–गोविन्द विक
छोरीको जन्मदर्ताको लागि राज्यका विभिन्न निकायमा धाउँदा पनि जन्मदर्ता गर्न नसकेर हारगुहार गरिरहेकी एकजना महिलासँग पंक्तिकारको भेट भयो । उनले आफ्नो सबै समस्या बताएपछि नाबालिक छोरीको जन्मदर्ता गर्नका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने र मिडियाको साहयताले छोरीको बाउलाई पनि झिकाउने प्रयासमा मिडिया जुटाइदिने तयारी पंक्तिकारले ग¥यो । मिडियाको कुरा गरेपछि ति महिलाले रवि लामीछानेलाई ‘न्यूज ट्वान्टी फो’मा काम गर्दा नै तीन पटक भेटेर आफ्नो समस्या बताएको तर, पनि समस्या समाधानका लागि कुनै चासो नदिएको बताइन् । फेरी ध्यान दिएर सोध्दा रविलाई पटक–पटक भेट्दा पनि समस्या सल्टिएन भनेपछि त पंक्तिकारले सोचेको रवि र ती महिलाले भेटेको रवि किन एउटै नभएको भन्ने अनेकौ प्रश्नहरु मनमा उब्जीन थाले ।
महिलाको समस्या निकै असजिलो खालको हुन्छ । श्रीमान् बितेपछि एकल जीवन जिउनेक्रममा उनको एकजना पुरुषसँग भेट हुन्छ, ती पुरुष “म अविवाहित हो, म तिमीलाई मन पराउछु” भनेर नजिक हुन्छ । ती महिला र पुरुष एकअर्कामा नजिक हुँदै गएपछि उनीहरुको सम्बन्ध विवाहमा परिणत हुन्छ । जब विवाह हुन्छ तब पुरुषको अर्की श्रीमती पनि छन् भन्ने ती महिलालाई थाहा हुन्छ । ती महिला कान्छी श्रीमती हुन्छीन् । समय बित्दै जान्छ, उनीहरुबाट एक छोरीको जन्म हुन्छ । छोरीको जन्म हुन्जेलसम्म श्रीमान् श्रीमतीको सम्बन्ध एकदम राम्रो हुन्छ । श्रीमानको जेठी श्रीमती भएका कारण कान्छीसँग विवाह दर्ता हुँदैन । समय घर्किंदै जान्छ, उनीहरुको सम्बन्धमा खटपट आउन थाल्छ । यसैसमयमा ती महिलालाई क्यान्सर रोग लागिसकेको हुन्छ । महिलाले विवाह दर्ता, छोरीको जन्म दर्ता बनाउन श्रीमानसँग अनुनयबिनय गर्छिन् तर, पछि बनाउनु पर्छ भन्दै श्रीमान् पन्छिरहेका हुन्छन् । जब छोरी पनि हुर्किरहेकी हुन्छीन् ती महिलालाई क्यान्सर रोगले निकै च्याप्दै जान्छ । त्यही मेसोमा श्रीमान् बेपत्ता हुन्छन् । उनी बनीबुतो गरेर छोरी हुर्काउँदै एकल जीवन बिताइरहेकी हुन्छिन् । यसैक्रममा श्रीमान् विदेशको राम्रै ठाउँमा पुगेको जानकारी महिलालाई हुन्छ । छोरीको जन्मदर्ताले महिलालाई निकै पिरोलीरहेको हुन्छ । जन्मदर्ताका लागि श्रीमानको स्थायी ठेगाना रहेको वडा कार्यालयमा जान्छिन् । तर, उनीसँग न विवाहदर्ता थियो न त उनको पक्षमा बोलीदिने मान्छे । वडाले बालिकाको सूचकका रुपमा आमाबुबा स्वयम् उपस्थिती हुनुपर्ने, बालिकाको बुवा विदेशमा भए हजुरआमा वा हजुरबुबा जो भएपनि वडामा उपस्थिति हुनुपर्ने, यदि कोही पनि नभए सात जनाको मुचुल्का लिएर आउनुपर्ने भनेर वडाले फर्काइदिन्छ । यता छोरीको स्कूलले जन्मदर्ता नल्याए आठ कक्षाको परीक्षा नै दिन नपाइने भनेर भनिरहेको कुराले ती महिला झनै चिन्तामा हुन्छिन् । माइती नेपाललगायतका विभिन्न निकायमा धाउँदा पनि काम नभएको महिलाको पीडा सुनी नसक्नु छ । यो सबै घटनाक्रमलाई लिएर रवि र सिधाकुरा जनतासँगका प्रोडुसर दिपक बोहोरासँग कुरा गरेको तर, समाधानमा कुनै ठोस पहल नगरिदिएको भन्ने सुन्दा विभिन्न प्रश्नहरु मनमा उब्जीनु स्वभाविक नै थियो ।
उनी र पंक्तिकार जस्ता थुप्रै जनताले रवि लामिछानेप्रति आशा र भरोशा राखेका थिए । तर, घटनाक्रमले ती आशाहरु कमजोर बनाउँदै लगेको सत्यसावित हुँदै गइरहेको छ । सञ्चारजगतमा रहँदा रविले गरेको कामबाट आम नेपालीहरु प्रभावित भएका र सबैले रविलाई मनमा राखेको कुरामा कुनै दुविधा थिएन । सबैको स्याबास खाएका रविले ती महिलाको समस्या समाधानमा पहल नै नगरिदिएको सुन्दा रविप्रतिको म र मजस्ता कयौं युवाहरुको आशा केवल बालुवाको महल पो रहेछ भन्ने लाग्यो । ती महिला अझैपनि छोरीको जन्मदर्ताका लागि भौंतारिरहेकी छन् ।
रवि लामिछानेले सुशासन र नैतिकताको नारा चर्को रुपमा उठाउँदै आएका थिए र छन् पनि । राजनैतिक दलमा नातावाद कृपावाद जस्ता कुरा अभ्यासमा रहेको र इमानदारिताको खडेरी नै लागेको नैतिकता र सुशासन भन्ने कुरा त राजनैतिक पार्टीमा कहीँ कतै पनि नदेखिएको भन्ने आरोप रविले दलहरुमाथि लगाउने गर्थे । व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको भनेर जनताको अवस्था परिर्वतन गर्ने भन्दै राजनैतिक पार्टी खोलेर राजनीतिमा होमिएका रवि लामीछाने निकै छोटो समयमा सांसद उपप्रधानमन्त्रीसहित देशको महत्वपूर्ण मन्त्रालय समाहाल्न पुगेका थिए । आम जनताले रविप्रति अथाह माया सद्भाव देखाए । सामाजिक सन्जालका भित्तादेखि गाउँ सहर जताततै रविको पक्षमा भिड जम्मा भयो । त्यही भिडबाट रवि सुशासन र नैतिकताको चर्को बिगुल फुक्दै जनताको घरमा पुगे । जनताले अप्रत्यासितरुपमा रविलाई मतदिएर संसद भवन छिराए । नेताहरुको सत्ता मोह र सत्ताको दोहोरी खेलेर पद र कुर्सीका लागि जे पनि गर्ने अभ्यास स्थापित भइरहेको अवस्थामा आफ्ना लागि राखिएको छुट्टै कुर्सी हटाउन लगाएर परिवर्नतको आसा देखाउन खोजेका रविप्रति जनताले भरोसा राख्नु कुनै नौलो विषय त थिएन तर, उनले टेकेको नैतिकताको धरातल कति बलियो रैछ ? भन्ने मुख्य प्रश्न बन्न पुग्यो ।
नागरिकता प्रकरणमा रविले पार्टी सभापतिदेखि सांसद र मन्त्रीसहित सबै पद एकैपटक गुमाए । अहिले उनी पुनः नागरिकता लिई पार्टीको मुख्य जिम्मेवारीमा फर्किएका छन् । तथापी, सुशासनको चर्को बिगुल फुक्ने रविले कानुनी व्यवस्थालाई नै चुनौति दिएर प्रक्रिया नै नपु¥याई पुरानो नागकिता किन प्रयोग गरे ? सबैको मनमा यही प्रश्न छ अहिले । अमेरिकको नागरिकता त्याग गरेपछि नागरिकता ऐनमा व्यवस्था भएबमोजिम प्रक्रियामा गएर रविले नागरिकता किन ब्यूताएनन् ? प्रश्न यही हो अहिलेको । के रविलाई कानुनको यो सामान्य प्रक्रियामा जानकारी नभएको हो र ? प्रतिनिधि सभाको उम्मेदवारी परेपछि नै रविको विरुद्धमा उजुरी परेको थियो । त्यही समयमा विदेशी नागरिकता त्यागेको निस्सासहित निष्क्रिय भएको नेपालको नागरिकता प्रक्रियामा गएर रविले सक्रिय बनाउन किन आवश्यक ठानेनन् ? के रविका लागि कानुन नलाग्ने थियो र ? आम चासोको विषय बनेको छ ।
रवि अहिले दोहोरो पासपोर्ट प्रयोग गरेको मुद्दामा पनि तानिएका छन् । आफ्नै बारेमा अनुसन्धान हुँदाहुदै आफै तालुकदार मन्त्रालयको मन्त्री बन्नु नैतिक रुपमा गलत थियो भन्नेहरु थुप्रै थिए र छन् । रविको बारेमा अदालतको फैसला हेर्दा पनि उनलाई अनागारिक कहीँ भनिएको छैन, ऐनमा व्यवस्था भएबमोजिम पुनः नेपाली नागरिकता नलिएको र निष्क्रिय भएको नागरिकता नै प्रयोग गरेको हुनाले सांसद तथा मन्त्री पद बदर हुने भनिएको छ । अदालतको फैसलापछि रविले एकैदिनमा प्रक्रिया पूरा गरी नागरिकता लिएर पार्टीको साधारण सदस्यदेखि पार्टीको सभापति पनि भइसकेका छन् । त्यस लगत्तै फेरि गृह मन्त्रालय नै फर्किने जोश लिएर दौडधुप गर्न थालेको मिडियामा आइसकेको छ । रविको नैतिक धरातललाई हेर्ने हो भने फेरी गृहमन्त्री हुन खोज्नु सरासर गलत हो किनभने दोहोरो पासपोर्टको अनुसन्धान नसकिएको हुँदा फेरि पनि विवादमा फस्ने प्रष्ट छ भन्नेहरु धेरै छन् । रविले आफ्नै पार्टीबाट बन्त्री बनाएका व्यक्तीहरुका बारेमा पनि विभिन्न प्रश्नहरु उठि नै रहेका छन् । उनीमाथि स्वार्थ बाँझिनेगरी मन्त्री छनौट गरेको आरोप छ ।
नैतिकता र सुशासनको सवालमा कानुनविदहरुले रविलाई तीन कुरा सुझाएका थिए । रविले नागरिकता लिन सक्छन् तर, दोहोरो नागरिकताको अनुसन्धानलाई सघाउनु पर्छ, सफाइ नपाएसम्म मन्त्री वा कुनैपनि सार्वजनिक पदमा फर्कन मिल्दैन, गृहमन्त्रालयमा आफ्नै सांसदलाई पठाएर स्वार्थको द्वन्द्व सिर्जना गर्नु हुँदैन । तर, अहिलेको घटनाक्रमलाई हेर्दा रविले कानुनविदले सुझाएको विषयलाई अनदेखा गरेको प्रष्ट हुन्छ । सत्ता मोह देखाइरहँदा आफ्नो नैतिक धरातलको जग हेर्न बिर्सिएको आरोप रविलाई छ । सामाजिक सञ्जालको भिडबाट ओकलिएको कुरालाई रविले आत्मसाथ गरेर हौसिँदा ठेस लागेको भन्नेहरुको जमात पनि बढी नै रहेको छ । के अरुलाई नैकिकताको पाठ पठाउँदा आफ्नो नैतिकता भुल्न मिल्छ ? अरुलाई सुशासनको पाठ सिकाउने अनि आफूले चाहीँ सुशासन मान्नु नपर्ने हुन्छ ? के उनी ऐन र कानुनभन्दा माथि बस्न किन खोजेको हो ? आफ्नो नैतिक धरातललाई मनन गर्ने की ?
अरुलाई लोकतन्त्र बिर्सिए भन्ने अनि आफूचाहीँ सामान्य लोकतान्त्रिक प्रक्रियाको पनि ‘फलो’ नगर्ने ? सार्वजनिक पद धारण गरेपछि मेरोबारेमा प्रश्न उठ्न सक्छ भनेर ख्याल किन नगरेको ? सत्ता र कुर्सीका लागि ¥याल काड्नेहरु भन्ने अरुलाई विवाद नसक्कीकन आफूचाहीँ रातारात मन्त्री बन्नु, आफैंमाथि छानबीन गर्ने मन्त्रालयको मन्त्री हुनुपर्ने ? यो कस्तो इमानदारिता हो ? यी यस्ता प्रश्नको घेरामा रवि लामिछाने अझै छन् । आम मानिसले सोचेको रवि र अहिले देखिएको रविमा आकाशपतालको फरक देखिएको र देख्न बाध्य पारिएको कुरालाई कसैबाट पनि लुकाउन सकिन्न । रविको आगामी राजनैतिक मार्ग कसरी कोरिएला ? आम नागारिकले उनीमाथि गरेको आशा र भरोशालाई उनले कसरी सत्य सावित गर्छन्, त्यो समयले बताउला नै तर, अहिलेको घटनाक्रमले चाहीँ उनका बारेमा एकपटक साेंच्नैपर्ने अवस्था जबरजस्त सिर्जना भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies