–शम्भूू कट्टेल
धेरैजसो मानिसहरू भ्रष्टाचार भनेको मानवीय लोभले सिर्जना गर्ने प्रवृत्ति भएकोले सो लोभ नहटेसम्म भ्रष्टाचार हट्दैन भन्ने सोंच्दछन् । यो सोंचाइ गलत नभए पनि पूर्ण भने छैन किनकि यसले लोभको स्रोत र निराकरण बताउँदैन । झलक्क हेर्दा, भ्रष्टाचारको स्रोत लोभ भन्ने देखिए पनि त्यो लोभ नै किन जन्मिन्छ भन्ने खोतल्नु पर्ने हुन्छ । लोभ अन्तरमनको दानवी प्रवृत्ति हो र सो दानवी प्रवृत्ति पनि सामाजिक परिवेशको उपज हुन्छ । त्यो सामाजिक परिवेश व्यक्तिले पाएको शिक्षा, संगत, र उसले भ्रष्टाचार गर्न पाएको मौकामा भरपर्छ ।
भ्रष्टाचार गर्न नसक्नेलाई सिल्ली सोंच्ने परिवेश, ठूला भनिएकाहरू भ्रष्टाचारमा लिप्त देखिनु, संविधान ऐन कानूनहरूले भ्रष्टाचार गर्न सम्भव पार्नु, भ्रष्टाचार गर्ने मौका जुट्नु र भ्रष्टाचार मात्रै उसको आवश्यकता टार्ने बाटो हुनु जस्ता पक्षहरूले भ्रष्टाचार बढ्छ । यसको उपचार यी सबै पक्षहरूको सम्बोधनमा छ । अकूत निजी सम्पत्ति जोडेर समाजमा पराक्रमी र पुरुषार्थी देखिने परिवेशले पनि भ्रष्टाचार बढ्ने स्वतः सिद्ध छ ।
उपरोक्त पक्षहरूको स्थायी निराकरणको लागि नयाँ आर्थिक–राजनीतिक संरचना वा व्यवस्था आवश्यक हुने भए पनि अस्थायीरूपमा तुलनात्मकरूपले कम लोभी व्यक्तिहरूको चयन, भ्रष्टाचारको विरोधमा कडा नियमकानून र कार्यान्वयन र नैतिक शिक्षाहरू र जीवनका न्यूूनतम आवश्यकताहरू समाजले पूरा गर्ने अवस्था भएमा भ्रष्टाचार केही घट्ने सम्भावना देखिन्छ । यसको लागि पनि सही राजनीतिक नेतृत्व आवश्यक हुने कुरा टी.आई. को सुझावले देखाएको छ ।
भ्रष्टाचारविरुद्ध काम गर्ने संस्था ट्रान्परेन्सी इन्टरनेशनलको अध्ययनले यस वर्ष पनि नेपाललाई अत्यधिक भ्रष्टाचार हुने देशहरूको ताँतीमा राखेको छ । सँगै उसले भ्रष्टाचार घटाउनका लागि उसले केही सुुझाव पनि दिएको छ । जसलाई यहाँ उल्लेख गरिएको छ ।
– राजनीतिज्ञहरूमाथिको भ्रष्टाचार मुद्दामा निष्पक्ष फैसला वा कारबाही हुनुपर्ने,
– सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति जाँचको नीति कार्यान्वयन हुनुपर्ने,
–मन्त्रिपरिषद्को निर्णयको कवचबाट हुने भ्रष्टाचारमा छानबिन गर्न नपाइने व्यवस्थाको अन्त्य हुनुपर्ने
सो रिपोर्टमा यसको उपचार राजनीतिक नेतृत्वको इच्छाशक्तिमा छ भनिएको छ । उपरोक्त तीनवटै विषयहरूले भ्रष्टाचार सरकार स्वयम्ले पालेको अर्थात् राजनीतिक नेतृत्वले वा उसले बनाएको सरकारले योजनाबद्धरूपले भ्रष्टाचार गर्ने ठाउँ राखेको सिद्ध हुन्छ र यसको हल गर्न राजनीतिक नेतृत्वको परिवर्तन जरुरी देखिन्छ । र, सो परिवर्तन पनि बिशाल जनदबावबाट मात्र सम्भव हुन्छ । यस्तो भट्टीमा खारिएको व्यक्तिहरू अरुभन्दा कम लोभी हुने सम्भावना हुने भएकोले त्यस्ताहरूको सरकार अरुभन्दा कम भ्रष्टाचारमा डुब्ने आशा गर्न सकिन्छ ।
उपरोक्त पक्षहरू सबैको धेरथोर उत्तिकै हात भए पनि भ्रष्टाचार गर्नै नपर्ने परिवेश निर्माण गर्नु सबैभन्दा दिगो समाधान हुनसक्छ । सबैलाई चाहिने साधन स्रोतहरू पर्याप्त जुटेमा कसैलाई पनि भ्रष्टाचार गरी गरी आवश्यकता पूरा गर्ने मन उठ्दैन होला । सबैलाई चाहिने साधन स्रोतहरू पर्याप्त जुट्ने र उपभोगको प्रतिस्पर्धाको भोक नजाग्ने ‘रामराज्य’ भनेको साम्यवाद नै हो, जुन समाजवादले मात्र जन्माउन सक्दछ । हाम्रो समाजमा समाजवाद पनि जनताको जनवाद वा नयाँ जनवादपछि मात्र सम्भव हुन्छ ।
यो सरकारमा जनताको नियन्त्रण हुने जस्तो नयाँ राज्य प्रणालीमा हरेक परिवारले न्यायोचित हिसाबले मात्र आम्दानी तथा खर्चहरू गर्न पाउने, ती कुराहरू पारदर्शी हुनपर्ने र त्यसैअनुसारको न्यायपूर्ण कर, नाफा, पारिश्रमिक र उपभोग प्रणाली कायम हुने अर्थ–राजनीतिक प्रणाली जरुरी हुन्छ । यस्तो अर्थ–राजनीतिक प्रणालीको स्थापना ठूलै राजनीतिक उथलपुथल वा क्रान्तिबाट मात्र सम्भव हुन्छ ।
–भीम उपाध्याय
सनातनी धर्म संकटमा पर्दै गएको छैन बरू सनातनी धर्म पद्धतिका अनेक नयाँ–नयाँ पन्थहरू विश्वमा तिव्र रफ्तारमा विस्तार हुँदैछन् । यस विपरित अन्य धर्म मान्ने विकसित देशहरूमा त्यसको संख्या निरन्तर घट्दै गएको छ । विश्वमा सनातनी धर्म संकटमा छैन, बरू कतै नेपालमा अरू अल्पसंख्यक धर्मावलम्बीहरू वा पन्थहरू संकटमा नपरून् भन्ने चिन्ता भने गर्नुपर्छ ।
आजसम्म नेपालमा अरू धर्म र पन्थहरू पूर्ण रक्षित एवम् सुरक्षित हुनुको मूल कारण नै यहाँका सनातनी धर्मालम्बीको भूमिका हो । अरूको सुरक्षा पनि चट्टानी मजबुत सनातनीले नै गरिदिएकाले हो । त्यसैले सनातनी पद्धतीलाई सुरक्षित गराउँदै लगेमा अरू धर्ममा कुनै संकट हुँदैन भन्ने भावना जगाएर आफू सुरक्षित हुने गरी अरू धर्मावलम्बीहरू पनि लाग्नु बुद्धिमानी हुन्छ ।
नेपालमा कहिल्यै कुनै पनि सनातनी धर्मावलम्बीहरू संकटमा थिएनन् । तर अहिले केही खराब तत्वहरू यसलाई राजनीतिक रंग दिएर समाज भाँड्न चाहेका देखिन्छन् । सामाजिक तथा धार्मिक सद्भाव नेपाली समाजको अनुपम चरित्र हो । त्यसैले जस्तोसुकै राजनीतिक व्यवस्था आओस् कि जाओस् नेपाली समाजमा कुनै आँच आएको देखिँदैन । मै हुँ भन्ने धर्म नमान्नेहरू पनि पलेटी मारेर समाजमा समाहित हँुदै पुजामा बस्न बाध्य हुन्छन् ।
हुन पनि सनातनीका सन्तानले विश्वमै अहिंसा र सहिष्णुताको पाठ पढाइरहेका छन् । सनातनी धर्मालम्बीहरू हिन्दुु, बुद्धिष्ट, जैन, शिखहरू कसैकोमा गएर कहिल्यै आपसमा लडेनन्, आ–आफ्ना कला, संस्कृति अंकित सुन्दर मन्दिरहरू बनाए । एक अर्काकोमा पुज्न गए । सनातनीहरू जहाँ गए शान्ति दूत बनेर गए । प्रेम, शान्ति, दया, करूणा, प्रकृतिको संरक्षण सुखी स्वस्थ जीवन जिउने पद्धति प्रचार गरे । कसैसँग लड्नु अनि भिड्नु परेन । सबै मेरा हुन्, सबै ईश्वरका सन्तान हुन्, ‘बसुधैव कुटुम्वकम्’, ‘सर्वे भवन्तु सुखिनः’, ‘असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्युर्मा अमृतगमय’ भनिरहे ।
सनातनीहरूले हतियारको बलमा हैन आत्म ज्ञानबाट रूपान्तरण हुन्छ भन्ने शिक्षा दिँदै गए । कसैको आस्था हतियारको डर देखाएर वा धनको लोभ लालच दिएर परिवर्तन गरेनन् । सनातनी समाजमा त्यसैले बुद्ध जन्मिए, महावीर जन्मिए, गुरू नानक जन्मिए, कबिर जन्मिए, गान्धी जन्मिए । अनेक रिमिक्स पन्थहरू जन्मिदै छन् । यी सबै शान्तिका दूत हुन् ।
नेपाल सनातनीहरूको बलियो प्रभाव रहेको शान्ति क्षेत्र हो । यहाँको माटोले सबैलाई शान्तिको सन्देश दिन्छ । अहिंसाको सन्देश दिन्छ । सबैमा प्रेमको सन्देश दिन्छ । तर, पछिल्लो समय कथित नवधर्मालम्बीहरूले बिग्रह ल्याउने प्रयास गरेका छन् । मिलेर बसेको समुदाय र समाजलाई भाँड्ने, अन्य धर्म, जात र समुदायबीच झगडा गराउने, गर्न लगाउने, अरूको सम्मान नगर्ने, सामाजिक अपराध गर्न उक्साउने, जातजातिका नाममा गालीगलौच गर्ने र गर्न सिकाउने काममा उद्धत छन् । आज उनीहरूले राजनीतिमा पनि प्रभाव जमाउन खोजिरहेका छन् । राज्यका विभिन्न ओहोदामा पुुगेकालाई अनेकन नाममा बदनामित बनाइरहेका छन् । आज समाजलाई जसरी पनि भाँड्ने योजनामा उनीहरू उद्धत देखिन्छन् ।
आज किन कथित नवधर्मालम्बीहरूप्रति सम्मानको भाव छैन ? प्रष्ट छ– उनीहरूको शैली समाजलाई मिलाउने होइन, भाँड्ने खालको छ । सायद, त्यस्तैलाई देखेर होला कार्ल माक्र्सले पनि ‘धर्म अफिम हो’ भनेका रहेछन् ।
आज पनि सनातनीहरू सर्वे भवन्तु सुखिन र बसुधैब कुटुम्वकमको भावना विश्वभरी प्रशारण गर्दैछन्, फैलाउँदैछन् । अबको युग सनातनी पुनर्जागरण हो युुग हो । जसले विश्वभरि सबैलाई मनले नै आकर्षित गरिरहेको छ । सनातनीले विश्वको आध्यात्मिक नेतृत्व गर्दैछ ।
इतिहासभरी सनातनीहरू अरू कुनै धर्ममाथि आक्रमण गर्न गएनन्, अरू धर्मको विरोध गरेनन् । युरोप, अमेरिका, अरबलगायतका मुलुकमा पुगेर लडेनन्, अतिक्रमण गरेनन् । अरू धर्ममाथि हतियार उठाएनन् । आफ्नै मुलुकमा नै बसे । परायाहरूको सम्पत्ति लुट्नका लागि आक्रमण गरेनन् । अरू सबै सनातन धर्म मास्न बाहिरबाट अतिक्रमण गर्न आए । जसले अरूलाई कुनै हानी पुु¥याएन, उसको हानी पु¥याउन अरू किन उद्दत हुन्छन् ?
सनातन भनेको न आदि हो, न अन्त्य हो । अरूहरू आउँछन् र जान्छन् । भारतमा ८०० वर्ष मुसलमानले राज गरे र करिब २०० वर्ष ईसाई बेलायतले शासन गरे । तर, यति लामो अवधि राज गरेपनि सनातन व्यवस्थालाई निमिट्यान्न पार्न सकेनन् । हजारौं मन्दिरहरू ढाले, जबरजस्ती धर्म परिवर्तनको अभियान चलाए तर, असफ लबने । अहिले विश्वभरि सनातन मान्यताको प्रचार प्रसार तिव्र छ, संस्कृत भाषा लगभग सबै विकसित देशका विश्वविद्यालयमा पढाइन्छ । योग, ध्यान, साधना सबै देशमा अभ्यास गरिन्छ, सिकाइन्छ ।
विश्वभरिमा विभिन्न सनातनका पन्थबाट विकसित विभिन्न नामका आश्रमहरू खुलेका छन् । विश्वभरी विदेशी अन्य धर्मावलम्बी नागरिकहरूले राधेराधे, ब्रह्मकुमारी, ओशो, ईस्कोन, आर्ट अफ लिभिंग, साईबाबा, स्वामीनारायण, सद्गुरू, विवेकानन्द, सेवा, महेश योगी, योगी परमहंश, आर्य समाजजस्ता सनातनी दर्शनभित्रका नवपन्थहरूमा आबद्ध हुँदै विभिन्न अध्यात्म भक्तिको प्रचार गरिरहेका छन् ।
सनातनी समूूदाय संगठित आस्था हैन, व्यक्तिको निजी मान्यता र संस्कार हो । यसमा व्यापक विविधता छ । कसैलाई जोरजबरजस्ति हुँदैन । ३३ कोटी देउता जसलाई जे मन लाग्छ माने पनि हुन्छ, रिलिजियस डाईभर्सिटी छ, सबैलाई स्वतन्त्रता छ । एकाघरभित्रै एउटाले महादेव, अर्कोले विष्णु, अर्कोले हनुमान, अर्कोले दुर्गा, वा अन्य कुनै पन्थ मान्न स्वतन्त्र हुन्छन् । कूल देउता र ईष्ट देउता पनि सबैका अलग–अलग हुन्छन् ।
हजारौँ वर्षको विकासका कारण सनातनको जग र जरा बलियो छ । नसा नसामा भावना छ, संस्कार र व्यवहारमा गहिरो सम्बन्ध छ । जरा बलियो, गहिरो भएपछि यस्तो हुनेगर्छ । सनातनी आस्थाका कुनै न कुनै रूप विश्वव्यापी भइसकेको छ । अहिले भारतले नेतृत्व लिएर सनातन मूल्य मान्यतालाई पुनरोत्थान गरेर विश्वलाई चकित पार्दैछ । अहिले कैयन देशमा सनातनभित्रको हिन्दुहरू सरकार प्रमूख वा राष्ट्रप्रमूख बनिसकेका छन् ।
त्यसैले सनातनीले खासै चिन्ता लिनुपर्दैन । बामपन्थवादमय कारण नेपालमा केही सनातनीभित्र विग्रह आएको भए पनि यो वाद पनि विश्वबाट बिलिन हुँदैछ । सनातनको बिरोध गरेर कोही लामो टिक्दैन । बरू समर्थन गरेमा अरू पन्थको अस्तित्व जोगाइदिन, संरक्षण गर्ने र सम्मानित राख्न सनातनहरूले नै योगदान गर्नेछन् । इतिहासभरी यही गर्दै आएको हो ।
सनातनीहरू अरू सबै धर्म वा पन्थका अग्रज हो । अरू सबै यिनकै सन्तान हुन् । सन्तानसँग बाआमा झगडा गर्दैनन् । सन्तानले बाआमासँग झगडा गर्न सक्छन् तर, बाआमाले सन्तान अबुझ छ भनेर चित्त दुखाउँदैनन्, सहन्छन् । ऋग्वेदले भनेकै छ– एकं सद् विप्रा बहुधा वदन्ति । अर्थात्, एउटै सत्यलाई विद्वान अलग अलग रूपमा व्यक्त गर्छन् ।
–तारा लामा तामाङ
संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान दिइएको छैन । संसद्को ‘रोष्ट्रम’ र ‘फ्लोर’बाट प्रत्येकले आफ्नो निर्वाचन क्षेत्रका समस्या, देशका जल्दाबल्दा विषयमा आवाज उठाएका हुन्छन् तर, यस्ता विषयलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धतासहित सकारात्मक जवाफ दिए पनि त्यसअनुरुपको काम विल्कुल भएको हुँदैन ।
खासगरी नेपाल–भारत सीमा विवाद, कञ्चनपुरका आरक्षपीडित, हुलाकी राजमार्गको निर्माणमा ढिलाइसमेतका समस्याका साथै, नदी कटान रोकथामजस्ता कञ्चनपुरका समस्या समाधानमा संसद्को शून्य र विशेष समयमा ध्यानाकर्षण पंक्तिकार स्वयम्बाट पनि उठेका छन् । तर, सरकारले समस्या समाधान गर्छौँ पनि भन्छ, तर कार्यान्वयन भने गर्दैन् ।
आज जनप्रतिनिधिको थलो संसद्लाई बलियो बनाउनका लागि हुनुपर्ने गतिविधि भइरहेको छैन । संघीयताको मर्म र भावनाअनुरुप संसदका अभ्यास हुन सकेका छैनन् । संघीयताको ढाँचाअनुरुप तीनै तहका संरचनाको सहज सञ्चालनका लागि पर्याप्त ऐन, कानुन बनाउन सकिएको छैन । जनताको सर्वोच्च निकाय संसद्लाई कमजोर बनाउन नेताहरू लाग्नुहुँदैन । जनप्रतिनिधिको आवाज बोल्ने ठाउँ संसद्लाई बलियो बनाउने र जनताप्रति उत्तरदायी बनाउने काम नदेखिएको र कतिपय कामकारबाहीमा आफूअनुकूल व्याख्या हुने गरेको छ ।
संसद्, सरकार र न्यायपालिका (व्यवस्थपिका, कार्यपालिका र न्यायपालिका)लाई बलियो बनाउनुपर्ने भए पनि त्यसो भइरहेको छैन । संसद्लाई फलदायी ढंगले अगाडि लैजाने मुख्य भूमिका त सरकारकै हुन्छ, संसद्लाई व्यवस्थित र सघनरूपमा अघि लैजान योजनाअनुसार हिँड्न जरुरी छ । विषयगत समितिका काममा र समितिले दिएका निर्देशनमा पनि तदारुकता देखाउनुपर्ने देखिन्छ । संसद्को चालु अधिवेशनले सत्य निरुपणसमेतका कतिपय विवादित विधेयक सहमतिका आधारमा टुंगो लगाउने अपेक्षा गरेको छु । राष्ट्रिय महत्वका विधेयक पारित गर्न सकेमा संसद् र सांसदकै भूमिका बढ्ने हो । यसपटक सभामुख र दलका नेताहरूले संसद्लाई व्यवस्थित तुल्याउन कार्यसूची नै बनाएर अघि बढ्ने तयारी गरेका छन्, जुन निकै सकारात्मक पक्ष हो ।
मुलुकमा व्याप्त भ्रष्टाचार र बेथिति रोक्नेतर्फ यसको चुरो कुरामा ध्यान दिनुपर्नेमा त्यसमा कमी–कमजोरी भइरहेको छ । सरकारले भ्रष्टाचार नियन्त्रण र रोकथामका लागि गरिरहेका कारबाही सतहीमात्र भइरहेको हो कि भन्ने आशंका देखिन्छ । भ्रष्टाचार रोकथाममा पूर्वाग्रह राखेर, सत्ताको ‘बार्गेनिङ’ गर्ने काम हुन भएन । प्रष्टरूपमा परिणाम देखिनुपर्यो । देशको अहिलेको अवस्थालाई नीतिगतरूपमै आशलाग्दो हुनेगरी काम गर्नुपर्यो । विगतका सरकारले गरेका राम्रा र महत्वपूर्ण कामलाई पनि निरन्तरता दिनुपर्यो ।
बहुदलीय लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूबीच कतिपय मुद्दामा आपसमा आरोप–प्रत्यारोप हुने गरेको विषयलाई स्वाभाविक मानिने भए पनि देश विकास एवम् समृद्धिका मुद्दामा दलहरू एक ठाउँमा आउन नसक्नु बिडम्बना हो । यद्यपि, दलहरू जनताको त्याग र बलिदानबाट प्राप्त वर्तमान संघीय व्यवस्था जोगाउने सवालमा एक भएका छन् । संविधान र व्यवस्थाविरुद्धका गतिविधि सफल हुँदैनन् भन्ने आम बुझाइ छ ।
दीर्घकालीन योजना, राष्ट्रिय महत्वका योजनाका साथै रोजगारी सिर्जनालाई प्राथमिकता दिनसके समृद्ध नेपाल बनाउन सकिन्छ । रोजगारी सिर्जनामा अहिले विशेष काम गर्नुपर्ने खाँचो छ । लाखौँ युवा अहिले विदेशिनेक्रम बढेको छ । उनीहरूलाई नेपालमै अवसर छ भन्नेगरी आश्वस्त तुल्याउन सरकार र राजनीतिक दलहरूले विशेष ध्यान दिनु आवश्यक भइसकेको छ ।
विगतदेखि नै एउटा बहस निरन्तर हुँदै आएको छ, संघीय सांसदको काम देशका जल्दाबल्दा विषयमा सदनमा कुरा राख्ने, विधेयक पारित गर्ने, सरकार बनाउने मात्र हो कि आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा पनि ध्यान दिने हो ? यसमा केही अलमल छ । सदनमा प्रत्येक सांसदको दायित्व नीति निर्माणदेखि आफ्ना निर्वाचन क्षेत्रका विकास निर्माण र जनताका समस्याका बारेमा पनि निरन्तर जानकारी लिने र त्यसको समाधानमा लाग्नुपर्छ । सांसदले सरकार र जनताको पुलको काम पनि गर्नुपर्छ । जनतासँग जोडिन सकेनौँ भने हाम्रो उपादेयता जनताले देख्दैनन् ।
(लेख, कुराकानीमा आधारित छ ।)
–राजकुमार दिक्पाल
असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र संकायको कतिपय विभागमा पढ्ने विद्यार्थीभन्दा पढाउने प्राध्यापकहरूको संख्या बढी छ । बढो मुस्किलले घसँ्रदै यात्रा गरिरहेका त्रिविको केन्द्रीय विभागमध्ये इतिहास विभाग पनि एक हो ।
कुनै समय समय इतिहास एक लोकप्रिय विषय थियो । त्रिविले प्रमाणपत्र तह हटाएसँगै इतिहास पढ्ने विद्यार्थीहरूको संख्या पनि स्वात्तै घट्यो । दश जोड दुई (प्लस टू) पढाउने कलेजहरूको प्राथमिकतामा इतिहास विषय परेन । कलेजहरूकै उपेक्षाको शिकार भएपछि इतिहास विषय अध्ययनतिर विद्यार्थीहरूको रुची घट्नु स्वभाविक हो । स्नातक तहमा पुग्दा प्लस टूमा नपढेको विषयतिर विद्यार्थीको के ध्यान जान्थ्यो ? स्नातक तहमा विद्यार्थीको अभाव झेलेको विश्वविद्यालयले स्नातकोत्तर तहमा मनग्य विद्यार्थी पाउने अवस्था नै रहेन । यसरी इतिहास अध्ययन गर्ने विद्यार्थीको चरम अभावका कारण इतिहास विषयका प्राध्यापकहरू फुर्सदिला बनेको देखिन्छ ।
अभिभावक र विद्यार्थीको प्राथमिकता रोजगारीमुखी विषयतिर बढ्दै गएको छ । अझ प्लस टू सक्नासाथ विदेशमा कमाउँदै पढ्ने सपना देख्ने प्रवृत्ति केही वर्षयतादेखि ह्वात्तै बढेको छ । नेपालमै रहेर इतिहासजस्तो ज्ञानमुखी विषय अध्ययन गरेर देशमा प्राज्ञिक योगदान दिन सकिन्छ भन्ने सोचको अपेक्षा विद्यार्थीहरूबाट गर्नु मृग तृष्णाजस्तो हुन पुगेको छ ।
इतिहास पढेका अग्रजपुस्ताले इतिहास विषयलाई जुन ढंगले आकर्षक विषय बनाउन पर्ने हो, अपेक्षाकृत त्यसो सकेनन् । राज्यले इतिहास अनुसन्धानमा लगानी गर्न नसक्दा इतिहास विषयमा उच्च शिक्षा लिएका पुस्ताले पनि काम पाउन सकेनन् । इतिहास पढ्नेहरूको यस्तो अवस्था देख्ने नयाँ पुस्तालाई इतिहास विषयले कसरी आकर्षण गर्न सक्थ्यो ?
देशको राजनीतिक परिवेशले पनि अनेकौँ मोड लियो । राणाकालको कुरा छाडौं, पञ्चायतकालभरी इतिहास विषयमा राजा महाराजाको महिमा मण्डनले प्राथमिकता पायो । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको त्यो समयमा राजा महाराजाका गल्ती कमी कमजोरी आंैल्याउने र जनताको वास्तविक इतिहासलाई व्यवस्थित गर्ने कार्य निषेधित जस्तै थियो । महत्वपूर्ण ऐतिहासिक कागजपत्रहरू राजदरबारको नियन्त्रणमा थिए । त्यस्ता कागजपत्र अध्ययन गर्न राजदरबारको विशेष कृपाको आवश्यकता पथ्र्यो ।
प्रजातन्त्रकालमा पनि इतिहास विषयमा राजा महाराजाको महिमा मण्डनले नै प्राथमिकता पाइरहँदा खासगरी सरकारी कलेजहरूमा इतिहास विषय अध्ययन गर्ने विद्यार्थीको खासै अभाव थिएन । तर, मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्दासम्म विद्यार्थीमाझ इतिहास विषय पूरै अलोकप्रिय अवस्थामा पुग्यो ।
इतिहास : भविष्यको आधार
नेपाली युवा पुस्तामा विदेशी प्रभावको जरो दिनदिनै गहिराइमा पुगिरहेछ । खानपान, फेसन, गीत संगीत आदिमा मात्र होइन; चिन्तनमा समेत विदेशी प्रभाव पर्न थालेपछि युवा पुस्तामा देशभक्ति भाव क्रमशः कमजोर हुन थालेको अनुभव हामीले गरिरहेका छौँ । युवा पुस्ताले पूर्वजको पौरखलाई एकादेशको कथाजस्तो सोच्न थालिसकेका छन् । भविष्यमा देश हाँक्ने पुस्तामा देशभक्ति भाव कमजोर हुँदै जानु राम्रो संकेत होइन ।
इतिहास विषयको अध्ययनबाट आफ्ना पूर्वजको गौरवबारे ज्ञानलाभ गर्न सकिन्छ । विगतको अवस्थाको अनुशीलनले वर्तमान अवस्थामा त्यसले पारेको प्रभावको ज्ञानलाभ गरी भविष्यमा अपनाउनु पर्ने सतर्कताबारे पनि सचेत गराउँछ । देश कसरी निर्माण भयो, विगतमा देश कस्तो थियो ? यस्ता विषयमा छलफल गर्न पनि इतिहास विषयले सहज बनाउँछ । समग्रमा इतिहास विषयले देशभक्ति भाव बढाउँछ ।
इतिहास विषय केवल राजा महाराजाको महिमामण्डन होइन । विगतको कमजोरीहरू केलाउने र निफन्ने महत्वपूर्ण साधन पनि हो, इतिहास विषय । उदाहरणका लागि, आफ्नो स्वास्थ्य समस्या लिएर कुनै चिकित्सक कहाँ पुगेको एक बिरामीको विषयमा कुरा गरौं । उनलाई चिकित्सकले सम्बन्धित स्वास्थ्य समस्या पहिले पनि भएको थियो कि थिएन भनेर सोध्छ । यस्तो समस्या उनका बाबुआमा वा परिवारका कोही कसैलाई पनि भएको थियो भनेर पनि सोध्छ । पहिले सेवन गर्ने गरेको औषधिका बारेमा पनि सोध्छ । अर्थात ती बिरामीको इतिहास सोध्छ ।
अझ विगतमा स्वास्थ्य परीक्षण गराएको रिपोर्टहरू छन् भने त चिकित्सकलाई सम्बन्धित बिरामीको रोग निदान गरी उपचारको सिफारिस गर्न सजिलो हुन्छ । भन्नुको अर्थ, देशमा विगतमा भएका सबै समस्याको चित्रण इतिहास विषयमा आउँछ । ती समस्याका कारण वर्तमानले झेल्न परेको परिस्थितिबारे ज्ञान दिन्छ इतिहास विषयले । त्यहीँ ज्ञानको आधारमा हामीले देशको समस्याको अन्त्य गरेर उज्यालो भविष्य निर्माण गर्न सक्छौं ।
हामी नेपालमा बारम्बार आउने जाने भूकम्पलाई पनि उदाहरणका रुपमा लिन सक्छौं । भूकम्प किन आउँछ ? यस विषयमा भूगर्भशास्त्रीहरूले पत्ता लगाएकै छन् । तर भूकम्प कहिले आउँछ भन्ने विषयमा भूगर्भशास्त्रीहरूले आजसम्म पत्ता लगाउन सकेका छैनन् । यस विषयमा थाहा पाउने एउटैै माध्यम हुन पुगेको छ इतिहास । हरेक ५० वर्षको अन्तरालमा नेपालमा ठूलो भूकम्प आउँछ भन्ने ऐतिहासिक अभिलेखअनुसार नै यसबारे सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिँदै आएका छन् ।
हालै जाजरकोट र रुकुममा आएको विनाशकारी भूकम्पबारे विज्ञहरूले त्यहीँ इतिहासको आधारमा सचेत गराउँदै आएका थिए । पश्चिम नेपालका नागरिकहरूले विगत पाँच सय वर्षयतादेखि यस्तो विनाशकारी भूकम्पको अनुभव गर्न पाइरहेका थिएनन् । दार्शनिक भोल्तेयर इतिहास विषयमा भन्छन्,“विगतका तथ्यहरूलाई संकलन गरेर रोचक पाराले प्रस्तुत गर्नु मात्रै इतिहास होइन, इतिहास त भविष्य हेर्ने आँखा हो ।”
इतिहास र पर्यटन
सुन्दर हिमश्रृंखला मुस्कुराउने देश हो नेपाल । विविधतायुक्त सुन्दर देश भएकै कारण नेपाललाई पूर्वको स्वीट्जरल्याण्ड पनि भनिन्छ । पर्यटकहरू भौगोलिक र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न त आउँछन् नै, स्थानीय जनजीवन, संस्कृति र पुरातत्वको ज्ञानको भोक पनि उनीहरूमा हुने गर्छ । पर्यटकहरूलाई स्थानीय जनजीवन, संस्कृति र पुरातत्वको ऐतिहासिक ज्ञानले परिपूर्ण बनाउनका लागि पनि इतिहास अध्ययन गर्नैपर्छ । इतिहास जति प्राचीन हुन्छ, पर्यटकहरूलाई त्यसले थप आकर्षित बनाउँछ ।
नेपालमा अनेकौँ ऐतिहासिक र पुरातात्विक सम्पदाहरू छन् । यी सम्पदाहरू नेपाली सभ्यता विकासको पारिचयक हुन् । यी सम्पदाहरूको ऐतिहासिक विकासक्रमबारे प्रकाश पारेर पर्यटकहरूलाई सन्तुष्ट पार्नका लागि सम्बन्धित विषयको इतिहासबारे ज्ञान हुनैपर्छ । यस्ता सम्पदाहरूको इतिहास अध्ययन गरी यसको प्रकाशन र प्रचारले पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ । नेपालको इतिहास अध्ययन गर्न विगतमा प्रशस्तै विदेशी विद्वानहरू नेपाल आएर नेपालको इतिहास लेख्न भ्याए । नेपालमा लेख्न बाँकी इतिहासप्रति आकर्षण बढाएर प्राज्ञिक पर्यटन प्रवद्र्धनमा पनि इतिहास विषयले महत्वपूर्ण भूमिका निभाउन सक्छ ।
अन्त्यमा,
अब इतिहास विषय राजा महाराजाको महिमा मण्डन मात्रै होइन भन्ने धारणालाई व्यापक बनाउन अत्यावश्यक भएको छ । हिजोको जुन राजनीतिक व्यवस्था थियो र त्यसले इतिहास विषयलाई कतिसम्म समेट्ने भन्ने सीमा निर्धारण गरिदिएको थियो । अबको परिवेश त्यस्तो छैन । इति–ह–आस शब्दको सश्लेषणबाट इतिहास शब्द बनेको छ । इति भनेको ‘यस्तो’ ह भनेको ‘पक्का’ र आस भनेको ‘थियो’ भन्ने अर्थ लाग्छ ।
हिजो राजा महाराजाको जुन प्रकारले महिमा मण्डन गर्दै इतिहास शब्दकै मर्मलाई बिर्सेर लेख्नुपर्ने बाध्यता थियो, अब त्यो परिस्थिति पनि छैन । जे सत्य हो, जतिसुकै तीतो भए पनि त्यो लेख्ने हो । आशा गर्न सकिन्छ । इतिहास विषयले पुनर्जीवन पाउने पक्का छ ।
–लेखराज रेग्मी
आज समाजवादको अपव्याख्या भइरहेको छ । आँखा नदेख्नेहरूले हात्ती छामेर भेटेपछि गरेको बखानजस्तै समाजवादको वकालत गर्नेहरूले समाजवादको अपव्याख्या गरिरहेका छन् । इतिहासमा रोजाले प्रश्न उठाइन्– सर्वहारा अधिनायकवाद भनेको पार्टी अधिनायकवाद होइन, स्वयम् वर्गलाई अभ्यास गर्न देउ । लेनिनले जोड दिएर भने– यतिबेला सर्वहारा वर्गका उम्दा प्रतिनिधि कम्युनिष्ट पार्टीमा छन् र सोभियतको नेतृत्व गरिरहेका छन् ।
यसलाई भारत र नेपालमा जडसुत्रिय ढंगले बुझियो । ख्रुश्चोभले रोजाले आशंका गरेकै विषयमा कम्युनिष्ट पार्टीलाई झारे र भने जनताको पार्टी । भारत र नेपालका संशोधनवादीहरूले ख्रुश्चोभलाई पछ्याए । पार्टी, नीति र कार्यक्रममा संशोधन गरे ।
लेनिन दुईपटक पछि हटेका छन्, नेप लागु गर्दा र जर्मनसँग अपमानजनक ब्रेष्टको सम्झौता गर्दा । तर, दुवै पटक स्थिति लेनिनको काबुमा थियो र छिट्टै सकारात्मक परिणाम प्राप्त भए । माओले आधार क्षेत्रमा कोमिन्ताङको ज्यादती सहन जनमुक्ति सेनालाई निर्देशन दिए । जापानको पराजयपछि लडाईं फेरि कोमिन्ताङसँगै भयो । माओ आफ्नो लक्ष्यमा सफल भए । यो ऐतिहासिक घटनालाई चीनका जडसुत्रवादीहरूले बिरोध गरे । नेपालमा अन्धनकल गर्ने प्रयास भयो । न नेपाली कांग्रेस कोमिन्ताङ थियो, न राजतन्त्रलाई क्षति पु¥याइयो । माओले अर्को यस्तै काम गरे उत्तरी अभियान । चीनमा सहरिया आन्दोलन पक्षधरहरूले आत्मघाती बाटो भनेर विरोध गरे । करिब ९० प्रतिशत (जनमुक्तिसेना र पार्टी कार्यकर्ताको) क्षति भयो । आँकडाहरू उछालिए । तर, परिणाममा त्यहिँबाटै जीतको सुनिश्चितता बढ्यो र क्रान्ति सफल भयो ।
भारत र नेपालमा यसलाई दुस्साहसवादी ढंगले प्रयोग गरियो र क्षति व्यहोरियो । हर्रेबर्रे र झापा आन्दोलनलाई यसरी विवेचना गरियो । क्रान्ति त्यसरी अगाडि बढेन ।
आज समाजवादको कुरा गर्दा एकथरीहरू ‘अंगुर खट्टे है’ भनिरहेका छन् । अर्कोथरीहरू समाजवादको पुलिन्दा लोड भैसकेको कुरा गरिरहेका छन् । तेस्रो थरीहरू छन्, जो जनवादी क्रान्ति नै भएको छैन र समाजवादको कुरा गफ हो भनिरहेका छन् । जनता यी तीन वटै कुरामा विश्वास गर्न सक्ने स्थितिमा छैनन् भन्ने यथार्थ स्वीकार गर्न कोही तयार छैनन् ।
रुसमा सोभियत समाजवादको अभ्यास सुरु हुँदा केही माक्र्सवादीहरु त्यसलाई राजकीय पुँजीवादको अभ्यास भैरहेको भनेर विरोध गर्न थाले । लेनिनले सपाट शब्दमा जवाफ दिए– हो यो राजकीय पुँजीवाद नै हो, तिम्रो हातमा गयो भने यसले पुँजीवादलाई पुनस्र्थापना गर्छ र हाम्रो हातमा रह्यो भने यसले समाजवादमा पुग्न सुगम हुन्छ । यति मिहिन फरक छुट्याउन सक्नुपर्दो रहेछ । शब्द र बाक्य दोहो¥याउनु समाजवाद नहुँदो रहेछ ।
नेपाली क्रान्तिको कार्यक्रममा यति सपाट समाजवाद कतै देखिएको छैन । दिमागको बिर्को खोलौं र कस्तो र कसरी समाजवाद भन्ने निक्र्योल गरौँ । त्यहीँबाट सुरु हुन्छ समाजवादी यात्रा । नत्र कुहिरोको काग जस्तै हराउनुको विकल्प छैन ।
–मेघराज भट्टराई
कुनै पनि मुलुक सुसम्पन्न बन्न त्यो देशको प्राकृतिक साधन स्रोतले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विश्वका सबैजसो देशहरू आफ्नो साधन स्रोतको प्रयोग गरेर नै आर्थिकरूपमा सम्पन्न बनेका छन् । तर, हामी अपार प्राकृतिक स्रोत साधनले धनी हुँदाहुँदै पनि सम्पन्न बन्न सकेनौ । अपार स्रोत साधनले धनी हुँदाहुँदै पनि किन हामी गरीब, अशिक्षित र बेरोजगार बन्नु परेको छ ? यसको जवाफ हाम्रो देशका राज्य सत्ता संचालकले सजिलै दिन सक्ने अवस्था छैन । यो प्रश्नको जवाफ खोजेर राष्ट्रलाई सबल बनाउन काम गर्ने व्यवस्था अब हरेक नेपालीको जिम्मेवारी हो ।
विश्व साम्राज्यवादी देशहरूले गिद्दे दृष्टि लगाएकै कारण सुडानमा अपार सुनखानी हुँदा हुँदै पनि भ्रस्टाचार, गरिबी, भोकमरी, हत्याहिंसा चलिरहेको छ । हिरा खानी भएका अफ्रिकन देशहरू आज पनि गरिबी भोकमरी चलिरहेका छन् । तर, ठीक यसैको बिपरित अरबियन देशहरू मरुभूूमिको वाबजुद आज पेट्रोलियम पदार्थको कारण आज संसार सामु अब्बल दर्जाको जनजीवन बाँच्न सफल भएका छन् । बिडम्बना, हाम्रो देशको अवस्था ठीक यसको बिपरित बनेको छ । हामी जलस्रोत, वन–जंगल, खर बनकसी, जडिबुटी आयुर्वेदिक औषधी, फलाम, तामा, कोइला, सुन, लिथियम, उरेनियम ढुंगाखानी हुँदा हुँदै पनि हामी गरीब बनेर देशको आधा जनसंख्या विदेशको कुल्ली बन्न विवश भएका छौं । आज पहाडका सुन्दर बस्ती गाउँ घर खण्डहर भएका छन् । गाउँमा मलामी छैनन्, विश्वविद्यालयमा विद्यार्थी छैनन् । देश आज अधोगती तिर हिँडेको छ । यसको कारण ठीकसँग नखोजेर उपरी संरचनामा मात्र हेरियो र जुन तन्त्र आए पनि राष्ट्र झन् पछि झन् गरीब हुँदै गयो । यहाँका युवा शक्ति जसले यो देशको प्राकृतिक साधन स्रोतको उत्खनन् गरेर राष्ट्रिय पुँजीको विकास गर्न लाग्नुपथ्र्यो, यसमा राष्ट्रले नै अग्रिम भूमिका खेल्नुपथ्र्यो तर, भएका उद्योगधन्दा कलकारखानालाई अझ परिस्कृत गरेर संचालन गर्नुपथ्र्यो, त्यसो गर्न केले रोक्यो ? यो विषयमा हामी कहिलै गम्भिर भएनौ ।
हामीसँग कागज कारखाना थियो, चुरे वनको वनकसी(खर)बाट पर्याप्त मात्रामा आफ्नो देशको लागि मात्रा नभएर छिमेकी देशहरूको लागि कागज उत्पादन गर्न सकिन्छ । ६५ प्रतिशत कागज स्वदेशी उत्पादनबाट चलेको गैंडाकोटमा रहेको भृकुटी कागज कारखाना बन्द भएको छ । यसमा बर्सेनी त्यो कारखानाको लागि चाहिने बनकसी डढेलो लागेर वनजंगल विनाश भएको छ । वनमा रहेका वन्यजन्तु मरेका छन्, गाउँ बस्तिमा पसेर मानव जीवन नै संकटमा पार्ने गतिविधि भएका छन् ।
आज वातावरण प्रदुसीत भएको छ । गर्मी बढेको छ, वर्षा हुन छोडेको छ । आर्थिकरूपमा हामीलाई ठूलो घाटा भएको छ । नेपालमा प्रतिदिन १४०टन कागज आवश्यक हुने गरेको तथ्यहरूबाट देखिन्छ । यसको कच्चा पदार्थ नेपालभित्रै छ, तर यसको लागि चाहिने केमिकल भारतबाट ल्याउनुपर्छ । प्रत्येक महिनामा नेपालमा १५ अरबको कागज आउँछ । कुनै समय नेपालबाट कागज निर्यात हुन्थ्यो, बंगालादेश, इन्डोनेसियाले आफ्नो नोट छाप्न नेपालको भृकुटी कागज कारखानाको कागज लगेको इतिहास छ ।
यस्तै, नेपालले तीन खर्ब ५३ अर्बको पेट्रोलियम पदार्थको आयात गरेको छ । यो सबै पैसा भारत जाने गरेको छ । खुल्ला बजारकै कारण भारतको लागि नेपाल तरकारी फलफूल खाद्यान्नको बजार बनेको छ । हामीसँग प्रसस्त जल सम्पदाहरू छन् तर, त्यो सबै भारतको कब्जामा छन् । गण्डकी, कोशी, कर्णाली, महाकाली, अरुण जस्ता ठूला जलाधार भएका हिमालदेखि बगेका नदी भारतको कब्जामा भएकै कारण हाम्रा जमिन बाँझा बनेक छन् । यसबाट हाम्रो कृषि क्षेत्र र योसँग जोडिएको पर्यटन क्षेत्रको विकासमा बाधा परेको छ ।
भारतबाट आउने औषधिको परिणाम हे¥यौं भने चकित पर्ने देखिन्छ । हाम्रो देशमा औषधि बनाउने जडिबुटी प्रसस्त छन् तर, त्यसको प्रशोधन गर्ने कारखाना हामीसँग छैन । जसको कारण चोरी निकासी हुने, कुहेर जाने, डढेलो लागेर खरानी बन्ने गरेको धेरै उदाहरण छन् । हाम्रो देशका उद्योग कलकारखाना भारतीय व्यापारीहरूले किनेर, उत्पादन बन्द गरेर, कारखाना भएको जमिन प्लटिङ्ग गरी, बिक्री गरेको उद्योगमा भएका मेसिनहरू भारतमै लगेर उतै चलाएको कुरा बाँसबारी छाला तथा जुत्ता कारखानाको मेसिनहरू भारतको उत्तर प्रदेशमा रहेको शहर कानपुरमा रहेको छालाजुत्ता कारखानाले प्रमाणित गर्दछ । कुनै समयमा २०हजार किलोमिटरको ग्यारेन्टि दिएको गोरखकाली रबर उद्योगले बनाएको गोरखकाली टायर आज कथा जस्तो भएको छ । दाङको देउखुरी बाँके बर्दिया कैलाली कञ्चनपुरमा कपास खेती गर्ने किसान कता गए ? यहाँको कपासबाट उत्पादित कपडा उत्कृष्ट थियो । बुटवलको धागो कारखाना बन्द भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारले उद्योग चलाउन नसकेको कुरा स्वीकार गर्दै नेपाली सेनालाई उद्योग चलाउन दिनुपर्ने कुरा सार्वजनिक गरेका छन् । सरकारले उद्योग चलाउन नसक्नुको कारण के होला ? यहाँसम्म नेपालमा हुने गरेको भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्न लाग्दा कारबाही गर्न नसक्नुको कारण पनि हामीले खोज्न जरुरी छ । यो सबैको पछाडिको कारण यहाँको राज्य सत्तामा भारतीय दलालहरूको माइक्रो म्यानेजमेन्ट हुनु हो । अलिकति तलमाथि भयो भने भारतले धम्क्याउने नाकाबन्दी गर्नेसम्म पुगेको इतिहास साक्षी हाम्रो सामु छ ।
हामीले यति ठूलो क्षति भोग्नु परेको छ कि आज देशमा युवाहरूले आफ्नो देशप्रति गर्व गर्न छोडेर विदेश पलायन भए । यसको प्रमुख कारण बाह्य हस्तक्षेप नै हो । दुधजन्य पदार्थ, तरकारी, फलफूल, चामल, मकै, गहुँ, तोरी सबै हामीले उतैबाट किन्नुपर्ने अवस्थाको कारण यो खुल्ला सिमाना र भारतकै आयातकै कारण भएको हो । यहाँ उसले तलब दिएर आलु बेच्ने मान्छे राखेको छ, अरु को त कुनै छोडौ ।
यहाँबाट पानी र गिट्टी–बालुवा मात्रै होइन जडिबुटी पनि सित्तैमा भारत जाने गरेको छ । विषादीयुक्त तरकारी तथा फलफूल हामीले दैनिक किन्नुपर्छ । यस्तो बाध्यता छ कि प्रधानमन्त्रीले रोक्न खोजे सरकार ढल्छ । आखिर कहिलेसम्म हामी भारतको दादागिरी सहने हो ?
हामीसँग खनिज पदार्थ प्रशस्त छन् । फलाम, सुन, तामा, कोइला, लिथियम, युरेनियम जस्ता खानी उत्खनन गरेर नेपालको अर्थतन्त्रमा छलाङ मार्ने कार्य किन गर्न सकेका छैनौ ? आज सरकारले भारतसँग १० वर्षमा १० हजार मेघावाट बिजुली भारतसँग बिक्री गर्ने सम्झौता गरेको छ । बिजुली उत्पादन गर्ने खोला भारतीय कम्पनीहरूको कब्जामा छन् । हाम्रो देशमा हुम्ला जुम्लाको कुरा छोडौं, रोल्पा, सल्यान, प्युठान, दाङकै कतिपय गाउँपालिकाका वडाहरू अन्धकारमा छन् । जहाँ भारतसँग सीमाना जोडिएका गाउँ अन्धकारमा छन्, न पानी छ, न बिजुली नै । हामीले भारतसँग साँढे तीन खर्बको पेट्रोलियम पदार्थ किनेका छौं, हामीले बिजुली बिक्री गरेर धनी बन्ने भुतलाई हटाएनौं भने हामी कहिलै सम्पन्न बन्न सक्ने छैनौ ।
हामीले पहिले हाम्रो देशका दुरदराज गाउँ बस्तीमा विद्युत पु¥याउनु पर्छ, चुला चुलामा विद्युतीय चुलोको पहुँच बनाउनुपर्छ, ठूला–ठूला पहाडी बस्तिमा रोपवेको व्यवस्था गर्नुपर्छ, पेट्रोलियम पदार्थको न्यूूनिकरण गर्दै जानु नै हाम्रो लागि राम्रो हुनेछ । नागरिकले आफ्नो स्थानीय उत्पादनबाट प्रशस्त आम्दानी गर्न सक्ने गाँजा खेती लागु औषधिको नाम दिएर बन्द गरिएको छ । गाँजाबाट कपडा, तेल, साबुन, क्रीम, झोला, जुत्तालगायत बन्छ । जुन निकै उत्कृष्टको रुपमा हेरिन्छ । तर, यहाँ गाजा उत्पादनलाई वैद्यानिक गराउने र ठूलो परिणाममा उत्पादन गरेर प्रशोधित गर्दै निर्यातको व्यवस्था गर्न कसले रोकेको छ ? त्यसको लागि हामीले राज्य सत्ताको आमुल परिवर्तन गर्ने दीर्घकालिन लक्ष्य राख्नुपर्छ । यहाँको विदेशीको तलब भत्ता र नेपाली तलब खाने कर्मचारीतन्त्रको जग भत्काएर नयाँ शीराबाट जग बसाल्नु नै हाम्रो राष्ट्रको सबलिकरणको बाटो हो ।
–राजन तिमल्सिना
भारतीय विस्तारवादी शासक वर्गले शताब्दीऔंदेखि नेपालमाथि कुदृष्टि राख्दै आएको थियोे । राणाहरूले अग्रेजको गुलामी गर्दै आफ्नो शासन टिकाउने परिपाटी र अंग्रेजको नोकर बन्ने घृणित काम गर्दथे । राणाहरूले नेपाली सिधासादा जनतालाई अंग्रेजको स्वार्थमा युद्धमा सामेल गराउँथे । पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खाली रगतले बेलायती शासक वर्गको साम्राज्य विस्तार भएको थियो ।
नेपालीहरूको सहयोगबाट भारतमा अंग्रेजहरू धपाउन बल पुगेको थियोे तैपनि भारतीय शासकहरूले नेपाललाई कहिल्यै राम्रो नजरले हेर्ने गरेनन् । अंग्रेजले १८१६ मा गरेको सन्धिले नेपालको एकतिहाई भूमी गुमाउनु प¥यो । त्यसपछि भएका अनगिन्ती सन्धि सम्झौताले नेपाललाई भारतीय छाताभित्र राख्दै आएको छ ।
भारतीय शासकवर्गले राजा त्रिभुवनको समयदेखि नै लेण्डुप दोर्जेको खोजीकार्य गर्दै आएको थियोे । राजा त्रिभुवनका साथमा भारतले आफ्नो प्रतिनिधि पठाएर नेपालीको सत्ता माथि ढलिमली गर्दै आएको थियोे । त्यसको निरन्तरताको रूपमा भारतीय गुप्तचर विभाग ‘रअ’मार्फत नेपाली राजनीतिमा चलखेल गर्दै आइरहेछ । नेपालको राजनीतिमा प्रधानमन्त्रीको भन्दा भारतीय राजदूतको भूमिका निर्णायक बन्दै गएको छ । सरकारहरू भारतीय काठपुतली बन्ने प्रकृयाले निरन्तरता पाएकै छ ।
सिक्किममा संविधानसभा र जनमतसंग्रहको नाटक गराएर आफ्नो देशमा गाभ्न सफल भएको भारतीय शासकवर्गले आफ्ना छिमेकी राष्ट्रहरूको अस्तित्व नामेट गराउन भगिरत प्रयत्न जारी राखेको छ । इतिहासलाई कोट्याउँदा भारतीय शासक वर्ग देशभक्त नेतृत्वलाई भौतिकरूपमै समाप्त पारेरै भएपनि आफ्नो योजना सफल बनाउने कार्यमा लागि परेको पाइन्छ ।
नेपालमा संविधान संशोधनमार्फत गैर नेपाली अंगिकृतलाई नेपालको सत्तामा पुर्याएर फिजी, भुटान हुँदै सिक्किम बनाउने र त्यो कार्य सम्पन्न गर्न नयाँ लेण्डुप दोर्जेको खोजी गरिरहेको छ । नयाँ लेण्डुप दोर्जेको कार्यभार सुम्पन देशभित्र क्षेत्रीय र राष्ट्रिय पार्टीसमेत गठन गरिसकेको छ । अन्य पार्टीमा समेत आफ्ना एजेन्ट घुसपैठ गराएर भारतीय स्वार्थमा काम गरिरहेको छ । कर्मचारी र सेना पुलिसभित्र भारतवाट थप तलवभत्ता खाने कर्मचारीको संख्या ठूलै रहेको छ ।
नेपालका प्रमुख राजनीतिक दलका नेता र उच्च स्तरका कर्मचारीका छोराछोरीहरू भारतीय छात्रवृत्तिमा भारतका विभिन्न विश्वविद्यालयमा पढ्ने गर्दछन् भने कयौं पार्टीका नेताहरू भारतीय राजदूतावासबाट तलबभत्ता बुझ्ने गर्दछन् । अझ तराई केन्द्रीत पार्टीहरुको सम्पूर्ण खर्च राजदूतावास र महावाणिज्य दूतावासबाट उपलब्ध गराउँदै आएका तथ्य धेरै पटक बाहिर आए । नेपालका कयौं राजनीति, जातीय र क्षेत्रीय आन्दोलनमा भारतको सहयोग समर्थन र संलग्नतामा भएको पाइन्छ ।
उपरोक्त कारणले नेपालको भारतसँग विभिन्न खाले निर्भरता कायमै छ र उसले अनेकन प्रयत्नबाट नेपाललाई आफूमा बिलय गराउन सबै फर्मूला प्रयोग गर्दै आएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र संविधानप्रति भारतीय कुदृष्टिले नेपालको अस्तित्वमाथि कालो बादल मडारिएको अनुभूत भैरहेको छ । यस्तोमा नेपाली जनता त्यस्ता मिसनलाई असफल बनाउने गरी एकजुट हुनुपर्ने देखिन्छ ।
नेपाली राजनीतिको विभिन्न कालखण्डमा देखिने गरी बाह्य हस्तक्षेप हुँदै आएको छ । पछिल्लो चरणमा पनि यस्ता हस्तक्षेप सतहमा देखिन्छन् । जसलाई वेवास्ता गर्नु हुँदैन । राष्ट्रवादी शक्तिहरुले लेण्डुप दोर्जे खोज्ने गरी भइरहेको हस्तक्षेपलाई नामेट पार्न अघि बढ्नु पर्दछ ।
–अर्जुनप्रसाद मैनाली
रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्वेच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ तर, जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । पछिल्लो समय बाढी, पहिरा, भूकम्पजस्ता प्राकृतिक कारणदेखि सडक दुर्घटना एवम् स्वदेशमै अनेक जटिलखालका रोगहरूको शल्यक्रियाको सुविधा पनि उपलब्ध भएसँगै रगतको माग आकासिएको छ । ब्लड बैंकहरूले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरूले पनि रक्तदान नगर्ने प्रवृत्तिले गर्दा देशमा रगतको अभाव भएको छ ।
स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह तथा एचआइभी÷एड्स नलागेको व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन् । गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन । रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विकसित देशमा एक हजारमा ३३ दशमलव चार जना, विकाशोन्मुख देशमा ११ दशमलव सात जना र अल्पविकसित देशमा चार दशमलव छ जनाले मात्र रक्तदान गर्ने गर्दछन् । विश्वको जनसंख्याको दुई प्रतिशतले मात्र रक्तदान गर्दा पनि बिरामीको उपचारको लागि रगत अभाव हुँदैन भन्ने तथ्यांक छ ।
रक्तदान किन आवश्यक ?
वैज्ञानिकहरूले चिकित्सा क्षेत्रमा अकल्पनीय आविस्कारहरू गरी क्यान्सर, मृगौला प्रत्यारोपण, ठूला एवम् जटिल रोगहरूको उपचार पनि सम्भव गराएका छन् तर, त्यस्ता रोगहरू उपचार गर्न मानव जीवनका लागि नभई नहुने रगतको विकल्प भने दिनसकेका छैन । प्राकृतिक प्रकोपका कारण बर्सेनि लाखौँले जीवन गुमाउने गर्दछन् भने करोडौँको संख्यामा घाइते हुन्छन् । त्यस्तै मानव निर्मित सडक दुर्घटना, युद्धजस्ता कारणले समेत बर्सेनि ठूलो संख्यामा मानवीय क्षति हुने गरेको छ । यसका अलावा सरुवा रोगलगायत विभिन्न प्रकोपका कारण लाखौँको ज्यान जान्छ । साथै, गरिब परिवारका गर्भवती, सुत्केरी तथा नवजात शिशुको रगतमा हेमोग्लोबिनको मात्रा कम भएकालाई उपचार गर्न रगत आवश्यक पर्दछ ।
कुनै पनि बिरामीको उपचारका क्रममा रगत आवश्यक हुन गएमा अर्को स्वस्थ मानिसलाई रक्तदान गराउनुबाहेक अर्को विकल्प छैन । आफ्नो शरीरको अमूल्य रगतबाट अरुको जीवन बचाउन सकिने भएकाले नै रक्तदानलाई जीवनदान भन्ने गरिएको हो । हामीले शरीरमा भएको रगत दान नगरे पनि तीन महिनामा त्यो रगत त्यत्तिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने भन्ने भावनाको विकास हुन जरुरी छ । त्यसैले रक्तदानभन्दा अर्को ठूलो पुण्य काम केही हुँदैन ।
रक्तदान कतिपटक गर्न सकिन्छ ?
मानिसको शरीरमा रगत बोनम्यारोमा बन्छ । शरीरमा हरेक १२० दिनमा नयाँ रगत बन्दै जाने र पुरानो रगत नष्ट हुने गर्दछ । पुरुषमा ७६ र महिलामा ६६ मिलीलिटर प्रतिकिलोग्राम रगत हुन्छ । मानिसलाई दैनिक काम गर्नका लागि ५० मिलीलिटर रगत प्रतिकिलोग्राम आवश्यक पर्दछ । एकजना स्वस्थ एवं ४५ किलोग्राम तौल भएको व्यक्तिले आठ मिलीलिटर प्रतिकिलोग्राम अर्थात् तीन सय ६० मिलीलिटर रगत सजिलैसँग दान गर्न सक्छ । यो रगत दिँदा हाम्रो शरीरमा कुनै कमजोरी हुँदैन । दान गरेको रगतको परिणाम कुनै पनि तीन सय ६० मिलीलिटर पेय पदार्थबाट र दैनिक खानपानबाट केही दिनमा आफैँ बनेर पूर्ति हुने भएकाले रक्तदान गर्न सकिन्छ । रगत निकाल्दा यसले कमजोरी बनाउँदैन तर आफ्नो शरीरमा सञ्चालन भएको रगत एकाएक निकाल्दा रगतका कोशिका र नसाहरूमा केही गडबड भने हुन्छ । यसले कसैकसैलाई केही अप्ठ्यारो हुन्छ तर, तरल पदार्थको यथेष्ट खाएका एक–दुई दिनमा नै यथारूपमा आउँछ ।
एउटा स्वस्थ व्यक्तिको शरीरमा चारदेखि पाँच लिटर रगत हुन्छ । त्यसमध्येबाट ३५० मिलीलिटर मात्र रगत लिइरहेका हुन्छौँ । दुर्घटना, प्रसूति, शल्यक्रिया तथा अन्य रोगका कारण शरीरमा रगतको कमी भएका बिरामीलाई रगत दान गरी उनीहरूलाई बचाउन सकिन्छ । विश्वभरि रक्तदान गर्नेमध्ये एक प्रतिशतभन्दा कमले मात्र सयौं पटक रक्तदान गर्न सकेका छन् । नेपालको परिपेक्ष्यमा १८ वर्ष पूरा भएका, ६५ वर्ष ननाघेका र ४५ किलो वजनका भएका व्यक्तिले हरेक ९० दिनमा रक्तदान गर्न सक्छन् । अमेरिका र क्यानडामा हरेक ५६ दिनमा रक्तदान गर्न सकिन्छ भने १६ वर्ष पुगेका र ७५ वर्ष ननाघेका व्यक्तिहरूले वर्षमा छ पटकसम्म रक्तदान गर्न सक्छन् ।
रक्तदानप्रति आकर्षण कसरी बढाउने ?
नेपालमा पछिल्लो समय रक्तदानबारे सचेतना त बढेको छ, तर अभाव पूर्ति हुन सकेको छैन । दाताहरू पनि रक्तदान गर्न सहजरुपमा उपस्थिति हुँदैनन् । रगतको स्रोत स्वस्थ्य युवाहरू नै हुन् । रक्तदान जीवनदान भन्ने कुरा सबैलाई थाहा छ । रगत दिएर अरुलाई बचाउन सकिन्छ भन्ने पनि थाहा छ, तर पनि युवाहरू रक्तदानमा सहभागी हुँदैनन् । आमरूपमा रक्तदान गर्नुपर्छ भन्ने चेतना जगाउन जरुरी छ । अहिले काठमाडौंमा प्रतिदिन झण्डै पाँच सय युनिट रगत चाहिन्छ । तर, स्वयम्सेवीहरूबाट करिब एक सय ५० युनिटमात्र रगत दान गरेको पाइन्छ । यसले गर्दा दैनिक झण्डै तीन सय बिरामीले रगत नपाउने स्थिति छ । नेपालको जनसंख्या करिब तीन करोडमध्ये एक प्रतिशतले पनि रक्तदान गरेका छैनन् । देशभरिमा झण्डै सवा तीन लाख युनिट रगत चाहिन्छ । गत वर्ष लगभग दुई लाखले मात्र रक्तदान गरेका थिए ।
प्रविणता प्रमाणपत्र तहमा अङ्ग्रेजी पाठ्यपुस्तकको ‘द ब्लड डोनर’ पाठबाट प्रेरित भई रक्तदान कार्यमा आफूलाई समर्पण गरेको मैले विगत ४० वर्षदेखि निरन्तर रक्तदानको माध्यमबाट बिरामीलाई नयाँ जीवन दिँदै आएको छु । युवाहरूमा रक्तदानको महत्वबारे अवगत गराउन विद्यालय, विश्वविद्यालयका पाठ्यक्रमहरूम रक्तदानसम्बन्धी पाठ्यसामग्री समावेश गर्नु जरुरी छ । पाठ्यपुस्तकमा रक्तदानबारे एउटा सानो पाठ राखिदियो भने ती विद्यार्थीलाई रक्तदान गर्न उत्पे्ररणा मिल्छ । रक्तदानको महत्वबारे समाजमा अझै अनेक अविश्वास, भ्रम र चेतनाको अभाव रहेको पाइन्छ ।
त्रिवि मातहतको सरस्वाती क्याम्पसको समाजशास्त्र विभागले सन् २०२२ मा गरेको रक्तदानबारे सामाजिक बुझाइसम्बन्धी अध्ययनमा पनि अझै यो अवस्था रहेको पाइएको छ । अध्ययनमा नेपालमा रक्तदानको दर न्यून रहेको, अत्यावश्यक अवस्थामा बाहेक रक्तदान गर्न तयार नरहेको, रक्तदान गर्दाका असर र फाइदाबारे जानकारी नभएको, सामाजिक चेतनाको अभाव, रक्तदानका लागि उत्प्रेरणा बढाउन नसकिएकोलगायतका विषय औँल्याएको छ । अर्को कुरा रक्तदानसम्बन्धी काम गर्ने नेपाल रेडक्रसको रक्तसञ्चार सेवा, नेपाल सरकारको केन्द्रीय रक्त ब्यूरोले रक्तदान कार्यक्रम बढाउनका लागि स्थानीय संघसंस्थालाई प्रोत्साहन गर्नुपर्छ ।
रक्तदानको अभियान
‘म एक्लैले यस संसारलाई दयारुपी संसारमा बदल्न सक्दिन तर संसाररुपी पानीमा एउटा पत्थर फ्याँकेर समाज सेवाको हलचल मच्चाइ मानव सेवाका लागि मनुष्यमा दया पैदा गर्न सक्छु’ भन्ने मदर टेरेसाको भावनाबाट प्रेरित भएर नै पनि रक्तदानको अभियानलाई विश्वव्यापी बनाउन खोजिएको छ । मान्छेहरूलाई बचाउन सकुँ र समुदायलाई पनि उत्प्रेरणा दिने नै अभियान रहेको छ । रगत दान गर्दा कमजोरी भइन्छ भन्नेहरूका लागि रक्तदान गरेर कमजोरी हुँदैन भनेर बुझाउनु अर्को उद्देश्य हो ।
स्वयम्ले बिरामीलाई रगत उपलब्ध गराउन, युवाहरूलाई रक्तदान गरेर कमजोर भइँदैन भनेर बुझाउनका लागि सन् १९९० डिसेम्बर ५ मा रक्तदान गरेको एक घण्टापछि विभिन्न जिल्लाहरूमा साइकलयात्रा गरेको थिएँ । सन् २०२२ नोभेम्बरसम्म विश्वका छवटै महादेशका १४ वटा देशमा पुगी त्यहाँ बसोबास गरेका नेपाली समुदायमा रक्तदान गर्न उत्पे्ररणा गरेको छु र आफूले पनि दुई सय पाँचपटक रक्तदान गरेको छु । यस अभियानबाट छ सय १५ जना बिरामीलाई बचाउन सक्नु आफैँमा असाधारण काम हो भन्ने लाग्दछ ।
प्राकृतिक प्रकोप, दुर्घटना र युद्धमा घाइते भएका मानिसलाई बचाउन रगतको ठूलो भूमिका हुन्छ । रगत खेर जाने चिज होइन, यो सबैलाई चाहिने कुरा हो, असह्य भएर पनि अरुलाई रगत दिनु र उसलाई बचाउनु चानचुने कुरा होइन । मेरो रक्तदानको यात्रा एउटा देश वा भूगोलमा सीमित छैन । पंक्तिकारले आफ्नै साधन, स्रोत, समयमा यो अभियानलाई विश्वव्यापी बनाउने जमर्को गरेको हुँ । यसले विश्वमा नेपालको परिचय गराउन मद्दतमात्र पुगेको छैन, मानवीय भावनाको विस्तार पनि भएको छ । अझै ५० वर्षसम्म पनि रगतको विकल्प आउन कठिन रहेकाले देश र विदेशमा पुगेर रक्तदानको आवश्यकता, महत्व र उपयोगिताका बारेमा जनचेतना बढाउने मेरो अभियान कायमै रहनेछ ।
(कुराकानीमा आधारित विचार । प्रस्तुति : कृष्ण अधिकारी ।)
–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
नेपालीहरूका घरघरमा पढिने स्वस्थानी कथा र नेपालीको व्यथा यो वर्ष फेरि उजागर भएको छ । हरेक वर्ष माघ महिनाभरि सतिदेवी र महादेव अनि पार्वतीको कथा बोकेको स्वस्थानीको मेला काठमाडौं उत्तर पूर्वी भागको साँखु शहर छेवैमा लाग्ने गर्छ । त्यसो त संसारमा ३३ करोड पीठहरू छन्, त्यसमा सबैतिर पुग्न सकिन्न तर, जीवनभरिमा ५० पीठमा भने पुग्नुपर्ने शास्त्रीय मान्यता छ । सतीदेवीको निधन हुँदा पति महादेवले उनको लासलाई लिएर विश्व परिभ्रमण गर्ने क्रममा पहिले गुह्य पतन भई पीठ बनेको ‘गुह्येश्वरी’ पावन पशुपति क्षेत्रमै रहेको छ भने दाँत पतन भएको क्षेत्र दन्तकाली धरानमा, जिब्रो पतन भएको क्षेत्र बाँकेको बागेश्वरीलगायत सयौँ पीठ हाम्रै देशमा छन् र अन्त्यमा बाँकी सर्वाङ्ग पतन भएको क्षेत्र दैलेखको धुलेश्वर सधैँ हाम्रो चर्चाको विषय हो । उनै सतीदेवीले अर्को जीवन पार्वतीका रूपमा यहीँका हिमालय र पत्नी मेनकाका गर्भबाट जन्मिएर पति शिवलाई पाउन एक महिनासम्म स्वस्थानीको व्रत गरेको गौरीघाट र यहीँको शाली नदी क्षेत्रले सर्बत्र चर्चा पाएकै छ । स्वस्थानीमा गरिबीको चित्रण छ ।
हो, देशमा आज पनि बेरोजगारी छ र गरिबी पनि । ‘मुना मदन’मा महाकविले मुनाको दुःख र पति मदनले भोटमा पाएको कष्टको चर्चा गरेका छन्, हाम्रो आधुनिकताको उपज । तर, स्वस्थानी सत्य युगको कथा हो, तर खोलाहरूमा धेरै पानी बगे, परिवेश उही छ हाम्रो, उही अशिक्षा, उही भोक, बढी रोग, र त विश्व कहाँ पुग्यो, हामी अल्प विकसित र श्रम बेचिएको पैसाले धानिएको अर्थतन्त्रमा । ‘स्वस्थानी’ को मूल पात्र शिव भट्टकी छोरी गोमाको बिहे सानै उमेरमा शिव शर्मासँग भएको, उनी गर्भिणी हुँदा घरमा खानाको अभावले पति परदेशिएका थिए । सन्तानको लालन पालनका लागि घर खर्च जुटाउन विदेश गएका शिवशर्माको उतै मृत्यु हुन्छ । यता गोमाले छोरो पाउँछिन्, जसो तसो हुर्काउँछिन् पनि । छोरो नवराज खेल्न जाँदा छिमेकीले घोचपेच गर्छन् र भन्छन् ‘बिना बाबुको छोरो’। पीडाले नवराज बाबु खोज्दै विदेशिन्छन् । मरेका बाबुको हाडखोड पत्ता लगाई अन्तिम संस्कार गरी केही खर्चको जोहो गर्दै आमा भेट्न आइपुग्छन् । पति, पुत्र दुबैको बेचैनीमा रहेकी गोमा स्वस्थानी गुहार्दै माघ मासको व्रत गर्छिन्, आपत्कालमा सम्झने ईश्वर नै त हो । छोरो एक्लै फर्केकादेखि आमा पति बिरहमा हुन्छिन्, जसोतसो सम्हालिएर छोरालाई ठूलो हुने, पौरख गर्ने आशीर्वाद र स्वस्थानीको प्रसाद दिन्छिन् । अहिले पनि उही समस्या छ, खाडीमा गएर बाकसमा लास फर्केको स्थिति, देशमा रोजगारी नभएरै त हो ।
अझ भनौँ देशको अर्थतन्त्र पूरै रगत बेचिएको विप्रेषणमा चलेको छ, यहाँ विदेशीहरूले खर्बौं खर्ब लगानी गरिसके, तर देश ऋणमै त छ, उत्पादन छैन, मूल व्यवसाय खेतीमै समस्या छ । घाटाको बजेट छ, भर्खरै धान यसपाली बढी उत्पादन भयो भनियो, तर यतिबेला घट्नु पर्ने धानको मोल बढेको छ । बीमा भन्यो सरकारले झुक्यायो, यही माघ १ देखि सह तिरोको नाममा १० प्रति फेरि असुल्ने भएको छ । व्यापारी बनेको सरकार पहिले बानी लगाइदिन्छ अनि घाँटी समात्छ, खाए खा नखाए घीच् भन्छ, जाने कहाँ र भन्ने कसलाई हो थाहा छैन, नेपालीहरूका दिन झन्–झन् खराब भइरहेका छन् । पछिल्लो दाग र चित्लाङ्ग दुर्घटनाले हाम्रो विकास आयोजना र पूर्वाधार कस्ता छन् भन्ने देखाउँछ र मेलम्ची ८ पल्टसम्म उद्घाटन भइरहेकाले पनि स्थिति यथार्थ देखिन्छ । उर्बर भूमि टाठा बाठाको हातमा प्लटिङ्गमा छ, रासायनिक मलको हाहाकार छ, खाना, नाना छानाका लागि विदेशिनु पर्ने बाध्यता छ ।
स्वस्थानीमा कुटिर उद्योगको चर्चा छ, ऊन, राडी, पाखी घरेलु कामको संकेत छ, तर आज पनि त्यही विषय हाम्रो लागि ठूलो भार भएको छ । भएका उद्योग टाठाबाठाले बेचिदिए, केही रुग्ण छन्, सबैलाई विदेशी व्यापार गर्न, छिटो धनी हुन मन लाग्छ । विदेशी व्यापारबाट कमाइने भंसार राजस्वले देशको महँगो राजनैतिक संयन्त्र चलेको छ, यहीँ धेरै विलासिताका सामगीहरूको आयात हुन्छ, स्वदेशी विजुली महँगो छ । विदेशी इन्धनमा प्रति लिटर रु ५० बढी त कर नै तिर्नुपर्छ ।
स्वस्थानीका पात्रहरू सबैजसो अभावमा जिएका छन्, वियोगको सागरमा पौडी खेलेका छन्, हो त्यो पीडा अहिले पनि उस्तै छ । विदेशीले सिमाना मिच्छ, बहादुरी इतिहासका वीर गोर्खालीको रवाफ घुमिल हुन्छ, सुगौली सन्धीपछि साहित्यको रस वीर रसबाट एकाएक भक्ति रसमा परिणत भई भानुभक्तीय रामायणको चर्चा हुन्छ घरघरमा । आज पनि रात विरात खुफिया एजेन्सीहरू कोठा–कोठा चाहार्छन्, राष्ट्रियताको बजार चुनावी मैदानमा हुन्छ । भाषा, धर्म, संस्कृतिमा औपनिवेशिकता, तुइन तर्दा, मृत्युवरण, सिमानामा तातो गोली, पौडी खेलेर महाकाली पार गर्दा एकसरो कपडामा शहर परिक्रमाको बेइज्जती, एकै युवती ९ जनाको बलात्कारको शिकार त्यो पनि राजधानीमै, घाँटी रेटीरेटी मान्छेको हत्या आधुनिकताको उपज, मानवअधिकारवादी र सुरक्षा अँगको चिर निद्रा, एक महिनामा ४ थान गोली ४० लाखमा बिक्री र सहिदको अपमान, यसै सेरोफेरोमा देशले समाजवादको खोक्रो नारा लिएको, आत्मरतिमा अल्झिएको छ ।
संविधानमा सबै मौलिक हक, शिक्षा, स्वास्थ्य, रोजगारी, आबास, अपाङ्ग, दलित, निमुखा, असहाय, महिला, ज्येष्ठ नागरिक, स्वच्छ हावाको पनि चर्चा छ,तर यी सबै खोज्न सकिने अवस्था छैन, देश विचौलिया र विदेशीको इशारामा छ । स्वस्थानीका पात्रहरू, तिनले पछिल्लो जीवन सुखमा बिताएको प्रसंग छ, अभावै अभाव बीच दुःख पाएको नवराजले पछि रोजगारी मात्रै होइन ठूलो सम्मान पाउँछन्, आमा खुशीको आँसु बगाउँछिन् तर, नवराज पत्नी रानी भएको जोसमा होस् गुमाउँछिन् र शालिनदीका किनारामा ठूलै कष्ट पाउँछिन्, पदको दुरूपयोग गर्दा ।
हाम्रा नेपालीहरूको रंग उस्तै छ, मिठो खाने, राम्रो लाउने सपना अधुरो छ र त दिन दिनै पासपोर्ट बनाउने भीड बढेको छ । वृद्धहरू गाउँमा बेसहारा छन्, गाई, गोठहरू रित्तै छन्, विदेशी पाउडर दुध बहन्छ शहरमा, यहाँ मेलम्ची होइन विदेशी मिनरल वाटर, ह्विस्की, डिउ, कोक, फ्यान्टा, जंंकफुड, फास्टफुडले स्वास्थ्य कुरूप बन्छ, श्रम नगर्ने र कोठाबाटैमा मोबाइलले संसार हाँकिन्छ । युवा पुस्ता बेमौसमको राजनीतिमा व्यस्थ छ । दूव्र्यसनीमा फसेको छ ।
स्वस्थानीको शाब्दिक अर्थ हुन्छ स्व–स्व स्थानमा बसेर आफ्नो कर्तव्य, जिम्मेवारी पूरा गर्नुपर्ने । पथभ्रष्ट हुने स्वस्थानीका केही पात्रहरू खेर गएका पनि छन् आफ्नो मर्यादा नबस्दा विश्वलाई एक तृण बराबर सम्झने स्वयं विष्णुले बृन्दाको श्रापका कारण शिला, झार हुनु परेको छ । सत्यको अर्थ सत्य नै हुन्छ, निष्ठा र इमान्दारिता बिर्सँदा, रानीको सोखले आफन्तको मोहमा पर्दा चन्द्रावतीलाई असह्य बेदना सहनु परेको छ । रानी बन्दा पनि खान नपाएर अरुले ल्याइदिएको बासी भात खान लाग्दा खरानी भएको र त्यो पनि खान खोज्दा हावाले उडाएर लगेको, धरधरी रुनु परेको अवस्था छ । हेर्दा कथा जस्तो लाग्छ तर, मर्म आजकै हो ।
आज पनि बाली लगाउने असारमा प्रकृतिको बितण्डा छ, बाली उठाउने मंसिरमा उही समस्या छ र त विगत पाँच वर्षमा सबैभन्दा कम धान बालीको उत्पादन गत वर्ष भयो, यसपालिको तथ्यांकमा मिसावट भयो भनिदैछ । ६० लाख मेट्रिक टन धानको उत्पादनको लक्ष्य लिँदा जम्मा ५१ लाख मेट्रिक टनमा चित्त बुझाउनु परेको यादै छ त, खाने मुख बढ्ने उत्पादन घट्ने हाम्रो नियति हो र त देशमा व्यपारघाटा चूलिँदै छ, जसरी ऋण चुलिएको छ । चन्द्रावतीलाई ल्याइएको झोलाको भातभन्दा परिवेश के फरक भयो त ? बाली भित्र्याउन नपाई प्रकृतिले उडाएर लगेको अबस्था छ । हाम्रो देश धर्मको देश हो, यहाँ अधर्मका काला बादलहरू मडारिएका छन् ।
मूर्तिमा सुनको जलप लगाएर पदाधिकारीलाई जेल पठाउने, तर मन्दिर बाहिर भोको व्यक्ति नदेख्ने संस्कृति छ । सिँहदरबार या कुनै आलिशान महलमा, उच्च सुरक्षाको घेरामा, विलासी गाडी र जिमखाना, सरकारी उपचारमा रहनेहरू एक पटक साँखु पुगेर चन्द्रावतीको छप्पर हेर्नु बेस होला, संस्कृति र इतिहासमा फर्कनु बेस होला । त्यहाँसम्म पुन सकिन्न भने गौरीघाटमा पार्वतीले व्रत गरेको प्रदूषित वागमतीको चित्कार सुनी २ मुठा रायो साग लिएर कोठामा गई आफ्नै हातले या आफ्नै परिबारले पकाएर दिएको एक छाक खाना खान सके अझ समाजवाद बुझिएला कि । र त महाकविले भने ‘सुनका थैला हातका मैला के गर्नु धनले, साग र सिस्नो खाएर बस्नु आनन्दी मनले’ ।
राजनीतिको रडाकोले देश कामिरहेको छ, राष्ट्रिय सभाको चरित्र पनि उदाँगो भएको छ । अहिले, मााटो छोप्ने डोजरे र असारे विकासले गलिरहेको छ देश । समाजवादको नाराले पेट भरिएन, शरिर ढाकिएन, लालाबाला पालिएनन्, शिक्षा, स्वास्थ्य सुविधा भएन, प्रसूती गृहदेखि आर्यघाटसम्म तिरेको करको सदुपयोग भएन । वर्षेपिच्छे स्वस्थानीको रोइलो छ, सन्देश पनि छ, कसैले सुन्ने होइन, पदीय मर्यादामा को बस्यो र, आचरणमा रमाइएन, पेशाप्रति गौरव र इमान्दारिता पनि भएन । स्वस्थानीको मूल मर्म बुझिएन, विदेशीको फोटो सजाइयो बरु त्यसैमा रमाइयो ।
–गङ्गा यादव
संसद् भनेको जनताको कुरा राख्ने प्रभावकारी थलो हो । तर, सदनमा देशका महत्वपूर्ण विषयमा सांसदले स्वतन्त्ररूपमा आफ्नो कुरा राख्न पाउँदैनन् । ‘यो कुरा बोल्ने’ भनेर पार्टीबाट ह्वीप जारी हुन्छ । यसले गर्दा सांसदले पार्टीले भनेको भन्दा बाहिर बोल्न पाइँदैन । सांसदलाई धेरै गाह्रो छ । यसमा यो वा त्यो पार्टी हैन, सबै राजनीतिक दलको अभ्यास यस्तै छ । आफ्ना सांसदलाई राम्रोसँग कुरा राख्न पर्याप्त समय पनि दिइँदैन । जनताले चुनेर जनप्रतिनिधिको हैसियमा सदनमा सांसदलाई पु¥याउँछन् । किनकी जनताको कुरा, आवश्यकता र समस्या सांसदले कुरा उठाउन् भन्ने उनीहरूको चाहना हुन्छ ।
सांसदले स्वतन्त्र ढंगले मनको कुरा राख्न पाउनुपर्छ । त्यसमा पार्टीले बन्देज गर्नुहुँदैन । सदनमा कथम् आफ्नो कुरा राख्यो भने पार्टीले ‘यस्तो कुरा किन उठाउनुभयो, यो कुरा राम्रो भएन । दायाँ घुम बायाँ घुम’ पार्टीको नीतिअनुरूप दायाँ–बायाँ जान पाउँदैनन् सांसदहरू । तर पनि मैले सदनमा आफ्नो कुरा स्पष्ट राख्ने प्रयास गरेँ । म माथि पार्टीको ह्वीप जारी भएन, आफ्नो कुरा निर्धक्क राखेँ ।
अहिले संसद् जुन ढङ्गले चलिरहेको छ, त्यो ठीक छैन । संसद् भनेको स्वतन्त्र ढङ्गले चल्नुपर्छ । सांसदलाई बोल्ने स्वतन्त्रता हुनुपर्छ । त्यो स्वतन्त्रता छैन । पाँच÷सात जनाको समूहको घेराबन्दी हुन्छ । घुमाइ फिराइ उनीहरूको मात्रै पहुँच हुने, माथिल्लो तहमा अवसर लिने परिपाटी छ ।
जनप्रतिनिधिको मुख्य दायित्व कानुन निर्माण हो, सँगसँगै विकास निर्माणमा पनि केन्द्रित हुनुपर्ने बाध्यता छ । विकास निर्माणका काममा ध्यान दिन सकिएको छैन । अहिले विकास निर्माणका कामहरू प्रभावकारी हुन सकेको पाइन्न । सबैजसो क्षेत्रमा बेथिति मौलाएको छ । प्रजातन्त्र आएपछि जति सरकार बने पनि ती सबै सरकारको प्रभावकारिता बढेको देखिँदैन । राजनीति कमाउने साधनजस्तो बनेको छ ।
जनप्रतिनिधिको मुख्य काम कानुन निर्माण हो । तर, सांसदले कानुन निर्माणमा सक्रिय हुन पाएका छैनन् । बरु उनीहरू जिल्ला, निर्वाचन क्षेत्रमा बढी केन्द्रित भएका छन् । किनकी राजनीतिक दलहरूको कमजोरी, सत्ता परिवर्तनको दाउपेच, राजनीतिक लुछाचुँडीले सदनलाई प्रभावकारी बनाउन सकिएको छैन । राजनीतिक सौदाबाजीले जनताको मुद्दालाई मुखरित गर्न सकिएको छैन ।
सदनमा सांसदको भूमिका पनि प्रभावकारी छैन । स्वतन्त्र सांसदले खुलस्तरूपमा आफ्नो कुरा राख्छन् तर, पार्टीका सांसदले स्पष्ट कुरा राख्न सकिरहेका छैनन् । आगामी दिनमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउन नसके देशको विकास र जनताको आकांक्षा पूरा हुँदैन ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि संघीय सरकारले प्रदेश सरकारलाई पर्याप्त अधिकार दिनुपर्छ । अधिकारविहीन भएको गुनासो गर्दै प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरूले बारम्बार संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । तथापि, अहिले पनि सुनुवाइ भएको छैन । मुख्यमन्त्रीलाई प्रदेश प्रमुख, सिडियोले टेर्दैनन् । संघ र प्रदेशबीच पनि एक किसिमको फाटो छ ।
जनप्रतिनिधिको हैसियतले सदनमा संसद्को काम बारबाहीलाई पारदर्शी र प्रभावकारी बनाइनुपर्छ । जनताको शिक्षा, स्वास्थ्य, कृषिमा सुधार ल्याउने, गरिबी निवारण, रोजगारी सिर्जना, बेरोजगारीको अन्त्य गर्नेजस्ता कुरालाई सदनले प्राथमिकता दिनुपर्छ । जनतामा पनि चेतना, जागरण आउन जरुरी छ । मुख्य कमजोरी जनतामा पनि छ । जनताले चाह्यो भने परिवर्तन हुन्छ । एक दिन त देशमा परिवर्तन पक्कै हुन्छ ।
अहिले सरकार र राजनीतिक दलको भूमिका प्रभावकारी हुनुपर्छ । प्रणालीमा सुधार गर्दै जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक दायित्व निर्वाह गर्नुपर्छ । जनतामा एक किसिमको वितृष्णा बढेको छ । यसलाई समयमै सम्बोधन गर्न सरकार र दलप्रति जनताको आशा, भरोसा र आत्मविश्वास बढाउनेतर्फ सबै राजनीतिक दल, सरकार र सदन सजक हुन जरुरी छ । त्यसैले जनप्रतिनिधिको थलो संसद्को भूमिकालाई भरोसायोग्य बनाउन सबै जिम्मेवारपूर्वक लाग्नुपर्ने अहिलेको अपरिहार्यता हो ।
(लेख कुराकानीमा आधारित छ ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies