
दोहा, कतार : नेपाली रक्तदाता संघ कतारको सातौं स्थापना दिवस तथा चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । खुला र बन्द गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट छविलाल भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्रमशः मेनुका खतिवडा भण्डारी, सन्तोष पौडेल, देव लम्साल र घनश्याम अर्याल चयन भएका छन् । यस्तै, सचिवमा कल्याण थापा, सहसचिवमा कमल अर्याल, कोषाध्यक्षमा नीराजन गौतम र सह–कोषाध्यक्षमा राजकुमार तिमल्सिना चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा कल्पना घर्ती, श्रद्धा के.सी. कटुवाल, जीव नारायण पौडेल, लीलानाथ घिमिरे, गोरख चन्द ठकुरी, प्रेमबहादुर सुनार, जमुना मानन्धर श्रेष्ठ, श्यामकुमार डाँगी, विमल सुवेदी, रामकुमार कोइराला, सन्तोष भुजेल, नारायण कार्की, भवानीप्रसाद ओझा, नारायण खपाङ्गी मगर, अरुणकुमार यादव, जयशंकर कुमार शाह, महेशप्रसाद लामिछाने र महेन्द्रकुमार चालिसे रहेका छन् ।
संघका कार्यवाहक अध्यक्ष छविलाल भट्टराईको अध्यक्षता तथा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका सचिव तेज कटुवालको प्रमुख आतिथ्यमा सम्पन्न खुला सत्रमा कतारस्थित नेपाली नियोगकी द्वितीय सचिव स्मारिका सुवेदीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक तथा क्षेत्रीय संघ–संस्थाका अध्यक्ष, प्रतिनिधि, पत्रकार तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कटुवालसहित विभिन्न वक्ताहरूले नेपाली रक्तदाता संघ कतारले रक्तदान अभियान, जनचेतना अभिवृद्धि तथा मानवीय सेवामा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम शुक्रबार प्लाजा मलमा रहेको वेल्फेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको हो ।
सो अवसरमा रक्तदाता संघसँग सहकार्य गर्दै रक्तदान तथा विभिन्न सामाजिक अभियानमा योगदान पुर्याउने कतारस्थित संघ–संस्था, सहयोगी दाता, पत्रकार तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । साथै, कतारमा रहेर १० पटकभन्दा बढी रक्तदान गरेका रक्तदाताहरूलाई विशेष सम्मान, आजीवन सदस्यता वितरण तथा रमाइलो प्रश्नोत्तर कार्यक्रममार्फत उत्कृष्ट उत्तर दिने सहभागीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

अधिवेशन तथा स्थापना दिवसको अवसरमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गर्दै विभिन्न विषयमा प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो । प्रशिक्षक रिवाज राईले निर्माण क्षेत्र, रियल स्टेट, साइट तथा खुला कार्यस्थलमा काम गर्दा अपनाउनुपर्ने व्यावसायिक सुरक्षा उपाय, व्यक्तिगत सुरक्षा सामग्रीको सही प्रयोग, दुर्घटना न्यूनीकरणका उपाय तथा दुर्घटना भइहालेमा अपनाउनुपर्ने उद्धार र प्राथमिक उपचारसम्बन्धी व्यावहारिक जानकारी प्रदान गरे ।
योग प्रशिक्षक शान्ता कट्टेल फुयाँलले विदेशको व्यस्त जीवनशैलीका बिच नियमित योग र ध्यानमार्फत शारीरिक तथा मानसिक स्वास्थ्यलाई सन्तुलित राख्न सकिने विषयमा प्रशिक्षण दिइन् । नेपाल पत्रकार महासंघ कतार शाखाका प्रथम उपाध्यक्ष अर्जुन पौडेलले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुको आवश्यकता, त्यसबाट प्राप्त हुने लाभ तथा समयमै श्रम स्वीकृति नवीकरण गर्नुपर्ने विषयमा जानकारी गराए ।

राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत प्रोफेसर मोहम्मद रमजान अलि मियाँले कतारमा कार्यरत नेपालीहरूले पालना गर्नुपर्ने श्रम कानुन, आप्रवासनसम्बन्धी व्यवस्था, स्थानीय कानुनी प्रावधान, सडक तथा सवारी सुरक्षा तथा बसोबासका क्रममा आवश्यक कागजातको महत्वबारे जानकारी दिए । त्यस्तै, स्वास्थ्य क्षेत्रमा कार्यरत सरिता पौडेल भण्डारीले रक्तदानको महत्व, सामाजिक उत्तरदायित्व र नियमित रक्तदानमार्फत मानव जीवन बचाउन सकिने विषयमा सहभागीलाई सचेत गराइन् ।
शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि तेज कटुवालले रक्तदानजस्तो पवित्र र मानवीय सेवाको अभियानलाई प्रभावकारी बनाउन सबैको साथ र सहकार्य आवश्यक रहेको बताए । उनले स्थापना कालदेखि हालसम्म संस्थालाई सहयोग गर्ने व्यक्ति, संघ–संस्था तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि अभियानमा निरन्तर साथ दिन आग्रह गरे ।

खुला सत्रको समापन गर्दै सभाध्यक्ष छविलाल भट्टराईले संस्थाका अध्यक्ष स्वदेश फर्किनुपरेपछि आफूले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दा कतारस्थित नेपाली तथा अन्य समुदायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । उनले रक्तदान अभियानलाई नेपाली समुदायमा मात्र सीमित नराखी अन्य समुदायसँग समेत सहकार्य गर्दै अझ प्रभावकारी र सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । सबै नेपालीलाई रक्तदान अभियानमा जोडिन आग्रह गर्दै उनले सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा संघकी उपाध्यक्ष मेनुका भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव कल्याण थापाले सहजीकरण गरेका थिए ।




