नवलपरासीः पाल्पाबाट अवैध रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् ।
तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । बा प्र ०१–०३–००१ च १३८६ नं को पिकअप जिपमा नौ गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको उनले बताए ।
‘पिकअपमा नौ गाई खाँदाखाँद गरेर ल्याउने क्रममा नौ वटामध्ये सात गाई मरेका र दुई गम्भीर अवस्थामा रहेको पाएका छौँ’, उनले भने, ‘पिकअप भ्यानमा पाल्पाको निस्दीतिरबाट कच्ची बाटो हुँदै पूर्वपश्चिम राजमार्गतर्फ ल्याउँदै गर्दा मरेको भेटिएका हुन् ।’ पिकअप भ्यान र घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा पिकअप चालक रौतहटको गजुरा–७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ निवासी ४० वर्षीय धुव्र कार्की रहेका छन् । प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भई रहेको रेग्मीले बताए । गाई, पिकअप भ्यान र पक्राउ परेका दुई जना इलाका प्रहरी कार्यालय दुम्किबासको नियन्त्रणमा रहेका छन् । रासस
रुकुम पश्चिमः आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रक्राउ गरेको हो । सोही विद्यालयको कक्षा ८ मा अध्यनरत १३ वर्षीया सृष्टि गौतमको आत्महत्या दुरुत्साहन मुद्धामा उनीहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।
शक्रबार १३ वर्षीया छात्रा गौतमलाई विद्यालयमा प्रिन्सिपल भाट र सञ्चालक भण्डारीको संलग्नतामा निर्धात कुटपिट भएपछि घर आएकी छात्राले विद्यालयको पोसाकमै झुण्डिएर अत्महत्या गरेको घरपविारको भनाइ छ ।
पढाइलेखाइ भन्दा पनि घरायसी साथसङ्गतका कारण विद्यालयमा बालिकामाथि प्रिन्सिपलले निरन्तर यातना र तनाव दिएपछि ज्यान गुमाउन बाध्य पारिएको छात्राका परिवारले आरोप लगाएका छन् । यस विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । मृतक छात्रा सोही नगरपालिका वडा नं १ लामिछाने गाउँकी हुन् । रासस
प्रेमचन्द्र झा/मध्यान्ह
रौतहट: नेपाल सरकारले कोरोना पीडितका लागि छुट्याएको अनुदान रकम हिनामिना गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । रौतहटस्थित परोहा नगरपालिकाले २ वर्षअघि कोरोना पीडितलाई वितरण गर्न भनि एक सहकारी संस्थालाई दिएकोमा सो रकम हालसम्म अधिकांशले नपाएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।
पालिकामा रहेको प्रभु बैंकलाई वितरण रकम नदिइ सहकारी संस्थाको खातामा रकम पठाइ नगर प्रमुख शेख वकिलले नियतबस भ्रष्टाचार गर्न खोजेको नेकपा माओवादीका नेता अमिन्द्र यादवको आरोप छ । उनले भनेका छन्, ‘नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थाले कोरोना पीडित जनताको लागि आएको सहयोग समयमा वितरण गर्नुपर्दछ । नियत भएको भए २ वर्षदेखि पक्कै रोकेर राख्दैन थिए ।’
नगरप्रमुख शेख र सहकारीले रकम हिनामिना गर्न खोजेको आरोप लगाउँदै स्थानीय सतेन्द्र प्रसाद यादवले बुधबारसम्म अनुदान रकम प्राप्त गर्न बाँकी रहेका कोरोना पीडितलाई रकम वितरण नगरे नगरपालिका घेराउ गर्ने चेतावनी सामाजिक सञ्जालमार्फत दिएका छन् ।
नगर प्रमुख शेख वकिलले नेपाल सरकारले परोहा नगरपालिकाका कोरोना पीडितलाई सहयोग गर्न सशर्त अनुदान शीर्षकमा ९० लाख रुपैयाँ पठाएको जानकारी दिए । रकम फ्रिज नहोस् भनी सहकारी संस्थाको खाता रकम पठाउन लगाएको प्रमुख शेखको भनाइ छ ।
उनले सबै वडामा रकम वितरण भइरहेको दाबी गर्दै अब ३० लाख रुपैयाँ मात्र वितरण गर्न बाँकी रहेका बताए । ‘वडाको सिफारिसमा नगरपालिकाले उक्त रकम वितरण गर्न निकै कठिनाइ भएको थियो । चुनाव बीचमा परेका कारण पनि आफू बदनाम हुन्छु भन्ने डरले केही समय रकम रोकेर राखेको हुँ,’ नगर प्रमुख शेख वकिलले भनेका छन् ।
काठमाडौंः वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–२६ मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षीय चित्रबहादुर मगर तथा स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई हाल काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
ठगी गरेको उजुरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
बाँकेः बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु. २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उनले बताए ।
उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौं आउँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
काठमाडौंः ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आइतबार एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।
‘सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि पुग्ला’, दाहालले भने । यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकिलले बहस सकेका थिए ।
बाँकी तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो । आज घिमिरेका तर्फबाट वकिलले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि थुनछेक आदेश आउनेछ । कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने अदालतको निर्णय नै थुनछेक आदेश हो ।
काठमडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस चलिरहेको छ । सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा तीन सय १० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० दिन लगाएर सङ्गठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले सङ्गठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको हो ।
विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ । आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत छन् ।
खाँदबारीः सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ ।
प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानद्वय सुमन गुरुड र पवनकुमार महतो, कारागार सुरक्षा गार्डद्वय दमनसिंह राई र नुसन राईविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता सन्तोषप्रसाद भण्डारीले जानकारी दिए ।
यसैगरी सरकारी वकिल कार्यालयले कैदीहरु राम कार्की, अनिस शर्मा कट्टेल, सचिन राई, सुमन सारुमगर, टीकाराज चौहान, नवीनकुमार राई, इन्द्रध्वज घिमिरे र मीनबहादुर तामाडविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।
कारागारको झ्याल काटेर भाग्न खोजेपछि गत साउन २४ गते दुईजना कैदीको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट सङ्खुवासभाको मादीका विनोद तोलाङ्गी र नुवाकोटको ककनीका आकाश बलामीको मृत्यु भएको थियो ।
काठमाडौंः चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–१ बस्ने ३० वर्षीय अन्सारूल अंसारी रहेका छन् ।
प्रहरीले उनको साथबाट १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाईट्राभेट १ हजार ५ सय ट्याब्लेट बरामद गरेको छ ।
शुक्रबार बिहान लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०३–००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रकम रु. १० लाख ९५ हजार पाँच सय ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–७ घर भई हाल काठमाडौैं गोठाटार बस्ने २२ वर्षीय सुशन घिमिरे रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका घिमिरेले अनलाइन पेजमार्फत विभिन्न डिजाइनका गरगहना तथा अन्य सामान बिक्री गर्ने गरेकामा सामाजिक सञ्जाल इन्स्ट्राग्राममा झुट्टा रिसिप्ट पठाई पीडितलाई झुक्यानमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।
पक्राउ परेका घिमिरेलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिए । उनका अनुसार सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो ।
राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies