काठमाडौं : आकास चन्दको उत्कृष्ट बलिङमा यु-१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १४५ रनमा अलआउट गरेको छ । शुक्रबार भएको खेलमा आकासले ५ विकेट लिँदा अफगानिस्तान ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रनमा समेटिएपछि नेपालले १४६ रनको लक्ष्य पाएको छ ।
अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।
नासिर खान ८३ बलमा ३ चौकासहित ३१ रनमा दीपेश कँडेलको बलमा कट एन्ड बोल्ड आउट भए । फरिदुनले ६५ बलमा ४ चौकासहित २९ रनमा आउट भए ।
नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए ।
गुलशन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए । सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।
काठमाडौं : दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बुधबार दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा पाकिस्तासँग पराजित भएसँगै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।
जितका लागि १९८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा आजन आविस ८२ बलमा ६ चौकासहित ६३ रनमा नट आउट रहे ।
पाकिस्तानका ओपनरद्वय शमयल हुसेन र शाहजइब खानले समान ३७–३७ रन जोड्ने क्रममा ८० रनको ओपनिङ साझेदारी गरे । अराफत मिनहस भने आठ रन बनाउँदै पेभेलियन फर्किए । कप्तान साद बेग भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए । अहमद हसनल २९ रन जोडे । नेपालका आकाश चन्दले २ विकेट लिँदा सुवास भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ५० ओभरमा १९७ रनमा अल आउट भएको थियो । नेपालका विपिनले ६८ बलमा ४ र्चौका र १ छक्कासहित सर्वाधिक ३९ रन जोडे । नेपालले शीर्षक्रमका दुई ब्याटर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमै गुमाएको थियो । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रन बनाउन सके । उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे १ छक्कासहित २६ रनमा आउट भएका थिए ।
आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे । सुवास भण्डारीले २४ बलमा २० रन बनाए । नेपालले २६ रन एक्स्ट्रा पाएको थियो । गुलशन झाले ४७ बलमा १८ रन बनाए । देव, गुलशन र अर्जुन प्रमुख ब्याटर चल्न नसकेपछि बलियो योगफलमा पुग्न सकेको थिएन ।
पाकिस्तानका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । उनले पाकिस्तानको सिनियर टोलीबाट समेत खेलेका छन् । अहमद हसन र उबेद साहले २–२ विकेट लिए ।
पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको नेपाल अर्को चरणमा पुग्नका लागि अब अफगानिस्तानसँगको नतिजा कुर्नु पर्ने छ । यो समूहबाट न्युजिल्याण्ड र पाकिस्तानले भने अर्को चरणको यात्रा तय गरेका छन् ।
धरान : सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई ३-अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा रहेका छन् । डिफेन्डिङ च्याम्पियन शुक्रले धरानका अर्का गल्फर नीरज तामाङलाई १८ होलको समाप्तीमा १ स्ट्रोकले पछि पारे । २-अन्डर ६८ सहित नीरज तामाङ दोस्रो स्थानमा छन् ।
एमेच्योरद्वय युवराज भुजेल र पदम हाङ संयुक्तरुपमा तेस्रो स्थानमा रहे । उनीहरूले १-अन्डर ६९ स्कोर गरे । पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी इभन-पार ७० सहित पाँचौ स्थानमा र १-ओभर ७१ स्कोरमा रामे मगर छैटौं स्थानमा रहेका छन् । स्थानीय प्रो सबिन सापकोटा र देवराज पाख्रीनले २-ओभर ७२ सहित संयुक्तरुपमा सातौं स्थान बाँडे । भेट्रान गल्फर दीपक मगर ३-ओभर ७३ सहित नवौं स्थानमा रहदा धन बहादुर थापा र एमेच्योर गजेन्द्र गुरूङ संयुक्तरुपमा दशौं स्थानमा रहेका छन् । उनीहरूले ४-ओभर ७४ मा पहिलो दिनको खेल सकाए ।
भारतीय गल्फ टुरमा २०२४ सिजनको लागि कार्ड जोगाएर फर्किएका शुक्रले आज घरेलु कोर्स धरान गल्फ क्लबमा राम्रो शुरुवात गरे । ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे तर लगतै चौथो होलमा डबल बोगीको सामना गरे । यसपछि पाँचौ देखि सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । ब्याक नाइनमा उनले लय गुमाए । १३औं होलमा दिनको दोस्रो डबल बोगी खेपेका शुक्रले १२औं र १६औं होलमा एक-एक सट बचाए । तर १७औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे ।
धरानका अर्का प्रो नीरज तामाङले पहिलो दिन दोस्रो स्थानमा खेल सकाउने क्रममा उत्कृष्ट सुरूवात गरे । तेस्रो, पाँचौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । यसपछि १४औं र १५औं होलमा लगातार दुई बोगी प्रहार गरे । १६औं होलको बर्डीले ब्याक नाइन १-ओभर ३५ मा पूरा गरे ।
एमेच्योर गल्फर युवराजले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र पाँचौ होलमा एक-एक सट बचाए । १२औं होलमा बर्डी प्रहार गरे । तर १४औं १६औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा सकाए ।
अर्का एमेच्योर पदमले पहिलो, छैटौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे । तर चौथो होलमा डबल बोगी र पाँचौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए । यसपछि १०औं र १८औं होलमा बर्डी प्रहार गरेका पदमले १४औं र १५औं होलमा एक-एक सट खेर फाले ।
तीन दिने ५४ होलको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गल्फर गरी कुल ४७ जनाको सहभागीता रहेको छ । ३६ होलको समाप्तीमा कट लागु हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन । यो पटक देखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन् ।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन । साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन् । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ ।
पीजीए नेपालद्वारा आयोजित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ ।
काठमाडौं : आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सवै विकेट गुमाएर १९७ रन बनाएको हो ।
नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । दीपक डुम्रेले ५८ बलमा १ छक्कासहित २६ रनको योगदान दिए । सुभाष भण्डारीले २४ बलमा २० रन जोडे । आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे । कप्तान देव खनालले ३७ बलमा ३ चौकासहित २३ रन जोडे ।
पाकिस्तानका अराफात मिनहासले तीन विकेट लिँदा उविद साह र अहमेद हुसेनले दुई दुई विकेट लिए । यस्तै खुबेब खलिल र मोहमद जिशानले १-१ विकेट लिए ।
काठमाडौं : आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफनो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तान विरुद्धको खेलमा नेपाली टोलीका कप्तान देव खनालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । त्यसैगरी, पाकिस्तान भने प्रतियोतिमा दोस्रो जित निकाल्ने दाउमा छ । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानमाथि एक सय ८१ रनको फराकिलो अन्तरले जित निकालेको थियो ।
समूह ‘डी’मा रहेको नेपालसँग न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर–६ को यात्रा तय गर्नेछन् ।
नेपाली यु–१९ टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, र सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रङ्गु थापा मगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।
काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपन बुधबारदेखि धरान गल्फ क्लबमा शुरू हुँदैछ । तीन दिनसम्म चल्ने प्रो प्रतियोगिता ५४ होलको हुनेछ ।
प्रतियोगितामा ३० प्रोफेसनल र १० एमेच्योर गल्फरले भाग लिने निश्चित भएको नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीएका महासचिव दीपक आचार्यले बताए । मंगलबार सम्म नाम दर्ता गर्ने समय रहेकोले सहभागी संख्या बढ्न सक्नेछ । काठमाडौं बाहिर हुने दुई प्रतियोगितामध्ये सूर्य नेपाल इस्टर्न ओपनमा धरानका ५ प्रोफेसनल गल्फरको सहभागिता रहनेछ ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई घरेलु कोर्समा उपाधि रक्षा गर्ने कोशिसमा रहनेछन। यो सिजन उत्कृष्ट फर्ममा रहेका तथा सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापति पनि प्रमुख दाबेदार हुन् । यस्तै भुवन नगरकोटी,जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धन थापा पनि दाबेदार खेलाडी हुन् ।
३६ होलको समाप्तीमा कट लागु हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन् । यो पटकदेखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन् ।
प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका दुई उत्कृष्ट एमेच्योर खेलाडी सुबाश तामाङ र सदभाव आचार्यले सहभागीता जनाउने छैनन् । सुबाश भारतीय गल्फ टुरको क्यू– स्कुलको तयारीमा रहदा सदभाव बंगलादेश ओपनमा सहभागी हुँदैछन् ।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन् । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ ।
एनपीजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले प्रायोजक सूर्य नेपाल प्रालिलाई निरन्तरको सहयोग र साथको लागि धन्यवाद दिए । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ ।
काठमाडौं : दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकप क्रिकेटमा नेपाल न्युजिल्याण्डसँग पराजित भएको छ । आइतबार दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । ३०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३८ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर अर्जुन कुमालले अर्धशतकीय इनिङ खेले । अर्जुनले १०४ बल खेल्दै १२ वटा चौकाको मद्दतमा ९० रन बनाए । कप्तान देव खनालले ३४ बलमा ३६ रनको योगदान दिए । ३६ रन बनाउने क्रममा देवले ५ वटा चौका र १ वटा छक्का हिर्काए । यस्तै सुवास भण्डारी ५२ बलमा ४ चौकाको मद्दतमा ३३ रन बनाएर अविजित रहे भने तिलक भण्डारी १९ बलमा २ चौका र १ छक्काको मद्दतमा १७ रन बनाएर अविजित रहे ।
यस्तै दिपक बोहोराले २७ बलमा १५ रन बनाए भने आकाश चन्दले २६ बलमा १४ रनको योगदान दिए । गुल्शन झा र आकाश त्रिपाठी २–२ रनमा आउट हुँदा तीन खेलाडी शून्य रनमा आउट भए । ओपनर दीपक बोहोरा, उत्तम मगर र दिपेश कंडेल शून्य रनमा आउट भएका हुन् । बलिङतर्फ न्युजिल्याण्डका लागि मेसन कलार्कले ३ विकेट तथा इवाल्ड श्रेडर ओस्कार र ओस्कार ज्याक्सनले २–२ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०२ रनको बलियो योगफल तयार पारेको थियो । न्युजिल्याण्डका लागि स्नेहिथ रेड्डीले नटआउट १४७ रनको शतकीय पारि खेल्दा ओसकार ज्याकसनले ७५ रन बनाए । यस्तै टम जोन्सले ३३ रन जोड्दा एलेक्स थम्पसनले १३ रन बनाएका थिए । नेपालका सुवास भण्डारीले ३ विकेट लिँदा गुलसन झाले २ विकेट हात पारे । यस्तै, दीपेश कंडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले १–१ विकेट लिए ।
काठमाडौं : दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाललाई न्युजिल्याण्डले ३०३ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनायो ।
न्युजिल्याण्डका स्नेहिथ रेड्डीले शतकीय इनिङ खेले । उनी १२५ बलमा १४७ रन बनउँदै अविजित रहे । यस्तै न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले अर्धशतकीय इनिङ खेले । उनले ८१ बलमा ७५ रन बनाए ।
बलिङ तर्फ नेपालका लागि सुवास भण्डारीले ३ विकेट लिए भने गुल्शन झाले २ विकेट लिए । यस्तै दिपेश कंडेल, तिलक भण्डारी र आकाश त्रिपाठीको नाममा एक-एक विकेट रह्यो ।
काठमाडौं : २३औं सशस्त्र प्रहरी दिवस २०८० को उवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा बिहीबार ३५ वर्षभन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागितामा सञ्चालन भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रचार्य टिम क्याप्टेन रहेका थिए ।
प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबीच गोलरहित बराबरीमा खेल सम्पन्न भएको छ । महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल र प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रचार्यले नेपाल प्रहरीको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गर्नुकासाथै महानिरीक्षक अर्यालले खेलमा सहभागी खेलाडी, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए ।
खेलकुद प्रतियोगितामा प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल, प्रहरी नायव महानिरीक्षक केदार ढकाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । जितका लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २३ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा अर्जुन साउदले सर्वाधिक ६२ रन बनाए । उनले ६३ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा अबिजित रहे ।
त्यस्तै दीपेन्द्रसिंह ऐरीले अबिजित ३८ रन बनाए । उनले १७ बलमा ४ चौका र २ छक्कासहित ३८ रन बनाए । दीलीप नाथले ३१ बलमा २ चौका र १ छक्कासहित ३१ बनाए । यसैगरी कुशल भुर्तेलले १२ र सुनिल धमलाले १६ रन बनाए । कोशीका कमल खत्रीले २ विकेट लिए भने सोनु मण्डलले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कोशी प्रदेशले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनाएको थियो । कोशीको लागि सुजन थपलियाले एक सय ५ रनको योगदान गरे । उनले १ सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक एक सय ५ रनको योगदान गरेका हुन् । यसैगरी अभ्यास तिमिल्सिनाले २३ र कप्तान अंकित सुवेदीले १० रन बनाए ।
सुजनले आठौं विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरेका थिए । यता पुलिसका लागि करण केसीले तीन विकेट लिए भने ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई दुई विकेट झारे । त्यस्तै राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक एक विकेट लिए ।
यस्तै प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पनि लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमले मंगलबार भैरहवाको सिद्धार्थ रंगशालामा कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५ विकेट गुमाएर २७७ रन बनाएको थियो । सुदूरपश्चिम प्रदेशका ३ खेलाडीले उत्कृष्ट अर्धशतकीय पारि खेले । पहिलो विकेटका लागि खडक बोहोरा र टेक रावतले १३८ रनको साझेदारी गर्दै घरेलु प्रतियोगितामा कीर्तिमान पनि कायम गरेका छन् । खड्क बोहोरा ८० रन बनाएर आउट हुँदा टेक रावतले ५९ रनको पारि खेले । यसैगरी किरण ढगुन्नाले ५० रन बनाउँदा नारायण जोशीले १२ बलमा ३१ रनको तुफानी पारि खेलेका थिए । यस्तै राजु रिजालले १९ रन बनाउँदा नारायण भट्टले १५ रन बनाए । कर्णालीका दिनेश अधिकारी, युनिश सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले एक एक विकेट लिए ।
२७८ रनको लक्ष्यसहित मैदान उत्रिएको कर्णाली प्रदेश ३७.२ ओभरमा सवै विकेट गुमाएर १४३ रनमा समेटिन पुग्यो । कर्णालीका लागि दिवान पुनले ३८ रन बनाउँदा अर्जुन घर्तीले २४ रन बनाए । यस्तै, दिनेश अधिकारीले २० तथा हिमांशु शाहीले १७ रन जोडेका थिए । कर्णालीलाई रोक्ने क्रममा सुदूरपश्चिम प्रदेशका शेर मल्लले ४ विकेट लिए । विकाश अग्रीले २ विकेट लँदा नारायण जोशी र भोजराज भाटले एक एक विकेट हात पारे ।यस्तै
मंगलबार नै भएको खेलमा बागमती प्रदेशले सहज जित निकालेको छ । बागमतीले मधेश प्रदेशलाई ८६ रनले पराजित गरेको हो । बागमतीको जितमा सूर्य तामाङले ह्याट्रिक सहित ६ विकेट लिए । मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको १९१ रनको लक्ष्य पछ्याएको मधेशले २९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०४ रन बनायो ।
मधेशका पवन सरार्फले सर्वाधिक ४५ रन बनाए । त्यस्तै मयन यादवल ३१ बनाउँदा निरज यादवले १५ रन बनाए । बागमतीका लागि सूर्यले २९ औं ओभरमा ह्याट्रिक लिए । उनले पहिलो बलमा रुपेशसिंहलाई बोल्ड आउट गर्दा दोस्रो बलमा राजेश यादव र तेस्रो बलमा साम्सद अन्सारीलाई आउट गराए । सूर्य तामाङले ९ ओभरमा ३ मेडनसहित १८ रन खर्चेर ६ विकेट लिए । त्यस्तै ईशान पाण्डे र प्रतिश जि.सीले दुई–दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९० रनमा अल आउट भएको थियो । बागमतीका प्रतिशले ५९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै इशान पाण्डेले १५ रन बनाउँदा विपिन आचार्यले १३ रनको योगदान गरे । मधेशका लागि अरनिको यादव र रुपेश सिंहले दुई–दुई विकेट लिए । त्यस्तै राजेश यादव, रन्जित कुमार, हरिशंकर शाह र पवन सरार्फले एक–एक विकेट लिए । बागमतीको यो पहिलो जित हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies