सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको सदरमुकाम गौरमा रहेको गौर प्रादेशिक अस्पतालमा आयोजिक रक्तदान कार्यक्रममा चिकित्सकहरुले शनिबार रक्तदान गरेका छन् । अस्पतालमा रहेको रक्त सञ्चार केन्द्र सञ्चालन गर्ने उद्देश्यले गौर प्रादेशिक अस्पालका चिकित्सक र सर्वसाधारण गरी १५ जनाले रक्तदान गरेका हुन् ।
अस्पतालका मेडिकल सुपरिडेन्ट डा. मुरारी ठाकुरले रक्तदान गरी कार्यक्रमको शुरुवात गरेका थिए । त्यस्तै इमरजेन्जी फाँटका प्रमुख राजेश कुमार सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले रक्तदान गरेका थिए ।
अस्पतालमा उपचार गराउन आउने बिरामीको विभिन्न किसिमको शल्यक्रिया गर्न रगतको अभाव हुने भएकाले अस्पताल आफैंले रक्त सञ्चार केन्द्रको स्थापना गरेको हो । रगतको आवश्यकता भएका बेला बिरामी तथा उनका आफन्तलाई बाहिर जान नपर्ने र तत्काल रगत उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको अस्पतालका प्रमुख डा. ठाकुरले बताए ।
रगत लिन आउनेले रगत दिएमात्र केन्द्र दीर्घकालीनरुपमा सञ्चालन हुने डा. ठाकुरले बताए । प्रादेशिक अस्पताल व्यवस्थापन समिति मधेश प्रदेश सरकार र स्वास्थय तथा जनसंख्या मन्त्रालयले रक्त सञ्चार केन्द्रलाई आवश्यक उपकरण उपलब्ध गराएको थियो । गत माघ २७ गते केन्द्रको उद्घाटन गरिएको थियो ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : नेपाल दलित मुक्ति मोर्चा बाँफिकोटको सम्मेलन शहीद स्मृत भवन बाँफिकोटमा सम्पन्न भएको छ । सम्मेलनले शेरबहादुर बिकको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा पूर्णबहादुर सुनार, हिरा बिक, सचिवमा वसन्त बिक, सहसचिवमा रनजित परियार, सहसचिवमा दलबहादुर बिक र कोषाध्यक्षमा फुलमाया बिक चयन भएका छन् ।
सम्मेलनमा मोर्चाका केन्द्रीय सदस्यहरु शेरु बिक, अर्का केन्द्रीय सदस्य मन बहादुर बादी, नेकपा माओवादी केन्द्र बाँफिकोटका अध्यक्ष चन्द्रबहादुर केसीलगायत १० वटै वडाका दलित नेताहरुको सहभागिता रहेको थियो ।
बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आज बिहान जलविद्युत आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट फर्कने क्रममा लु २ ख ६११२ नम्बरको टिपर चिमखोलाको घैराबारीस्थित सडकबाट खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु भएका व्यक्ति सवारी साधन र निर्माण उपकरणको मर्मत गर्ने मिस्त्री (कामदार) भएको खुले पनि नाम र ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । टिपर दुर्घटनामा घाइते चालकसहित तीन जनाको चिमखोला स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि हेलिकप्टरमार्फत पठाउने तयारी भइरहेको रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए ।
दुर्घटनामा परेको टिपर तुन्दी पावर कम्पनीको जलविद्युत आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्ट्रक्सनमा निर्माण सामग्री ढुवानी गर्ने रहेको खुले पनि मृतक र घाइतेको पहिचान नखुलेको वडाध्यक्ष पाइजाले बताए । दुर्घटनामा परेका घाइतेको स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी चिमखोला स्वास्थ्य चौकीमा उपचारका लागि पुर्याएका हुन् ।
शिव विक/मध्यान्ह
काठमाडौं : कतारी राजा शेख तमिम बिन हमाद अल थानीले नेपाल भ्रमण गर्दैछन् । परराष्ट्र मन्त्रालयका अनुसार कतारी थानीले यहि वैशाख ११ र १२ गते नेपाल भ्रमण गर्न लागेका हुन् ।
नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुकबाट हुन लागेको यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो । १९ वर्षअघि अर्थात् सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो । त्यसयता समेत ठुलो संख्यामा नेपालीहरु कतार पुगेका छन् । कतारी राजाको भ्रमणका अवसरमा नयाँ श्रम सम्झौता गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणका क्रममा कतारी राजा शेख तमिमको राष्ट्रपति रामचन्द्र पौडेल लगायत अन्य उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसअघि गत कात्तिकमा हुने भनिएको कतारी राजाको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो । कतारी राजा शेख तमिमले सन् २०१३ देखि कतारको शासनसत्ता सम्हाल्दै आएका छन् ।
कतारी राजाको शेख तमिमका उच्चस्तरीय भ्रमणले नेपाल र कतार सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास लिइएको छ । भ्रमणका क्रममा ब्यापार, लगानी र संस्कृति आदनप्रदान गर्ने लगायतका विषयहरुमा समेत छलफल हुनेछ ।
नेपालको कृषिमा, भौत्तिक पूर्वाधार र मानव विकासमा कतारको लगानी भित्र्याउनका लागि कुराकानी हुन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशका जनताका बीचमा सम्बन्ध स्थापित गर्ने र यसमार्फत् अगाडि बढ्ने कतारको समेत चाहना रहेको बताइन्छ । यसका लागि आवश्यक सम्झौताहरु हुन सक्ने पनि बताइएको छ ।
तर कतारबाट हुन लागेको उच्च स्तरको भ्रमणबारे आवश्यक तयारी सरकारले गरेको देखिदैन । जबकी कतारी राजा नेपाल आउने समय अब केही दिन मात्रै बाँकी छ ।
छबि सापकोटा/मध्यान्ह
काठमाडौं : बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ । ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
थुनछेक बहसपछि न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष गुरुङलाई थुनामा पठाउने आदेश दिएका हुन् । उप्रेतीको इजलासले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई ४ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । धरौटी नबुझाउपछि पुन नि थुनामा पुगेका छन् ।
त्यस्तै, सहकारीको भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई १८ लाख, नवीन अछामीलाई १० लाख, नीता थापालाई २ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार र रोशनी गुरुङसँग २ लाख रुपैंयाँ धरौटी माग गरेको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित भएको थिए । उपस्थित नभएका प्रतिवादीहरुका नाममा भने म्याद जारी गरिएको छ ।
यस्तै, कास्की कारागार पोखरामा रहेका कुमार रम्तेल र भविश्वर अर्यालको समेत बयान दिइएको छ । १ हजार ८ सय ३१ जनाले बचत गरेको रकम नपाएपछि सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । सुप्रिम सहकारीले करिब एक अर्ब रुपैयाँ अपचलन भएको देखिएको छ । संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्र बहादुर (जिबी) राई भने सम्पर्कबिहीन छन ।
नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार : सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार भएको भन्दै अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पौडेललाई दोषी ठहर गरेको हो ।
दोषी ठहर भएका पौडललाई सजाय निर्धारणको लागि वैशाख २५ गतेका लागि पेसी तोकिएको छ । पौडेलको सम्पत्ति अस्वाभाविक देखिएपछि अख्तियारले गत माघ १० गते हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । अख्तियारले नेसनल पेमेन्ट गेटवेको खरिदमा भ्रष्टाचार गरेको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
नेसनल पेमेन्ट गेटवे खरिद भ्रष्टाचार प्रकरणमा सचिव मधुकुमार मरासिनीले सफाइ पाएका छन् । अदालतले मरासिनीसहित ८ जनालाई सफाइ दिएको छ । अदालतले सञ्जय शर्मा, प्रणिता उपाध्यय, रमेश पोखरेल, रामबहादुर बुढा, निमबहादुर वली, रामशरण गायक र सफल श्रेष्ठ सफाइ दिएको छ ।
नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले गत असोज १५ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
काठमाडौं : उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं. ६ का अम्बरबहादुर भुजेलले उपचारका लागि सहयोगको याचना गरेका छन् ।
३९ वर्षीय भुजेलको कलेजोले पूर्णरुपमा काम गर्न छाडेको छ भने मिर्गौलामा समेत असर परेको छ । जसका कारण उनको पेटमा पानी जमेको छ । उनको पेटको पानी महिनामा ५ पटक निकाल्नुपर्ने बाध्यता रहेको छ ।
हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिठान, धरानलगायतका अस्पतालमा उनको उपचार भइरहेको छ । डाक्टरहरुले उनको उपचारका ठूलो धनराशी खर्च हुने बताएका छन् । तर आर्थिक अवस्था कमजोर रहेका भुजेलले उपचार गराउन सकिरहेका छैनन् ।
उनले आफुलाई उपचारका लागि सहयोग गरिदिन सम्पूर्णमा आग्रह समेत गरेका छन् । उनले भने, ‘मलाई लामो समय बाँच्ने इच्छा छ । त्यसैले कृपया मेरो पीडालाई मनन गर्दै आर्थिक, भौतिक तथा नैतिक सहयोग गरिदिनुहुन सबैमा विनम्र अनुरोध गर्दछु । तपाईंहरूको सानो सहयोग मेरो अमूल्य शरीरका लागि जीवनदान हुनेछ ।’
उनलाई सहयोग गर्न चाहने महानुभावहरुले लक्ष्मी सनराइज बैंकको खाता नं.०४४१४३९४२६२०५००१ (सन्तोषकुमार भुजेल, दाई) मा रकम जम्मा गर्न वा मोबाइल नं. ९८०५९६३५४३ मा सम्पर्क गर्न सकिनेछ ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : सालझण्डी सन्धिखर्क ढोरपाटन सडक खण्डको अनुगमन गरिएको छ । सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाको आयोजनामा पाणिनी गाउँपालिकाको मैदानदेखि पाल्पाको ढुंगेखोलासम्मको निर्माणधिन २२ किलोमिटर सडकको प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको नेतृत्वमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा निर्माण कम्पनीले सडक निर्माण गर्दा प्रयोग गरिने सामानका गुणस्तर, निमार्णको गति, सडक निर्माणले स्थानीयमा परेको समस्या लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी खत्री, कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका प्रमुख कोष नियन्त्रक छबिन्द्र बेल्बासे, सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजना प्रमुख अञ्जु परियार, मैदानका वडा अध्यक्ष इन्द्रमणि घिमिरे, ढोरपाटन सडक योजनाका लेखा अधिकृत योगेश पन्थी, समाजसेवी यादव घिमिरे लगायतको उपस्थितिमा स्थलगत अनुगमन गरिएको सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजना प्रमुख अन्जु परियारले जानकारी दिइन् ।
सडक निमार्णबाट प्रभावित स्थानीयबासीहरुले प्रमुख जिल्ला अधिकारी खत्रीसहित अनुगमनमा पुगेको टिमलाई बढी क्षति हुने घरलाई मुआब्जा र बस्ति बचाउन वाल उठाइदिन आग्रह समेत गरेको स्थानीय समाजसेवी यादव घिमिरे बताए ।
पाल्पाको ढुंग्रे खोलादेखि अर्घाखाँचीको मैदानसम्मको कालोपत्रे गर्ने काम थुदुङ्ग पिके जेवी निर्माण कम्पनीले २०८२ पुस मसन्तासम्म सम्पन्न गनुपर्ने सम्भौता भएको र सोही अनुसार काम अगाडि बढेको निर्माण व्यवसायी सागर भुसालले बताए ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खत्रीले सम्भौता भएको मितिभित्रै सडक निर्माण गर्दा गुणस्तरलाई ख्याल गरी निधारित मितिभित्रै कालोपत्रे गरेर सक्न निर्माण व्यवसायीलाई निर्देशन दिँदै गुणस्तरीय काम नभएको भए कारबाही गर्ने समेत चेतावनी दिएका थिए ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : सडक डिभिजन कार्यालय शिवपुर कपिलवस्तुले सडकहरुको नियमित मर्मत सम्भार एवं सडक दुर्घटना न्यूनीकरणका लागि तालिम प्रदान गरेको छ ।
डिभिजन प्रमुख विवशबाबु सदादेवले लेन्थवर्कर तथा सुपरभाइजरहरुलाई तालिम दिइएको बताए । सडकहरुमा काम गर्दा बेलाबेला देखिने पटहोल लगायतका विभिन्न खाल्डाखुल्डीहरु नियमित मर्मत सम्भार गर्न, लेन्थवर्कर सुपरभाइजरहरुलाई उत्प्रेरणा जगाउन यस्ता तालिम कार्यक्रम गरिएको सडक डिभिजन प्रमुख सदादेवले बताए ।
संघीय सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख विसुनदास लामाले कपिलवस्तु अर्घाखाँची सडक अन्तर्गतका मर्मत सम्भार एवं सडक दुर्घटना न्यूनीकरण अन्त्य गर्नका लागि लेन्थवर्कर सुपरभाईजरहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
सडक डिभिजन कपिलवस्तु शिवपुरका डिभिजन इन्जिनियर विवशबाबु सदादेवले तालिमको सहजीकरण गर्दै सडकको नियमित मर्मत सम्भारमा कुनै विषयमा कन्जुस्याईं नगरी अग्रपंक्तिमा काममा तैनाथ हुन सम्पूर्ण लेन्थवर्कर सुपरभाइजरहरुलाई अभिप्रेरित गरे ।
कार्यक्रममा लेन्थवर्कर सुपरभाइजरको तर्फबाट कृष्ण केसी लगायतले सडक मर्मत सम्भारमा खटिने जनशक्तिलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए ।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका –९ राजाबास बस्ने २४ वर्षीय बबि दनुवार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।
मदनभण्डारी लोकमार्ग सडक अन्तर्गत त्रियुगा नगरपालिका–९ राजाबासमा शुक्रबार बिहान गाडीले ठक्कर दिँदा घाइते उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको चापागाईंले बताए । ठक्कर दिने गाडीको खोजी कार्य र दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : निजामती कर्मचारी संगठन अर्घाखाँचीले आफ्नो स्थापना दिवसको अवसरमा विधालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर २, शङ्खेटारीमा रहेको भगवती माध्यमिक विद्यालय कुर शंखेटारीमा संगठनले अक्षयकोषको रकमको व्याजबाट कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारीले बताए । संगठनको ३३ औं स्थापना दिवसको अवसरमा गतवर्ष स्थापना गरेको ५० हजार एक सय एक रुपैयाँ अक्षयकोषको व्याजबाट कक्षा १२ मा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार छात्राहरु आकृति भुसाल र वर्षा रायमाझीलाई क्रमश ः तीन हजार र दुई हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष झण्डारीले बताए ।
कार्यक्रममा मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालले विद्यालय जस्तो पवित्र संस्थामा अक्षयकोष स्थापना गरी रचनात्मक काम गरेकोमा संगठनलाई धन्यवाद दिँदै कोषको व्याजले विद्यायलयमा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक वृद्धि विकासमा टेवा पुग्ने बताए ।
निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज दिलिप केसीले आगामी दिनहरुमा पनि संगठनले यस्तै खाले रचनात्मक जनमुखी शैक्षिक गतिविधिहरु नियमित रुपमा अगाडि बढाइ संगठनलाई चलाएमान बनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धुव्र केसी, पत्रकार महासंघ प्रदेश सदस्य प्रेमनारायण आचार्यलगायतले मन्तव्य राख्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
संगठनका जिल्ला अध्यक्ष भण्डारीको अध्यक्षता र सचिव पशुपति खनालको सञ्चालन गरेको कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष तुलसा श्रेष्ठ, कोषाध्यक्ष विशाल महत, केन्द्रीय सदस्य सदस्य लालमणी खनाल, पत्रकार श्याम घिमिरे, अनिल नेपाली लगायत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा कक्षा १२ मा अध्ययनरत द्यिार्थीहरुलाई कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले उज्वल भविष्यको कामनासहित बिदाइ कार्यक्रम समेत सम्पन्न गरेको शिक्षक शोभाखर पन्थीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies