काठमाडौं : वैदैशिक रोजगार विभागले जथाभावी अभिमुखीकरण तालिम सञ्चालन गरिएको भन्दै हतार नगर्न आग्रह गरेको छ । हाल निषेधाज्ञाको समयमा पनि केही अभिमुखीकरण संस्थाहरुले सामाजिक दुरीसमेत कायम नगरी तालिम सञ्चालन गरिरहेको जानकारी आएको भन्दै विभागले अत्यावश्यक भएमा मात्र सामाजिक दुरी कायम गरेर अभिमुखीकरण तालिम कक्षा सञ्चालन गर्न सकिने बताएको छ ।
वैदेशिक रोजगार ऐनको दफा १९ अनुसार श्रम स्वीकृतिका लागि रोजगार आकांक्षी कामदारले सूचीकृत संस्थाबाट अनिवार्य अभिमुखीकरण तालिमको प्रमाणपत्र अनिवार्य छ ।
नेपालमा कोरोना भाइरसको दोश्रो लहर फैलिएपछि त्यसलाई रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा आदेश जारी भएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलले भौतिकरुपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृतिको कार्य स्थगित गरेको थियो ।
वैदेशिक रोजगार कार्यालय ताहाचलले बायोमिट्रक नभएका कामदारलाई कर्मचारी उपस्थित गराएर पनि श्रम स्वकिृति दिइरहेको छ । बायोमोट्रिक गरेका कामदारहरुले अनलाइन माध्यमबाट श्रम स्वीकृति पाइरहेका कारण सकेसम्म कार्यालयमा उपस्थित नहुन आग्रह गरेको छ ।
विभागले हाल अनलाइनमार्फत हुने पुनः श्रम स्वीकृति सम्बन्धी सेवा सुचारु राखेको र त्यस बाहेक अत्यावश्यक परेकाहरुको हकमा अत्यन्तै सीमित मात्र नयाँ श्रम स्वकिृति सम्बन्धी सेवा प्रवाह शुरु गरेको भन्दै अन्तर्राष्ट्रिय हवाइ सेवासमेत अत्यन्तै सीमित रहेकोले हतार नगर्न समेत आग्रह गरेको छ ।
वैदेशिक रोजगार कार्यालय ताहाचलले कोरोना संक्रमण केही कम भएको भन्दै आइतबार र बुधबार गरी हप्तामा दुई दिन श्रम स्वीकृति दिने निर्णय गरेपछि अभिमुखीकरण तालिम दिने संस्थाहरु सक्रिय भएका हुन् ।
गत बिहीबार मन्त्रिपरिषद् बैठकले चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको थियो । सो अनुसार कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनमा अन्तर्राष्ट्रिय उडान शुरु भएको छ । कतारको दोहा जाने नेपाल एयरलाइन्स र कतार एयरवेजबाट कामदारहरु खाडीका विभिन्न मुलुक गइरहेका छन् ।
कोरोना संक्रमणका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या निरन्तर घट्दै गएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ कोे नौ महिनाको अवधिमा जम्मा ६४ हजार ४ सय ७५ नेपाली वैधानिकरुपमा वैदेशिक रोजगारीमा गएका छन् । तर चालु आर्थिक वर्ष २०७७/७८ को चैतसम्म नेपाल भित्रिने रेमिट्यान्समा १६.५ प्रतिशतले वृद्धि भएको दाबी गरेको छ । २०७७ साउनदेखि चैतसम्म ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको अर्थ मन्त्रालयले जनाएको छ । यता आगामी हप्तादेखि साउदी अरबको उडानको तयारी भइरहेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies