काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाली कामदारको लागि पेश भएका मागपत्र प्रमाणीकरण नगरेर वैदेशिक रोजगारको वैधानिक प्रक्रिया अवरुद्घ पारिएको बताएको छ ।
एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले गत असार १४ गते नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नयाँ कामदारको श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेपनि हालसम्म विदेशस्थित नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण शुरूवात नगरेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष नरेन्द्रप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा नेपाली दूतावासमा पेश भएका मागपत्र प्रमाणीकरण नहुँदा नेपाल कै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी भिजिट भिसामार्फत नेपाली कामदारहरु कामका लागि विदेश प्रस्थान गरेका र केही कम्पनीहरुको नामसहित ‘कतार सिण्डिकेट’ चर्चा भएकोमा एसोसिएसनका गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
एसोसिएसनले अन्तिम श्रम स्वीकृति र वैदेशिक रोजगार बीमा प्राप्त नगरी विदेश जाँदा र पठाउँदा कामदारहरुलाई कुनै भवितव्य पर्न गएमा कुनै पनि क्षतिपुर्ती पाउने कानूनी प्रावधान नभएकोले ठगीमा पर्ने अधिक सम्भावना हुने हुँदा यस्ता ऐन, नियम विपरितका कार्यलाई निरुत्साहित गर्न सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरु एकजुट हुनुपर्ने र यदि कहीँ कतै त्यस्ता कार्यहरुलाई प्रोत्साहन गरेको पाहिएमा त्यस्ता संस्थाहरु एसोसिएसनको सदस्य रहन नसक्ने बताएको छ ।
एसोसिएसनले यसबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले तत्काल छानविन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies