
बेष्ट रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– २६२
अलस्कील इन्टरनेशनल ह्युमन रिसोर्स प्रा.लि.– २५४
प्याराडाइज इन्टरनेशनल प्रा.लि.– २४१
जब सिकर म्यानपावर प्रा.लि.– २४०
ओेशो रिक्रुटिङ एजेन्सी प्रा.लि.– २३८
अमिटी ग्लोबल इम्प्लोइमेन्ट प्रा.लि.– २३०
इन्डेक्स रिक्रुटमेन्ट प्रा.लि.– २०६
पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रा.लि.– २०२
अल सेक्योर मेनपावर रिक्रुटमेन्ट प्रा.लि.– २०१
वर्ल्ड वाइड इम्प्लोइमेन्ट कन्सल्ट्यान्ट प्रा.लि.– १९९
ब्राइट फ्युचर एचआर सोलुसन प्रा.लि.– १७०
शिखर इन्टरनेशनल मेनपावर सर्भिस प्रा.लि.– १६९
अञ्जली ओभरसिज सर्भिस प्रा.लि.– १६७
नौकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १६५
स्टाइरिस एचआर सर्भिस प्रा.लि.– १६३
मास ह्युमन रिसोर्स प्रा.लि.– १६१
एशिया पावर रिक्रुटमेन्ट कन्सल्टयान्ट प्रा.लि.– १५९
गोर्खा ह्युमन रिसोर्स प्रा.लि.– १५७
एमबी ह्युमन रिसोर्सेज प्रा.लि.– १५६
मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी सर्भिस प्रा.लि.– १५२
अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.– १५१
लगिङ इन्टरनेशनल ओभरसिज रिक्रुटमेन्ट प्रा.लि.– १५०
शिवाकोटी मेनपावर सर्भिस प्रा.लि.– १४६
मदरल्याण्ड ओभरसिज प्रा.लि.– १४५
आरोही एचआर सोलुसन प्रा.लि.– १४४
मोन्टेज ओभरसिज प्रा.लि.– १४१
सदिक्षा ओभरसिज प्रा.लि.– १३९
सान नेपाल प्रा.लि.– १३७
अलआक्समाक्स कम्पनी प्रा.लि.–१३७
बेबी एन्जल्स इन्टरनेशनल प्रा.लि.– १३५
पायोनियर ओभरसिज सर्भिस प्रा.लि.– १३५
आकर्षण इन्टरनेशनल प्रा.लि.– १३३
रोटरी ओभरसिज प्रा.लि.– १३३
स्काई वे म्यानेजमेन्ट प्रा.लि.– १३१
भिक्टोरी नेपाल प्रा.लि.– १३१
लक्की एचआर सोलुसन प्रा.लि.– १३०
आयुश इन्टरनेशनल ओभरसिज सर्भिस प्रा.लि.– १३०
राज ग्रुप अफ कम्पनी प्रा.लि.– १२७
साहिद ओभरसिज प्रा.लि.– १२६
सगरमाथामा इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.– १२३
थ्री ब्रदर्स ह्युमन रिसोर्स प्रा.लि.– १२३
ट्रष्ट नेपाल ओभरसिज प्रा.लि.– १२३
फजल इन्टरनेशनल प्रा.लि.– १२२
कतार इन्टरनेशनल मेनपावर प्रा.लि.– ११८
ब्राइट स्टार ह्युमन रिसोर्स प्रा.लि.– ११६
पिरामिड इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– ११३
वाईके मेनपावर एजेन्सी प्रा.लि.– ११०
वाहा मेनपावर सर्भिस प्रा.लि.– १०७
बज्र ह्युमन रिसोर्सेज प्रा.लि.– १०५
एचएमटी ओभरसिज प्रा.लि.– १०२
एससीसी म्यानपावर कम्पनी प्रा.लि.– १०१
सेन्टर क्यापिटल सर्भिस प्रा.लि.– १०१
कान्तिपुर मेनपावर सर्भिस प्रा.लि.– १०१
काठमाडौं : पुस महिनाको तुलनामा माघ महिनामा वैदेशिक रोजगारमा जानेको संख्यामा कमी आएको छ । पुसमा ६५ हजार ८ सय १३ नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा माघ महिनामा उक्त संख्या ६२ हजार १ सय ४७ रहेको छन् । वैदेशिक रोजगार विभागको माघ महिनाको तथ्यांकअनुसार म्यानपावर कम्पनीबाट ३० हजार ७ सय ८६ जना नयाँ कामदार वैदेशिक रोजगारीमा गएका छन् ।
माघमा अघिल्लो महिना पुसमा जस्तै यूएईमा धेरै नेपाली गएका छन् । यूएईमा म्यानपावर कम्पनीबाट १० हजार ८ सय ६१ जना गएका छन् भने समग्रमा १७ हजार ६२ जना गएका छन् । माघमा साउदी अरेबिया दोस्रो स्थानमा रहेको छ । साउदीमा म्यानपावर कम्पनीबाट ६ हजार ३ सय ८८ जना र सबै प्रक्रियाबाट १२ हजार ३ सय ६६ जना गएका छन् । तेस्रोमा कतार रहेको छ । ममघमा १२ हजार १ सय ६४ जना गएको कतारमा म्यानपावर कम्पनीमार्फत ३ हजार ६ सय ८८ जना गएको विभागको तथ्यांक छ । मलेसिया सूचीको चौथो स्थानमा रहेको छ । माघमा समग्रमा ६ हजार ७ सय ९५ जना कामदार गएको मलेसियामा म्यानपावर कम्पनीमार्फत भने ५ हजार ४ सय ७७ जना गएका छन् ।
माघमा कुवेत जान २ हजार २ सय १० जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै म्यानपावर कम्पनीमार्फत जापान जानेको संख्या ७७ छ भने व्यक्तिगतरुपमा ९ सय १७ जना जापान गएका छन् । बहराइन जानेको संख्या ५ सय र हङकङमा ४ जनाको श्रम स्वीकृति भएको छ । हङकङमा व्यक्तिगतरुपमा ५७ जनाको श्रम स्वीकृति भएको छ ।
पछिल्ला महिना रोजगारीका लागि युरोप जाने बढेका छन् । पुसमा मात्र रोमानियामा म्यानपावरमार्फत ४ सय ३१ र व्यक्तिगतरुपमा ६ सय ६५ जना, क्रोएशियामा म्यानपावरमार्फत २२ र व्यक्तिगतरुपमा ३ सय ६८ जना, साइप्रसमा ३ सय १ जना नेपाली कामदार गएका छन् ।
चालु आर्थिक वर्षको सात महिनामा ४ लाख ५ हजार ५ सय ५२ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । गत वर्ष सोही अवधिमा ४ लाख ७८ हजार ८ सय ३० जनाको श्रम स्वीकृति भएको थियोे । वैदेशिक रोजगारीमा जानेको संख्यासँगै स्वदेश भित्रिने रेमिट्यान्स पनि उल्लेख्यरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
काठमाडौं : वैदेशिक रोजगार बोर्डको अनलाइन प्रणाली अवरुद्ध भएको छ । बोर्डको सचिवालयले एक सूचना जारी गर्दै प्रणालीमा समस्या आएको जानकारी दिएको छ । बोर्ड सचिवालयको ‘एफईडब्लुआईएमएस डट एफईबी डट जीओभी डट एनपी’को सर्भर र सफ्टवेयरमा केही दिनदेखि समस्या आएको भन्दै बोर्डले केही दिन सेवा बन्द हुने जानकारी गराएको हो ।
बोर्डको अनलाइन अवरुद्ध हुँदा वैदेशिक रोजगारीमा गइ मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरण प्रभावित भएको छ ।
काठमाडौं : वैदेशिक रोजगारीका नाममा ठगिएका युवायुवतीले तत्काल आफूहरूको ठगिएको रकम र क्षतिपूर्तिको रकम तत्काल असुलउपर गराइदिन माग गर्दै वैदेशिक रोजगार विभाग घेराउ गरेका छन् । ललितपुरको कन्जोसोम गाउँपालिका ४ घर भइ इमाडोल बस्दै आएका ३२ वर्षका सुजन तामाङलगायतले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सय जना बढी युवायुवतीबाट करोडौं रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले उनीसहित चार जनालाई पक्राउ गरेको थियो ।
वैदेशिक रोजगार विभागले उनीहरूलाई वैदेशिक रोजगार ऐनको ठगीमा अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार न्यायाधिकरणबाट म्याद थप गरी थुनामा राखेको छ । तामाङले युरोपेली मुलुक क्रोएशिया, माल्टा, पोल्याण्ड र क्यानडालगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ६ सय जना बढीबाट करोडौं लिएको प्रहरीले बताएको छ ।
तामाङले बालाजु चोकमा युरो विंग्स एजुकेशन कन्सल्ट्यान्सी सञ्चालन गरी आफूलाई विकास वाइबाको नक्कली परिचय दिइ करोडौँ रुपैयाँ ठगी गरेको पाइएको प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले बताए । पीडितहरूले अनुसन्धान र क्षतिपूर्तिको कामबारे विभागका महानिर्देशक डण्डुराज घिमिरेको ध्यानाकर्षण गराएका थिए ।
तामाङले युरोपेली मुलुकमा कामदार पठाउँछु भनेर माल्टाका लागि ८ लाख, पोल्याण्डका लागि ७ लाख र क्रोएशियाका लागि ६ लाख ५० हजार रुपैयाँ तथा क्यानडाका लागि १८ लाखका दरले ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले दाबी गरेको छ । उनले ६ सयभन्दा बढी युवाबाट ५० हजारदेखि ६ लाख ५० हजारसम्म रकम लिएको प्रहरीको दाबी छ । पीडितहरूले आफूहरू समूह–समूहमा ठगिएको भन्दै एक जनाको ४ लाख रूपैयाँसम्म ठगी भएको बताएका छन् ।
युवायुवतीबाट ठगी गरेको रकमबाट तामाङले ४ करोड व्यक्तिगत ऋण तिरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, ५ लाखको सुनको ब्रास्लेट खरिद गरेको, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, राप्ती म्यानपावर कम्पनीको ५० प्रतिशत शेयर खरिद गरेको र आफ्नो भाइको बैंक खातामा १५ लाख ५० हजार रुपैयाँ जम्मा गरेको बयान दिएको प्रहरीले बताएको छ ।
ठगिएका कतिपयले अझैसम्म आफू ठगिएको वास्तविकता परिवारलाई बताउन नसकेको र काम हुँदैछ भनेर ढाँटिरहेकोे र ठगिएको रकम नपाएको अवस्थामा स्थिति जेसुकै हुने भन्दै विभाग परिसरमा नाराबाजी गरेका थिए । उनीहरूले समाचारमा आफ्नो तस्बिर प्रयोग नगरिदिन समेत आग्रह गरेका छन् ।
महानिर्देशक घिमिरेले अभियुक्तले खरिद गरेको राप्ती म्यानपावर कम्पनीको ५० प्रतिशत शेयर रोक्का गरिएको जानकारी दिँदै शान्तिपूर्णरूपमा कानूनी उपचारमा लाग्न पीडितहरूलाई सुझाव दिए ।
क्वालालम्पुर : मलेसियाको औद्योगिक अदालतले विदेशी कामदारहरुलाई सम्मानजनक व्यवहार गर्न रोजगारदाताहरुलाई निर्देशन दिँदै कार्यस्थलमा शारीरिक हिंसा र आक्रामकतालाई कदापी सहन नसकिने बताएको छ । मलेसियाका केही क्षेत्रमा आप्रवासी कामदारको बासस्थान तथा उनीहरुलाई गरिने व्यवहारको आलोचना हुँदै आएको छ ।
त्यहाँको औद्योगिक अदालतका अध्यक्ष एन्डरसन ओङले विदेशी कामदारले मानिसको हैसियतले सम्मान र मर्यादाका साथ व्यवहार गर्ने अधिकार राख्ने विषयमा रोजगारदाताहरु सचेत हुनुपर्ने बताए । उनले भने, ‘विदेशी कामदारसहित सबै कर्मचारीको कमाइ जतिसुकै कम वा निम्न किन नहोस्, मानिसको रुपमा व्यवहार गर्न पाउने र मानवीय मर्यादाको सम्मानका साथ व्यवहार गर्नुपर्छ भन्ने कुरा रोजगारदाताले जान्नुपर्छ ।’
एक बंगलादेशी कामदारमाथि भएको दुव्र्यवहारको घटनामा मलेसियाको औद्योगिक अदालतमा उजुरी परेको थियोे । मलेसियामा एक सफाइ कर्मचारीको हैसियतमा कार्यरत बंगलादेशी नागरिक रहमान मोहम्मद महबुबुर स्वदेश फर्केपछि मलेसियाको औद्योगिक अदालतले रोजगारदाताविरुद्ध आदेश दिएको थियोे ।
काठमाडौं : ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा रहेको मुलुक साउदी अरेबियामा कयौं नेपालीहरु अवैधरुपमा घरेलु रक्सी कारखाना सञ्चालन, सेवन तथा बिक्री गरेको अभियोगमा जेलमा परेको सार्वजनिक भएको छ ।
बीबीसी नेपाली सेवाका अनुसार झण्डै चार लाख नेपालीहरु कार्यरत रहेको साउदी अरेबियामा ४ सय ८० नेपाली जेलमा रहेको र जेलमा परेकामध्ये ८० प्रतिशतभन्दा बढी अवैध मदिराको उत्पादन, बिक्रीवितरण र सेवनमा संलग्न रहेको अपराधमा पक्राउ परेका नेपाली कामदारहरु रहेका छन् ।
रियादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीका अनुसार साउदीमा मदिराको उत्पादन, बेचबिखन गर्नेलाई जरिवानादेखि जेल सजाय हुने गरेको छ । कतिपयलाई साउदी प्रहरीले थुन्ने र कोर्रा हान्नेसम्मको सजाय गर्ने गरेको छ । अवैधानिकरुपमा बसेका नेपालीहरुले कम आम्दानी भएका नेपाली मजदुरलाई मादक पदार्थ बेच्ने गरेको बताइएको छ भने छोटो समयमा कमाउने लोभमा परेका केही नेपालीहरु रक्सी उत्पादन, ओसारपसारको अवैध धन्दामा लाग्दा जेल परेको बीबीसीले उल्लेख गरेको छ ।
अवैधरुपमा मदिरा उत्पादन तथा बिक्री गर्ने नेपाली कामदारहरुमध्ये केहीलाई अदालतबाट सजाय सुनाइएको र केही कामदारको सजाय सुनाउन बाँकी नै रहेको उल्लेख गर्दै बीबीसीले नेपालीलाई केही महिनादेखि सात वर्षसम्मको जेल सजाय हुने गरेको उल्लेख गरेको छ ।
नेपालबाट घरेलु रक्सी उत्पादन गर्ने मर्चालाई पिठोसँग मिसाएर लैजाने र स्थानीयस्तरमा पाइने चामल, गहुँ र खजुरजस्ता खाद्य पदार्थमा राखेर घरेलुु मदिरा बनाउने गरेको दूतावासका अधिकारीहरु बताउँछन् ।
नेपालीहरु साउदी अरेबियामा मात्रै नभएर कुवेतमा पनि अवैध मदिरा उत्पादन तथा सेवन गर्ने गरेका कारण पटक–पटक पक्राउ पर्ने र बदनाम हुने गरेका छन् । रोजगारीका लागि गएका विदेशी कामदार स्थानीय धर्म, संस्कृति तथा परम्परा विपरीत अवैध मदिराको व्यापारमा लागेपछि कुवेतमा नेपाली समुदाय नै बदनाम हुन पुगेको कतिपयको टिप्पणी छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर स्वरोजगार उद्यमी बनेका युवायुवतीलाई पुरस्कृत गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर स्वरोजगार उद्यम गरेका व्यक्तिलाई प्रतिस्पर्धामा सहभागी हुन आवेदन दर्ता गर्न आह्वान गरेको छ ।
त्यसका लागि आगामी फागुन १५ गतेभित्र आवेदन दिन सकिने उल्लेख गर्दै मन्त्रालयले वर्किङ भिसामा विदेशमा कम्तीमा एक वर्ष काम गरी फर्किएर व्यवसाय सञ्चालन गरेको कम्तीमा एक वर्ष पूरा भएको र विगत ६ वर्षभित्र श्रम मन्त्रालयबाट प्रदान गरिएको पुरस्कार प्राप्त नगरेको हुनुपर्ने मापदण्ड रहेकोे छ ।
आवेदनका साथमा पुरस्कृत हुन चाहने आकांक्षीले आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति लिएको निस्सा, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेश गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ ।
प्राप्त आवेदनमध्येबाट रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापनलगायतका आधारमा छनोट गरिने छ । प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ ।
छनोटका लागि विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय सिफारिस समिति गठन गरिएको छ । समितिलाई प्रत्येक प्रदेशबाट न्यूनतम एक जना नछुट्ने गरी उद्यमी छनोट गर्नुपर्ने म्याण्डेट छ । आवेदकमध्ये एक जना सर्वाेत्कृष्ट उद्यमीले एक लाख ५० हजार राशिको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र अन्य सात जनाले ७५ हजारको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
वैदेशिक रोजगारीबाट फर्केका नेपालीले विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई सुदुपयोग गर्न स्वदेश फर्किएर उद्यम गर्ने व्यवसायीलाई सम्मान गर्न लागिएको मन्त्रालयको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies