काठमाडौं : पश्चिम एशिया फुटबल एशोसिएसनको आयोजनामा साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालले समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । नेपालले इराकलाई ५–० गोल अन्तरले पारजित गरेको हो । नेपालका लागि सबै गोल सावित्रा भण्डारी 'साम्बा'ले गरेकी हुन् ।
खेलको १३औं मिनेटमा सावित्राले नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटमै सावित्राले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ३६औं मिनेटमा सावित्राले ह्याट्रिक गरेकी थिइन् । पहिलो हाफ सकिन एक मिनेट अघि उनले नेपालका लागि चौथो गोल गरिन् ।
दोस्रो हाफमा नेपालले गोलका पर्याप्त अवसर सिर्जना गरेपनि सफल हुन सकेन । खेलको ८० औं मिनेटमा गोल गर्दै सावित्राले नेपाललाई ५–० को शानदार जित दिलाइन् ।
नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४–१ को शानदार जित हात पारेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्ध शनिबार खेल्ने छ ।
अर्को समूहमा साउद अबर, लेवनान, जोर्डन र ग्वाम रहेका छन् । दुवै समूहका शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपाल यो प्रतियोगितामा आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएको हो ।
काठमाडौं । एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ। जितसँगै तीन खेलको उक्त शृंखला क्यानडा–११ ले २–१ ले जित्यो। पहिलो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले क्यानडामाथि दुई विकेटको जित हासिल गरेको थियो।
आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा–११ ले २८ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो। क्यानडा–११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै छ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे। त्यसैगरी नवनित दलिवालले ३८, आरोजन जोनसनले ३६ तथा निखिल दत्तले १४ रन बनाए।नेपालका लागि साहब आलमले चार विकेट लिए भने शेर मल्ल र बसिर अहमदले समान एक–एक विकेट लिए।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो। नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए। त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए। सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाए।
क्यानडाका लागि डिलोन हेलिगर, निकोलस कीर्तन र हर्ष ठेकरले समान दुई–दुई विकेट लिए भने कप्तान सादबिन जफर र कलिम सानाले समान एक–एक विकेट लिए।
पोखरा : सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटीले एक स्ट्रोकको अग्रता बनाएका छन् । पोखरास्थित पार–६९ को हिमालयन गल्फ क्लबमा पूर्व नम्बर एक प्रो भुवन ३–अण्डर ६६ को स्कोरमा शीर्ष स्थानमा रहेका हुन् । एमेच्योर खेलाडी सदभाव आचार्य २–अण्डर ६७ मा खेल सकाउँदै दोस्रो स्थानमा रहे । रवि खड्का र निरज तामाङले इभन–पार ६९ को स्कोरमा तेस्रो स्थान बाँडे ।
१–ओभर ७० सहित धन बहादुर थापा पाँचौं स्थानमा रहँदा दीपक आचार्य र टंक बहादुर कार्की २–ओभर ७१ सहित संयुक्तरुपमा छैटौं स्थानमा रहे । बलभद्र राई, भुवन कुमार रोक्का, दीपक मगर, दिनेश प्रजापति तथा एमेच्योर सुन्दर राई ३–ओभर ७२ को स्कोरमा संयुक्तरुपमा आठौं स्थानमा रहे ।
लिडर भुवनले दोस्रो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइनमा १–अण्डर ३३ मा पूरा गरे । यसपछि तीन बर्डी खेलेका उनले एक बोगी खेप्दा ब्याक नाइन २–अण्डर ३५ मा सकाए । भुवनले ११औं, १५औं र १८औं होलमा एक–एक सट बचाउँदा १२औं होलमा बोगीको सामना गरे ।
सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि विजेता सदभावले फ्रन्ट नाइन १–अण्डर ३३ र ब्याक नाइन १–अण्डर ३४ मा सकाए । उनले तेस्रो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले । यसपछि १२औं होलमा बोगी खेपेका सदभावले १३औं र १५औं होलमा बर्डी प्रहार गरे ।
पूर्व नम्बर एक प्रो रविले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए र ब्याक नाइनमा इभन–पार ३५ खेले । चौथो र आठौं होलमा बर्डी प्रहार गरेका रविले छैटौं होलमा डबल बोगी खेपे । यसपछि १०औं होलमा बर्डी प्रहार गरे भने रविले १८औं होलमा एक सट खेर फाले ।
निरजले फ्रन्ट नाइनमा बोगी रहित १–अण्डर ३३ खेल्दा ब्याक नाइनमा १–ओभर ३६ खेले । उनले तेस्रो होलमा बर्डी प्रहार गरे । यसपछि निरजले १३औं र १५औं होलमा बोगी खेपे भने १४औं होलमा एक सट जोगाए ।
तीन दिनसम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ । काठमाडौं बाहिर हुने दुई प्रतियोगिता मध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागिता रहेको छ ।
डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई र सुवास तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेकाले यस प्रतियोगितामा उनीहरुले सहभागिता जनाएका छैनन् । गत महिना धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर शुक्र भारतीय गल्फ टुरमा सहभागिता जनाउन गएका हुन् । पूर्व नम्बर एक एमेच्योर गल्फर सुवासले प्रोफेसनल गल्फ टुर अफ इण्डियाको क्वालीफाइङ स्कुलमा दोस्रो हुँदै भारतीय गल्फ टुरको २०२४ सिजनको लागि कार्ड प्राप्त गरेका हुन् ।
३६ होलको समाप्तीमा कट लागू हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन् । एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम दिन प्रतिस्पर्धा गर्न पाउनेछन् ।
कूल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । चौथो र पाँचौं स्थान प्राप्त गर्ने प्रोफेसनल खेलाडीले क्रमशः ५९ हजार र ५० हजार हात पार्ने छन् । साथै उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरले नगद हात पार्ने छन् ।
प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत जारी सिजनमा कूल आठ प्रतियोगिता रहेका छन् । जसमा कूल ६५ लाख नगद पुरस्कार रहेको छ ।
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।
नामिबियाका लागि जेरार्ड इरास्मसले अर्धशतकीय इनिङ खेले । उनले ५६ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए । यस्तै जेजे स्मितले ६६ बलमा ३४ रन बनाउँदा मिचेल भान लिनगेनले ३४ बलमा ३१ रन बनाए । रुवेन ट्रम्पलमनले १६ रनको योगदान गरे । नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिँदा कुशल मल्ल, ललित राजवंशी, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६.२ ओभरमा अलआउट हुँदै १६८ रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले अर्धशतकीय इनिङ खेले । आशिफले ६४ बलमा ५८ रन बनाए ।
यस्तै कुशल मल्लले ३६ रन बनाउँदा भीम सार्कीले २६ रनको योगदान दिए । कुशल भुर्तेलले १८ रन बनाए भने करण केसीले १२ रन बनाए । नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमा आउट भए । नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले ४/४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।
नेपाल जारी सिरिजको पहिलो खेलमा पनि नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भने नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । सिरिजको अर्को खेलमा शुक्रबार नामिबियाले नेदरल्याण्ड्सको सामना गर्नेछ भने आइतबार सिरिजको अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल ३६.२ ओभरमा १६८ रन बनाउँदै अलआउट भयो ।
नेपालका लागि आशिफ शेखले अर्धशतकीय इनिङ खेले । आशिफले ६४ बलमा ५८ रन बनाए । यस्तै कुशल मल्लले ३६ रन बनाउँदा भीम सार्कीले २६ रनको योगदान दिए । कुशल भुर्तेलले १८ रन बनाए भने करण केसीले १२ रन बनाए । नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमा आउट भए ।
नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले ४/४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।
काठमाडौं : क्यानडा ११ सँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए २ विकेटले विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय इनिङ खेले । बसिरले ४ चौका र १ छक्काको सहयोगमा ७३ बलमा नटआउट ५२ रन बनाए । यस्तै सन्दीप जोराले ७४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । रसिद खानले ५१ बलमा ३ चौका र २ छक्कासहित ४७ रन बनाउँदा अर्जुन कुमालले ६४ बलमा ३ चौकासहित ४० रन बनाए ।
इसत्याक अहमद/मध्यान्ह
रौतहट : रौतहटको सदरमुकाम गौरमा ७४औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित ११औं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा चञ्चला कुमारी कुश्वाहा प्रथम भएकी छन् । फाइनल दौडमा सहभागी भएका २० जना प्रतियोगीमध्ये गौर नगरपालिका–५ निवासी चञ्चला प्रथम भएकी हुन् ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेको प्रतियोगितामा राजदेवी नगरपालिका–७ निवासी रानीकुमारी यादव दोस्रो तथा गौर नगरपालिका–४ निवासी बबिता कुमारीले तेस्रो स्थान हासिल गरेकी छिन् ।
राजदेवी मिडिया सेन्टर रौतहटद्वारा आयोजित महिला साइकल दौड प्रतियोगिताका प्रथम विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो स्थान प्राप्त गरेकालाई २० हजार नगद पुरस्कार दिइएको छ । १४० जनामा छनोट भएर फाइनलमा सहभागी भएका २० जनालाई पुरस्कार स्वरुप एक–एक थान साइकल दिइएको आयोजकले जनाएको छ ।
काठमाडौं : नेपालले भारतको रणजी ट्रफी खेल्ने गुजरात र बरोडासँग टी–२० फ्रेन्डसिप कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा हुने टी–२० फ्रेन्डसिप कपको खेल तालिका सार्वजनिक गरेको हो ।
नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय सिरिज हुने छ ।
मार्च ३१ मा गुजरातविरुद्ध खेल्दै नेपालले टी–२० सिरिजको शुरुवात गर्नेछ । डबल राउण्ड रोबिनका आधारमा शीर्ष दुई टिमले अप्रिल ७ मा फाइनल खेल्नेछन् । खेल तालिका अनुसार १ अप्रिलमा गुजरात र बरोडा, २ अप्रिलमा नेपाल र बरोडा, ३ अप्रिलमा नेपाल र गुजरात, ४ अप्रिलमा बरोडा र गुजरात, ५ अप्रिलमा नेपाल र बरोडा खेल्ने छन् ।
क्यानले नेपालको सिनियर टोलीसँगै स्टेट लेभल रणजी खेल्ने गुजरात र बरोडाको पहिलो रोजाईको टोली हुने बताएको छ । रणजी ट्रफी भारतको प्रिमियर घरेलु पहिलो क्लासको क्रिकेट प्रतियोगिता हो । जुन प्रतियोगिता भारतीय क्रिकेट बोर्डले हरेक वर्ष आयोजना गर्ने गर्छ । जसमा क्षेत्रीय र राज्य स्तरका क्रिकेट टिम सहभागी हुने गर्छन् ।
निस्ता कार्की/मध्यान्ह
कालीकोट : कालीकोटको पलाँता गाँउपालिका वडा नं. ९ निवासी फुटबलका पुराना खेलाडी धिरेन बम अहिले भावी पुस्तालाई फुटबल खेलाडी बनाउन लागिपरेका छन् । २०६० सालमा १५ वर्षको उमेरमा कैलालीमा हुने वीरेन्द्र कप फुटबल खेलेका उनले अहिले फुटबल एकेडेमी र फुटसल सञ्चालनमा ल्याएका छन् ।
आफ्ना दाइ युद्ध शाहीसँगको सहकार्यमा बमले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ४ मा फुटबल एकेडेमी र फुटसल सञ्चालनमा ल्याएका हुन् । उनी भन्छन्, ‘विगतमा मैले फुटबल खेलें, अहिले भावी पुस्तालाई खेलाउँछु भनेर दाइसँगको सहकार्यमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएको हुँ ।’
उनले कर्णाली प्रदेशमै फुटबलप्रति आकर्षण बढाउने र खेलाडी उत्पादन गर्ने उद्देश्यले फुटबल एकेडेमी सञ्चालन ल्याएको बताए । उनले भने, ‘हरेक नागरिकलाई स्वस्थ राख्न र बालबालिकाहरुलाई कुलतबाट जोगाउनका लागि खेलप्रति आकर्षण गारउने मुख्य उद्देश्य हो । मेरो दाइ युद्ध शाही त्रिभुवन आर्मी क्लवबाट विगत १७ वर्षदेखि फुटबल खेलिरहेको खेलाडी हो । त्यसैले यो एकेडेमी सञ्चालनमा उहाँले सहयोग गर्नुभयो ।’
सानैदेखि फुटबलप्रति रुची राख्ने बम आफ्नो जन्मभूमि कालीकोटमा त्यतिबेला भलिबलमात्र खेल हुने सम्झन्छन् । तर आफू सानैदेखि कैलालीको टिकापुर बस्ने भएकाले फुटबल खेल्न अवसर मिलेको उनी बताउँछन् । त्यतिबेला गाउँमा ‘काम नपाएर खेल खेल्छन्’ भन्ने भाष्य रहेको उनी बताउँछन् । तर आफू टिकापुर बस्ने भएकाले फुटबल खेल्न परिवारबाट कहिल्यै अवरोध नभएको उनी बताउँछन् । तर पनि आमाले राम्रो पढेर सरकारी जागिर खाए हुनेथियो भनेर आफूसँग गुनासो गर्ने गरेको उनी सम्झन्छन् । उनका दाइ दिपक बम पनि फुटबलका राम्रा खेलाडी थिए । दाइले विभिन्न प्रतियोगितामा मेडल ल्याएको देख्दा आफूलाई पनि फुटबलमा केही गरेर देखाउने सोच आएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘२०६० सालबाट २०६६ सालसम्म टिकापुरमै रहेर लगातार मैले फुटबल खेलें । त्यसपछि ११ र १२ काठमाडौंमा पढें । फाट्टफुट्टरुपमा मैले खेल खेलिरहें । २०६८ सालमा म कालीकोट फर्किएँ । मैले कालीकोट आउँदा जिल्लामा फुटबल खेललाई स्थापित गर्नुपर्छ भन्ने सोच बनाएँ ।’
कालीकोटमा फुटबल खेलको प्रतियोगिता थालनी गर्ने खेलाडी बमले अगाडि भने, ‘२०६८ सालबाट कालीकोटको विकट क्षेत्र पलाँताको थिर्पुमा बसेर घाटा चौरमा फुटबल ग्राउण्ड आफैं निर्माण गरी खेल खेल्ने र खेलाउन थालें । त्यसपछि जिल्लामै पहिलो २०७१ सालमा घाटा चौरमा दशैं र तिहारको उपलक्ष्यमा जिल्लास्तरीय खुला फुटबल प्रतियोगिता आयोजना गरें ।’
गाँउमा खेल खेल्ने मान्छेलाई राम्रो नमान्ने समाजमा आफूले ठूलो प्रतियोगिता आयोजना गरेको उनले बताए । त्यस प्रतियोगितालाई धेरैले सहयोग गर्न पनि नरुचाएको उनले बताए । तर पनि शानदाररुपमा उक्त प्रतियोगिता सम्पन्न भएको उनी बताउँछन् । जसले आफ्नो फुटबल जीवनमा थप उत्साह जगाएको उनले बताए । उनी भन्छन्, ‘२०७१ र २०७२ सालमा घाटा चौरमै खुला फुटबल प्रतियोगिता सम्पन्न भयो । त्यसबाट मैले जिल्लाबाट उत्कृष्ट खेलाडीका रुपमा क्षेत्रीय स्तरका प्रतियोगितामा भाग लिने अवसर पाएँ । खेल खेल्दै गर्दा मैले बेलायती र भारतीय सेनाका लागि पनि प्रयास नगरेको होइन । तर सफल हुन सकिनँ । त्यसपछि मैले फुटबलमै लाग्ने योजना बनाएँ ।’
उनले अगाडि भने, ‘२०७१ सालदेखि २०८० सालको असोजसम्म निरन्तर फुटबल खेलें । राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा प्रदेशबाट पनि खेलें । फुटबलसँगै एथलेटिक्स, ट्रायाथलन खेलमा पनि भाग लिएँ । तर मेरो स्वास्थ्यको समस्याका कारण खेल जीवनलाई पनि निरन्तरता दिन नसक्ने अवस्था आएपछि २०८० साल असोजमा जिल्लामा आयोजना भएको प्रेम स्मृति गोल्डकप खेलेर सन्यास लिएँ । मैले २०६० सालदेखि २०८० सम्म २० वर्ष फुटबल खेलमै समय बिताएँ । अहिले अन्य क्षेत्रमा लाग्न मन पनि भएन ।’
उनले सुर्खेतमा अहिले फुटसलसँगै भारतीय र बेलायती आर्मी भर्तिका लागि युवाहरुलाई तालिम दिने काम पनि गरिरहेका छन् । उनले भने, ‘म आफू भर्ति हुन सकिनँ । तर अरु युवाहरुलाई भर्ति हुन सहयोग पुगोस् भनेर कर्णाली वारियर्स नामक तालिम केन्द्र दर्ता गरी सञ्चालनमा ल्याएको छु । हालसम्म कर्णाली वारियर्सबाट ५८ जना भारतीय सेना र एक सय जनाभन्दा बढी नेपाली सेनामा भर्ति भएका छन् ।’
काठमाडौं : नेपाल ए ३ एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । आइतबार मुलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ए क्यानडा ११ सँग ४ विकटेले पराजित भएको हो ।
नेपाल ए ले दिएको २१७ रनको लक्ष्य क्यानडा ११ ले ३ बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टाएको हो । क्यानडाका लागि नभनित ढालीवालले सर्वाधिक ८० रनको योगदान गरे । उनले ७६ बलमा १० चौका र दुई छक्काको मद्दतले ८० रन बनाएका हुन् । त्यस्तै निखिल दत्त ६७ र श्रीयस मोभ्वा २२ रनमा अविजित रहे । त्यस्तै साद जाफरले २३ रनको योगदान गरे ।
नेपालका लागि साहब आलमले सर्वाधिक दुई विकेट लिँदा प्रतिश जीसी, रशिद खान, सागर ढकाल र बसिर अहम्मदले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २१६ रन बनाएको थियो । नेपालका लागि बसिर अहमदले अर्धशतकीय इनिङ खेले । उनी ५० रनमा अविजित रहे । यस्तै राशिद खानले ४० रनको योगदान दिए । क्यानडाका लागि साड जाफरले ३, इश्वरजोत सोहीले २ तथा दिलियोन हेगर, हर्ष थाकर र शाहिद अज्मदाईले १-१ विकेट लिए । नेपाल ए ले क्यानडा ११ सँग दोस्रो खेल मंगलबार खेल्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies