दिनेश ठाकुर/मध्यान्ह
नेपालगञ्ज : यही माघ २६ र २७ गते दुईदिने राष्ट्रिय हप्किडो च्याम्पियनसिप २०८० नेपालगञ्जमा हुने भएको छ । नेपाल हाप्किडो संघको आयोजनामा प्रोफेसनल राष्ट्रिय हाप्किडो च्याम्पियनसिप नेपालगञ्जको रंगशालामा आयोजना हुने भएको हो ।
हाप्किडो खेललाई विश्वव्यापी मूल्य र मान्यताअनुसार विकास तथा विस्तार गर्न खेलकुदको सांगठनिक ढांचामा समयसापेक्ष सुधार गर्न सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रका खेलकुद संस्थाबीच समन्वय, सहकार्यमा व्यवसायको रूपमा स्थापित गर्ने उद्देश्यले च्याम्पियनसिप आयोजना गर्न लागिएको आयोजकद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिस्पर्धामा सातै प्रदेश र नेपाल प्रहरी स्कुलको टिम गरी ८ टिमको सहभागीता हुने आयोजक टिमका संयोजक मोहसिन हलवाईले जानकारी दिए । प्रतिस्पर्धामा फाइटतर्फ महिला र पुरुष दुवैमा ८–८ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । ४०–४४, ४४–४८, ४८–५२, ५२–५६, ५६–६०, ६०–६४, ६४–६८ र ६८+ तौल समूहमा प्रतिस्पर्धा हुने छ ।
यसैगरी सेल्फ डिफेन्स–डेमोष्ट्रेशन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुने छ । च्याम्पियनसिपमा सहभागी हुन आउने सबै खेलाडी, प्रशिक्षक, रेफ्री, जज र निर्णायकको व्यवस्था आयोजकले गर्ने जनाएको छ ।
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश र मधेश प्रदेशले विजयी शुरुवात गरेका छन् । शनिबारबाट शुरु भएको प्रतियोगितामा बागमती प्रदेशलाई हराउँदै पुलिस, गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी तथा कोशी प्रदेशलाई हराउँदै मधेशले विजयी शुरुवात गरेका हुन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पुलिसले बागमतीलाई ६८ रनले पराजित गरेको हो । पुलिसले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर २८२ रन बनाएको थियो । जवाफमा बागमतीको टोली ४२.३ ओभरमा सबै विकेट गुमाएर २१४ रनमा समेटियो ।
बागमतीका लागि आषुतोश घिरैयाले सर्वाधिक ९२ रनको अर्धशतकीय पारी खेले । उनले ८७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै इसान पाण्डेले ४४ रन बनाउँदा सोनु देबकोटाले १९ रन जोडे । पुलिसका लागि सागर ढकालले तीन विकेट लिए । त्यस्तै करण केसी, राशिद खान र दीपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो । पुलिसका लागि राशिद खानले १०६ रनको शतकीय पारी खेले । उनले ११२ बलमा ९ चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै आरिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले । पुलिसका कप्तान दिपेन्द्र सिंह ऐरीले २१ रन बनाउँदा सुनिल धमला र अर्जुन साउदले २०–२० रन बनाए । बागमतीका रिजन ढकाल र सुर्य तामाङले तीन–तीन विकेट लिए । त्यस्तै गौतम केसी र सोनु देवकोटाले १–१ विकेट लिए ।
यस्तै भैरहवाको सिद्धार्थनगर मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकीलाई ४ विकेटले पराजित गरेको हो । बाक्लो हुस्सुका कारण निर्धारित समय भन्दा ढिला गरी शुरु हँदा खेल ४२ ओभरमा झारिएको थियो । जसमा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ३४.४ ओभरमा सवै विकेट गुमाएर जम्मा १११ रन बनायो । गण्डकीका लागि करण पंगेनीले सर्वाधिक २८ रन बनाउँदा कृष्ण एरले १९ रन जोडे । त्यसैगरी अमृत गुरुङले १३ रन बनाउँद समीर कँडेलको ब्याटबाट पनि १३ रन बनेको थियो । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।
लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । मोहमद हुसेनले २ विकेट लिँदा कृष्ण कार्की, अभिषेक गौतम र नर शार्कीले एक एक विकेट हात पारे ।
११२ रनको सामान्य लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । लुीम्बनीलाई जिता दिलाउन मृनल गुरुङले ४७ रनको पारी खैल्दा मोहमद हुसेनले २१ रन बनाए । गण्डकीका कृष्ण कार्कीले ३ विकेट लिँदा कमल परियारको नाममा पनि ३ विकेट नै रह्यो ।
त्यस्तै मुलपानी मैदानमा भएको खेलमा मधेश प्रदेशले काशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पच्छाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्न सफल भयो ।
मधेश प्रदेशलाई जिताउन अनिल साहले सर्बाधिक ८८ रनको योगदान गरे । यसैगरी कप्तान हरि शंकर साहले २४ रन बनाउँदा निरज यादव ९ तथा पवन शर्राफ २ रनमा नटआउट रहे । कोशीका लागि सोनु मण्डलले २ तथा सुजन थपलियाले १ विकेट हात पारे ।
टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४१ ओभरमा सवै विकेट गुमाएर जम्मा १२७ रन बनाएको थियो ।
कोशीका लागि फिर्दोश अन्सारीले ४१ तथा कप्तान अंकित सुवेदीले ४० रन बनाउँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । मधेशका प्रदीप पासवानले सर्वाधिक ३ विकेट लिँदा राजेश यादव, रञ्जित कुमार र पवन सर्राफले २–२ विकेट लिए । विशाल पटेलले एक–एक विकेट लिए ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको सदरमुकाम गौरमा आयोजित गौरी शंकर यादव प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि गौर नगरपालिका वडा नम्बर ४ सोवरनामाई ११ ले जितेको छ ।
गौरीशंकर यादव फाउण्डेशनले आयोजना गरेको गौरीशंकर यादव प्रिमियर लीगको शनिबार भएको फाइनल खेलमा गौर नगरपालिका वडा नम्बर १ क्रान्तिद्वार ११ लाई ५ विकेटले पराजित गर्दै सोवरनामाई ११ ले उपाधि जितेको हो ।
फाइनल खेलमा पहिले ब्याटिङ गर्दै क्रान्तिद्वार ११ ले निर्धारित २० ओभरमा ११२ रनको सामान्य स्कोर खडा गरेको थियो । जितका लागि ११३ रनको लक्ष्य सोवरनामा ११ ले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
प्रदेश सांसद नागेन्द्र प्रसाद साहले विजेता टिमलाई नगद १५ हजार रुपैयषँसहित शिल्ड प्रदान गरे भने आयोजक संस्थाका अध्यक्ष मोहन यादवले उपविजेता टिमलाई १० हजार रुपैयाँ र शिल्ड प्रदान गरे ।
फाइनल खेलमा राम्रो प्रदर्शन गरेका साहिल साहनीलाई म्यान अफ द म्याचको पुरस्कारबाट पुरस्कृत गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका राहुल साहनीलाई बेस्ट ब्याट्सम्यान, रवी साहलाई बेस्ट बलर तथा अनिल पटेल बारहवा ११ लाई म्यान अफ द सिरिजको पुरस्कार दिइएको थियो ।
रौतहट : रौतहटको गौरमा रहेको गौर राइस मिलको मैदानमा शुक्रबार भएको मैत्रीपूर्ण क्रिकेट खेलमा राजदेवी नगरपालिका विजयी भएको छ ।
राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण क्रिकेट खेलमा गौर नगरपालिका क्रिकेट टिमलाई १२ रनले पराजित गर्दै जनप्रतिनिधि र कर्मचारी सम्मिलित राजदेवी नगरपालिकाको टिम विजयी भएको हो ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह र राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले संयुक्तरुपमा उद्घाटन गरेको मैत्रीपूर्ण क्रिकेट खेलमा पहिलो बल्लेबाजी गर्दै राजदेवी नगरपालिकाले निर्धारित १५ ओभरको खेलमा ३ विकेट गुमाउँदै १४० रनको स्कोर खडा गरेको थियो ।
राजदेवी नगरपालिकाका राकेश यादवले सर्वाधिक ५० रनको योगदान दिए भने गौर नगरपालिकातर्फबाट बलिङमा निमित प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुरले २ विकेट लिए ।
राजदेवी नगरपालिकाले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको गौर नगरपालिकाको टिम १५ ओभरमा ७ विकट गुमाउँदै १२८ रनमा सीमित भयो ।
उद्घाटन समारोहमा राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी यादव, गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह कानू, प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले एकता दिवसको महत्व र खेलकुदको महत्वबारे आ-आफ्नो धरणा राखेका थिए ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्र भएको र त्यसमा पनि खेलकुद प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।
नेपाल बादोरियो कराते डो संघद्वारा यहाँ आज आयोजित ‘चौथो राष्ट्रिय बादोरियो खुला कराते प्रतियोगिता’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा भर्खरै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप, बंगलादेशमा सम्पन्न पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिप, १९औं संस्करणको एसियाली खेलकुदलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले राम्रो नतिजा निकालेको उल्लेख गर्दै खेलकुदमा राम्रो सम्भावना भएको बताए ।
प्रधानमन्त्री दाहालले भने, “नेपाल अपार सम्भावनाले भरिपूर्ण देश हो । देशको विकास र प्रगतिका निम्ति हामीसँग प्रशस्त सम्भावना छन् । त्यसमध्ये खेलकुद राम्रो सम्भावना बोकेको क्षेत्र हो । पछिल्लो दशक खेलमा नेपालले गरेको प्रगतिले पनि यो यथार्थलाई पुष्टि गर्दछ । त्यसैले मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु ।”
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको बाफिँकाेट गाउँपालिकास्तरीय चाैथाे राष्ट्रपति रनिङ शिल्डको उपाधि वीरेन्द्र माध्यमिक विद्यालय बाफिँकाेटले हात पारेको छ । पालिकाभित्रका ९ वटा विद्यालयलाई पछि पार्दै वीरेन्द्र माध्यमिक विद्यालयले शिल्ड हात पारेको हो । उसले ७ स्वर्ण, ४ रजत र ४ कास्य गरी जम्मा १५ पदकसहित शिल्ड हात पारेको बाँफिकाेट गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख वीरेन्द्र प्रकाश बुढाथाेकीले जानकारी दिए ।
योसँगै वीरेन्द्र माध्यमिक विद्यालयले लगातार दोस्रो पटक शिल्ड जितेको छ । त्यस्तै ६ स्वर्ण, ४ रजत र १० कास्य गरी २० पदक जितेर सिद्धार्थ माध्यमिक विद्यालय मग्मा दाेस्रो हुँदा ३ स्वर्ण १ रजत र १ कास्य गरी ५ पदक प्राप्त गर्दै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढारबाङ तेस्रो भएको छ ।
विद्यार्थीहरूले भलिबल, सट फुट, ज्याभलिङ थ्रो, छोटो तथा लामो दुरी एक सय मिटरदेखि ३ हजार मिटरसम्मको दौड, लङ जम्प, त्रिपल जम्प, रिले दौड र हाई जम्पलगायतका प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।
वीरेन्द्र माध्यमिक विद्यालयले गत वर्ष पनि शिल्ड जितेको थियो । प्रतियोगिता पुस २३ गतेदेखि ४ नम्बर वडाको वीरेन्द्र माध्यामिक विद्यालयकाे प्राङ्गणमा सञ्चालन भएको थियो । यसअघि त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरिसकेका छन् भने मुसिकाेट नगरपालिकामा शुरु भएको छ । अन्य पालिकाहरूले पनि रनिङ शिल्ड सञ्चालनको तयारी गरिरहेका छन् ।
इसत्याक अहमद/मध्यान्ह
जनकपुर : जनकपुरधामको एकरा इस्लामिक इङ्लिश स्कुलको चौथो वार्षिकोत्सवको अवसरमा ‘प्रथम खेलकुद प्रतियोगिता–२०८०’ सम्पन्न भएको छ । प्रतियोगितामा विद्यार्थीहरुले ५ वटा खेल क्रिकेट, फुटबल, कबड्डी, दौड र भलिबलमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई मेडल, प्रमाण पत्र तथा कप प्रदान गरिएको छ ।
सबैला नगरपालिकाकी उपमेयर रहीमा खातुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता स्कुलका सञ्चालक मो. कलिम राइनले गरेका थिए । कार्यक्रममा विशेष अतिथिहरु जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे, मधेश प्रदेश फुटवल संघका उपाध्यक्ष सुरेश शर्मा, धनुषा जिल्ला फुटबल संघका उपाध्यक्ष निरंजन गौतम, जिल्ला क्रिकेटका कोच मो. अन्सारुल, नेकपा एमालेका प्रदेश सदस्य, नेपाली कांग्रेस मुस्लिम संघ धनुषाका जिल्ला अध्यक्ष मो. इब्राहिम राइन, मो. हकिम राइन राइन, सबैला नगरपालिकाको वडा नं. ८ का अध्यक्ष मो. सेराज राइन, संस्कार स्कुलका फाउण्डर बसन्त यादव, सबैला नगरपालिका ९ का वडाध्यक्ष मनिस राय, मुजेलिया चौकीका इन्चार्ज राजेश सिंह, डा. साहबुदिन हफिज उल्लाह, शेख मोस्तकिम मदनी, मो. अनिस राइन अल रियाजी, शेख मोजिबुल रहमान, पूर्ववडाध्यक्ष तथा एनप्याबसन मधेश प्रदेश सदस्य तथा सिरहा जिल्लाका कोषाध्यक्ष मो. मतिउल राइन, अताबुल रहमान, मनिर राइन, इद मोहमद राइनलगायत थिए । यस्तै स्कुलका सञ्चालक मो. कलिमका आमा बुबाको पनि कार्यक्रममा विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपस्थित सबै आमन्त्रित अतिथिहरुलाई मायाको चिनोका साथै गम्छा ओढाएर सम्मान गरिएको थियो भने शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
चितवन : धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । संघीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार संघीय सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको र लिज ऐनअन्तर्गत रङ्गशालाले जग्गा लिनुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकबाट सहमति लिनुपरेको उनले बताइन् ।
प्रमुख दाहालका अनुसार उक्त आयोजना सम्पन्न गर्न संघीय सरकारले समेत अनुदानका रूपमा बजेट उपलब्ध गराउने छ । रंगशालाका लागि यसअघि सट्टाभर्नामा जग्गा लिने सहमति भएकामा अहिले सो प्रावधान नरहेपछि लिज ऐनअन्तर्गत ४० वर्षका लागि रंगशालालाई जग्गा लिन मन्त्रिपरिषद्ले सहमति दिएको छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाउन लागेको उनले बताइन् ।
महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा रु ७५ करोड बराबरको काम गर्ने गरी सहमति भएको थियो । तर भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन रु एक अर्ब लाग्ने प्रमुख दाहालले जानकारी दिइन् । पहिलो चरणमा खेलमैदान र प्यारापिटलगायतका काम सम्पन्न गरेर खेल खेल्न मिल्ने बनाइने उनको भनाइ छ ।
प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै रकम अभाव भए संघीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी रंगशाला बनाउने तयारी गरिएको हो । प्रमुख दाहालका अनुसार प्रदेश सरकारको बजेट सुनिश्चिततासँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिने छ ।
धुर्मुस–सुन्तली फाउण्डेसनले रु १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि रंगशाला निर्माण कार्य अलपत्र बनेको छ । महानगरपालिकाले उक्त आयोजनालाई महानगरको महत्वपूर्ण आयोजनाको रूपमा लिएको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले संघीय सरकारले अनुमति दिएसँगै अब कामले गति लिने बताए ।
काठमाडौ : नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै उनले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरि निलम्बन गरेको बताएको छ ।
काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।
क्यानले विज्ञप्तिमा भनेको छ, ’राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं ।’
काठमाडौं : सरकारले चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि भरतपुर महानरलाई सहमति दिएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बागमती प्रदेश सरकारसँगको साझेदारीमामा उक्त रंगशाला निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि सहमति दिएको हो ।
भरतपुर महानगरपालिका, वडा नं. १५ मा कलाकार धुर्मुस–सुन्तलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेका थिए । तर बजेट अभाव देखाउँदै उनीहरुले निर्माणको काम बीचमै छाडेपछि रंगशाला अलपत्र परेको थियो ।
गत कातिकमा बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले अलपत्र रंगशाला मिलेर बनाउने सहमति गरेका थिए । त्यस अनुसार प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानी रहने र चाँडै ७५ करोड रुपैयाँको टेन्डर आह्वान गर्ने बताइएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies