कान्ति न्यौपाने/मध्यान्ह
काठमाडौं : कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाइमा कमिसनको चलखेल शुरु भएको छ ।
सरकारले आगामी शैक्षिक सत्रमा कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेसँगै कमिसनको चलखेल हुनसक्ने आशंका बढेको हो । शिक्षा मन्त्रालयको निर्णयको आधारमा पाठ्यक्रम विकास केन्द्रले यसैसाता सार्वजनिक सूचना जारी गरि निजी मुद्रकलाई पाठ्यपुस्तक छाप्न दिने तयारी गरेसँगै विद्यार्थी र शिक्षा क्षेत्रका विज्ञहरुले उक्त निर्णयको विरोध गरेका छन् । मन्त्रालयले यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइएकोमा आगामी शैक्षिक सत्रबाट कक्षा ५ सम्मकै पुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णय गरेको छ । जसको विरोधमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले शिक्षामन्त्रीको पूत्ला जलाउने देखि नियमित धर्ना र विरोध प्रदर्शन गर्दैै आईरहेको छ ।
अनेरास्ववियूले बुधवार पनि निजी कम्पनीलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध जनक शिक्षा सामाग्री केन्द्र सानोठिमीको केन्द्रीय कार्यालय घेराउ गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्र भित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजी कम्पनीलाई पाठ्यसामग्री छाप्न दिइएको बताउदै जनक शिक्षा सामाग्री केन्द्रले नै पाठ्यपुस्तक छाप्नु पर्नेमा जोड दिए । साथै उनले शैक्षिक सामाग्री समयमै विद्यार्थीसम्म प¥ुयाउन माग पनि गरे । शैक्षिक क्षेत्रमा हुने नीतिगत लगायत कुनै पनि भ्रष्टाचार अनेरास्ववियूले नसहने, त्यस्ता भ्रष्टाचारविरुद्ध कडा प्रतिवाद, प्रतिकार गर्ने चेतावनी समेत दिए ।
शिक्षा मन्त्रालयले भने हरेक वर्ष पाठ्यपुस्तकको अभाव हुने समस्या समाधानका लागि निजीलाई पाठ्यपुस्तक छपाईको जिम्मेवारी दिएको दावी गर्दै आएको छ । सरकारको यस निर्णयको विरोध गरिहाल्नुपर्ने अवस्था नभएपनि कागजको गुणस्तर कम हुने र मूल्य वृद्धि हुनसक्ने शिक्षाविद्हरुको आशंका छ ।
‘पछि २ सय रूपैयाँमा पाइने पुस्तक एक हजार रूपैया पुर्यायो भने राज्यलाई भार पर्छ, यो गर्न दिनुभएन, सरकारले निजीलाई आफ्नो नियमनमा राख्नुपर्छ, विगतमा निजीले गुणस्तरमा बदमासी गरेको छ । उसले छापेको किताबमा अक्षर मेटिने, कागज गतिलो नहाल्ने जस्ता बदमासी देखिएका छन्, यसमा भने सरकारले नियमन गर्नुपर्छ’ शिक्षाविद् प्राध्यापक डा केदारभक्त माथेमाले भने । साथै उनले किताब बिना नै शिक्षकले पठनपाठन गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड पनि दिएका छन् ।
‘शिक्षा मन्त्रीले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाउने जिम्मा निजीलाई दिने निर्णय गरे । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भएको भ्रष्टाचार र त्यसका प्रबन्धक निर्देशक अनिलकुमार झालाई कार्बाही गर्नुको साटो निजीलाई जिम्मा लगाउने काम भयो । सरकारको यस्तो निर्णयको विरोध गरिरहने अनेरास्ववियूका अध्यक्ष पराजुली भने । उनले सरकारी संस्थानलाई धराशायी बनाएर निजीलाई पोस्ने नीति तत्काल खारेज गर्न माग पनि गरेका छन् ।
नयाँ शैक्षिक सत्रका लागि अहिलेसम्म ६० लाख थान छपाइ सकिएको छ भने नयाँ शैक्षिक सत्रका लागि करिब २ करोड थान पुस्तक छाप्नु पर्ने देखिन्छ । साथै, केन्द्रमा ३ वटा नयाँ रंगीन छपाइ गर्ने वेब मेसिन जडान गरिएको र समयमै विद्यार्थीको हातमा पुस्तक पुग्ने शिक्षामन्त्रालयको दाबी छ । तर, जनक शिक्षाका प्रवन्ध निर्देशक झालाई अनुसन्धान गरेर कारबाही गरेर कमिसन खाने खेलको अन्त्य हुनुपर्ने विद्यार्थी संगठनको माग छ । एकातिर जनक शिक्षाले चुस्त काम नगर्दा समयमा विद्यार्थीको हातमा पुस्तक नपुग्ने समस्या वर्षेनी देखिन्छ भने अर्कातिर कम गुणस्तरहीन काम गरेर निजीले कमिशन खाने मेलो मात्रै गरेको सरोकारवालाहरु बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies