काठमाडौं : युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्राध्यापक डाक्टर उषा ठाकुरलाई प्रदान गर्ने भएको छ । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको ११३औं जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै तीन दशकदेखि युगकविका कृतित्व र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देशविदेशमा सुयश फैलाउन विशिष्ट योगदान पुर्याएवापत प्रा. डा. ठाकुरलाई युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रदान गर्न लागिएको उल्लेख गरिएको छ ।
यस्तै लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत योगदान गरेवापत पत्रकार कार्कीलाई युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो ।
प्रतिष्ठानले उपाध्यक्ष प्रा.डा. मोहन लोहनीको संयोजकत्वमा सदस्यद्वय प्रा. डा. अभि सुवेदी र प्रा. डा. जयराज आचार्यसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।
भरतपुर - चैत्र शुक्ल अष्टमी र रामनमवीका अवसरमा चितवनका विभिन्न शक्तिपीठमा मेला लागेको छ । विक्रमबाबा, सोमेश्वर र गोद्धकलगायत शक्तिपीठमा दर्शन गर्न र मेला भर्न आउनेको घुइँचो लागेको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा लाग्ने विक्रमबाबा मेला प्रत्येक वर्ष चैत कृष्ण औँसीमा सुरु भएर वैशाख पूर्णिमासम्म सञ्चालन हुने गरेको छ । यस वर्ष पनि चैत कृष्ण औँसीदेखि सुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सम्पन्न हुने भरतपुर महानगरपालिका–२३ का अध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो । विक्रमबाबाको दर्शन गर्नाले सन्तान प्राप्ति र सुखशान्ति हुने जनविश्वास छ ।
चितवनको माडी नगरपालिका माडी–१ स्थित गोद्धक क्षेत्रमा पनि चैतेदसैँ मेला सुरु भएको छ । गोद्धक क्षेत्र पर्यटन विकास समितिको आयोजना तथा थारू कल्याणकारिणी सभा क्षेत्र नं १ माडीको सहआयोजनामा अष्टजाम पूजासहित मेला सञ्चालन गरिएको हो । मेलामा शिवमन्दिर, गोद्धकनाथ, भीम इनार, कुकुरनाथ, बिरालोनाथ, झण्डीडाँडा, लिम्बू छाँगाजस्ता धार्मिक सम्पदा अवलोकनका साथै विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, परशुराम कुण्ड स्नान र भोजनगृह सञ्चालन गरिने छ ।
यसैगरी माडीको सोमेश्वरगढीमा आयोजित मेलामा भक्तजनको उल्लेख्य सहभागिता छ । मेला भर्न भारतबाट पनि मानिस आउने क्रम जारी छ । गत चैत २७ गते सुरू भएको मेला यही वैशाख ६ गते सम्पन्न हुनेछ । सोमेश्वरमा बर्सेनि लाखौँ भक्तजन आउने गरेका तथा तिनमा भारतीय नागरिकको सङ्ख्या उल्लेख्य रहेको मेला व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोख्रेलले जानकारी बताए ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : माधव नारायण नगरपालिकामा एकै दिन २ वटा भवनको शिलान्यास गरिएको छ ।
नगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि निःशुल्क प्राप्त भएको १२ कट्ठा जग्गामा निर्माण हुन लागेको भवन तथा रामजानकी मन्दिरको जग्गामा निर्माण हुने विवाह भवनको नगर प्रमुख बैजनाथ प्रसाद यादव र नगर उपप्रमुख निर्मला रमनले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
दोस्रो स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएमा आफ्नो निजी जग्गा नगरपालिकाको स्थायी भवन निर्माणको लागि दिने भनी जनतासँग गरेको बाचा अनुसार माधव नारायण नगरपालिका वडा नम्बर ६ माधोपुरमा मुख्य सडक जोडिएको करोडौं मूल्य बरावरको जग्गा नगर प्रमुख यादवले गत वर्ष नगरपालिकाको नाउँमा पास गरेका थिए ।
आफूले दिएको जग्गामा नगरपालिकाको भवन निर्माणको शिलान्यास गर्न पाउँदा हर्षित रहेको प्रतिक्रिया नगर प्रमुख यादवले दिए ।
साढे तीन तल्ले निर्माण हुने प्रशासकीय भवनको निर्माण गर्न एम् एस चाँदी देवी श्रीराम जेवि बिदुर नुवाकोट निर्माण कम्पनीले ११ करोड ८८ लाख ९२ हजार २९४ रुपैयाँ ६३ पैसा करसहित २०८२÷१२÷२६ सम्म निर्माण गर्ने जिम्मा लिएको छ ।
निर्धारित समयमा निर्माण कार्य सम्पन्न गरी जसरी भएपनि नगरपालिकालाई भवन हस्तान्तरण गर्नुपर्ने मेयर यादवले बताए । भवन निर्माणको कार्यसँगै विवाह भवनको निर्माण कार्य निर्धारित समयमा सक्नुपर्ने निर्माण व्यवसायीलाई नगरप्रमुख यादवले निर्देशन समेत दिए ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहट चन्द्रपुर नगरपालिकास्थित सन्तपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिनानाथ प्रसाद यादवमाथि काठ गायब बनाएको आरोप लागेको छ । उनले सहकारीको चिरान काठ गायब बनाएको आरोप लागेको हो । काठ गायब बनाएको भन्दै स्थानीय बासिन्दाहरुले सोमबार प्रहरी चौकी घेराउ समेत गरेका छन् ।
प्रहरी चौकीका प्रसनी यादवले साझा सहकारी संस्थाको काठ गायब फर्निचर बनाएर घर लगेको भन्दै स्थानीयले सोमबार बिहानै चौकी घेराउ गरेका थिए । चोरी तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी चौकी सन्तपुरका प्रमुख प्रहरी सहायक निरीक्षक यादवले काठ गायब बनाएको र फर्निचर बनाएर घर लगेको स्थानीयको आरोप छ ।
सन्तपुरको साझा सहकारी संस्था लिमिटेडको भवनमा अस्थायी रुपमा रहँदै आएको प्रहरी चौकी सन्तपुरका प्रहरी सहायक निरीक्षक यादवले संस्थामा रहेको पुरानो काठनै गायब गरेर फर्निचर पलङ्ग र किचन र्याक बनाएर लगेको सोही चन्द्रपुर नगरपालिका वडाध्यक्ष जितेन्द्र चौधरीले आरोप लगाए ।
प्रहरी सहायक निरीक्षक यादवले संस्थाको काठबाट फर्निचर बनाएर पटक–पटक आफ्नो घर पुर्याएको र अन्तिम पटक लैजाने तयारी गरेको समयमा स्थानीयले रोकेका थिए ।
अवैध असुली धन्धाको आरोप उनीमाथि लाग्दै आएको र माथिल्लो निकायलाई जानकारी गराउँदा समेत बेवास्ता हुँदै आएको वडाअध्यक्ष चौधरीको भनाइ छ । प्रहरी चौकीको भवन निर्माणाधिन अवस्थामा रहेकोले संस्थाले आफ्नो भवनको कोठा अस्थायी रुपमा चौकी सञ्चालनको लागि प्रहरीलाई दिएको थियो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गायत्री राज शर्माले प्रहरी सहायक निरीक्षक यादवले गल्ती गरेको भए कारबाही हुने बताए ।
सरु भुसाल/मध्यान्ह
सन्धिखर्क : सन्धिखर्क नगरपालिका वडा नं.१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएसँगै यहाँका किसानहरु व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।
सन्धिखर्क नगरपालिकाको कुडूले फाँट, वृति फाँटर, सुक्मी फाँटका किसान अहिले परम्परागत कृषि खेती छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धि राज घिमिरेले बताए ।
सन्धिखर्कमा आयोजित तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि यस क्षेत्रका किसान पनि आधुनिक तथा प्रविधिमैत्री तरिकाले तरकारी खेतीमा लागेको घिमिरेले बताए ।
आर्थिक वर्ष २०७७/७८ देखि लागू भएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट यस क्षेत्रका झण्डै ६० जना किसान तरकारी खेतीमा लागेको सन्धिखर्क स्मार्ट कृषि गाउँ कार्यसमितिका अध्यक्ष प्रेमनारायण भुसालले बताए ।
६० जनामध्ये झण्डै ५० जना किसान व्यावसायिक कृषि पेसामा लागेको अध्यक्ष भुसालले बताए किसानको मागका आधारमा किसानलाई बीउ, मल तथा अत्याधुनिक उपकरणसमेत प्रदान गरेको सन्धिखर्कमा आयोजित तालिम उद्घाटन समारोहमा अध्यक्ष भुसालले बताए ।
तरकारी खेतीलाई आधुनिकीकरण र व्यावसायिक बनाउन स्मार्ट कृषि गाउँ कार्यक्रमले आफूहरुलाई सहयोग गरेको भएपनि किसानहरु व्यवसायिक बन्न नसकेको तालिमले मात्रै किसानलाई नपुग्ने तालिममा सहभागी किसान गोपालप्रसाद खनालले बताए ।
तालिममा सहभागी अर्का किसान गगन भुसालले किसानको मागका आधारमा मिनिटिलर, डिजिटल काटा, पानी तान्ने मोटर पम्प, स्केयर, प्लास्टिक टनेल जस्ता सामग्रीका साथै उन्नत जातका मौसमी तथा बेमौसमी तरकारीका बीउ मलसमेत किसानले समयमा प्राप्त गरेको भएपनि अझै प्रभावकारी बनाउन अनुरोध गरे ।
किसानले उत्पादन गरेको तरकारी बिक्रीका लागि पनि कुनै समस्या नभएको बजार नजिक भएकाले पनि उत्पादन भएको तरकारी सन्धिखर्क र चुत्राबेंसीमा बिक्री वितरण हुने गरेको किसान सीता अर्याल पन्थीले बताइन् ।
आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दा उत्पादनमा वृद्धि भएको र समयको पनि बचत भएको किसान अम्बर श्रेष्ठले बताए । उत्पादित वस्तु स्थानीय बजारमानै खपत भएको र बढी भएमा छिमेकी आसपासका जिल्लामा बिक्री वितरण भएको किसान बन्दु नेपालीले बताए ।
आधुनिक प्रविधिबाट किसानलाई व्यावसायिक बनाउन र कम लागतमा बढी उत्पादन गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्रका प्रमुख उपसचिव बुद्धिराज घिमिरेले दाबी गरे । कृषकहरु व्यावसायिक बनेर राम्रो उत्पादन गरेको बताउँदै किसानको आयआर्जनमा समेत वृद्धि भएकाले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न घिमिरेले अनुरोध गरे । कार्यक्रम स्मार्ट कृषि गाउँसमितिका अध्यक्ष प्रेम नारायण भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृषि अधिकृत टिकाराम न्यौपानेले गरेका थिए । तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।
लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : अव्यवस्थित तारले सर्लाहीको बरहथवा बजार कुरुप बन्दै गएको छ । अव्यवस्थित तारका कारण बजार कुरुप र जोखिमपूर्ण बनेको हो । इन्टरनेट सेवा विस्तारका नाममा विभिन्न सेवा प्रदायक कम्पनीले अव्यवस्थित रुपमा विद्युत तथा सोलारका पोलमा जथाभावी तार टाङ्ने काम गरेसँगै बरहथवा बजारको मुख्य चोक तथा बजार कुरुप बन्दै गएको छ ।
विद्युत वितरणका लागि गाडिएका पोलमा थाम्नै नसकिने तारका गुजुल्टाले शहर विगत केही वर्ष यता कुरूप बन्दै गएकोले यसलाई तत्काल व्यवस्थित गर्न स्थानीयहरुले माग गरेका छन् । स्थानीय व्यापारी शम्भु साह रौनियार र दिलिप पूर्वेले अव्यवस्थित तारले बजार कुरुप मात्र नभइ दुर्घटनाका जोखिम पनि बढेको बताए ।
त्यस्तै उद्योग वाणिज्य संघ बरहथवाका सचिव एवं व्यापारी देवजित साहले यस विषयमा सम्बन्धित निकायलाई पटक–पटक ताकेता गर्दासमेत कुनै सुनुवाइ नभएको दुखेसो पोखे । उनले पनि अव्यवस्थित तारले बजार कुरुप मात्र नभइ दुर्घटनाका जोखिम पनि बढेकोले यसलाई तत्कालै व्यवस्थित गर्न माग गरे ।
यता विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्रका प्रमुख दिगम्बर यादवले अव्यवस्थित तारका कारण बजार कुरुप बनेको स्वीकार्दै केही दिन भित्रमा सेवा प्रदायक संस्थाका प्रमुखहरुलाई बोलाएर तारहरुलाई व्यवस्थित गर्न निर्देशन दिने बताए ।
काठमाडौं : उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपि पाउनका लागि गाउँपालिकामा दिएको निवेदनको सक्कलै उपलब्ध गराउन आदेश दिएको छ ।
न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश दिएको हो ।
साथै २०७५/०९/१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि सो वडा कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्न भनिएको छ ।
जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।
काठमाडौं : सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवम् नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले सम्हालेका छन् ।
यसअघिका प्रवक्ता एवम् सहायक रथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सोमबार आयोजित कार्यक्रममा सहायक रथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका हुन् ।
त्यसअवसरमा सहायक रथी भण्डारीले प्रवक्ताको जिम्मेवारीमा रहने क्रममा आमसञ्चार जगतका सबै सञ्चारगृह, प्रकाशक, सम्पादक र विशेषगरी रक्षासग सम्बन्धित विटमा कार्यरत पत्रकारबाट भएको सद्भाव, सुभेच्छा र सहयोगका लागि आभार व्यक्त गरे ।
प्रवक्ताको जिम्मेवारी पाएका केसीले नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध र सहयोग आगामी दिनमा थप प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गरे । प्रवक्ता केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख थिए भने सहायक रथी भण्डारीको सैनिक अभिलेखालयमा सरुवा भएको छ ।
सरु भुसाल/मध्यान्ह
गुल्मी : गर्मीयाम शुरु भएसँगै डढेलोको प्रकोप देशका विभिन्न भागहरुमा देखा परेको छ । डढेलो नियन्त्रण गर्ने क्रममा गुल्मीको एक जंगलमा लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माध्यमिक विद्यालय नजिक रहेको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा स्थानीय ५८ वर्षीय महले घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहानबाट लागेको आगो निभाउन गएका घर्ती आफूतर्फ आगोको ठूलो मुस्लो आएपछि भाग्दा लडेर गम्भीर घाइते भएका थिए । सल्लाघारी जंगलबाट झण्डै २०० मिटर तल खसेका घर्तीलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल तम्घास पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले मध्यान्हलाई जानकारी दिए ।
घर्तीसँगै सल्लाघारीबाट लडेका स्थानीय ५२ वर्षीय रेशम थापा घाइते भएका छन् । थापाको तम्घास अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
गण्डकी : पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार नौ सय ३९ र अन्य मुलुकका ८४ हजार सात सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।
गत चैतमा मात्र दक्षिण एसियाली मुलुकका १६ हजार नौ सय ६९ र अन्य मुलुकका १८ हजार दुई ९६ गरी कूल ३५ हजार दुई सय ६५ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र घुम्न आएको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए । गत असोजमा २८ हजार सात सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।
यो वैशाख महिनामा पर्यटक संख्या थप बढ्ने प्रमुख डा कडरियाको अनुमान छ । गत आवको वैशाखमा ३१ हजार नौ सय ५१ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र आएका थिए । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि सबैभन्दा उत्तम मानिन्छ ।
‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको तथ्यांक राख्ने गरेको छ । सडक मार्ग भएर मनाङ, मुस्ताङलगायतका ठाउँ प्रवेश गर्ने आन्तरिक पर्यटकको संख्या यकिन छैन । ‘एक्याप’का अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । उक्त संख्या हालसम्मकै उच्च हो । त्यसअघि सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मार्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्य छन् ।
सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गर्छ ।
हिमशृंखलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies