तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : उपाधि दाबेदार टोली अस्ट्रेलियामाथि अतिरिक्त समयमा जित हासिल गर्दै दक्षिण कोरिया कतारमा जारी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । १० जनामा सीमित अस्ट्रेलियामाथि दक्षिण कोरियाले २-१ को जित निकाल्न सफल भएको हो । त्यस्तै जोर्डनले शुक्रबार नै ताजिकिस्तानविरुद्ध जित हासिल गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
शनिबार सम्पन्न अर्को खेलमा जापानमाथि नाटकीय जित दर्ता गर्दै इरान एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार साँझ भएको क्वाटरफाइनल खेलमा इरानले जापानमाथि २-१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको हो । खेलमा जापानले शुरुवाती अग्रता लिएको थियो । खेलको २८औं मिनेटमा हिडेमासा मोरिटाले गोल गर्दै जापानलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको ५५औं मिनेटमा इरानले खेलमा बराबरी गोल गर्यो । सरदार आजमुनको अशिष्टमा मोहम्मद मोहेबिले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्ज्युरी समयमा इरानले पेनाल्टीमार्फत गोल गर्दै जित हासिल गर्यो । को इटाकुराले बक्स भित्रबाट फाउल गरेपछि इरानले पेनाल्टी पाएको थियो । पेनाल्टीमा अलिरेजा जाहान बक्सले गोल गर्दै इरानको अन्तिम चारमा स्थान सुरक्षित गरे l
शनिबार सम्पन्न अर्को खेलमा गोलरक्षक मिसाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि साविक विजेता तथा जारी एसियन कपको आयोजक कतार सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ । बार्शामको उत्कृष्ट प्रदर्शनमा उज्बेकिस्तानमाथि टाइब्रेकरमा ३-२ को जित निकाल्दै कतार अन्तिम चारमा पुगेको हो । निर्धारित समय र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । टाइब्रेकरमा बार्शामले उज्बेकिस्तानका अशुरमाटोभ अब्दिराहमाटोभ र माशारिपोभको पेनाल्टी रोक्न सफल भएका थिए ।
सेमिफाइनलको पहिलो खेल जोर्डन र दक्षिण कोरियाबीच मंगलबार साँझ ६ बजेबाट अहमद बिन अलि स्टेडियम अल रैयानमा हुनेछ भने बुधबार साँझ ६ बजेबाट कतारले इरानविरुद्ध अल थुमामा स्टेडियममा खेल्नेछ l
काठमाडौं : यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्स खेलमा नेपाल भारतसँग १३२ रनले पराजित भएको छ । भारतले दिएको २९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा १६५ रनमात्र बनाउन सक्यो । विशाल लक्ष्य पाएको नेपालको शुरुवात राम्रो भए पनि मध्यक्रमका ब्याट्सम्यान नचल्दा नेपाल हार व्यहोर्न बाध्य भयो ।
नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन जोडे । उनले ५३ बलमा २ चौकाको मद्दतमा ३३ रन बनाएका हुन् । यस्तै ओपनर अर्जुन कुमालले ६४ बलमा ३ चौकाको मद्दतमा २६ रन बनाए । अर्का ओपनर दीपक बोहोराले ४२ बलमा ३ चौकाको मद्दतमा २२ रनको योगदान दिए ।
यस्तै दुर्गेश गुप्ताले ४३ बलमा १ छक्का र २ चौकाको मद्दतमा २९ रन जोडे । आकाश चन्दले ३५ बलमा १८ रन बनाए । यस्तै उत्तम थापामगरले २० बलमा ८ रन जोडे भने सुवास भण्डारीले १८ बलमा ५ रन बनाए । गुल्शन झा र विशाल केसी १–१ रन बनाएर आउट हुँदा दीपक डुम्रे र दीपेश कंडेल शून्य रनमै आउट भए । भारतका लागि सौम्य पाण्डेले सर्वाधिक ४ विकेट लिए भने आर्सिन कुलकर्नीले २ विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २९७ रनको योगफल बनाएको थियो ।
भारतका लागि सचिन दासले सर्वाधिक ११६ रनको योगदान दिए । उनले १०१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे । कप्तान उदय सहरानले १०७ बलमा ९ चौकाको सहायताले एक सय रन बनाए । त्यसैगरी आदर्श सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए । मुसहिर खानले अविजित ९ रन बनाए । नेपालका लागि गुल्शन झाले ३ विकेट लिए भने आकाश चन्दले १ विकेट झारे ।
काठमाडौं : भारतले आईसीसी यु–१९ विश्वकपमा नेपाललाई २९८ रनको बलियो लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनायो ।
भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले । कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भए ।
नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारमा जारी एसियन कपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधवार सम्पन्न दुई अलग अलग खेलमा इरानले सिरियामाथि टाइब्रेकरमा ५-३ र बहराइनमाथि जापान ३-१ ले विजयी भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो l
बुधबार दोहास्थित अल-थुमामा स्टेडियममा भएको खेलमा जापान ३-१ ले विजयी भएको हो । खेलको ३१औं मिनेटमा रित्सु दोआनले रिबाउण्डमा गोल गर्दै जापानलाई शुरुवाती अग्रता दिलाएका थिए । ४९औं मिनेटमा ताकेफुसा कुबोले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ६४औं मिनेटमा बहराइनले एक गोल फर्काउन सफल भयो । जापान गोलरक्षक जायन सुजुकीले बचाउ गरेपछि दोस्रो पटकमा आफ्नै डिफेन्डरसँग सम्पर्क नमिलेपछि उनले समात्न खोजेको बल आफ्नै जालिमा हालेका थिए । तर ७२औं मिनेटमा आयासे युएडाले गोल गर्दै दुई गोलको अन्तर कायम गर्दै जित सुनिश्चित गरे ।
बुधबार राति सम्पन्न अर्को अन्तिम प्रिक्वाटरफाइनलमा इरानले सिरियामाथि टाइब्रेकरमा ५-३ को जित निकालेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को र अतिरिक्त समयमा पनि सोही स्कोर रहेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा सिरियाका फहाद युसेफको पेनाल्टी इरान गोलरक्षक अलिरेजाले बचाएका थिए । ३४औं मिनेटमा मेहदी तरेमीले पेनाल्टीमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । सिरियाका ओमार ख्रिविनले ६४औं मिनेटमा पेनाल्टीमा नै गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
शुक्रबारबाट क्वाटरफाइनलका खेल शुरु हुँदैछ । शुक्रबार क्वाटरफाइनलमा ताजिकिस्तानले जोर्डनसँग र अस्ट्रेलियाले दक्षिण कोरियाको सामना गर्नेछन् । तीन पटकको कप विजेता इरानले चार पटक विजेता बनेको जापानविरुद्ध र कतारले उज्बेकिस्तानविरुद्ध शनिबार खेल्नेछन् l
काठमाडौं : आईसीसी यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्स खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकमा बुधबार भएको खेलमा जितका लागि नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि स्पिनर सुवास भण्डारीले ५ विकेट लिएपनि नेपाललाई जितका लागि पर्याप्त भएन ।
बंगलादेशका लागि अरिफुल इस्लाम र जिशान आलमले अर्धशतक प्रहार गरे । अरिफुलले ३८ बलमा नटआउट ५९ रन जोडे । उनले ७ चौका र २ छक्का प्रहार गरे । जिशानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए । कप्तान देव खनाल ३५ रनमा आउट भए । सुवास भण्डारी १८ रनमा नट आउट रहे । दुर्गेश गुप्ता ९ रनमा आउट भए । गुल्शन झा, दीपक बोहरा र दीपेश कँडेल ३–३ रनमा आउट भए । अर्जुन कुमाल १४ रनमा आउट भए । विपिन रावल २ र आकाश त्रिपाठी ३ रनमा आउट भए ।
बंगलादेशका रोहनत दोउल्लाह बोर्सनले ८.५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । शेख प्रवेज जिवनले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले १–१ विकेट लिए ।
काठमाडौं : नेपालले आईसीसी यु–१९ विश्वकपको सुपर सिक्स खेलमा बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भयो ।
नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए । कप्तान देव खनाल ३५ रनमा आउट भए । सुवास भण्डारी १८ रनमा नट आउट रहे । दुर्गेश गुप्ता ९ रनमा आउट भए । गुल्शन झा, दीपक बोहरा र दीपेश कँडेल ३–३ रनमा आउट भए । अर्जुन कुमाल १४ रनमा आउट भए । विपिन रावल २ र आकाश त्रिपाठी ३ रनमा आउट भए ।
बंगलादेशका रोहनत दोउल्लाह बोर्सनले ८.५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । शेख प्रवेज जिवनले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले १-१ विकेट लिए ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क टुडिखेलमा सञ्चालन भएको १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिकाले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै सन्धिखर्क नगरपालिकाले यस वर्षको मेडल, प्रमाणपत्र तथा शिल्ड प्राप्त गरेको जिल्ला खेलखुद विकास समिति अर्घाखाँचीका कोषाध्यक्ष प्रेम आलेले जानकारी दिए ।
गत वर्ष उपाधि जितेको भूमिकास्थान नगरपालिका दोस्रो भएको छ भने पाणिनि गाउँपालिका तेस्रो भएको छ । प्रतियोगितामा भलिबल, रिले दौड, लङजम्प, त्रिपलजम्प, हाइजम्प, सटपुट, ज्यावलिङ्गथ्रो र कबड्डी गरी १० वटा विधामा छात्र र छत्रालाई प्रतिस्पर्धा गराइएको जिल्ला खेलकुद बिकास समितिका सदस्य विशाल आचर्यले जानकारी दिए । प्रतियोगितामा अर्घाखाँचीका ६ वटै स्थानीय पालिकाबाट झण्डै ५ सय ५० खेलाडीहरु सहभागी भएको जिल्ला खेलकुद विकास समितिका सदस्य सञ्जय पाण्डे निश्चलले जानकारी दिए ।
जिल्लामा उत्कृष्ट भएका खेलाडीहरु प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी बन्ने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका अध्यक्ष विष्णु क्षेत्रीले बताए । शिल्ड प्राप्त गरेपछि सन्धिखर्क नगरपालिकाले खेलाडीहरुलाई बाजागाजासहित बजार परिक्रमा गराइसम्मान गरेको नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।
कार्यक्रम सम्पन्न भएपछि खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरण समारोहमा सन्धिखर्क नगरपालिकाका प्रमुख श्रेष्ठ, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, सन्धिखर्ककी उपप्रमुख मिश्रा आचर्य, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, सन्धिखर्कका प्रमुख प्रसासकीय अधिकृत खुमलाल भुसाल, पाणिनि गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत रोमनाथ न्यौपाने, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष क्षेत्रीलगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : सोमबार प्यालेस्टाइनविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै घरेलु टोली कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको ३७औं मिनेटमा ओडे दब्बाघको गोलसँगै प्यालेस्टाइनले अग्रता लिएको थियो । तर कतारले पहिलो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा हसन अल हेयदसले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए l
खेलको ४९ औं मिनेटमा प्राप्त पेनाल्टीलाई आक्राम अफिफले गोलमा परिणत गरेपछि कतारले अग्रता बनाएको थियो । त्यसलाई जोगाउँदै आयोजक टोली अन्तिम आठमा पुगेको थियो ।
त्यस्तै सोमबार खेलिएको अर्को खेलमा जोर्डनले इराक विरुद्ध ३-२ को जित निकाल्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो । कतारमा जारी एसियन कपमा आज दुई प्रिक्वाटरफाइनलका खेल हुनेछन् । नेपाली समयअनुसार साँझ ५:१५ बजे उज्बेकिस्तान र थाइल्यान्ड तथा राति ९:४५ मा साउदी अरेबिया र दक्षिण कोरियाले एक अर्काको सामना गर्नेछन् ।
सुरिन भुजेल/मध्यान्ह
यूएई : यूएईमा आयोजित 'तेस्रो तनहुँ भलिबल प्रतियोगिता'को उपाधि पाल्पा भलिबल युनाइटेड यूएईले जितेको छ । तनहुँ सेवा समाज यूएईले “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ अलकुजको बलेदिया र डोलस्कोमा आयोजना गरेको अन्तर नेपालीहरुबीच यूएईव्यापी खुला 'तेस्रो तनहुँ भलिबल प्रतियोगिता'को उपािध पाल्पा युनाइटेडले हात पारेको हो ।
आइतबार नेपाल एशोसिएसन, एनआरएनए यूएईका अध्यक्ष विकास शाहीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा १९ टिमबीच प्रतिस्पर्धा भएको थियो । फाइनल खेल पाल्पा भलिबल युनाइटेड र परदेशी हातेमालो सहकारी संस्था (बी) यूएईबीच दुबईस्थित अलकुज डेल्स्को भलिबल खेल मैदानमा भएको थियो । पाल्पा टिम हातेमालो बी भलिबल क्लबलाई पहिलो सेट २५-२०, दोस्रो सेट २५-२० काे सोझो २-० सेटमा हराउँदै प्रथम भएको हो ।
प्रथम भएको पाल्पा टिमले ५ हजार यूएई दिरामका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो भएको हातेमालो बी यूएईले ३ हजार यूएई दिरामका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै तृतीय र चौथो हुन सफल तनहुँ सेवा समाज यूएई ए टिम र तनहुँ सेवा समाज यूएई बी टिमले समान एक-एक हजार दिराम, कप, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
खेलको बेस्ट ब्लकर पाल्पाबाट योगेन्द्र साउद, बेस्ट स्पाइकर हातेमालोबाट विवेक तमाङ, बेस्ट सेटर हातेमालोबाट बाबा गुरुङ, बेस्ट सर्भिस हातेमालोबाट विकास परियार, बेस्ट लिब्रो पाल्पाबाट सन्तोष गुरुङ, बेस्ट कुइकर हातेमालोका दिनेश सुनार, बेस्ट कोच पाल्पाका लोकेस ठकुरी, उत्कृष्ट खेलाडी पाल्पाका प्रेम भण्डारी घोषित भए । उनीहरुलाई कप, मेडल, प्रमाणपत्र प्रदान गरियो ।
समाजका अध्यक्ष सुदिप कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि अन्तर्राष्ट्रिय तनहुँ समाजका उपाध्यक्ष, तनहुँ सेवा समाज यूएईका प्रमुख संरक्षक तथा एनआरएनए आईसीसी सदस्य दिपक खड्का, विशेष अतिथिहरुमा नेपाली समाज यूएईका अध्यक्ष बेद प्रसाद अर्याल, प्रमुख सल्लाहकार कृष रायमाझी, सल्लाहकार एवम् प्रवासी नेपाली मञ्च यूएईका अध्यक्ष टक गुरुङ, सल्लाहकारहरु अमर रानाभाट, ओम बहादुर गुरुङ, नेपाली जनसम्पर्क समिति यूएईका संरक्षक एनआरएनए आईसीसी सदस्य खेम राज बस्नेत, नेपाली जनसम्पर्क समिति यूएईका सभापति भुवानीप्रसाद तिमिल्सिना, एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष एवम् लमजुङ सेवा समाज यूएईका प्रमुख सल्लाहकार विष्णुलाल श्रेष्ठ, नेपाली समाज यूएईका महासचिव केदार कुँवार, कास्की आदर्श सेवा समाजका अध्यक्ष शिवकुमार श्रेष्ठ, गुल्मी सेवा समाज यूएईका अध्यक्ष राम श्रेष्ठ, परदेशी हातेमालो सहकारी संस्थाका अध्यक्ष मनु खड्का, सयपत्री इस्ट्ररका सञ्चालक अर्जुन श्रेष्ठ, एभरेस्ट ममका सञ्चालक विष्णु अधिकारी, एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष भिम मल्ल ठकुरी, एनआरएनए एनसीसीका महासचिव भुवन कुमार वाग्ले, गुल्मी सेवा समाज यूएईका संरक्षक कृष्ण गौतम, नेपाली समाज यूएईका प्रवक्ता जीवन पंगेनी, गुल्मी सेवा समाज यूएईका प्रवक्ता एवम् एनआरएनए एनसीसी यूएईका सांस्कृतिक विभाग प्रमुख कमलजंग कार्की, नेपाली जनसम्पर्क समिति यूएईका सहमहामन्त्री तुलसी भुसाल, गुल्मी सेवा समाज यूएईका महासचिव एवम् एनआरएनए एनसीसी यूएईका सचिव जीवन सिंह ठकुरी, कास्की आदर्श सेवा समाज यूएईका वरिष्ठ उपाध्यक्ष शिवराज बस्टाकोटी, एनआरएनए एनसीसी यूएईका सचिव कुमार श्रेष्ठलागायत विभिन्न समाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितालाई नेपाल एनए एनआरएनए एनसीसी यूएईका अध्यक्षले विशेष प्रायोजन, तनहुँ सेवा समाजका टिम कोच राजु तिमिल्सिनाले दोस्रो पुरस्कार प्रायोजन र अन्य प्रयोजकहरुमा समाजका सल्लाहकार एवम् एनआरएनए एनसीसी यूएईका महिला उपाध्यक्ष सोनम श्रेष्ठको एमटी ८८४८ नेपाली रेस्टुरेन्टबाट खेलाडीहरुलाई जर्सी, पिउने पानीको प्रायोजन माइ अरब बोट्टलड ड्रिङकिङ वाटर, क्युट लुक्स व्युटी पार्लर, सयपत्री ट्राभल, कोसेली ट्राभल, केडी फ्र्यागरेन्स फ्युजन, याक एण्ड यति नेपाली रेस्टुरेन्ट, भीएनजे ग्लोबल, तनहुँ सेवा समाजका टिम म्यानेजर प्रदिप श्रेष्ठ (राजु), समाजका वरिष्ठ उपाध्यक्ष कल्पना रिमाल, तनहुँ सेवा समाज यूएईका सल्लाहकार एवम् एनआरएनए एनसीसी युएईका उपाध्यक्ष प्रकाश थापा, तनहुँ सेवा समाज यूएईका सल्लाहकार विष्णु बगाले, एनआरएनए एनसीसी युएईका युवा संयोजक एवम् समाजका उपाध्यक्ष अपिल भट्टराई, कार्यक्रम संयोजक जितेन्द्र कार्की, मेरो डिजाइन मेरो उपाहार, योग नारायण अधिकारीलगायत कार्यसमितिका पदधिकारीहरुले सहयोग गरेका थिए ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीमा १३औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीको आयोजनामा सन्धिखर्क टुडिखेल मैदानमा आइतबारदेखि जिल्लास्तरका प्रतियोगिताहरु शुरु भएको खेलकुद विकास समितिका प्रेस सल्लाहकार भिम बिश्वकर्माले जानकारी दिए ।
प्रतियोगिताको संस्कृति, नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री शुशीला श्रीपालीले ओलम्पिक ज्वाला बालेर उद्घाटन गरिन् । कार्यक्रममा राज्यमन्त्री श्रीपालीले राष्ट्रलाई चिनाउने एक मात्र माध्यम खेलकुद भएको बताउँदै यस क्षेत्रको विकासमा सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाइन् । श्रीपालीले खेल क्षेत्रलाई पर्यटनसँग जोडेर विकास गर्न मन्त्रालयले कानून नै संशोधन गरेर अगाडि बढ्न लागेको बताइन् ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले खेल क्षेत्रले पर्यटन, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रको विकास हुने भएकाले यस क्षेत्रको विकासमा सबै स्थानीय तह लागिपर्नु पर्ने धारणा राखे ।
तीन दिनसम्म सञ्चालन हुने जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा ३० पदक र २५८ शिल्ड, मेडलका लागि ६ वटा स्थानीय तहका ५१६ जना खेलाडी सहभागी भएका छन् । खेललाई निष्पक्षरुपमा सञ्चालन गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्रीले जानकारी दिए ।
प्रतियोगितामा सन्धिखर्क, भूमिकास्थान, शितगंगाा नगरपालिका र छत्रदेव, पाणिनी, मालारानी गाउँपालिका गरी खेलको शुरुमा मार्चपाससमेत गरेका थिए । कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेल, भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा पाणिनि गाउँपालिका प्रमुख टेकराज न्यौपाने, मालारानीका अध्यक्ष दल बहादुर भट्टराई, सन्धिखर्ककी उपप्रमुख मिश्रा आचर्य, भूमिकास्थानका उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख जिल्ला अधिकारी कमल ढकाल, भूमिकास्थानका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचर्य, पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष वीरेन्द्र केसीलगायतको सहभागितामा भएको कार्यक्रममा खेलकुद विकास समितिका कोषाध्यक्ष प्रेम आलेको स्वागत मन्तव्य रहेको थियो भने जनार्दन गैरेले कार्यक्रम सञ्चालन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies