कान्ति न्यौपाने/मध्यान्ह
काठमाडौं : पछिल्लो समय पूर्वप्रधानमन्त्री र बृद्ध नेतालाई चुनावमा हराउनुपर्ने अभियान सामाजिक सञ्जालमा सुरु भएको छ । बढ्दो राजनीति अस्थिरता र जनताले अपेक्षचा गरे बमोजिम परिवर्तन नदेखिदाँ बृद्ध नेता हटाउने ट्रेन्ड सुरु भएको हो ।
जसमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बावुराम भट्टराई लगायत छन् । राजनीतिक विश्लेषक डा. विष्णु दाहाल भने पूर्वप्रधानमन्त्री वा ७० कटेका नेताहरु हटाउँदैमा समस्याको समाधान भने हुन नसक्ने बताउँछन् ।
‘जनता कसरत नै नगरि परिवर्तन चाहिरहेको छन्, तसर्थ नेताहरुबाट आजित हुनु स्वभाविक हो, तर, नयाँ आउनेले परिवर्तन गर्छन् भन्ने त्यस्तो देखिदैँन, जिम्मेवार सबै छन्,’ विश्लेषक दाहालले भने । उनले देश परिवर्तनका लागि पात्र भन्दा पनि प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताएका छन् । साथै पछिल्लो समय व्यक्ति हेरेर मात्रै भोट हाल्ने प्रवृत्ति देखिएकाले उम्मेद्वार बलियो नभए दलले जित्ने सम्भावना न्यून हुने पनि उनको भनाई छ ।
तर, एउटा समूहले भने प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, केपी ओली, झलनाथ खनाल र बाबुराम भट्टराईको तस्बिर फेसबुक ट्वीटरमा राख्दै लेखेको छ, ‘अहिलेसम्म जेजति गर्नुभयो, धन्यवाद । अब पुग्यो । अब पालो अरु कसैको । निर्वाचन ०७९ मा ससम्मान बिदाबारी ।’
उनीहरुले आगामी निर्वाचनमा नयाँलाई स्थान दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा युवाको आकर्षण बढाउने ट्रेन्ड चलाइरहेका छन् । जसलाई राजनीतिक विश्लेषक डा. राजेश अहिराज सकारात्मक रुपमा लिन्छन् । ‘एकातिर उमेरले ७० अनि अर्कातिर वर्षो सत्तामा बस्दा पनि देशको अवस्थामा आउन नसकेको सुधार त्यसका लागि यो अभियान आवश्यक छ, तर नयाँ आउनेले पूर्ण गर्नसक्छन् भन्ने पनि होईन,’ विश्लेषक अहिराजले भने । उनले नयाँ पुस्ता राजनीतिमा आउनुपर्ने विषय सकारात्मक भएको बताएका हुन् ।
दलका शीर्षस्थ नेताहरुले देश विकासका लागि अपेक्षाकृत परिवर्तन गर्न नसक्दा विकल्पको खोजी हुन थालेका छन् । उनीहरुलाई हराएमा देश परिवर्तन हुने अभियान चलाईएपनि वृद्ध नेताहरु मात्रै देशको समस्या नभएको विश्लेषण भएको हो । त्यसका लागि पात्र भन्दा पनि प्रवृत्ति परिवर्तन हुनुपर्ने धेरैको बुझाई छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies