काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले श्रम गन्तव्य मुलुकमा उच्च तत्परताका साथ नेपाली कामदारका गुनासो सुनुवाइ गर्न नवनियुक्त श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र कतारका लागि नियुक्त भएका काउन्सेलर (श्रम) र श्रम सहचारीहरुको अभिमुखीकरण कार्यक्रम समापनमा मन्त्री श्रेष्ठले उक्त निर्देशन दिएका हुन् ।
मन्त्री श्रेष्ठले नेपाली श्रमिकहरु टाढाटाढाबाट गुनासो लिएर दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो व्याप्त रहेको भन्दै श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न निर्देशन दिए ।
श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सेलर (श्रम) र श्रम सहचारीहरुले भूमिका खेल्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले काउन्सेलर (श्रम) र श्रम सहचारीहरु विदेशी कानून तथा आप्रवासी कामदारको मुद्दाबारे जानकार हुनुपर्ने बताए ।
अभिमुखीकरणमा वैदेशिक रोजगार व्यवस्थापन प्रणाली, श्रम आप्रवासन, द्विपक्षीय श्रम सम्झौता, श्रम कुटनीति, वैदेशिक रोजगार सम्बन्धी कानूनलगायतबारे विज्ञहरुले प्रशिक्षण दिएका थिए ।
विदेशमा कामदारको सहयोगका लागि श्रम सहचारी राख्न सकिने कानूनी व्यवस्था छ । मन्त्रालयले साउदी अरेबिया, रियादको काउन्सेलरमा देवेन्द्र कार्की र संयुक्त अरब इमिरेट्सका लागि दीनबन्धु सुवेदी तथा बहराइनको श्रम सहचारीमा जमुना काफ्ले र कतारका लागि कृष्ण पौडेललाई नियुक्त गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies