– दिनेश अर्याल
राजनीतिज्ञहरुमा नैतिक संकट आउनु एउटा भयंकर अवस्थाको सिर्जना हुनु हो । अझ नैतिक संकट जानेर बुझेर पनि त्यसलाई निराकरण गर्न नखोज्नु अर्को भयंकर र चिन्ताजनक अवस्था हो । यस्तो अवस्थामा एउटा पक्ष जोखिमपूर्ण व्यवहारमा संलग्न हुन्छ वा असल विश्वासका साथ कार्य गर्न असफल हुन्छ । जोखिमपूर्ण व्यवहारमा संलग्न भएको नतिजा अर्को पक्षले भोग्नुपर्छ ।
पार्टीको नीति, सिद्धान्त तथा योजनालाई मतलब नगरी व्यक्तिगत घाटा नाफाको विषयलाई मात्र अंगालेर राजनीति गर्नेहरुले कुनै पनि किसिमको नैतिक संकट बुझ्दैनन् या बुझे पनि बुझ पचाएर अर्को नैतिक संकट ल्याउने तर्फ लाग्न सक्छन् । उनीहरु केवल आफ्नै स्वार्थमा लगातार तल्लीन हुन्छन् । यस्तो हुँदै जाँदा एक पटक यस्तो अवस्था आउन सक्छ, उनीहरु पहिलाको अवस्थामा आउन नसक्ने गरी पछारिन पनि सक्छन् ।
प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बदर गरेपछि उनीमाथि ठुलो नैतिक संकट आइलागेको थियो । त्यसबाट भएको संवैधानिक र राजनीतिक क्षतिको जिम्मेवारी लिएर पदबाट राजीनामा दिनुको सट्टा उनी कुनै पनि हालतमा त्यहाँबाट नहट्ने गरी लागिपरेका थिए ।
संस्कृति मन्त्रीले नै छाडा शब्दहरु प्रयोग गरेर सर्वसाधारणलाई धम्क्याए । अश्लिल बोल्दै कर्मचारीहरुलाई दुव्र्यवहार गरे । तर उनले यसो गर्दै गर्दा ठुलो नैतिक संकटमा परेको छु भन्ने राम्रोसँगै पाए । नैतिक संकट परेको थाहा पाएर पनि त्यसलाई पचाएर आफ्नो कुर्सी सम्हाल्नमा तल्लीन देखिए । त्यतिमात्र होइन आफै जानेर राजीनामा दिनुपर्नेमा संसदीय समितिमा आफूविरुद्ध प्रमाणसहित उजुरी पर्दा पनि उनी झण्डा गाडीमा हालेर हिँडिरहे । उनीविरुद्ध अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईसहित तीन जनाले आलेविरुद्ध संसद् सचिवालय सिंहदरबारमा उजुरी दिएका थिए ।
मन्त्रीजस्तो पदमा रहेर पनि पर्यटनमन्त्री आलेले गत फागुन ३ गते सार्वजनिक भएको पहिलो टेलिफोन अडियोमा मुम्बईमा बस्ने एक नेपालीलाई अश्लील शब्द प्रयोग गरी ठेगान लगाउनेसम्मको धम्की दिएको स्मरण निवेदनमा गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर अमेरिकालाई एमसीसीको बारेमा पत्र पठाइसकेपछि आफ्ना नेता कार्यकर्ताहरुको बीचमा प्रचण्डले आफूले त्यसो नगरेको भन्दै दमदारपूर्ण भाषण गरेका थिए । तर उनको र देउवाको एमसीसीबारेको कर्तुत पहिला नै पत्ता लागिसकेको थियो । प्रचण्डलाई यहाँभन्दा नैतिक संकट हुने अरु अवस्था थिएन । एमसीसीबारे अमेरिकालाई पठाएको पत्र छताछुल्ल भएर देउवामाथि ठूलै नैतिक संकट आइलाग्दा पनि उनी चुपचाप बसे त्यसको राजनैतिक क्षतिको जिम्मेवारी लिनुको सट्टा उनी देखा जायगाको रणनीति अपनाएर चुपचाप बसिरहे ।
बाहिर बाहिर एमसीसीको विरुद्धमा आफ्ना कार्यकर्ताहरुलाई प्रदर्शन गराएर भित्र आफूले एमसीसीको व्याख्यात्मक टिप्पणी लेख्दै गर्दा प्रचण्डलाई सायद अलिकति पनि नैतिक संकटमा परेजस्तो लागेन होला । आफ्नो पार्टीबाट सरकारमा मन्त्री बनेकाहरुको कुर्सी जोगाइदिनका लागि व्याख्यात्मक टिप्पणीले छेडछाड गर्दा उनले अलिकति न अलिकति त नैतिक संकट फील गरेका थिए होलान् ।
माओवादीबाट सरकारमा अर्थमन्त्री बनेका जनार्दन शर्मा पटक–पटक आफ्नो असक्षमता देखाएको भन्ने उनी आफैंलाई एकदम राम्रोसँग थाहा छ । असक्षमता आफू प्रस्तुत गर्ने तर दोष सबै सरकारका कर्मचारी महाप्रसाद अधिकारीलाई खन्याएर उनलाई उनलाई निलम्बनमा पार्नेसम्मको पावर शर्माले देखाए । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले शुक्रबार गभर्नरमै रहने गरी अधिकारीलाई राष्ट्र बैंकमै फर्काउने निर्णय गरेपछि अर्थमन्त्री शर्मासामु नैतिक संकट देखिएको थियो । तर उनले आफूमाथि परेको नैतिक संकटको कुनै मूल्य चुकाएनन् । आफूले स्वविवेक प्रयोग गरेर राजीनामा दिनुको कुरा त एकदम टाढाको कुरा रह्यो । संसदमा उनको राजीनामा माग्दा पनि उनी चुपचाप अर्थमन्त्रीको कुर्सि सम्हालिरहे ।
अमेरिकासँग जोडिएको विषय स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का विषयमा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागिरह्यो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली प्रधानमन्त्री हुँदा एसपीपीमा सहभागी हुन सरकारका तर्फबाट कुनै प्रस्ताव नगरिएको दाबी गरेका थिए । तर केही दिन नहुँदै उक्त पत्र एमालेकै सरकारका पालामा लेखिएको सेनाले पुष्टि गर्यो । यसमा एमालेलाई कति नैतिक संकट पर्यो होला ?
स्थानीय, प्रदेश र संघीय सरकारका कुनै न कुनै जनप्रतिनिधिहरु, सांसद तथा मन्त्री र प्रधानमन्त्रीहरुसमेत समय समयमा ठुलै नैतिक संकटमा परेका उदाहरणहरु टन्नै रहेका छन् । तर व्यक्तिगत सत्ता र स्वार्थमा चुर्लुम्मै डुबेका कारण आफ्नो नैतिक संकटलाई निराकरण गर्न उनीहरुको ध्यान हुँदैन । उनीहरु आफ्नै रफ्तारमा दौडिन चाहन्छन् । खासमा उनीहरुलाई सोध्नैपर्ने प्रश्न एउटा छ, राजनीतिमा नैतिक संकटको हद कति हो ?
राजनीतिज्ञहरु वा कुनै पनि सार्वजनिक संस्थानमा बसेको व्यक्तिले आफ्नो नैतिक संकट आउने गरेर कुनै पनि कामहरु गर्नु हुँदैन । वर्तमानमा वा निकट भविष्यमा संकट नआउने गरेर काम गर्दा आफ्नो व्यक्तिगत आँच या छविमा कसैले प्रश्नवाचक चिन्ह तेस्र्याउन हिम्मत राख्न सक्दैनन् । नैतिक संकटमा परेपछि राजनीति गर्नेहरुको सत्ता डगमगाउँछ, सार्वजनिक संस्थानमा बस्नेहरुको पद डगमगाउँछ । नैतिक संकट छताछुल्ल भइसक्दा पनि अत्तोपत्तो नपाउने राजनीतिज्ञहरुसँग जनताको वितृष्णा दिनानुदिन पैदा हुँदै गएको छ ।
पार्टीको नीति, सिद्धान्त तथा योजनालाई मतलब नगरी व्यक्तिगत घाटा नाफाको विषयलाई मात्र अंगालेर राजनीति गर्नेहरुले कुनै पनि किसिमको नैतिक संकट बुझ्दैनन् । या बुझे पनि बुझ पचाएर अर्को नैतिक संकट ल्याउनेतर्फ लाग्न सक्छन् । उनीहरु केवल आफ्नै स्वार्थमा लगातार तल्लीन हुन्छ, यस्तो हुँदै जाँदा एकपटक यस्तो अवस्था आउन सक्छ उनीहरु पहिलाको स्टेटमा आउन नसक्ने गरी पछारिन पनि सक्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies