काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर विक, सव–इञ्जिनियर नवीन थापा, असिस्टेन्ट सव–इञ्जिनियर सनोज उपाध्याय, लेखापाल खडानन्द कँडेल, उपभोक्ता समितिका अध्यक्ष अम्मर बहादुर गुरुङ, सचिव चेलीमाया थापा र कोषाध्यक्ष गगन बहादुर कार्कीसहित ११ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, सडक मर्मत आयोजनामा अनियमितता गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
योजनाबद्ध ढंगले सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ को प्रावधानलाई समेत बेवास्ता गरी योजनालाई सानासाना टुक्रामा विभाजन गरी, दरभाउ पत्रसमेत नलिई सामान्य निवेदनको भरमा मात्र एक फर्मलाई एक वडाको जिम्मेवारी दिएको अभियोगपत्रमा उल्लेख छ ।
सोही वडाको एउटै साइटमा एकै अवधिमा अर्को फर्मलाई समेत जिम्मेवारी दिएको र अर्को फर्मबाट समेत काम भएको भनेर नापी किताब तयार एवं भुक्तानी गरेको अभियोग लगाइएको छ ।
‘तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विक, सव–इञ्जिनियर थापा, असिस्टेन्ट सव–इञ्जिनियर उपाध्याय र लेखापाल कँडेलले सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँचका लागि सम्बन्धित साइट प्राविधिकलाई जिम्मेवारी नतोकी नापी किताबमा सही गरी सहमति जनाई नभए÷नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाई÷बनाउन लगाई गलत मूल्याङ्कनमा प्रत्यक्ष सहभागी भएको’ अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारका अनुसार एउटै योजनाका लागि एकै अवधिमा दोहोरो सम्झौता गरेको, दोहोरो नापी किताब प्रमाणित गरेर ७ लाख ९२ हजार ९९ रूपैयाँ भ्रष्टाचार गरेको पाइएको हो ।
त्यसै गरी सेभेन स्टेट बिल्डर्सका सञ्चालक दीपेन्द्रबहादुर खड्काले झुट्टा बिल भरपाई तथा दोहोरो नापी किताब तयार गर्न लगाएर नगरेको कामको समेत भुक्तानी लिएर ३ लाख ५३ हजार १६२ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।
अर्गेजा निर्माण सेवाका प्रोपाइटर मसुमन अर्गेजा र सोही कन्स्ट्रक्सनका प्रतिनिधि तथा काठेखोला कन्स्ट्रक्सनका प्रोपाइटर टंकबहादुर कुँवरविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।
उनीहरूले सम्झौताबमोजिम कार्य गरिएको भनी कार्यसम्पन्न भएको प्रतिवेदन तयार गरी भुक्तानी भइसकेको अवस्थामा पुनः अर्गेजा निर्माण सेवाले कामको जिम्मा लिएको देखाएर दोहोरो नापी किताब तयार गरी÷गर्न लगाई १ लाख ५१ हजार २१० रुपैयाँ भुक्तानी लिएको अभियोगपत्रमा उल्लेख छ ।
त्यसै गरी खुसु निर्माण सेवाका सूर्यबहादुर भण्डारीले कामको झुट्टा बिल भरपाई बनाएर नगरेको कामको समेत १ लाख ५१ हजार ९२२ रुपैयाँ भुक्तानी लिई भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ ।
भण्डारी निर्माण सेवाका प्रोपाइटर गणेशबहादुर भण्डारीले झुट्टा बिल भरपाई बनाई दोहोरो मूल्यांकन गरी नापी किताब तयार गरेर १ लाख ५१ हजार ९२२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ । सातबीसे कन्सट्रक्सनका प्रोपाइटर मनोज खड्का र सोही कन्स्ट्रक्सनका प्रतिनिधि तथा काठेखोला कन्स्ट्रक्सनका प्रोपाइटर टंकबहादुर कुँबरले नगरेको कामको १ लाख ३५ हजार ८ सय ३ रुपैयाँ दोहोरो भुक्तानी लिएको अख्तियारको दाबी छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies