काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरे ।
शिव विक/मध्यान्ह
काठमाडौं : सरकारी विज्ञापन राष्ट्रिय स्तरको पत्रिकामा छाप्नुपर्ने व्यवस्थाले निरन्तरता पाउने भएको छ । यसअघि सरकारले सम्बन्धित कार्यालयको वेबसाइट (अनलाइन) मा सरकारी सूचना राखे पनि हुने गरी निर्देशिका जारी गरेको थियो ।
उक्त निर्देशिकाले दीर्घकालमा लोकतन्त्रमाथि नै खतरा उत्पन्न हुन सक्ने भन्दै सर्वोच्च अदालतमा रीट निवेदन परेको थियो । उक्त निर्देशिका बदरको माग गर्दै अधिवक्ता सविन पोख्रेलले रीट निवेदन दायर गरेका थिए । उक्त रीटमाथि गत २० पुस २०८० मा सुनुवाई गर्दै न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले अनलाइनबाट मात्र सरकारी विज्ञापन गर्ने प्रावधान सम्बन्धी कार्यविधि बदर हुने आदेश गरेको थियो ।
उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ । सर्वोच्चको आदेशसँगै अब सरकारी बोलपत्र वा पूर्वयोग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचना राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा प्रकाशन गर्नुपर्ने भएको छ ।
सार्वजनिक खरीद ऐन अनुसार सरकारको ढुकुटीबाट खर्च हुने विषय राष्ट्रिय स्तरको पत्रिकामै छाप्नुपर्ने व्यवस्था छ । ऐनको दफा १४ मा बोलपत्र वा पूर्व योग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचना राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा अन्र्तराष्ट्रिय सञ्चार माध्यममा समेत प्रकाशन गर्न सकिन्छ ।
यो व्यवस्था खारेज हुनेगरी सरकारले विद्युतीय खरीद प्रणाली सञ्चालन निर्देशिका जारी गरेको थियो । उक्त निर्देशिकाको विवादित दफा ५ र ४५ बदर सर्वोच्च अदालतले बदर गरिदिएको हो ।
निर्देशिकाको दफा ५ मा सरकारी कोषको प्रयोग गरी खरीद गर्ने संस्थाले खुला रुपमा बोलपत्र वा पूर्वयोग्यता वा प्रस्ताव आह्वान गरी निर्माण कार्य वा मालसामान वा परामर्श सेवा वा अन्य सेवा खरीद गर्दा विद्युतीय खरीद प्रणाली मार्फत् गर्न सक्ने उल्लेख थियो । दफा ४५ मा अन्य माध्यमबाट सूचना प्रकाशन गर्न नपर्ने भनेर अनलाइनमा सूचना राखे हुने भनेको थियो । यसलाई पनि अदालतले बदर गरिदिएको हो ।
नेपालको सरकारी विज्ञापन बजारको दायरालाई खुम्च्याएर प्रतिस्पर्धालाई समेत निरुत्साहित गरी विज्ञापन बजारमा एकाधिकार ल्याउन खोजेको निर्देशिकाका विवादित दफा खारेज भएसँगै सरकारी विज्ञापन राष्ट्रिय स्तरको पत्रिकामा छाप्नुपर्ने भएको हो ।
https://supremecourt.gov.np/court/public/media/2024_04/3f01ae8354b40121aac7041fb44df3bb.pdf
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : ७६ प्रतिशत नेपाली स्वच्छ पिउनेपानीको पहुँचबाहिर रहेको पाइएको छ । खानेपानी मन्त्रालयले हालै गरेको वार्षिक समीक्षाअनुसार ७६ प्रतिशत नेपाली स्वच्छ पिउनेपानीका पहुँचबाहिर छन् । यो विगतको तुलनामा सुधार भएको तथ्याङ्क रहेका सरकारी अधिकारीहरु बताउँछन् ।
खानेपानी मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर मधु तिमिल्सिना अन्तराष्ट्रिय प्रतिवद्धता र मानव स्वास्थ्यको मापन लगायतका दृष्टिमा खानेपानीको पहुँचबारे अध्ययन गरिएको हो ।
उनी भन्छन्, ‘अन्तराष्ट्रिय प्रतिवद्धता, मानव स्वास्थ्य लगायतका मापनका दृष्टिले २६ प्रतिशत जनसंख्या स्वच्छ र गुणस्तरीय खानेपानीको पहुँचमा छन् । बाँकीले पिउनेपानीमा किटाणु छैन भन्ने विश्वास गर्न नसकिने अध्ययनले देखाएको छ ।’
तिमिल्सिनाका अनुसार बार्षिक रुपमा खानेपानीको अवस्थाको बारेमा अध्ययन गर्ने गरिएको छ । २०८० सालमा गरिएको अध्ययनले ७६ प्रतिशत नेपाली स्वच्छ पिउनेपानीको पहँुचबाहिर रहेको देखाएको हो । यो विगतको तुलनामा केही सुधार भएको तिमिल्सिना बताउँछन् । भन्छन्, ‘बार्षिक रुपमा खानेपानीको अवस्थाको बारेमा अध्ययन गर्ने गरिएको छ । त्यसको आधारमा यो तथ्याङ्क आएको हो । विगतका वर्षहरुमा भन्दा यो केही सुधार हो ।’
खानेपानी मन्त्रालयका अनुसार पुराना पाइपलाइन तथा पुराना ट्याङकीका कारणले समेत स्वच्छ खानेपानीको पहुँचलाई असर गरेको छ । एक सय वर्ष पूराना पाइपलाइन र पानीका ट्याङकी रहेको अध्ययनले देखाएको छ । बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिमा समेत खानेपानीका स्रोत बढी प्रदूषित हुने गरेको छ । नागरिकहरुमा पानी फिल्टर नगर्ने, शुद्धीकरण नगरी पिउने लगायतका प्रवृत्ति समेत रहेको देखाइएको छ ।
खानेपानी मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर तिमिल्सिना गुणस्तरीय खानेपानीको पहुँच वृद्धि गर्न सरकार लागि परेको बताउँछन् । संविधानले नै स्वतन्त्र खानेपानीलाई नागरिकको मौलिक हक अन्तर्गत राखेको छ । संविधानको धारा, ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको पहुँचको हक हुने भनिएको छ । यसकारण पनि सरकार गम्भीर रहेको तिमिल्सिनाको भनाइ छ ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाका विभिन्न स्थानीय तहका शिक्षकहरुलाई तीन दिवसीय लैंगिक रुपान्तरणमूखी शिक्षा सम्बन्धी क्षमता अभिवृद्धि तालिम दिइएको छ ।
‘सशक्त बालिका परियोजना’अन्तर्गत बाँके युनेस्को क्लव तथा राधाकृष्ण थारु जनसेवा केन्द्रको संयुक्त आयोजनामा बर्दियाकोे ठाकुरद्वारामा तालिम सम्पन्न भएको हो ।
बर्दिया जिल्लाका ६ वटा स्थानीय तह गुलरिया, राजापुर, बारबर्दिया, मधुवन र ठाकुरबाबा नगरपालिका तथा बढैयाताल गाउँपालिकाका १२ वटा विद्यालयका प्रधानाध्यापक एवम लैंगिक समानता तथा सामाजिक समावेशिकरण सम्पर्क शिक्षक गरी २७ जना शिक्षकको सहभागिता थियो ।
तालिमले शिक्षकहरुलाई अध्यापनमा सहजता ल्याउनका लागि विद्यार्थीहरुको मानसपटलमा सकारात्मक लैंगिक अभ्यासहरुको सिकाइ, समाजमा रहेका नकारात्मक लैंगिक अवधारणा सम्बन्धी सोचहरुमा परिवर्तन, विद्यार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन, नैतिक शिक्षामा जोड, विद्यार्थीहरुको सृजनाशिलता, सीप विकास, नव परिवर्तन, नेतृत्व विकास र वैज्ञानिक र व्यवहारिक शिक्षण सिकाइ उपलब्धी गर्नमा सहयोग पुग्नुका साथै विद्यालयको समग्र विकास र व्यवस्थापनमा सहयोग पु¥याउने राधाकृष्ण थारू जनसेवा केन्द्रका परियोजना संयोजक मनोज पौडेलले जानकारी दिए ।
तालिमको समापन कार्यक्रममा तालिमका सहभागी सावित्रा आर्चायले तालिम अति नै उपलब्धिमुलक, समय सान्दर्भिक, लैंगिक अवधारणामा परिवर्तन तथा व्यवहारिक शिक्षण सिकाइ उपलब्धिमा सहयोग पुग्ने र यो तालिम सवै विद्यालयका सबै शिक्षकहरुलाई उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।
उनले सशक्त बालिका परियोजनाले विद्यालयको शैक्षिक गुणस्तर परिवर्तन गरी बालबालिकाहरुको नेतृत्व विकास र अध्ययन रुचीमा सहयोग पुगिरहेकोले यसको निरन्तरता र थप सहयोगको अपेक्षा गरेको बताइन् ।
तालिम समापन कार्यक्रमको अध्यक्षता गरेका ठाकुरबाबा नगरपालिकाका सामाजिक विकास संयोजक एवं वडा नम्बर ८ का वडाअध्यक्ष टेकबहादुर बडुवालले विद्यालयमा विद्यार्थीहरुलाई नैतिक शिक्षा र जिम्मेवारी बोध गर्ने खालको शिक्षामा जोड दिनुपर्ने बताए ।
प्लान इन्टरनेशनल नेपालका शिक्षा सल्लाहकार बेद प्रसाद डाँगीले सहजीकरण गरेको तालिम समापनमा राधाकृष्ण थारु जनसेवा केन्द्रका परियोजना संयोजक मनोज पौडेल, कार्यक्रम अधिकृत सीमा वली, सञ्जय चौधरी, अनुगमन तथा मुल्यांकन अधिकृत जनक थापा तथा बाँके युनेस्को क्लवका परियोजना संयोजक गोविन्द प्रसाद लामिछाने, कार्यक्रम अधिकृत ईश्वर वि.क, फिल्ड सुपरभाइजर रीता अर्याल र नगमा मनिहारको समेत उपस्थिती रहेको थियो ।
कमल कुमाल/मध्यान्ह
कालीकोट : ‘हामी बनाउँछौं, हाम्रो नगर’ भन्ने नाराका साथ कालीकोटको रास्कोट नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपाएको खोजी गर्न थालेको छ ।
सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्व पदाधिकारी, विद्यार्थी लगायतलाई एक ठाउँमा भेला गरेर शिक्षामा सुधार ल्याउन थालेको हो ।
पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा नगरपालिकाले मध्यनजर गर्दै शैक्षिक सत्र २०८० को नतिजा विश्लेषण तथा समीक्षा गोष्ठी कार्यक्रम शुरु गरिएको नगर प्रमुख धर्मराज शाही (पोषण)ले बताए ।
‘सामुदायिक विद्यालयमा राज्यको करोडौँ लगानी छ, उच्च शिक्षा हासिल गरेका र तालिम प्राप्त शिक्षकको व्यवस्था छ । तर विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ । कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेका छन् । बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने संकेत देखिन थालेका छन् । तह अनुसार विद्यार्थीको क्षमता विकास हुन सकेको छैन’ नगर प्रमुख शाहीले भने । यिनै समस्या हल गर्ने प्रयास स्वरुप शैक्षिक सत्र २०८० को नतिजा विश्लेषण तथा समीक्षा गोष्ठी कार्यक्रम शुरु गरेको उनले बताए ।
उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख खेमराज शाहीको अध्यक्षता र नगर प्रमुख धर्मराज शाही (पोषण) को प्रमुख आथित्यातामा शैक्षिक सत्र २०८० को नतिजा विश्लेषण तथा समीक्षा गोष्ठी कार्यक्रम सञ्चालन गरिएको थियो । हाल रास्कोट नगरपालिकामा मावि, नि.मा.वि गरी ३० वटा विद्यालय रहेका छन् ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लामा यात्रुको चापको मध्यनजर गर्दै नेपाल एयरलाइन्सले शुक्रबार दुई उडान भर्ने भएको छ । राष्ट्रिय सडक मार्ग नजोडिएको एक मात्र जिल्लाको सदरमुकाम सिमकोटका नागरिक जिल्ला बाहिर र जिल्लाभित्र आवतजावत गर्ने सवारी साधन हवाइ जहाज भएपनि निजी एयरलाइन्स सिजन अनुसार पर्यटनलाई लक्षित गरेर चल्ने भएकाले त्यसलाई मध्यनजर गरेर शुक्रबार सिमकोट विमानस्थलका लागि दुई उडान राखेको सिमकोट नेपाल एयरलाइन्स इन्चार्ज छिरिङ लामाले बताए ।
इन्चार्ज लामाका अनुसार हप्ताको तीन दिन आइतबार, सोमबार र मंगलबार उडान सेडुल भएपनि यो हप्ता जहाजमा टेक्निकल समस्या आउँदा उडान भएन । उडान नभएपछि जिल्लामा यात्रुको चाप बढेको गुनासो आएर एक दिनमै नेपालगन्जदेखि सिमकोटको लागि दुई उडान राखिएको हो ।
नेपालगन्जदेखि सिमकोट यात्रा गर्ने नागरिकको संख्या पनि उत्तिकै भिड छ । हवाइ सेवा नियमित उडान नहुँदा यात्रु मात्र नभएर जिल्ला स्वास्थ्य सेवा कार्यलयबाट रिफर गरिएका बिरामी पनि रोकिनु परेको छ । चार दिनदेखि रिफर गरेका अमराज रावलले भने, ‘हवाइ सेवा सुचारु हुँदैन । भएपनि यात्रुको चापले गर्दा टिकट पाइँदैन ।’ चारदिन देखि सिमकोटमै बस्दा उपचार गर्ने पैसा होटलमा तिर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
उनी मात्र नभए यस्ता बिरामी हवाइ सेवा सुचारु नहँुदा यात्रु र बिरामी बढ्दै जाने सम्भावना छ । त्यस्तै विकास निर्माणका सामग्री, दैनिक उपभोग्य बस्तु पनि बजारमा अभाव भएको देखिन्छ । नेपाल एयरलाइन्सले शुक्रबार दुई उडान गर्दा केही राहत हुने देखिएको छ । सिमकोट विमानस्थलका लागि सीता,तारा,र समिट एयरलाइन्सले उडान भर्दै आएका छन् । सिता, तारा काठमाडौं केन्द्रित भएका छन् भने समिट हवाइ एयरलाइन्समा एक हप्तादेखि टेक्निकल समस्या देखिएको छ, अझै बनेको छैन । नेपाल एयरलाइन्सले यात्रुको चाप निजी एयरलाइन्सले उडान नभर्दा अब आउने हप्ताबाट सिमकोट विमानस्थलको लागि चार उडान गर्ने निर्णय गरिने सिमकोट नेपाल एयरलाइन्स स्रोतले जनाएको छ ।
राहुल गुप्ता/मध्यान्ह
बारा : नेपाल विधार्थी संघको ५५औं स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति बाराले विभिन्न कार्यक्रमसँगै प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण गरेको छ । नेविसंघ बाराका पदाधिकारीहरुले प्रादेशिक अस्पताल कलैयामा पुगेर बिरामीहरुलाई फलफूल वितरण गर्नुका साथै अस्पतालले उपचारमा गरेको कामका बारेमा जानकारी पनि लिएका छन् ।
नेपाली कांग्रेस बाराका जिल्ला सचिव एवम् चर्चित युवा नेता राजेश रौनियारको नेतृत्वमा बिरामीहरुलाई फलफूल वितरण गरिएको नेविसंघ बाराले जानकारी दिएको छ । सोक्रममा रौनियारले नेविसंघले धेरैलाई नेता बनाइसकेको भन्दै कसैले पनि नेविसंघलाई भुल्न नहुने धारणा राखे ।
कलैया प्रादेशिक अस्पतालमा बिरामीहरुको मनोबल मजबुत बनाउनका लागि फलफूल वितरण गरिएको उनले बताए । आफूले पनि विद्यार्थीकालदेखि राजनीति गर्दे आएको सम्झना गर्दे उनले अहिले पार्टीमा जुझारु भइ काम गरिरहेको बताए । शिक्षामा विभेद गर्ने जोसुकैलाई कारबाही तथा राम्रो गर्नेलाई सम्मान गर्ने परिस्थिति नभएसम्म विद्यार्थीहरु मारमा पर्ने उनले बताए ।
फलफूल वितरण कार्यक्रममा समाजसेवी, नेपाली काँग्रेसका नेता, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
यस्तै नेविसंघमा आवद्ध जिल्लाभरका विधार्थीहरुले कलैयामा नगर परिक्रमा गरेका थिए । साथै स्थापना दिवसको खुसीयालीमा साँझपख दिपावलीसमेत गर्ने कार्यक्रम रहेको नेविसंघले जानकारी दिएको छ ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
सन्धिखर्क : प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री सुशीला श्रीपाली ठकुरीले पत्रकारहरुको सुरक्षा, रोजगार र जीवन निर्वाहका लागि पत्रकार महासंघको नेतृत्व गम्भीर हुनुपर्ने बेला आएको बताएकी छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको १६औं साधारण सभा तथा आठौं जिल्ला अधिवेशनको सन्धिखर्कमा उद्घाटन गर्दै ठकुरीले जनताको पक्षमा कलम चलाउन निडर र निपष्क्ष भएर लाग्न पत्रकारहरुलाई आग्रह गरिन् ।
राष्ट्र र राष्ट्रियताका पक्षमा नेपाली पत्रकारिता जगत सधैं अग्रपंक्तिमा रहेर काम गरिरहेकाले यसलाई व्यवस्थितरुपमा अगाडि बढाउनुपर्ने समय आएको उनले बताइन् । उनले नेपालमा जनताको आवाज दिने पहिलो सामाजिक संस्था नेपाल पत्रकार महासंघ भएकाले यसले गरिब, दुःखी र असाहयको आवाज बुलन्द पार्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधा नेपालीले पत्रकार महासंघ महिला, दलित, जनजाति र मधेशीको प्रतिनिधित्व गर्ने पहिलो साझा संस्था भएकाले यसको मर्म नै सबै पक्षको साझा संस्थाको रुपमा विकास गनु रहेको बताइन् । नेपालीले पत्रकारलाई सृजनशील र अध्ययनशील बनाउन पनि महासंघले प्रक्रिया चालेको जानकारी दिइन् ।
कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरिले पत्रकार महासंघ श्रमजीवी पत्रकारहरुको साझा संस्था भएकाले पत्रकारको मर्म र भावनासँग महासंघ जोडिएको बताए । उनले नेपालमा पत्रकारिता जगत न्याय र जनताको पक्षमा लाग्ने भएकाले संविधानविपरीत हुने कार्यको महासंघ सधैव विरोधमा लाग्ने जनाए ।
नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक खनालको अध्यक्षतामा भएको साधारण सभामा भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा, सन्धिखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्य, शितगंगा नगरपालिकाकी उपप्रमुख गिता भाट, मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराई, भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य प्रेमनारायण आचार्य, पत्रकार महासंघ अर्घाखाँचीका पूर्वअध्यक्षहरु विष्णु प्रसाद भुसाल, शोभाखर पन्थी, हिम जिसी लेकाली, नेपाल प्रेस युनियनका केन्द्रीय लेखा समिति सदस्य घनश्याम पौडेल, प्रेस चौतारी अर्घाखाँचीका अध्यक्ष वसन्त श्रेष्ठ, प्रगतिशील पत्रकार संघका अध्यक्ष जितेन्द्र खत्री, समाजवादी प्रेस संगठनका अध्यक्ष सागर परियार, नेपाली कांग्रेस अर्घाखाँचीका नेता हेमन्त बेल्वासे, नेकपा एमालेका नेता सरोज भुसाल, माओवादी नेता देव बहादुर रायमाझी, एकीकृत समाजवादीका नेता रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका नेता गोपाल भट्टराई, सिविएका अध्यक्ष कृष्ण बर्मा, पत्रकार हृदय कुमार भुसाललगायतले शुभकामना मन्तव्य राख्दै पत्रकारहरु ले जनतामा विश्वास हुनेखालका समचारहरु बाहिर ल्याउनुपर्नेमा जोड दिएका थिए ।
साधारण सभाले सचिव विनोद गैरे र कोषाध्यक्ष रुद्रमणि भुसालले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । सचिव गैरेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष वीरेन्द्र केसीको स्वागत मन्तव्य रहेको थियो ।
नेपाल पत्रकार महासघ अर्घाखाँची शाखाले जिल्लामा रहेर क्रियाशीलरुपमा पत्रकारिता गर्ने ३ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका सहसचिव हृदय कुमार भुसाल, महासंघ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रमणि भुसाल र सदस्य विष्णु खनाललाई नगद पुरस्कारसहित सम्मान गरिएको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष खनालले जानकारी दिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।
गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ ।
एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुन् ।
भरत प्रधान/मध्यान्ह
लिस्बन : पोर्चुगलमा सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवम् नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए । शव केही दिनअघि भेटिएको भएपनि उनको पहिचान भने बुधबार मात्र खुलेको भट्टराईले बताए ।
बेपत्ता भएका तामाङको करिब दुई सातादेखि सामुद्रिक क्षेत्रमा खोजीकार्य भइरहेको थियो । गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।
परिवारको आग्रहमा दुवै जनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायतका आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली संघ पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष एवम् विपद् व्यवस्थापन उपसमितिकी संयोजक दीपा काफ्लेले जानकारी दिइन् । दुवैको शव नेपाल पठाउन ७ हजार युरो खर्च लाग्ने र सो खर्च व्यवस्थापनका लागि यहाँ स्थित नेपाली संघ–संस्थाको समन्वयमा आर्थिक संकलन शुरु गरिएको काफ्लले बताइन् ।
वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोएसिया आएका टेकबहादुर एक महिनाअघि मात्रै पोर्चुगल आएका थिए भने धनबहादुर फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । नाताले काकाभतिज पर्ने दुवै जना लिस्बन नजिकै पर्ने मोन्तिजोमा सँगै बस्दै आएका थिए । अहिले दुवैको शव लिस्बनस्थित साओ जोसे अस्पतलाको शवगृहमा राखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies