ललितपुर : महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलले ललितपुरको धोवीघाटस्थित खोजी रिक्रुटमेन्ट प्रा.लि.मा भएको आक्रमणसम्बन्धी विषयको उजुरी वैदेशिक रोजगार विभाग पठाइदिएको छ ।
उक्त कम्पनीले मलेसियाबाट उद्धार गरी ल्याएका केही युवाहरुले कम्पनीमा काम गर्दाको ओभरटाइम बापतको रकम नपाएको भन्दै मंगलबार दिउँसो म्यानपावर कम्पनीको कार्यालयमा क्यामरासहित नाराबाजी गर्दै प्रवेश गरेपछि तनावको अवस्था उत्पन्न भएको थियो ।
क्यामरासहित पसेका व्यक्तिहरुले कम्पनीमा तीन वटा कम्प्युटर, टेबुल र सिसामा क्षति पु¥याएको भन्दै आक्रमणकारीहरुबाट क्षतिपूर्ति भराउन माग गरी कम्पनी सञ्चालक मोहम्मद जुनैदले महानगरीय प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराएका छन् ।
उजुरीमा कार्यालयका कर्मचारीमाथिसमेत आक्रमण गरिएको उल्लेख छ । महानगरीय प्रहरी परिसरमा भएको छलफलमा मलेसियाबाट फर्केकाहरुले आफूले पाउनुपर्ने पारिश्रमिक दिलाउन वैदेशिक रोजगार विभागमा निवेदन दिएको र छिटो रकम दिलाइदिने आश्वासन पाएपछि आफूहरु क्यामरासहित समूह लिएर कम्पनीको कार्यालय गएको बताएका थिए ।
प्रहरीले खोजी रिक्रुटमेन्टमा भएको तोडफोडको सिसिटिभी फुटेजका आधारमा घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान गरिरहेको बताएको छ ।
छलफलमा सहभागी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका सचिव लक्ष्मण पौडेलले मंगलबारको छलफलमा कुनै सहमति नजुटेका कारण प्रहरीले फाइल विभागलाई बुझाउने र विभागमा फर्केका कामदार र व्यवसायीबीच छलफल हुने तय भएको जानकारी दिए । उनले बुधबार १२ बजे छलफलको समय तय भएको बताए ।
खोजी रिक्रुटमेन्टमा आक्रमण भएको खबर फैलिएपछि ठूलो संख्यामा व्यवसायी पुगेका थिए । वैदेशिक रोजगार व्यवसायीहरुले वैदेशिक रोजगारको क्रममा असफल भएका कामदारको राहत तथा क्षतिपूर्तिका लागि छलफल गर्ने वैधानिक निकायका रुपमा विभागले उजुरी लिई छानविन गरी वास्तविक पीडितलाई राहत तथा क्षतिपूर्ति दिइरहेको अवस्थामा समस्या समाधान गरिदिने भन्दै क्यामरा लिएर व्यवसायीका कार्यालयमा जबरजस्ती गर्ने प्रवृत्तिले व्यवसायीको पेशा व्यवसायको स्वतन्त्रता कुण्ठित भएको र असुरक्षा बढेको बताएका छन् ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका सचिव अनिल बोगटीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भर्खरै सम्पन्न निर्वाचनमा अनधिकृत युट्युबरविरुद्ध संगठित प्रतिरोध गर्ने प्रतिबद्धता जनाएको भन्दै स्वतन्त्ररुपमा पेशा व्यवसाय गर्न पाउने अधिकारको रक्षाका लागि व्यवसायी एकजुट रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies