काठमाडौंः चाड पर्व शुरु भएसँगै चोरीका घटना बढ्न थालेका छन् । प्रहरीका अनुसार केही दिन यतादेखि काठमाडौं, भक्तपुरलगायतका क्षेत्रमा चोरीका घटना बढेका उजुरी पर्न थालेका छन् ।
प्रायः दिउँसो तथा रातिको समयमा चोरीका घटनाहरु बढ्न थालेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायबमहानिरीक्षक कुवेर कडायतले काठमाडौंको घट्टेकुलो चोक नजिक बस्ने चन्द्रकेशरी बज्राचार्यको घरमा, भक्तपुरकोगठ्ठाघरस्थित अरनीको बस्तीमा बस्ने सबिन निरौलाको कोठा र भक्तपुरको दधिकोट नयाँबस्तीमा सानुमाया चित्रकारको कोठामा चोरी भएको भएको बताए ।
उनका अनुसार बज्राचायको घरबाट नगद एक लाख ६० हजार, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामान गरी करिब छ लाख ६६ हजार, निरौलाको कोठाबाट ल्यापटप, घडी र नगद गरी करिब एक लाख सात हजार तथा चित्रकारको कोठाबाट करिब नौँ लाख ६५ हजार सातसय बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीले सामानहरु चोरी गरी हाल फरार भएका व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मेला, पर्व तथा चाडवाड नजिकिदै गएकाले चोरी गर्नेहरु सक्रिए हुने हुँदा आवश्यक सावधानी अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ ।
काठमाडौंः नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वी चम्पारण वडा नं १० खरतरी स्थायी वतन भएका रौतहटको साविक सरमुजवा गाविस वडा नं ९ बाट नागरिकता लिएका जागा चौधरी भन्ने जग्गाप्रसाद जैसवाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार जैसवालसमेत भएको नागरिकता तथा लिखतसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा चौधरीले विसं २०६३ मा नागरिकता बनाउने टोली स्थलगतरुपमा खटिएको समयमा झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ ।
यसैगरी निजले नागरिकता प्राप्त गरी नेपालका विभिन्न स्थानमा व्यापार व्यवसायसमेत गरी बसेको र जागा चौधरी नामको भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट लिएका सवारी चालक अनुमति पत्रसमेतका नेपाली कागजात फेला परेको प्रहरीले जनाएको छ ।
जैसवाललाई नागरिकता तथा लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाई अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए ।
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सो नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरुमध्ये सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माण कार्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले प्राविधिकले तयार गरेको मूल्याङकन तथा भुक्तानीका लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएकोभन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको अनुसन्धानबाट खुलेकाले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनका अनुसार उनीहरुले निर्माण काममा खर्च भएको रकम भन्दा छ लाख ५८ हजार चार सय ४० बढी भुक्तानी दिएको देखिएको छ । सरकारी रकम हानीनोक्सानी हुन गई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको देखिँदा मरासेनी र चौधरीलाई उक्त रकम बराबर बिगो कायम गरी माग दाबी गरिएको अख्तियारले जनाएको छ ।
यसैगरी आयोगले जनता माविको भवन निर्माण उपभोक्ता समितिका अधयक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भवन निर्माण समितिका अध्यक्ष यादव, सचिव प्रसाद र कोषाध्यक्ष किरणदेवीले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी भुक्तानीका लागि स्वीकृत भएकोभन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी भुक्तानी लिएका कारण मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम कसुर गरेको देखिन आएकाले उनीहरुलाई पनि सोही रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन माग दाबी गरी आज विशेष अदालतमा आरोप–पत्र दायर गरिएको प्रवक्ता दाहालले बताए ।
बाँकेः बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बाल सुधार गृहमा भएको झडपपछि नौ जना थुनुवा फरार भएका छन् ।
फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार फरार रहेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको छ ।
‘झडपका क्रममा १० जना घाइते भएका थिए । घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको थियो’, प्रनाउ डाँगीले भने । झडपमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ का सुलभ केसीको मृत्यु भएको उनले जानकारी दिए ।
प्रनाउ डाँगीका अनुसार उनी अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीको मुद्दामा बाल सुधार गृहको थुनामा थिए । थुनुवाले सुधार गृहको भवनका झ्यालका सिसा, रेलिङ, बार भत्काएका छन् भने प्रहरीले चारैतिरबाट भवनलाई घेरेर राखेको छ । प्रहरीका अनुसार बाल सुधार गृहमा रहेको दुई मोटरसाइकल, एउटा कम्प्युटर तोडफोड गर्नुका साथै प्रहरीको पोसाकमा पनि आगजनी गरेका छन् ।
दुई ब्लक रहेको उक्त सुधार गृहमा अहिले पनि दुई पक्षबीच भनाभन भइरहेको छ । सुधार गृहका थुनुवा खगेन्द्र सारुङ मगरले सुतेको अवस्थामा अर्को पक्षले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् । ‘हामीलाई टाउको र हातमा निर्घात कुटेका छन्’, उनले पत्रकारसँग कुरा गर्दै भने ।
भवनभित्र तनाव जारी रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा तैनाथ रहेका छन् । दुई सय ५४ थुनुवा रहेको सुधार गृहमा १८ वर्षमाथिका एक सय ६५ थुनुवा छन् ।
काठमाडौंः फिफिया नामको एप्समार्फत अनलाइन बेटिङ गराएर रु. ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौं टोखा नगरपालिका–६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राई रहेकी र निजले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत र ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार सामाजिक सञ्जालमार्फत साथी बनाएर जिमेलआइडी, फिफिया एप्स इन्स्ट्रल गर्न लगाउनाका साथै बैंक खातालगायतको बायोडाटा विवरण अपडेट गर्न लगाएर पीडितलाई सोही एप्सबाट हुने आर्थिक कारोबार नेपालमा कानुनबमोजिम छ भनी विश्वास दिलाइ ठग्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
विभिन्न देशबीच हुने फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर उनले सट्टेबाजी खेलेमा ९० मिनेटभित्र फाइदा हुने भन्दै उक्त रकम ठगेको भेटिएकाले निजविरुद्ध प्रचलित कानुनबमोजिम ठगी तथा सट्टाबाजीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि टेकुस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको प्रवक्ता रेग्मीले बताए ।
नेपालगञ्जः बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् ।
जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् ।
उनीहरुले सेकेन्ड हेण्ड मोबाइल बनाउन काठमाडौं जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौं बेच्न लैजान लागेको शङ्का गरेको छ । भिभो, अपो, रेडमी, सामसुङ लगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरेको हो । उनीहरु सबैलाई भन्सार पठाउने तयारी गरिएको प्रनाउ डाँगीले बताए ।
सुनसरीः सुनसरीमा एक जनाले दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेका छन् । जिल्लाको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतले दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेका हुन् ।
श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग रु. ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ ।
हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारवाही गर्न माग गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको ११ महिनाको छोरासमेत रहेको जनाइएको छ । माइती पक्षले नाबालक छोराको समेत जिउज्यानको सुरक्षा गरिदिन प्रहरी समक्ष आग्रह गरेको छ ।
बाँकेडः बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ । विस्फोटले सडकमा भ्वाङ परेको छ । प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले बताए ।
सडकमा भ्वाङ परेकाले एकतर्फी रुपमा मात्र सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
दाङः मादक पदार्थ खाएका एक जनाले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।
उनका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ ।
बैतडीः अज्ञात समूहद्वारा यहाँको एक विद्यालयमा आगजनी गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो ।
कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ ।
‘बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए, आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन’, उनले भने ।
आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ । यस्तै विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ । पसलबाट नौ हजार तीन सय बराबरको सामानको चोरी भएको छ ।
विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies