इसत्याक अहमद/मध्यान्ह
रौतहट : रौतहटको सदरमुकाम गौरमा ७४औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित ११औं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा चञ्चला कुमारी कुश्वाहा प्रथम भएकी छन् । फाइनल दौडमा सहभागी भएका २० जना प्रतियोगीमध्ये गौर नगरपालिका–५ निवासी चञ्चला प्रथम भएकी हुन् ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेको प्रतियोगितामा राजदेवी नगरपालिका–७ निवासी रानीकुमारी यादव दोस्रो तथा गौर नगरपालिका–४ निवासी बबिता कुमारीले तेस्रो स्थान हासिल गरेकी छिन् ।
राजदेवी मिडिया सेन्टर रौतहटद्वारा आयोजित महिला साइकल दौड प्रतियोगिताका प्रथम विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो स्थान प्राप्त गरेकालाई २० हजार नगद पुरस्कार दिइएको छ । १४० जनामा छनोट भएर फाइनलमा सहभागी भएका २० जनालाई पुरस्कार स्वरुप एक–एक थान साइकल दिइएको आयोजकले जनाएको छ ।
काठमाडौं : नेपालले भारतको रणजी ट्रफी खेल्ने गुजरात र बरोडासँग टी–२० फ्रेन्डसिप कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा हुने टी–२० फ्रेन्डसिप कपको खेल तालिका सार्वजनिक गरेको हो ।
नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय सिरिज हुने छ ।
मार्च ३१ मा गुजरातविरुद्ध खेल्दै नेपालले टी–२० सिरिजको शुरुवात गर्नेछ । डबल राउण्ड रोबिनका आधारमा शीर्ष दुई टिमले अप्रिल ७ मा फाइनल खेल्नेछन् । खेल तालिका अनुसार १ अप्रिलमा गुजरात र बरोडा, २ अप्रिलमा नेपाल र बरोडा, ३ अप्रिलमा नेपाल र गुजरात, ४ अप्रिलमा बरोडा र गुजरात, ५ अप्रिलमा नेपाल र बरोडा खेल्ने छन् ।
क्यानले नेपालको सिनियर टोलीसँगै स्टेट लेभल रणजी खेल्ने गुजरात र बरोडाको पहिलो रोजाईको टोली हुने बताएको छ । रणजी ट्रफी भारतको प्रिमियर घरेलु पहिलो क्लासको क्रिकेट प्रतियोगिता हो । जुन प्रतियोगिता भारतीय क्रिकेट बोर्डले हरेक वर्ष आयोजना गर्ने गर्छ । जसमा क्षेत्रीय र राज्य स्तरका क्रिकेट टिम सहभागी हुने गर्छन् ।
निस्ता कार्की/मध्यान्ह
कालीकोट : कालीकोटको पलाँता गाँउपालिका वडा नं. ९ निवासी फुटबलका पुराना खेलाडी धिरेन बम अहिले भावी पुस्तालाई फुटबल खेलाडी बनाउन लागिपरेका छन् । २०६० सालमा १५ वर्षको उमेरमा कैलालीमा हुने वीरेन्द्र कप फुटबल खेलेका उनले अहिले फुटबल एकेडेमी र फुटसल सञ्चालनमा ल्याएका छन् ।
आफ्ना दाइ युद्ध शाहीसँगको सहकार्यमा बमले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ४ मा फुटबल एकेडेमी र फुटसल सञ्चालनमा ल्याएका हुन् । उनी भन्छन्, ‘विगतमा मैले फुटबल खेलें, अहिले भावी पुस्तालाई खेलाउँछु भनेर दाइसँगको सहकार्यमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएको हुँ ।’
उनले कर्णाली प्रदेशमै फुटबलप्रति आकर्षण बढाउने र खेलाडी उत्पादन गर्ने उद्देश्यले फुटबल एकेडेमी सञ्चालन ल्याएको बताए । उनले भने, ‘हरेक नागरिकलाई स्वस्थ राख्न र बालबालिकाहरुलाई कुलतबाट जोगाउनका लागि खेलप्रति आकर्षण गारउने मुख्य उद्देश्य हो । मेरो दाइ युद्ध शाही त्रिभुवन आर्मी क्लवबाट विगत १७ वर्षदेखि फुटबल खेलिरहेको खेलाडी हो । त्यसैले यो एकेडेमी सञ्चालनमा उहाँले सहयोग गर्नुभयो ।’
सानैदेखि फुटबलप्रति रुची राख्ने बम आफ्नो जन्मभूमि कालीकोटमा त्यतिबेला भलिबलमात्र खेल हुने सम्झन्छन् । तर आफू सानैदेखि कैलालीको टिकापुर बस्ने भएकाले फुटबल खेल्न अवसर मिलेको उनी बताउँछन् । त्यतिबेला गाउँमा ‘काम नपाएर खेल खेल्छन्’ भन्ने भाष्य रहेको उनी बताउँछन् । तर आफू टिकापुर बस्ने भएकाले फुटबल खेल्न परिवारबाट कहिल्यै अवरोध नभएको उनी बताउँछन् । तर पनि आमाले राम्रो पढेर सरकारी जागिर खाए हुनेथियो भनेर आफूसँग गुनासो गर्ने गरेको उनी सम्झन्छन् । उनका दाइ दिपक बम पनि फुटबलका राम्रा खेलाडी थिए । दाइले विभिन्न प्रतियोगितामा मेडल ल्याएको देख्दा आफूलाई पनि फुटबलमा केही गरेर देखाउने सोच आएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘२०६० सालबाट २०६६ सालसम्म टिकापुरमै रहेर लगातार मैले फुटबल खेलें । त्यसपछि ११ र १२ काठमाडौंमा पढें । फाट्टफुट्टरुपमा मैले खेल खेलिरहें । २०६८ सालमा म कालीकोट फर्किएँ । मैले कालीकोट आउँदा जिल्लामा फुटबल खेललाई स्थापित गर्नुपर्छ भन्ने सोच बनाएँ ।’
कालीकोटमा फुटबल खेलको प्रतियोगिता थालनी गर्ने खेलाडी बमले अगाडि भने, ‘२०६८ सालबाट कालीकोटको विकट क्षेत्र पलाँताको थिर्पुमा बसेर घाटा चौरमा फुटबल ग्राउण्ड आफैं निर्माण गरी खेल खेल्ने र खेलाउन थालें । त्यसपछि जिल्लामै पहिलो २०७१ सालमा घाटा चौरमा दशैं र तिहारको उपलक्ष्यमा जिल्लास्तरीय खुला फुटबल प्रतियोगिता आयोजना गरें ।’
गाँउमा खेल खेल्ने मान्छेलाई राम्रो नमान्ने समाजमा आफूले ठूलो प्रतियोगिता आयोजना गरेको उनले बताए । त्यस प्रतियोगितालाई धेरैले सहयोग गर्न पनि नरुचाएको उनले बताए । तर पनि शानदाररुपमा उक्त प्रतियोगिता सम्पन्न भएको उनी बताउँछन् । जसले आफ्नो फुटबल जीवनमा थप उत्साह जगाएको उनले बताए । उनी भन्छन्, ‘२०७१ र २०७२ सालमा घाटा चौरमै खुला फुटबल प्रतियोगिता सम्पन्न भयो । त्यसबाट मैले जिल्लाबाट उत्कृष्ट खेलाडीका रुपमा क्षेत्रीय स्तरका प्रतियोगितामा भाग लिने अवसर पाएँ । खेल खेल्दै गर्दा मैले बेलायती र भारतीय सेनाका लागि पनि प्रयास नगरेको होइन । तर सफल हुन सकिनँ । त्यसपछि मैले फुटबलमै लाग्ने योजना बनाएँ ।’
उनले अगाडि भने, ‘२०७१ सालदेखि २०८० सालको असोजसम्म निरन्तर फुटबल खेलें । राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा प्रदेशबाट पनि खेलें । फुटबलसँगै एथलेटिक्स, ट्रायाथलन खेलमा पनि भाग लिएँ । तर मेरो स्वास्थ्यको समस्याका कारण खेल जीवनलाई पनि निरन्तरता दिन नसक्ने अवस्था आएपछि २०८० साल असोजमा जिल्लामा आयोजना भएको प्रेम स्मृति गोल्डकप खेलेर सन्यास लिएँ । मैले २०६० सालदेखि २०८० सम्म २० वर्ष फुटबल खेलमै समय बिताएँ । अहिले अन्य क्षेत्रमा लाग्न मन पनि भएन ।’
उनले सुर्खेतमा अहिले फुटसलसँगै भारतीय र बेलायती आर्मी भर्तिका लागि युवाहरुलाई तालिम दिने काम पनि गरिरहेका छन् । उनले भने, ‘म आफू भर्ति हुन सकिनँ । तर अरु युवाहरुलाई भर्ति हुन सहयोग पुगोस् भनेर कर्णाली वारियर्स नामक तालिम केन्द्र दर्ता गरी सञ्चालनमा ल्याएको छु । हालसम्म कर्णाली वारियर्सबाट ५८ जना भारतीय सेना र एक सय जनाभन्दा बढी नेपाली सेनामा भर्ति भएका छन् ।’
काठमाडौं : नेपाल ए ३ एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । आइतबार मुलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ए क्यानडा ११ सँग ४ विकटेले पराजित भएको हो ।
नेपाल ए ले दिएको २१७ रनको लक्ष्य क्यानडा ११ ले ३ बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टाएको हो । क्यानडाका लागि नभनित ढालीवालले सर्वाधिक ८० रनको योगदान गरे । उनले ७६ बलमा १० चौका र दुई छक्काको मद्दतले ८० रन बनाएका हुन् । त्यस्तै निखिल दत्त ६७ र श्रीयस मोभ्वा २२ रनमा अविजित रहे । त्यस्तै साद जाफरले २३ रनको योगदान गरे ।
नेपालका लागि साहब आलमले सर्वाधिक दुई विकेट लिँदा प्रतिश जीसी, रशिद खान, सागर ढकाल र बसिर अहम्मदले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २१६ रन बनाएको थियो । नेपालका लागि बसिर अहमदले अर्धशतकीय इनिङ खेले । उनी ५० रनमा अविजित रहे । यस्तै राशिद खानले ४० रनको योगदान दिए । क्यानडाका लागि साड जाफरले ३, इश्वरजोत सोहीले २ तथा दिलियोन हेगर, हर्ष थाकर र शाहिद अज्मदाईले १-१ विकेट लिए । नेपाल ए ले क्यानडा ११ सँग दोस्रो खेल मंगलबार खेल्नेछ ।
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि शानदार जित निकालेको छ ।
शनिबार नेदरल्याण्ड्सले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७ र आसिफ सेखले ५४ रन बनाउँदा कुशल भुर्तेलले २८ रनको योगदान गरे ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा आलआउट हुँदै १ सय ३७ रन बनाएको थियो ।
काठमाडौं : एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । जितका लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । यस हारसँगै तेस्रो पटक एसिया कप खेल्ने नेपालको सपना अधुरै भएको छ ।
मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ६९ रनको योगदान दिइन् । उनले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताएकी हुन् । त्यस्तै मास एलिसाले १३ रन जोडदा महिराह इजाती १६ र वान जुलिया ११ रनमा आउट भइन् ।
नेपालका लागि सीता रानामगर र कविता जोशीले समान दुई/दुई विकेट लिए भने रुविना क्षेत्री र कविता कुँवरले समान एक/एक विकेट लिए ।
त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो ।
नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन् । डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रन बनाइन् । सीता रानामगरलाई ६ रनमा आउट भएकी थिइन् । कविता कुवरले ३१ बलमा २ चौकासहित २३ रन बनाइन् भने रुविना क्षेत्रीले १८ बलमा २ चौकासहित २० रन जोडीन् ।
मलेसियाकी महिराह इजाती इस्मालील २ विकेट लिइन् भने विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् ।
शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुगेको छ । यो जितसँगै मलेसिया र युएई एसिया कपमा छनोट भएका छन् ।
काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाको उद्घाटन खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा जितसँगै नामिबियाले दुई अंक जोडेको छ । जितका लागि नेपालले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव एक ओभरमा छ विकेट गुमाउदै पूरा गर्यो ।
नामिबियाको जितमा जान फ्रिलिङ्कले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे । त्यसैगरी जान निकोल लोफिट इटनले ३१ रन बनाए भने मिचेल भान लिङगेनले २३ रन बनाए । त्यस्तै निकोलास डाभिनले १५ रन जाडे । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन र ललित राजबंशीले दुई विकेट लिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले एक विकेट झारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४१ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय ३२ रनमा समेटिएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बल खेल्ने क्रममा दुई चौका र एक छक्का पनि प्रहार गरे । त्यस्तै गुल्शन झाले २१ रन बनाए । उनले ३१ बल खेल्दै तीन चौका प्रहार गरे र ३८ बल खेलेका करण केसीले तीन चौकाको सहयोगमा १६ रन बनाए ।
कप्तान रोहितकुमार पौडेल १३ बल खेल्दै एक रन मात्रै बनाउन सके भने कुशल मल्लले २२ बलमा एक चौका र एक छक्काको सहउोगमा १५ रन बनाए । सोमपाल कामी दुई रनमा आउट हुँदा कुशल भुर्तेलले खाता खोल्न सकेनन् । त्यसैगरी पवन शर्राफले १२, अनिल शाहले आठ तथा आशिफ शेखले चार रन बनाए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका जजेरार्ड एरास्मस पाँच विकेट चट्काए । त्यस्तै ज्याक ब्रासेल र रुबेन ट्रम्पलम्यानले समान दुई-दुई विकेट लिए । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्लामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही फागुन १५ देखि १९ गतेसम्म सञ्चालन हुने भएको हो । जुम्लामा खेलमैदान नहुँदा सेनाको मैदान मागेर फुटबल खेलाउनु पर्ने बाध्यता रहिआएको छ । जुम्लामा प्रदेशस्तरीय फुटबल प्रतियोगिता पहिलो पटक हुने भएको हो ।
त्यस्तै यसपटक जुम्लाले प्रदेशस्तरीय फुटबल प्रतियोगिता गर्ने अवसर मिलेको जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरतबहादुर बुढ्थापाले बताए । उनका अनुसार प्रतियोगितामा कर्णाली प्रदेशका दश वटै जिल्लाबाट एक–एक वटा फुटबल टिम आउने छन् ।एक टिममा दुई जना अफिसियलसहित १५ जना सहभागी हुने छन् । कर्णालीको १० जिल्लाबाट झण्डै एक सय ५० जना फुटबल खेलाडी भेला हुने जिल्ला फुटबल संघले जनाएको छ ।
अध्यक्ष भरत बुढ्थापाका अनुसार यही फागुन २० देखि २६ गतेसम्म रेफ्रि तालिम पनि जुम्लामा हुँदैछ । जुम्लाका हरेक पालिकाबाट दुई जना सहभागी गराउन भनिएको छ । पहिलो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएपछि जुम्लाका खेलाडीहरु उत्साहित भएका छन् । पहिले झुम्राको बल बनाएर धान रोप्ने खेतमा फुटबल खेलिरहेका खेलाडीहरु अहिले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने भएकोमा खुसी छन् । यसअघि यहाँका खेलाडी फुटबल खेल्नका लागि बाहिर जिल्ला जान्थे ।
त्यस्तै प्रदेशस्तरीय फुटबल प्रतियोगितामा छनोट भएका खेलाडीहरु सिधै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन पाउने जिल्ला फुटबल संघ जुम्लाका महासचिव दिपेन्द्र हमालले बताए । उनले पहिलो पटक जुम्लाले राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदा जनशक्ति तयार पार्ने अवसर पाएको बताए । जुम्लाका लागि यो सुनौलो अवसर रहेको बताउँदै उनले यस अवसरको सबै मिलेर सहीरुपमा सदुपयोग गर्नुपर्ने बताए । प्रतियोगिताले जुम्लामा फुटबल खेलमा विवादै विवाद भइरहेको भन्ने गलत सन्देशको पर्दाफास गरेर फुटबलमैत्री जुम्लाको पहिचान बनाउने उनले बताए ।
कर्णाली खेलकुद विकास परिषदको आर्थिक सहयोग, कर्णाली प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । खेलाडीहरुको टिम चिन्ने र खेलाडीहरुको प्रतिभा हेर्ने अवसर नछुटाउन खेलप्रेमीहरुलाई आह्वानसमेत गरिएको छ । जिल्ला फुटबल संघले प्रदेशस्तरीय फुटबल प्रतियोगिता सफल बनाउने बारेमा स्थानीय सरकारका प्रमुखहरुसँग छलफल गरेको छ ।
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली सिनियर पुरुष राष्ट्रिय क्रिकेट टोलीको ‘ए’ टिम घोषणा गरेको छ । क्यानले बुधबार विनोद भण्डारीको कप्तानीमा १६ खेलाडी समावेश गरेर 'ए' टिम घोषणा गरेको हो ।
गत महिना भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता र हालै भएको यु-१९ विश्वकपमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाडीहरुलाई 'ए' टिममा समावेश गरेको हो ।
'ए' टिममा राष्ट्रिय टिमबाट खेलिसकेका भण्डारीसहित विवेक यादव, सन्दीप जोरा, प्रतिश जिसी लगायत छन् । 'ए' टिमले क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।
क्यानले 'ए' टिमका लागि लागि दुई प्रशिक्षक तोकेको छ । जसमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : मलेसियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाले आयोजना गरेको 'प्रथम मोना कप खुला भलिबल प्रतियोगिता'को उपाधि नवलपुरले हात पारेको छ । आयोजक मोनालाई हराउँदै नवलपुरले उपाधि चुम्दा गुल्मीले भने तृतीय स्थानमा चित्त बुझायो ।
चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगिताका विजेताले ३ हजार एक सय ११, उपविजेताले २ हजार १ सय ११ र तृतीय हुनेले १ हजार १ सय ११ आरएमसहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । मलेसियाको सेलाङ्गर राज्यको साह अलम सेक्सन २७ मा सम्पन्न प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो । मोना मलेसियाका अध्यक्ष पूर्ण प्रसाद रोका मगरले मध्यान्हलाई दिएको जानकारी अनुसार घैंटो फोर खेलको उपाधि भने हेन्सम कार्कीले जिते । उनले आरएम २ सय ५० सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
मलेसियामा हुने भलिबलका अन्य प्रतियोगितामा भन्दा यस प्रतियोगितामा निकै उत्साहजनक सहभागिता रहेको थियो । परदेशमा मेलमिलाप र सहयोगी बन्न सक्नुपर्छ भन्ने सन्देशका साथै म्याग्दीलाई चिनाउने र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने हेतुले भलिबल प्रतियोगिता आयोजना गरिएको मोना मलेसियाका संस्थापक अध्यक्ष रामचन्द्र केसीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies