काठमाडौं : विश्व पृथ्वी दिवस सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । ‘प्लानेट भर्सेज प्लाष्टिक’ अर्थात् पृथ्वी र प्लाष्टिक भन्ने नाराका साथ यो दिवस मनाइन लागिएको हो । हरेक वर्ष अप्रिल २२ मा यो दिवस मनाइने गरिन्छ ।
मानव र ग्रहको स्वास्थ्यको लागि प्लास्टिक प्रदूषणको हानि बारे सचेतना जगाउने उद्देश्य राखेको यस वर्षको नाराले जलवायु परिवर्तन र स्वच्छ ऊर्जादेखि प्रजातिहरूको संरक्षण र रूख रोप्नेसम्मका विभिन्न वातावरणीय मुद्दाहरूलाई समेटिएको छ । पछिल्ला वर्षमा बढिरहेको ट्रेकिङ ट्रेलहरूबाट उत्पन्न हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने अभियान चलाइएको छ ।
विश्वस्तरमा उच्च रुपमा बढिरहेको जलवायु परिवर्तनलाई मध्यनजर गर्दै इन्ट्रेपिड ट्राभल नेपालले आफ्नो यात्राका क्रममा ट्रेकिङ लिडरहरूमार्फत आफूले गरेको फोहोर सफाइ गर्ने अभियान चलाएको छ । ‘यस अग्रगामी पहलले लिटर र यात्रु दुबैलाई आफ्नो पदयात्राको एक दिन फोहोर जम्मा गरेर पुरानो पदयात्रा मार्गहरूको पुनर्स्थापना गर्न सक्रिय रूपमा सहभागी हुन प्रोत्साहित गर्दछ’ ट्राभलका महाप्रबन्धक आशिष वर्माले भने ।
वर्माका अनुसार यो सरसफाइ अभियान यसअकिा परम्परागत सरफाइभन्दा फरक छ । यो अभियानमा सगरमाथा नेक्स्टसँगको रणनीतिक साझेदारी गरी यात्रुहरूले स्वच्छाले पूर्व–प्याकेज गरिएको फोहोरले भरिएको ‘केरी मी ब्याग’ नाम्चेदेखि सगरमाथा क्षेत्रको लुक्लासम्म स्वच्छाले पुर्याउने छन् । १६ किलोमिटरभन्दा बढीको पदयात्रा गर्ने यात्रीहरूले त्यस्ता झोलाहरूको उचित व्यवस्थापन गर्नेछन् । पर्यटन क्षेत्रमा भएको यो काम जिम्मेवार पर्यटन र वातावरणीय व्यवस्थापनको प्रतिक भएको वर्माको भनाइ छ ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा पौडेलविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पौडेलले सार्वजनिक सेवाको पदमा रहँदा १ करोड १९ लाख २४ हजार ८ सय ४६ रुपैयाँ आय आर्जन गरेको देखिएको र सोही अवधिमा २४ करोड ९४ लाख ७१ हजार १ सय ७१ रुपैयाँ खर्च गरेको देखिएको अख्तियारले दाबी गरेको छ ।
यसरी जाँचअवधिमा सिर्जित सम्पत्ति एवम् खर्च तथा लगानीहरुमा गरिएको कूल खर्च र सोही अवधिको आयहरुको आय-व्यय प्रवाह विवरणअनुसार २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बराबरको खर्च तथा लगानी (सम्पत्ति)को वैधानिक स्रोत नखुलेको अख्तियारले बताएको छ ।
पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसार कैद र बिगोबमोजिम जरिवानाको सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
साथै पौडेलले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट सहोदर दाजु अनिल पौडेलका नाममा खरिद गरेकाले जफत गर्ने प्रयोजनार्थ उनका दाजु अनिलविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए ।
महेन्द्रनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेण्डामा राखिएको बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा आज सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जोशीको रिहाइका लागि कतारका अमिरले खेल्नसक्ने भूमिकालाई एजेन्डामा राखिएको बताए । “प्रभावित विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले तदारुपतापूर्वक भूमिका निर्वाह गरिरहेको छ”, दाहालले भने, “आजै बिहान मात्रै कुवेतको एउटा टेलिभिजन अन्तर्वार्तामा मैले कतारले जोशीको रिहाइका लागि गर्नसक्ने भूमिकाबारे बोल्दै त्यस पहलका लागि माग समेत गरेको छु ।”
सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान संकायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा प्यालेस्टाइन विद्रोहीको आक्रमणबाट विद्यार्थीहरुले ज्यान गुमाएको उक्त घटनाले निकै दुःखी तुल्याएको उनको भनाइ थियो ।
त्यसैगरी सम्बोधनका क्रममा बोल्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ, व्यवहारिक, जीवन उपयोगी तथा सामाजिक रुपान्तरणका लागि सहयोगी हुनुसक्नुपर्ने बताए ।
“सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा पनि मैले पहिलो चोटी प्रधानमन्त्रीको हैसियतले भूमिका खेल्ने अवसर प्राप्त गरेको थिएँ”, उनले भने, “अहिले सहिद दशरथचन्द राष्ट्रिय स्वाथ्य विज्ञान विश्वविद्यालय निर्माण गर्ने निर्णय गर्न पाउँदा गर्व महसुस भएको छ ।” रासस
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् ।
भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानएको छ । त्यस्तै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।
कतारका अमिर शेख थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । वार्तापछि, दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । कतारका अमिर थानी सोही दिन काठमाडौंबाट स्वदेश प्रस्थान गर्नेछन् । रासस
महेन्द्रनगर : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे ।
“सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान संकायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ”, प्रधानमन्त्री दाहालले भने, “उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”
उनले उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकतापूर्वक निर्वाह गरेको उल्लेख गरे ।
“अझै पनि एकजना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन्,” प्रधानमन्त्री दाहालले भने, “उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ ।”
चौतारा : सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर वनक्षेत्र डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वन डढेलोले सखाप पारेको हो ।
त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र सुनकोसी गाउँपालिकाका जंगल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिए ।
उनका अनुसार मेलम्चीको २६ हेक्टर क्षेत्रफल वन डढेलोले सखाप भएको छ । जिल्ला वन कार्यालयका वन अधिकृत रमेश दुलालका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्यांक प्राप्त हुन सकेको छैन । यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन् ।
वनमा डढेलो लगाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोकमा पहिलोपटक बलेफी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय मिलन लामालाई जलविरे प्रहरीले पक्राउ गरेको छ । सेल्ताप सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले लामालाई रंगे हात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ निरञ्जन भट्टराईले जानकारी दिए ।
कसुर सावित भएमा क्षति भएको बिगो असुल गरी तीन वर्ष कैद वा ६० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था वन ऐन २०७६ मा छ ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट उत्तरतर्फ करिब १० किलोमिटर यात्रा गरेपछि अग्लो पहाडी थुम्कोमा पुगिन्छ । थुम्को भने ढुंगै ढुंगाले भरिएको छ । फलामजस्तै काला ढुंगाको चट्टानले ढाकिएको जाल काँडा लेक 'ढुंगे जंगल' अहिले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने ‘ढुंगे बगैंचा’ अर्थात ‘रक गार्डेन’को रूपमा विकास हुँदै गएको छ । सन्धिखर्क नगरपालिका–११ स्थित जाल काँडा अहिले रक गार्डेन नामले चिनिन थालेको छ ।
पहाडी भूमिमा अनेक आकृतिका काला ढुंगा फलामका मूर्ति बिछाएजस्तै देखिन्छन् । काला फलामे ढुंगाको संरक्षण गर्दै सन्धिखर्क नगरपालिका र वडा नम्बर ११ ले रक गार्डेन बनाएर पर्यटकीय स्थलको रूपमा विकास गर्दै आएको छ । चिसो वातावरण र छिटो-छिटो परिवर्तन हुने मौसमका कारण ढुंगे बगैंचामा जाने मानिसहरू आनन्दित हुने गरेका छन् ।
कलात्मकरूपमा मानिसहरूले आफैं सजाएर र योजनाअनुसार बनाएर राखेको जस्तो देखिने ती चट्टानले जो कोहीको मन प्रफुल्लित बनाउँछ । सयौं रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न र प्रचारप्रसार गर्न सन्धिखर्क नगरपालिकाले गुरुयोजना बनाएर अगाडि बढेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
चट्टानले ढाकिएको डाँडोलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने काम भइरहेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । नगरपालिकाको पूर्ववर्ती राजनीतिक नेतृत्वले रक गार्डेन बनाउने काम अघि बढाएको थियो भने हालको नेतृत्वले त्यसलाई निरन्तरता दिएको उनको तर्क छ ।
प्राकृतिक रूपले आकर्षक, रमणीय स्थल रक गार्डेनमा सदरमुकामबाट पक्की सडक पुगेकाले अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुको वृद्धि भएको नगरप्रमुख श्रेष्ठले बताए । उक्त स्थानलाई स्थानीय सरकारको योजनाअनुसार पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले समेत पूर्वाधार विकासमा सहयोग गर्दै आएको श्रेष्ठको भनाइ छ ।
यस ठाउँको प्रवर्द्धनका लागि तीनै तहका सरकारले चासो दिनुपर्ने स्थानीय नारायण आचर्यले बताए । ‘रक गार्डेनका रूपमा विकास हुँदै गएपछि आन्तरिक र बाह्य पर्यटकहरू आउन थालेका छन्,’ स्थानीय अर्जुन खनाल भन्छन्, ‘काला ढुंगाले भरिएको डाँडो व्यवस्थित गर्न सके पर्यटकको कमी हुँदैन भन्ने प्रष्ट भएको छ ।’
रक गार्डेनबाट उत्तरतर्फ विभिन्न हिमशिखरहरू अवलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ तराईको समथर भूभागसँगै लुम्बिनी प्रदेशका केही जिल्ला देखिन्छ । प्रकृतिको बरदान ढुंगै-ढुंगाको डाँडालाई प्राकृतिकरूपमै सजाएर लाभ लिन सकिने स्थानीय रामसिंह खनालले बताए ।
ढुंगाभित्रै बोटबिरुवा, फूल, देवीदेवता जस्ता आकृति अनुभव गर्न सकिन्छ । प्रकृतिले आफैं निर्माण गरेको यस क्षेत्र साँच्चिकै अचम्मको रहेको छ । गर्मी मौसममा चिसो हावा चल्ने र जाडोमा घाम लाग्ने भएकोले यहाँको वातावरण पर्यटकका लागि वर्षभरि नै अनुकूल मानिन्छ । जिल्लाको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने यो स्थानमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । विभिन्न बिदा तथा धार्मिक पर्व, उत्सवहरूमा पर्यटकहरु रक गार्डेन आउने क्रम बढेको स्थानीयहरुको भनाइ छ ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएको आरोपमा पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको आरोप उनीमाथि छ ।
उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
पौडेल २ कार्यकाल केन्द्रको कार्यकारी निर्देशक र एकपटक राष्ट्रिय सूचना प्रविधिक केन्द्रको कार्यकारी निर्देशक बनेका थिए । पछिल्लोपटक सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक रहेकै बखत अख्तियारले २०८० वैशाख ३ मा सेक्युरिटी प्रिन्टिङको उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो ।
गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उनले बताए ।
“बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ”, उनले भने, “हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बूढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा बेलामा जस्तै बूढीगण्डकीमा पानीको ठूलो वहाबको जोखिम बढाएको छ ।”
उनले नदीमा पानीको वहाब बढेकाले बूढीगण्डकी नदीको आसपासमा खतरा हुनसक्ने अवस्था रहेको बताए । “सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो”, लामाले भने, ‘‘तर अहिले निकै ठूलो हिमपहिरो गएको छ ।”
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए । नदीमा आएको पानीको बहावले सामा गाउँमा एउटा काठे पुलमा क्षति पुर्याएको जानकारी आएको एसपी पाठकले बताए । “प्रहरीको टोली घटनास्थल पुगिसकेको छ, अहिले तत्काल थप क्षति हुने अवस्था देखिएको छैन”, उनले भने ।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताए । वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : आगलागीबाट गत वर्ष १०६ को मृत्यु भएको पाइएको छ । गृहमन्त्रालयको तथ्याङ्कअनुसार २०८० सालको बाह्र महिनामा आगलागीका ४ हजार ६१ वटा घटना भएका थिए । जसमा १०६ को मृत्यु भएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८० सालमा भूकम्प लगायतका अन्य विपदभन्दा बढी आर्थिक क्षति आगलागीका घटनाले गरेको थियो । गत वर्ष आगलागीका कारण दुई अर्ब ५२ करोड ६८ लाख ६३ हजार ५४२ रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्क छ ।
२०८१ साल वैशाखमा पनि आगलागीका घटनाहरु भइरहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख महिनामा आगलागीका घटनाहरु धेरै हुने सम्भावना रहन्छ । यस अनुसार क्षति कम गर्नका लागि आवश्यक पूर्व तयारी गरिएको छ ।
अर्घाखाँची र गुल्मीको आगो नियन्त्रणमा आएन
अर्घाखाँची र गुल्मीका विभिन्न क्षेत्रमा दुई दिनदेखि आगो फैलिरहेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी भएको छ ।
स्थानीय हरि प्रसाद भुसालका अनुसार आगलागीमा मानविय क्षति नभएपनि पशुचौपाया परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आगो चारैतिर फैलिएको छ । क्षतिको यकिन तथ्यांक आउन सकेको छैन । आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।
प्रहरीका अनुसार आगो नियन्त्रण गर्नका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, डिभिजन बन कार्यालयको टोली, राजनीतिक दलका नेता/कार्यकर्ताहरु परिचालित भएका छन् ।
यसैगरी, गुल्मीका विभिन्न स्थानमा दुई दिनदेखि आगलागी हुँदा सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको स्थानीयले बताएका छन् ।
शुक्रबार दिउँसो गुल्मीदरबार गाउँपालिका– ३ र ४ को बीचमा पर्ने जंगलमा आगलागी हुँदा नेपाल विद्युत प्राधिकरणको वीरबास सवस्टेशनको स्टोर जलेर दुई करोडभन्दा बढीको इलेक्ट्रोनिक्स सामग्री नष्ट भएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए ।
शनिबार हावाहुरीसँगै गुल्मी जिल्लाका विभिन्न पालिकाका विभिन्न स्थानमा आगलागीका घटना हुँदा दर्जनौं घर जलेर नष्ट भए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका– २ को रानीवन सामुदायिक वनमा लागेको आगो सिदुङ्खा र हाँडिखोला समेतको गरी १५ वटा घरगोठ जलेका छन् ।
पर्सामा गहुँबाली जलेर नष्ट
पर्सामा आगलागी हुँदा गहुँबाली जलेर नष्ट भएको छ । सिमावर्ती छिपहरमाई गाउँपालिकाको वडा नं.१ भलुवहियामा आगलागी हँुदा किसान मुनिलाल राउत अहउरका २५ कट्ठा, ताराचन साह तेलीको १५ कट्ठा, अर्जुन यादवको १२ कट्ठा, साहेव राउत अहिर, जुगुल यादव, विश्वनाथ यादव लगायत किसानका खेतमा लगाइएको करिब दश विगहा भन्दा बढी क्षेत्रको गहुँबाली जलेर नष्ट भएको हो ।
चार घर पनि जलेर नष्ट भएको छ । आगलागीबाट विरेन्द्र यादव, विसनुदेव हजरा, मुकेश यादवको घर जलेर नष्ट भएको हो । आगलागीबाट करिब दश बिगहा भन्दा बढी खेतमा लगाइएको गहुँबाली समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक मुकेश यादवको टोली पुगेर क्षतिको विवरण संकलन गरेको थियो । प्रहरी निरीक्षक यादवका अनुसार आगलागीमा कुखुरा फर्म, कुखुराको चल्ला २ हजार र दाना समेत जलेको छ । यस्तै, स्थानीय विसुनुदेव हजराको २ लाख, मुकेश हजराको १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies