मनाङः हिमाली जिल्ला मनाङ आउने पर्यटक मौसम शुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम शुरु भएसँगै प्रमुख पर्यटकीय क्षेत्रको अनुगमन शुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप)को समन्वयमा जिल्ला सुरक्षा समितिले अनुगमन शुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले पर्यटक आगमन हुन थालेपछि उनीहरुको यात्रा सुरक्षित र सहज होस् भन्ने उद्देश्यले अनुगमन गरिएको बताइन् । हिमाली क्षेत्रमा आउँदा लेक लाग्न सक्ने भएकाले पर्यटकले सचेतता अपनाउनुपर्ने उनले बताइन् ।
‘विशेष गरी पर्यटक आउँदा बाटो राम्रो बनाउनुपर्छ भन्ने हेतुले अनुगमन गरिएको हो, एक पटक आएका पर्यटकलाई फेरि पनि लोभ्याउने गरी बाटो सुरक्षित बनाउनु आवश्यक छ, बाटो सुरक्षित तवरबाट पार गर्न सहजीकरण गर्न एक्यापलाई आग्रह गरेका छौँ’, उनले भनिन्, ‘पर्यटकको स्वास्थ्यमा समस्या आएमा तुरुन्त खबर गर्नका लागि दूरसञ्चार सेवाको सहज पहुँच बनाउन समन्वय गर्नुपर्ने देखिएको छ, यसको प्रवाह सहज बनाउने प्रयासमा छौँ ।’
तिलिचो ताल क्षेत्रबाट प्राकृतिक दृश्यावलोकनका लागि बस्ने स्थान निर्माण गर्नुपर्ने देखिएको उनले बताइन् । हिमपात नभएको अवस्थामा ढुङ्गा राखे बस्न सकिन्छ भने हिउँ भएको अवस्थामा बस्ने स्थान निर्माण गरी पर्यटकलाई सहज बनाउने ढङ्गले व्यवस्थापन गर्न एक्यापलाई सुझाव दिएको उनले बताइन् । पछिल्लो समय मनाङको थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल लगायतका महत्वपूर्ण पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ ।
‘बाटो सहज बनाउनुका साथै टि हाउस व्यवस्थित गर्न एक्याप लागिपरेको छ’, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले भने, ‘हिमाली क्षेत्रमा बाटो देखाउन राखिएका साइनिङ पोल, बोर्ड हावा तथा हिउँले खुइलिने भएकाले कहाँ कस्तो अवस्था छ भन्ने अवलोकन गरेका छौँ, ती बिग्रिएका स्थानमा नयाँ बोर्ड राखेर पर्यटकलाई गन्तव्यमा पुग्न सहज बनाउन लागेका छौँ ।’
विशेष गरी यस सिजनमा आन्तरिक पर्यटक बढी आउने उनको अनुभव छ । उनका अनुसार विदेश पर्यटक ‘हाइ अल्टिच्युड’को अभ्यास गरी आउने गर्दछन् । जसले गर्दा उनीहरुमा समस्या कम देखिन्छ तर, स्वदेशी पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको प्रमुख भुजेलले बताए । योजनाबद्ध तवरबाट यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा स्वदेशी पर्यटकमा लेक लाग्ने समस्या नहुने उनको भनाइ छ ।
ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यस जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य यसै पालिकामा पर्ने हुँदा पर्यटकलाई सहज रुपमा गन्तव्यसम्म पुग्ने वातावरण तयार गरिएको बताए । उनका अनुसार तिलिचो तालसम्म पुग्ने क्रममा ठाउँठाउँमा सार्वजनिक शौचालय, खानेपानी, फोहोरमैला व्यवस्थापनका लागि डम्पिङसाइट निर्माण गरिएको छ । पर्यटकलाई मध्यनजर गरी तिलिचो बेस क्याम्पमा अस्थायी स्वास्थ्य केन्द्र राखिएको अध्यक्ष घलेले बताए ।
त्यस्तै थोराङ्ला भञ्ज्याङतर्फ जाने पर्यटकलाई सहज बनाउन पनि सार्वजनिक शौचालय, खानेपानी, फोहाेरमैला व्यवस्थापनका लागि डम्पिङसाइट निर्माण गरिएको छ । घुम्ने मौसम शुरु भएसँगै मनाङमा हालसम्म एक सय ४९ बाह्य पर्यटक आगमन भएको एक्यापको तथ्याङ्कमा उल्लेख छ । सन् २०२३ को जनवरीदेखि हालसम्म १० हजार तीन सय ५० बाह्य पर्यटक भित्रिएको एक्यापले जनाएको छ ।
मनाङमा दुई सिजनमा पर्यटक घुम्न आउने गर्दछन् । हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी कोही मुस्ताङ त कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पदयात्राको शुरुवात हुन्छ ।
अन्नपूर्ण पदमार्ग लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्लामा जोडिएको छ । काठमाडौंदेखि बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् भने पदमार्गबाट मनाङका विभिन्न पर्यटकीय स्थानको अवलोकन गर्दै यात्राको शुरुवात गर्दछन् । रासस
रौतहटः जिल्लाको करिब तीन हजार एक सय बढी हेक्टर क्षेत्रफल जङ्गल अतिक्रमणको चपेटामा परेको छ । चुरे, भावर आसपासका क्षेत्रमा वन मासिनुका साथै बालुवा, ढुङ्गा, गिटी उत्खनन गर्ने काम तीव्ररुपमा बढेको छ ।
सम्बन्धित निकाय मौन हुँदा राजमार्ग क्षेत्रका आसपासमा भएका अतिक्रमित वन जङ्गलको जग्गामा पक्की घर निर्माण गर्ने होडबाजी नै चलेको स्थानीय बताउँछन् । वन अतिक्रमण तीव्ररुपमा बढे पनि वन प्रशासनले त्यसतर्फ ध्यान दिएको छैन ।
सबैभन्दा बढी वृन्दावन नगरपालिका–१ बलेरीको जङ्गल अतिक्रण भएको छ । सो ठाउँमा घर बनाउनेक्रम बढेको स्थानीय बताउँछन् । ‘पहिला सुकुम्बासीको नाममा जङ्गल फँडानी गरी भोटे टोल स्थापना भएको थियो, अहिले यो टोल आसपासका ठाउँमा वन कार्यालय मलेरीका कर्मचारीको मिलेमतोमा वन मासेर घर, टहरा बनाउनेक्रम बढ्दै गएको छ’, जङ्गलसहिया साझेदारीका पूर्वउपाध्यक्ष मितेश नन्दन मिश्राले भने ।
केही समय पहिला डिभिजन वन कार्यालयले नर्सरी बनाएर वृक्षरोपण गरेको स्थानमा घर बनाउने कार्य देखिएको डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले बताए । जिल्लाको बलेरीमा मात्र नभएर अन्य स्थानमा समेत वनको जग्गामा घरटहरा बनाउनेक्रम देखिएको छ । चन्द्रपुर नगरपालिकाको बेतौनाको जङ्गलमा राजनीतिक दलको संरक्षणमा घरटहरा बनाउनेक्रम बढ्दै गएको छ ।
राजनीतिक दलको संरक्षणका कारण वन जङ्गलको अतिक्रमित जग्गामा निर्माण गरिएको खेतीयोग्य जग्गा, घर, टहरा भने खाली गराउन समस्या भएको वन कार्यालयले जनाएको छ । यस वर्ष भने दर्जन बढी नयाँ घर निर्माण भएका बताइएको छ । अनधिकृतरुपमा बसेको मानव बस्तीमा खानेपानी, बिजुली, विद्यालय लगायतको व्यवस्थापन गरिएको हुँदा कसरी अतिक्रमित बस्तीलाई खाली गराउने भन्ने समस्या रहेको प्रमुख कर्णले बताए ।
राष्ट्रिय वनअन्तर्गत पर्ने चन्द्रपुर नगरपालिका–३ अरुणबस्ती, भोलेन्टार, गैँडाटारको महादेव डाँडा, तोरीवारी, इपलीबस्ती, फूलबारी, हिलेखोला पौराई, गुजरा, वृन्दनवन, फतुवा विजयपुरलगायतका वनजङ्गल क्षेत्रमा रुख व्यापकरुपमा कटानी गरेर अतिक्रमण गर्ने कार्य तीव्ररुपमा भइरहेको बताइएको छ ।
वन क्षेत्रमा चरिचरनका साथै रुख काट्ने प्रवृत्ति पछिल्लो समयमा बढेर गएको छ । राजमार्ग उत्तर तथन चुरेसँगै जोडिएका वन क्षेत्रमा वन कर्मचारीको उपस्थिति शून्य रहँँदा राष्ट्रिय वन सम्पदा अतिक्रमणको चपेटामा पर्दै आएको हो ।
नवलपरासीः नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानले लगाएका धानबालीमा पुतली (झिँगा)को प्रकोप बढ्न थालेको छ । धान बालीमा सेतो पुतलीको प्रकोप बढ्न थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । कावासोती नगरपालिका क्षेत्रको धान बालीमा पुतलीको प्रकोप बढ्दो क्रममा रहेको नगरपालिकाका कृषि विकाश शाखा प्रमुख शिवनारायण कुमालले बताए ।
‘वडानं ७ देखि १७ सम्मका धान बालीमा पुतलीको प्रकोप दैनिकरुपमा बढिरहेको छ, सावित्री र हाइब्रिड जातका धानमा धेरै क्षति भएको पाएका छौँ’, उनले भने ।
धान बालीमा सेतो पुतलीको प्रकोप देखिन थालेपछि नगरपालिकाले व्यवस्थापनका लागि अभियान नै चलाएको छ । धान खेतमा पुगेर किसानलाई प्रशिक्षण र व्यवस्थापन विधि सिकाइएको शाखा प्रमुख कुमालले बताए । सेतो पुतलीका कारण धानको पात पहेँलिने समस्या कावासोती र गैँडाकोट नगरपालिकामा जटिलरूपमा फैलिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए ।
‘जिल्लाका आठवटा पालिकामध्ये कावासोती र गैँडाकोटको धान बालीमा पुतली र ढुसीको प्रकोप फैलिँदो रहेको पाएका छौँ’, उनले भने । जिल्लामा अहिले सुरुवाती चरणमा रहे पनि दिन प्रतिदिन धान बालीमा क्षति फैलिँदो रहेको प्रमुख लामिछानेले बताए । यसवर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ । जिल्लामा यो वर्ष ७६ हजार नौ सय ५६ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिए पनि पछिल्लो प्रकोपले उत्पादन घट्न सक्नेमा उनको चिन्ता थियो ।
‘यी पुतली प्रायजसो पातको पछाडिपट्टिको सतहमा बस्दछन्, यो कीराको वृद्धि विकास र क्षति प्राय गरेर चिसो मौसमभन्दा गर्मी मौसममा बढी देखिन्छ । सेतो पुतलीको वयस्कले एकै पटक एक सय ५० वटासम्म सेतो रङ्का फुल पार्छ। यसको बच्चा अन्डाबाट निस्केपछि एकदेखि तीन हप्तासम्म पातमा टाँसिएर बस्ने गर्दछ’, उनले भने ।
नेपालमा मुख्यतया गोलभेँडा, काँक्रो, भण्टालगायत तरकारी बालीमा यस्तो कीराको प्रकोप देखिए पनि पछिल्लो समय धानमा समेत व्यापक रूपमा क्षति पुर्याउन थालेको उनले बताए । यो कीरा वयस्क हुँदा एक मिलिमिटरभन्दा सानो, शरीर हल्का पहेँलो सेतो तथा पखेटा सेतो देखिन्छ । सङ्क्रमित बिरुवा चलाउँदा सेता स–साना कीरा उडेको देख्न सकिने र वयस्कले रोगी बिरुवाबाट भाइरसजन्य रोग स्वास्थ्य बिरुवामा सार्नुका साथै एउटै गाँजमा हजारौँको सङ्ख्यामा यसको सङ्क्रमण भएको समेत देखिने प्रमुख लामिछानेले जानकारी दिए ।
‘यो पुतलीको बच्चा र वयस्क दुवै हजारौँ संख्यामा रही धानका कलिला पातको रस चुसेर बिरुवालाई कमजोर बनाउँदछ, बच्चा अवस्थामा यसले गुलियो पदार्थ उत्पादन गर्छ र यसमा कालो ढुसी विकास हुन गई पातको सतह छोप्दा पातमा प्रकाश संश्लेषण प्रक्रिया अवरुद्ध हुनपुग्दछ’, उनले भने । रासस
सर्लाहीः उखुमा अनुदानको अभाव एवम् उद्योगले दिनुपर्ने भुक्तानी समयमै नदिँदा निराश बनेका जिल्लाका किसान हरिवन नगरपालिका–११ मा रहेको इन्दुशकर चिनी उद्योगले उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण गराएको छ ।
अनेकौ समस्या व्यहोरेर पनि उखु उत्पादन गरिरहेका जिल्लाका किसानले पछिल्लो समयमा उद्योगले दिनुपर्ने भुक्तानी र सरकारबाट प्राप्त हुनुपर्ने अनुदान नै नपाएपछि उखु खेतीको विकल्प खोज्न थालिएको अवस्थामा उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण र उन्नत जातको उखुको बीउ वितरण गरेपछि पुनः आफूहरुको मनोवल बढेको सहभागी किसान माधव थापाले बताए ।
पछिल्लो समय जिल्लामा उखु खेती घट्दा चिनी उद्योग नै सङ्कटमा पर्न थालेपछि चिनी उद्योगले जिल्लाका उखु उत्पादक किसानलाई उन्नत जातको उखु खेतीको अवलोकन भ्रमण गराएको हो । उद्योगले आफ्नो फार्ममा लगाएको उखु खेतीको अवलोकन गराउनुका साथै अन्तरक्रियासमेत गराएकोे अर्की कृषक धनमाया विकले बताइन् ।
उन्नत जातको उखुको बीउ लगाउन जिल्लाका उखु उत्पादक किसानलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधि प्रयोग गर्नुपर्नेमा जानकारी गराइएको उद्योगको प्रशासन शाखाका अधिकारी डा. कुरप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार उद्योगले अहिले २८ बिघा क्षेत्रफलमा विभिन्न तीन जातका उखु लगाएकामा र सो स्थलको अवलोकन गराइएको थियो ।
उखु उत्पादक किसानको उत्पादन राम्रो भए चिनी उद्योग र किसान दुबैले राम्रो प्रतिफल पाउने भएकाले आधुनिक प्रविधि प्रयोग गरी उखु खेती गर्नुको विकल्प नरहेको उद्योगका प्रवन्धक योगनारायण रजकले बताए । उनले भारतबाट ल्याइएको विभिन्न जातका उखु १५ कठ्ठा जमिनमा लगाइएको र उखुको बीउ यो वर्ष विस्तार गरेर २८ बिघामा लगाइएकोे जानकारी दिए ।
नयाँ जातको उखु रोप्दा उत्पादन बढेर जाने र किसानको आम्दानी वृद्धि हुने उद्योगले जनाएको छ । इन्दुशकरले २८ विघामा तयार पारेको उखुको बीउ करिब एक हजार पाँच सय बिघा जमिनमा रोप्न पुग्ने उनले जानकारी दिए । उन्नत जातको उखु लगाउन प्रोत्साहन गर्न,उखु उत्पादक किसानको मनोवल बढाउन, उत्कृष्ट उखु उत्पादक किसानहरुलाई भ्रमणसहित उखु उत्पादक गर्ने तरिका सिकाउने, उपलब्ध बिउ वितरण गर्ने, परम्परागत उखु उत्पादक प्रणालीलाई परिवर्तन गरी आधुनिक प्रविधियुक्त तरिकाबाट उखु उत्पादनतर्फ आकर्षित गर्ने भन्दै इन्दुशंकरले उखु उत्पादक किसानहरुलाई स्थलगत अवलोकन गराएको हो ।
सो क्रममा सात सय बढी किसानलाई उन्नत जातको उखु लगाउने तरीका र विभिन्न जातका उखु लगाउँदा हुने उत्पादनलगायत विषयमा जानकारी गराउननाका साथै अपनाउनु पर्ने सावधानीका विषयमा प्रशिक्षण दिइएको उद्योगले जनाएको छ । रासस
कन्चनपुरः सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगङ्गा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा गरेका छन् ।
आइतबार साँझ कन्चनपुरको महेन्द्रनगर पुगेका कैलालीको गौरीगङ्गा नगरपालिका–४ का देवराज पाध्याले यहाँ पुगेर यात्रा समापन गरेका हुन । गत चैत पहिलो साता डडेल्धुरादेखि यात्रा शुरु गरेका पाध्याले सुदूरपश्चिमका धार्मिक एवं सम्भावना बोकेका क्षेत्रको पहिचान र प्रचारप्रसारका लागि आफूले पैदल यात्रा थालेको जानकारी दिए ।
एक सय१७३ दिनमा ७७ वटै जिल्ला सदरमुकाम पुगेका पाध्याले यात्रामा सुदूरपश्चिमका नौवटै जिल्लामा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको बारेमा ब्यानरसहित हिँडेको बताए । ‘व्यक्तिगत लगानीमा यहाँका सम्भावना बोकेका क्षेत्र चिनाउने क्रममा धेरैले यात्राका क्रममा सुदूरका धार्मिक पर्यटकीय क्षेत्रको विषयमा चासो राख्थे’ खप्तड, बडिमालिकादेखि गोदावरी धामसम्मको प्रचार यात्राका क्रममा गरेँ’, उनले भने ।
पैदल यात्रामा निस्केका पाध्यालाई उ्नको गृह पालिका गौरीगङ्गा नगरपालिकाले बीस हजार सहयोग गरेको बताए । ‘यात्राका क्रममा हिँड्दै जाँदा खानपिन र बसोबासका लागि धेरै ठाउँमा सहयोग पनि भयो’, उनले भने, ‘सुदूरपश्चिम पर्यटनको अथाह सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रवद्र्धनका लागि पहल गर्नु आवश्यक छ ।’ रासस
काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बीउ उत्पादन थालेको छ । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन थालिएको हो ।
उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बीउ उत्पादन गर्दै आएको थियो । ‘यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ । यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट नै पठाइन्छ’, उद्योगका सञ्चालक शशि अधिकारीले भने । उनका अनुसार ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बीउ बन्दछन् ।
एक बिरुवामा ५० देखि चार सयसम्म बीउ उत्पादन हुने अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त प्रकृतिको बीउ उत्पादन गर्न उद्योगमा एक करोडमा छुट्टै प्रयोगशाला निर्माण गरिएको छ । नयाँ प्रविधि भएकाले अन्य जातका आलुको तुलनामा उत्पादनको परिमाणबारे यकीन गर्न नसकिएको उनको भनाइ थियो ।
‘यसरी उत्पादन गरिएको बीउलाई परीक्षणका लागि निर्माण गरिएको टनेलमा करिब पाँच पटक (पाँच पुस्ता)सम्म रोपेर मात्रै कृषकलाई खेतबारीमा रोप्न पठाउने गरिन्छ’, अधिकारीले भने । उनका अनुसार गत साउनदेखि उक्त नौलो प्रविधिबाट आलुको बीउ उत्पादन प्रक्रिया थालिएको हो ।
यो प्रविधि नेपालमै नयाँ भएकाले यसप्रति कृषि प्राविधिकको चासो बढेको उद्योगका अर्का सञ्चालक राजेन्द्र थापाले बताए । उनका अनुसार उद्योगका प्राविधिकले नयाँका साथै पुरानै जातका आलुको नयाँ प्रविधिबाट बीउ उत्पादन गर्न थालेका छन् ।
उक्त उद्योगमा आलुको बीउ उत्पादनमा नयाँ प्रविधि ल्याइएपछि हाल कृषक, कृषि प्राविधिक तथा बीउ व्यवसायी अवलोकनका लागि आउने गरेका थापाले जानकारी दिए । उनका अनुसार उद्योगमा सिँचाइका लागि गत आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु. ११ लाख ५४ हजार रकम विनियोजनसमेत गरिएको थियो ।
काठमाडौंः सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन् । पछिल्लो अगष्ट महिनामा मात्रै ६७ हजार एक सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार तीन सय चार पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ७३ हजार आठ सय १४ पर्यटक नेपाल आएका थिए ।
बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको बताए । उनले सम्भावित स्रोतबजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पुर्याउने लक्ष्यमा पुग्न सहज हुने विश्वास व्यक्त गरे ।
पछिल्लो अगष्ट महिनामा पनि सबैभन्दा बढी भारतबाट २६ हजार छ सय ६५, चीनबाट पाँच हजार २७, अमेरिकाबाट चार हजार छ सय २९, श्रीलङ्काबाट तीन हजार पाँच सय ५८ र बङ्गलादेशबाट तीन हजार एक सय ९० पर्यटक नेपाल भित्रिएका छन् ।
यस्तै, बेलायतबाट दुई हजार सात सय ११, स्पेनबाट एक हजार पाँच सय ८८, जापानबाट एक हजार पाँच सय २०, इटालीबाट एक हजार चार सय ९६ र अष्ट्रेलियाबाट एक हजार तीन सय ४७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
।
नेपाल राष्ट्रिय पुस्तकालयको जमलस्थित प्रस्तावित नयाँ भवनको डिजाइन । पुल्चोकमा रहेको सो पुस्तकालय विनासकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि हाल सानोठिमीमा अस्थायीरुपमा सञ्चालित छ । तस्बिर सौजन्य : नेपाल राष्ट्रिय पुस्तकालय
ललितपुरः कुनै समय फोहाेरको डम्पिङ साइट बनेको ललितपुर महानगरपालिका–२ इन्द्रयानी पार्क यतिबेला हरियाली पार्कमा परिणत भएको छ । लामो समय फोहोरको डम्पिङ साइट बनेको यस स्थानमा यतिबेला मानिसहरु समय काट्ने थलो बनेको छ । बागमती किनार अवस्थित पार्कले यस क्षेत्रको स्वरुप नै फेरिदिएको छ ।
विशेषगरी बागमती किनारमा सुकुम्वासी बस्ती विस्तार नहोस् भन्ने उद्देश्यले विसं २०६३ मा पार्कको निर्माण गरिएको हो । अहिले पार्कमा ३५ भन्दा बढी जातका दुई हजार भन्दाबढी बिरुवा छन् । पार्क निर्माण समितिले समय–समयमा थप वृक्षरोपण पनि गर्दै आएको छ ।
यस क्षेत्रमा टेकुदोभानदेखि ललितपुर महानगरपालिका–४ मलपोखरीसम्म राजतीर्थ पार्क, शहीद पार्क, बिपि पार्क र मोनमोहनपार्क गरी जम्मा चार पार्क छन् । पार्क व्यवस्थापनको जिम्मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भाडामा लिएको छ ।
बागमती नदीले छोडेको प्रतिजग्गा संरक्षण र हरियाली वातावरणसहित बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले पार्क निर्माण पार्क निर्माण समितिका अध्यक्ष राजेन्द्र थापा मगर बताउँछन् ।
उनका अनुसार ललिपुरमहानगरपालिका–२ देखि ललितपुर महानगरपालिका–४ सुन्दरघाटसम्मको बागमतीले छाडेको जमिनलाई मनोहन पार्कका रुपमा विस्तार गरिनेछ । ‘कुनै समय यहाँ फोहोर व्यवस्थापन गर्ने डम्पिङ थियो । विसं २०६२ मा फोहाेर व्यवस्थापन समिति ललितपुरबाट प्राप्त भएको तीन लाख सहयोगबाट पार्कको निर्माण सुरु भएको हो । पार्क निर्माण र संरक्षणका लागि बागमती प्रदेश सरकार र ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरिरहेको छ’, संस्थापक अध्यक्ष थापाले भने ।
पार्क प्रवेश निःशुल्क गरिएको छ । फोहोरका कारण दुषित देखिने बागमती नदी छेउमा हरियाली पार्क निर्माण भएपछि यस क्षेत्रमा मानिसको चहलपहल बढिरहेको छ । पार्क निर्माणपछि फोहाेर फाल्न पनि रोकिएको छ । पार्कको हरियालीले बागमती नदी छेउको बस्ती र नदीको शोभा बढाएको छ । रासस
पाल्पाः शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न शिवलिङ्ग स्थापना गरिएको हो ।
यसअघि शिव पञ्चायन मन्दिर तथा शालिग्राम सङ्ग्राहालय स्थापना गरिएको तपोभूमि टापुधाममा माटोबाट बनेको १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग आठ फिट लम्बाइ, आठ फिट चौडाइ र आठ फिट गहिराइको खाल्डोमा राखेर साना शिवलिङ्गको माथिल्लो भागमा शिलाबाट बनेको पञ्चमुखी शिवलिङ्ग स्थापना गरिएको समितिका संयोजक तथा वडाध्यक्ष कपिलबहादुर खाणले बताए ।
अखण्ड नेपाल निर्माणको सङ्कल्पसहित विभिन्न स्थानमा तीन करोड शिवलिङ्ग स्थापना गर्ने अभियानमा सक्रिय धार्मिक अभियन्ता योगिनी श्री उदयनाथ (शान्ति राज्य लक्ष्मी शाह) र योगी अक्षर ब्रम्ह (अग्निशम्शेर प्रताप शाह)को सङ्कल्पअनुसार वैदिक विधि पूरा गरी प्राण प्रतिष्ठासहित शिवलिङ्ग स्थापना गरिएको छ ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका रूपमा रहेको कालीगण्डकी नदी, यहाँ पाइने शालिग्राम शिलाको संरक्षण, धार्मिक प्रवर्द्धनका लागि टापुधाम क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्दै जाने बताए ।
‘कालीगण्डकी नदीसँग जोडिएको टापुधाम क्षेत्र धार्मिक पर्यटनका लागि अत्यन्तै सम्भावना बोकेको छ, कालीगण्डकी करिडोर सडकखण्ड यसकै आडमा रहेकाले आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार विकासका काममा जोड दिनेछौँ’, नगरप्रमुख थापाले भने ।
नेपाललाई अखण्ड राख्न सङ्कल्पका साथ विगत चार वर्षदेखि तीन करोड शिवलिङ्ग स्थापना गर्ने अभियान सञ्चालन गर्दै आइरहेको धार्मिक अभियान्ता योगी अक्षर ब्रह्म अग्निशम्शेर प्रताप शाह बताउँछन् । अबदेखि टापुधाममा शिवलिङ्ग स्थापनासँगै भगवान् शिवको प्रसादका रूपमा रहेको विशेष विधिअनुसार तयार गरिने रोट मन्दिरमा चढाउने व्यवस्था गरिने समितिले जनाएको छ ।
टापुधाममा नेपाल पर्यटन बोर्ड र रामपुर नगरपालिकाको सहकार्यमा शालिग्राम सङ्ग्राहालय स्थापना गरिएको छ । विश्वमा नै शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी तटमा अवस्थित यो क्षेत्रलाई रामपुर नगरपालिकाले शालिग्राम गृह बनाएर सङ्कलन तथा संरक्षण गरेर राखेको छ ।
कालीगण्डकी नदीको तटमा रहेको टापुधाम, रामघाट, उत्तरबाहिनीलगायतका विभिन्न क्षेत्रमा शालिग्राम सङ्कलन गरेर राखिएको छ । चारवटै वेदमा शालिग्राम भगवान्को अंश भएको उल्लेख हुनुले आदिकालदेखि नै शालिग्रामको उत्पत्ति, महत्व र प्रचारसमेत देखिन्छ । शालिग्राम भगावन्को अवतार हो भन्ने जनविश्वास रहेकाले यसलाई भगवान्का रुपमा पुज्ने गरिन्छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies