काठमाडौं : ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा रहेको मुलुक साउदी अरेबियामा कयौं नेपालीहरु अवैधरुपमा घरेलु रक्सी कारखाना सञ्चालन, सेवन तथा बिक्री गरेको अभियोगमा जेलमा परेको सार्वजनिक भएको छ ।
बीबीसी नेपाली सेवाका अनुसार झण्डै चार लाख नेपालीहरु कार्यरत रहेको साउदी अरेबियामा ४ सय ८० नेपाली जेलमा रहेको र जेलमा परेकामध्ये ८० प्रतिशतभन्दा बढी अवैध मदिराको उत्पादन, बिक्रीवितरण र सेवनमा संलग्न रहेको अपराधमा पक्राउ परेका नेपाली कामदारहरु रहेका छन् ।
रियादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीका अनुसार साउदीमा मदिराको उत्पादन, बेचबिखन गर्नेलाई जरिवानादेखि जेल सजाय हुने गरेको छ । कतिपयलाई साउदी प्रहरीले थुन्ने र कोर्रा हान्नेसम्मको सजाय गर्ने गरेको छ । अवैधानिकरुपमा बसेका नेपालीहरुले कम आम्दानी भएका नेपाली मजदुरलाई मादक पदार्थ बेच्ने गरेको बताइएको छ भने छोटो समयमा कमाउने लोभमा परेका केही नेपालीहरु रक्सी उत्पादन, ओसारपसारको अवैध धन्दामा लाग्दा जेल परेको बीबीसीले उल्लेख गरेको छ ।
अवैधरुपमा मदिरा उत्पादन तथा बिक्री गर्ने नेपाली कामदारहरुमध्ये केहीलाई अदालतबाट सजाय सुनाइएको र केही कामदारको सजाय सुनाउन बाँकी नै रहेको उल्लेख गर्दै बीबीसीले नेपालीलाई केही महिनादेखि सात वर्षसम्मको जेल सजाय हुने गरेको उल्लेख गरेको छ ।
नेपालबाट घरेलु रक्सी उत्पादन गर्ने मर्चालाई पिठोसँग मिसाएर लैजाने र स्थानीयस्तरमा पाइने चामल, गहुँ र खजुरजस्ता खाद्य पदार्थमा राखेर घरेलुु मदिरा बनाउने गरेको दूतावासका अधिकारीहरु बताउँछन् ।
नेपालीहरु साउदी अरेबियामा मात्रै नभएर कुवेतमा पनि अवैध मदिरा उत्पादन तथा सेवन गर्ने गरेका कारण पटक–पटक पक्राउ पर्ने र बदनाम हुने गरेका छन् । रोजगारीका लागि गएका विदेशी कामदार स्थानीय धर्म, संस्कृति तथा परम्परा विपरीत अवैध मदिराको व्यापारमा लागेपछि कुवेतमा नेपाली समुदाय नै बदनाम हुन पुगेको कतिपयको टिप्पणी छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर स्वरोजगार उद्यमी बनेका युवायुवतीलाई पुरस्कृत गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर स्वरोजगार उद्यम गरेका व्यक्तिलाई प्रतिस्पर्धामा सहभागी हुन आवेदन दर्ता गर्न आह्वान गरेको छ ।
त्यसका लागि आगामी फागुन १५ गतेभित्र आवेदन दिन सकिने उल्लेख गर्दै मन्त्रालयले वर्किङ भिसामा विदेशमा कम्तीमा एक वर्ष काम गरी फर्किएर व्यवसाय सञ्चालन गरेको कम्तीमा एक वर्ष पूरा भएको र विगत ६ वर्षभित्र श्रम मन्त्रालयबाट प्रदान गरिएको पुरस्कार प्राप्त नगरेको हुनुपर्ने मापदण्ड रहेकोे छ ।
आवेदनका साथमा पुरस्कृत हुन चाहने आकांक्षीले आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति लिएको निस्सा, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेश गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ ।
प्राप्त आवेदनमध्येबाट रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापनलगायतका आधारमा छनोट गरिने छ । प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ ।
छनोटका लागि विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय सिफारिस समिति गठन गरिएको छ । समितिलाई प्रत्येक प्रदेशबाट न्यूनतम एक जना नछुट्ने गरी उद्यमी छनोट गर्नुपर्ने म्याण्डेट छ । आवेदकमध्ये एक जना सर्वाेत्कृष्ट उद्यमीले एक लाख ५० हजार राशिको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र अन्य सात जनाले ७५ हजारको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
वैदेशिक रोजगारीबाट फर्केका नेपालीले विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई सुदुपयोग गर्न स्वदेश फर्किएर उद्यम गर्ने व्यवसायीलाई सम्मान गर्न लागिएको मन्त्रालयको भनाइ छ ।
काठमाडौं : साउदी अरेबियाले एक महिनाभित्रै द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गर्ने वातावण बनाउने आश्वासन दिएको छ । यूएईको आबुधाबीमा भइरहेको ‘आबुधाबी डायलग’मा सहभागी हुन पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘साइडलाइन’ बैठकमा साउदी अरेबियाका अधिकारीहरूसँग विगत ८ वर्षदेखि गृहकार्यमा रहेकोे नेपाल–साउदी श्रम समझदारीका विषयमा छलफल अघि बढाएका हुन् ।
बैठकमा नेपाली पक्षले प्रस्तावित सम्झौतामा ‘स्वच्छ भर्ना प्रणाली’सहित सामाजिक सुरक्षा, कामदारको कार्य घण्टा, बीमा, पेशागत स्वास्थ्य सुरक्षालगायतका विषयहरु सम्बोधन हुने गरी सम्झौता गर्न आग्रह गरेको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।
नेपाल र साउदी अधिकारीहरूबीच पटक–पटक श्रम सम्झौताका विषयमा छलफल भएपनि साउदी अरेबियाले जनरल वर्करसँगै घरेलु श्रमिकका लागि पनि छुट्टै श्रम समझदारी गर्ने अडान लिँदा श्रम सम्झौता हुन सकेको छैन । नेपाली कामदारका अधिकार सुनिश्चित नभएको अवस्थामा पनि अदक्ष नेपाली कामदारको ठूलो संख्या साउदी अरेबिया गइरहेको छ ।
दुवै मुलुकको साइडलाइन बैठकमा सीपमूलक जनशक्ति उत्पादनका निम्ति नेपालमा तालिम केन्द्र स्थापना गर्न साउदी सरकारले दिएको सहयोगलाई निरन्तरता दिने तथा श्रमिकको सीप तथा क्षमता बढाउने विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको बताइएको छ ।
छलफलमा कफाला प्रणालीले सिर्जना गरेको समस्याको समाधान तथा विभिन्न कारणले मृत्यु भएका कामदारको शव छिट्टै नेपालसम्म पठाउन सहजीकरण गर्ने विषयमा नेपाली पक्षले साउदी पक्षको ध्यानाकर्षण गराएको छ । साउदी अरेबियाका सप्लाइ कम्पनीमा लगिएका कामदारको अकामा नबन्ने तथा उनीहरूलाई काम तथा तलब नदिने समस्या समाधानका लागि पनि आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै श्रमिकहरुको गुनासो यथाशक्य छिटो सम्बोधन गर्न बैंकिङ र स्वास्थ्य सूचना प्रणालीको प्रयोग बढाउने, स्वदेशमा हुने पूर्वप्रस्थान अभिमुखीकरण र सीप तालिमलगायतका कामहरुलाई डिजिटाइजेसन गर्दै लैजानेबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
आइतबार नै नेपाल र कतारबीच पनि साइडलाइन बैठक भएको छ । बैठकमा कतारी अमिर तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको समयमा हस्ताक्षर हुने गरी श्रम समझदारी पत्र तयार गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ । कतारसँग सन् २००३ मा भएको द्विपक्षीय श्रम सम्झौता विस्थापित गर्दै नयाँ श्रम समझदारी गर्ने तयारी छ ।
कतारले पनि साउदी अरेबियाले जस्तै घरेलु कामदारका विषयमा सम्झौता गर्न चाहेको बताएको छ । यसअघिको सम्झौतालाई पुनरावलोकन गर्न दुवै देशले अनलाइनमार्फत छलफल अघि बढाउने निर्णय गरेकोे मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले जानकारी दिएका छन् ।
काठमाडौं : पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका–१२ घर भइ काठमाडौं सामाखुशी बस्ने ३० वर्षीया मन्जु रावत घर्तीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घर्तीले ३ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
चन्द्र गोतामे/मध्यान्ह
कुवेत : वैदेशिक रोजगारीका लागि कुवेत आएका कीशुम महर्जन गत सोमबारदेखि सम्पर्कविहीन भएका छन् ।
अल हमाजि ग्रुपमा करिब ६ महिना पहिले रोजगारीका लागि कुवेत आएका कीशुम गत सोमबार नेपाल जाने साथीलाई परिवारका लागि पार्सल छोड्न गएको बुझिएको छ । कुवेतस्थित नेपाली दूतावासले परिवारबाट सूचना प्राप्त भएको र खोजीकार्यलाई तीव्र पारिएको जनाएको छ ।
हप्तादिन यता सम्पर्कमा नआएपछि कम्पनी, दूतावास तथा कुवेत सबैतिर खोजीका लागि अपिल गरिएको जनाउँदै कीशुमका बाबु तिर्थराज मर्हजनले खोजी कार्यमा सहयोग गर्न कुवेतवासी सबैमा अनुरोध गरेका छन् ।
काठमाडौं : आबुधाबी डायलगमा नेपालले कामदारको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा शुरु भएको आबुधाबी डायलगअन्तर्गत उच्च श्रम अधिकारीहरुको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले उक्त प्रस्ताव राखेका हुन् ।
यूएईको अबुधाबीमा शनिबारदेखि शुरु भएको डायलगमा कामदार पठाउने र लिने २१ देशका श्रममन्त्री र उच्च सरकारी अधिकारीहरुको सहभागिता रहेकोे छ । शनिबार नेपालको तर्फबाट दृष्टिकोण राखेका श्रम मन्त्रालयका सहसचिव पोखरेलले रोजगारदाता देशहरुले कामदारको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
यसका अतिरिक्त सहसचिव पोखरेलले गन्तव्य देशहरुले न्यायोचित भर्ना, कार्यस्थलमा कामदारको स्वास्थ्य सुरक्षाको सुनिश्चितता र एकै प्रकृतिको करारपत्रलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
हाल खाडी मुलुक अन्तर्गत यूएई, साउदी अरेबिया, कुवेत, बहराइन, ओमान र कतारमा नेपाली कामदार जाने गरेको भएपनि कतारले मात्रै कामदारको न्यूनतम तलब निर्धारण गरेकोे छ । अबुधाबी डायलगअन्तर्गत आइतबार मन्त्रीस्तरीय बैठक हुँदैछ । उक्त बैठकमा कामदारको तलब तथा अन्य सुरक्षा, रेमिट्यान्सको आप्रवाह तथा प्रयोग, सीपयुक्त जनशक्ति उत्पादनमा साझेदारी र न्यायोचित भर्नाको अभ्यासमाथि छलफल हुने बताइएको छ । बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा ५ सदस्यीय टोली यूएईमा रहेको छ ।
काठमाडौं : वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पाँच लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भइ हाल काठमाडौं महानगरपालिका–३२ शान्तिनगर बस्ने धीरज पटेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ परेका पटेल विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पटक–पटक गरी पाँच लाख लिइ सम्पर्कविहीन भएका थिए । उनलाई प्रहरीले बबरमहलबाट पक्राउ गरेको हो । पक्राउ परेका पटेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
काठमाडौं : रुस–युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि सहयोग गर्न पीडित परिवारले शुक्रबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको ध्यानाकर्षण गराएका छन् । पीडित परिवारका सदस्यले पार्टीको केन्द्रीय कार्यालय पुगेर ‘पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना’ अभियानका तर्फबाट अध्यक्ष नेपाललाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष नेपालले रुस र युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि गम्भीर बन्न सरकारसँग कुराकानी गर्ने बताए । सैन्य भर्ती सम्झौता नभएका मुलुकमा पनि फौजमा भर्ना भइ मर्नुपर्ने नियति आउनु राष्ट्रका लागि लज्जाको विषय भएको बताउँदै उनले भने, ‘रुस र युक्रेनको युद्धमा फसेका नेपालीको तत्काल उद्धारका निम्ति म सरकारसँग कुरा गर्छु, नेपालीहरू त्यहाँ कसरी पुगे ? रहर हो कि बाध्यता ?’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले युद्धमा रहेका नेपालीलाई फिर्ता ल्याउने, घाइतेको उपचार गर्ने, मृतकको खोजी गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । अभियानका संयोजक कृतु भण्डारीले युद्धमा कुनै सम्बन्ध नभएको नेपालका नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था संवेदनशील भएको बताउँदै यसको अन्त्यका लागि सम्पूर्ण नेपालीको चिन्ता र सरोकार भएकाले सबै दलको साझा दृष्टिकोण बन्नुपर्ने विचार व्यक्त गरे ।
ध्यानाकर्षण पत्रमा रुसी सेनामा भर्ति हुन पुगेका नेपालीलाई अविलम्ब फिर्ता गर्नुपर्ने, युद्धमा ज्यान गुमाएका आफन्तको शव ल्याउनुपर्ने, महिनौदेखि सम्पर्क नभएकाको वास्तविकता पत्ता लगाउनुपर्ने, सम्पर्कमा भएका सकुशल घर फर्किने वातावरण निर्माण गर्नुपर्ने, असंलग्न परराष्ट्र नीतिको पक्षपाति नेपालका नागरिक कुनै पनि मुलुकको पक्ष तथा विपक्षमा उभिन नहुने, जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उचित उपचार सेनामा रहेका आफ्ना नागरिकको जीवन रक्षाका लागि सकुशल घर फिर्ताका लागि व्यवस्था गर्नुपर्नेलगायत विषय उल्लेख छ । रासस
काठमाडौं : वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब साढे ३ लाख युवायुवतीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको बताएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भएका कामहरुको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै विभागले विगत ६ महिनाको अवधिमा ३ लाख ४३ हजार ४ सय ११ जनाको श्रम स्वीकृति भएको जनाएको छ ।
यस अवधिमा म्यानपावर कम्पनीमार्फत १ लाख ५८ हजार ९ सय ८५ जना, व्यक्तिगत नयाँ ४२ हजार १ सय ९० जना, पुनः श्रम स्वीकृतिमार्फत १ लाख ३५ हजार ४ सय ३५ जना र ईपीएसमार्फत ६ हजार ८ सय जनाको श्रम स्वीकृति भएको छ । ६ महिनाको अवधिमा लाख ४३ हजार ४ सय ११ जनाको श्रम स्वीकृति भएकोमा त्यसमा महिलाको संख्या ३९ हजार ५ सय ७२ जना रहेको विभागले जनाएको छ ।
विभागले राहत उद्धार तथा समन्वय शाखाबाट पुस मसान्तसम्ममा ६ सय ९० जनाको उजुरी परेकोमा ३ सय ६२ वटा फछ्र्यौट गरिएको, ४५ जनाको उद्धार गरिएको, १ सय ७२ जनालाई १ करोड ३९ लाख ४६ हजार क्षतिपूर्ति उपलब्ध गराएको र ६५ जनालाई स्वदेश फर्काएको बताएको छ । त्यस्तै मुद्दा तथा अनुसन्धान शाखामा १ हजार १ सय ३० वटा उजुरी परेकोमा १ सय ९१ वटामा मिलापत्र गराइ ११ करोड २८ लाख ९६ हजार क्षतिपूर्ति भराइ मिलापत्र हुन नसकेका ८४ वटा उजुरीमा छानबिन गरी वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता गरिएको जनाएको छ ।
त्यसैगरी प्रहरी शाखाले १ हजार ६ सय ७५ वटा उजुरी दर्ता गरेकोेमा ६५ वटामा मिलापत्र र अन्य ८ सय ५८ वटा प्रतिवादीले रकम तिरेका कारणले ९ सय २३ वटा उजुरी फछ्र्यौट भइ १ करोड ४२ लाख ९ हजार ४ सय रूपैयाँ असुली भएको जनाएको छ । समग्रमा विभागले ६ महिनाको अवधिमा ४ हजार ४ सय ९५ वटा उजुरी दर्ता गरी त्यसमध्ये १ हजार ५ सय ६० वटा फछ्र्यौट गरी १३ करोड ८४ लाख ४५ हजार क्षतिपूर्तिको रकम असुल उपर गराइदिएको बताएको छ ।
विभागमा संस्थागत अर्थात म्यानपावर कम्पनीको तुलनामा शैक्षिक कन्सल्ट्यान्सी वा व्यक्तिगत रूपमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी भएका उजुरी ठूलो संख्यामा दर्ता हुने गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघका सचिव कर्णराज कटुवालको संयोजकत्वमा वैदेशिक रोजगार विभाग बुद्धनगर समन्वय समिति गठन गरी १८ जना व्यवसायीको टिम परिचालन गरेकोे छ । संघको समन्वय समितिले म्यानपावर कम्पनीविरूद्ध उजुरी आएपछि तत्कालै सम्बन्धित म्यानपावर कम्पनी सञ्चालकलाई बोलाएर छलफल चलाइ सहमतिको प्रयास गर्ने गरेकोे छ । उक्त प्रयासले म्यानपावर कम्पनीविरूद्धका उजुरी कमै मात्रामा दर्ता हुने गरेकोे संयोजक कटुवाल बताउँछन् । कामदार झिकाउने, राहदानी फिर्ता, तलब तथा ओभरटाइमको रकम नपाएको जस्ता उजुरी म्यानपावर कम्पनीविरूद्ध आउने गरेका छन् ।
भरतपुर : श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरुमध्ये चितवन पहिलो रहेकोे छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यस वर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
श्रम स्वीकृति नलिइ विदेश जानेको संख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवम् आप्रवासन र सामी कार्यक्रमका संयोजक सूर्यप्रसाद पौडेले बताए । ‘चितवनबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिया, बेलायतलगायतका युरोपका देशमा जानेको संख्या बढी छ,’ उनले भने, ‘विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो ।’
उनका अनुसार भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार पाँच सय घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष २०७९–८० मा नेपालबाट सात लाख ७१ हजार तीन सय २७ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा रहेको छ । यसमध्ये बागमती प्रदेशबाट मात्रै एक लाख १६ हजार नौ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा चितवन जिल्लाबाट सबैभन्दा धेरै १५ हजार आठ सय २३ जना छन् ।
चितवनबाट अघिल्लो आवमा एक हजार एक सय ६१ जनाले राहदानी बनाएका थिए । त्यस्तै माडी नगरपालिकाबाट दुई हजार एक सय २७, इच्छाकामना गाउँपालिकाबाट एक हजार आठ, रत्ननगर नगरपालिकाबाट एक हजार चार सय ७१, कालिका नगरपालिकाबाट एक हजार छ सय ७९, खैरहनी नगरपालिकाबाट एक हजार छ सय आठ र राप्ती नगरपालिकाबाट एक हजार दुई सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगारीका क्रममा चितवनमा ठगिने समस्या पनि रहेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा चालु आवमा एक सय ३६ निवेदन परेका थिए । त्यसमध्ये ६० प्रतिशत मानिसको विचौलियाले पैसा उठाएर भागेको निवेदन परेको थियो । स्वदेशमै रोजगारी सिर्जना गर्न भरतपुर महानगरपालिका लागिपरेको उपप्रमुख चित्रसेन अधिकारीले बताए । ‘अवैधरुपमा विदेश जानेको संख्या पनि कमी छैन । भारतमा जानेको संख्या उत्तिकै छ,’ उनले भने, ‘हामी जनप्रतिनिधि यहाँ भएको साधन स्रोत, जल, जमिन, जंगललाई उपयोग गर्दै यहाँ भएको सीपलाई उत्पादनसँग जोड्नुपर्छ । यसका लागि हामी प्रयासरत छौं ।’ वैदेशिक रोजगार देशव्यापी समस्या रहेको उनले बताए । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies