– झलक शर्मा
नेपाली क्रिकेट टिममा म्याच फिक्सिङ्गको गन्ध आएको छ । केही खेलाडीलाई नेपाल प्रहरीले पक्राउ गरी सोधपुछका लागि कामकारबाही अगाडी बढाएको छ । यस्तो राष्ट्रलाई नै हराउने मिलेमतोले गर्दा आम नेपाली क्रिकेट समर्थकहरुमा निराशा छाएको छ । देशले जित्दा आफ्नो शिर उच्च भएको महशुस गर्ने नेपालीले अहिले भने गहिरो चोट बोक्नु परेको छ । खेलको सामान्य मूल्य मान्यता नै जित्नु हो, या जित्नका लागि खेल खेल्नु हो । हार्नका लागि खेल कहिल्यै खेलिँदैन । तर, नेपाली क्रिकेटमा भने यतिबेला खेलको मूल्य मान्यता विपरित खेल हार्नका लागि खेलिरहेको त होइन ? भन्ने प्रश्न उठेको छ ।
नेपाली क्रिकेटले केही बामे सर्दै गरेको थियो । सन् २०१४ मा टि ट्वान्टी विश्वकप खेलेपछि नेपालमा क्रिकेटप्रतिको क्रेज बढेको थियो । नेपाली क्रिकेटले मुलुकमा एउटा पनि क्रिकेट रंगशाला नहँदा विश्वकप जस्तो प्रतिष्ठित प्रतियोगितामा सहभागी भएकोमा सबैको तर्फबाट प्रशंसा बटुलेको थियो । त्यसपश्चात् मुलुकमा अन्तर्राष्ट्रिय रंगशाला बनाउनु पर्छ भन्ने माग जोडतोडले उठ्यो । आजसम्म जे जति उपलब्धि हाँसिल भएको छ, त्यो सबै त्रिभुवन विश्वविद्यालयको प्राङ्गढमा रहेको क्रिकेट रंगशालाले बनाएको आधार हो । नेपाली क्रिकेटमा राज्यको लगानी कम छ । राज्यको तर्फबाट हुने संरक्षण र नियमनको पनि अभाव छ । नेपाल क्रिकेट संघ (क्यान)लाई आइसिसिले २०१६ को अप्रिलमा राजनीतिक हस्तक्षेप र स्वच्छ निवार्चन हुन नसकेको भन्दै प्रतिबन्द लगाएको थियो । त्यसको १० महिनापछि प्रतिबन्ध फुकुवा भयो । प्रतिबन्ध फुकुवापछि नेपाली क्रिकेटमा केही आशाका किरण देखिएका थिए तर, अहिले ति आशामा कालो बादल मडारिएको छ । फिक्सिङ्ग बाह्य र आन्तरिक शक्तिबाट भएको छ ।
क्रिकेट व्यवस्थापनमा हुने गैरजिम्मेवारिपनाले मिलेमितोलाई सघाईरहेको छ । नेपाली क्रिकेटरहरु वा नयाँ खेलाडीहरु शुरूवाती खेलहरुमा उत्कृष्ट प्रर्दशन गर्छन्, पछि त्यही लयलाई समात्न सक्दैनन् । लय नसमात्नु र साेंचेअनुरूप प्रर्दशन नगर्नुमा कतै आर्थिक लोभलालचमा त परेका छैनन् भन्ने शंका उत्पन्न हुन्छ । फिक्सिङ्गले नेपाली खेलमा भित्रै भित्रै धमिरो लगाएको आभास हुन्छ । विगत केही वर्षअघि नेपाली राष्ट्रिय फुटबल टिममा पनि फिक्सिङ्ग भएको समाचार बाहिरिएको थियो । तत्कालिन नेपाली राष्ट्रिय टिमका कप्तान सागर थापासहित केही खेलाडी व्यवस्थापकलाई पक्राउ गरिएको थियो । नेपाल प्रहरीले फिक्सिङ्ग भएकै हो भनेर ठोकुवा ग¥यो । पछि न्यायालयले फिक्सिङ्गमा खेलाडी दोषी नरहेको भनि सफाई दियो । तर, फिफाले फुटबलमा प्रतिबन्ध लगाएकोले खेलमा फर्कन सकेनन् । त्यसका लागि एन्फाले फिफासँग प्रतिबन्ध फुकुवा गर्न मध्यस्थताको भूमिका खेल्न सकेन । फिक्सिङ्गमा खेलाडीलाई बलीको बोको बनाइन्छ । पर्दा पछाडि फिक्सिङ्ग गर्न दुश्साहस गर्ने र खेलाडीलाई प्रलोभन देखाई त्यसको फाइदा लुट्ने र कानून, नियमबाट बच्ने ठूलो गिरोह सक्रिय रहेको हुन्छ । झट्ट झेर्दा खेल फिक्सिङ्ग खेलाडीले नै गरेको देखिन्छ तर, यसका पछाडि धेरै तत्वको सञ्जाल खडा भएको हुन्छ ।
नेपाली खेलकुद क्षेत्रमा फिक्सिङ्ग जस्तो घातक निर्णय हुनु साह्रै असह्य कुरा हो । फिक्सिङ्ग हुनुमा आर्थिक प्रलोभन नै मुख्य कारण हो । नेपाली क्रिकेट जगतमा खेलाडीलाई पर्याप्त तलब भत्ताको अभाव छ । राष्ट्रिय स्तरमा लिगको निरन्तरता छैन । मोफसलमा क्रिकेट प्रतियोगिताहरु ज्यादै न्यूनरूपमा सञ्चालन हुन्छन् । खेलाडीहरु खेल खेलेर गुजारा चलाउन असमर्थ छन् । भोको पेटले राष्ट्रका लागि खेल्नुपर्ने बाध्यता छ । प्रतियोगिताहरुबाट आउने पुरस्कार, पारिश्रमिक नहुनाले खेलाडीप्रति हौसलाको अभाव रहेको छ । देश प्रेमको भावना बिलिन हँुदै जानु पनि फिक्सिङ्गले स्थान पाउनु हो । खेलसम्बन्धी पर्याप्त ऐन कानूनहरु नबन्नु र बनेका कानूनको प्रभावकारी कार्यान्वयन नहुनुले खेलमा फिक्सिङ्ग, भ्रष्टाचार, अनियमितता र गुण्डागर्दी जस्ता गतिविधिहरु मौलाउ छन् । नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षेप छ । खेल बुझेको वा क्रिकेटसँग सम्बन्धीत व्यक्तिहरु नेपाल क्रिकेट संघको नेतृत्व पंक्तिमा पुग्न सक्दैनन् । क्यानको अध्यक्षता ग्रहण गर्न विभिन्न राजनीतिक पार्टीको हाँगो समात्नु पर्ने परिपाटी छ । क्यान र खेलाडीबिच आपसी समन्वयको अभाव छ । खेलाडीप्रति उपेक्षा गर्ने, प्रतिशोध साँध्ने काम बेलाबखतमा हुने गरेको छ । अपरिपक्व निर्णय गरेर बिना कारण खेलाडीहरुलाई निष्काशन गर्ने र दण्डित गर्ने कार्यले निरन्तरता पाइरहेको छ । क्यानले खेलाडीलाई अनुशासनको दायरामा राख्न नसकेको आरोप पनि खेपिरहेको छ । खेलाडी क्याम्प बाहिर गएर गैरकानुनी गतिविधि गरेको घटना अझै अदालती प्रकृयामा छ । प्रशिक्षक, खेलाडी अनुबन्धमा राम्रालाई भन्दा हाम्रालाई छान्ने गरेको तितो यथार्थ नेपाली क्रिकेटमा छ । यस्तो गतिविधिले क्रिकेटमा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिँदैन । खेलको गुणस्तरमा ध्यान नदिई व्यक्तिगत स्वार्थमा रुमलिनुले नेपाली क्रिकेट खस्कँदै गएको छ ।
क्यानमा आन्तरिक लोकतन्त्र कमजोर भएकाले निर्णय निर्माणमा निरंकुशता झल्किन्छ । सामूहिक छलफल, गतिशिलता र समन्वयलाई आत्मसात गरिँदैन । नेतृत्वले जे बोल्यो त्यो नै सही हो भनी निर्णय पारित गर्नुपर्ने अवस्था छ । नकारात्मक पक्षलाई खण्डन वा टिका टिप्पणी गरेको संगठनबाट अलग्गिनु पर्ने बाध्यता छ । क्यानले प्रदेश र जिल्लागत संगठन निर्माण र प्रबद्र्धन गर्न सकेको छैन । खेल सञ्चालनका लागि उपयुक्त योजना, रणनीति, खेल तालिका तय नगरी हचुवाको भरमा प्रतियोगिता सञ्चालन गर्दा कतिपय प्रतियोगिताहरुले घाटा व्यहोर्नु परेको देखिन्छ । नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु खेल्न सकेको छैन । खेलाडीलाई निरन्तर अभ्यासबाट बञ्चित गराइन्छ । जब अन्तर्राष्ट्रिय प्रतियोगिता शुरु हुन्छ तब हतार हतारमा टिम तयार गर्ने परिपाटी छ । नेपाली क्रिकेटमा नयाँ प्रविधि भित्र्याउन सकिएको छैन । त्यसकारण कतिपय अवस्थामा एम्पायरलाई निर्णय लिन कठिन हुन पुगेको छ । आवश्यक परेको खण्डमा खेलका फुटेज उपलब्ध गराउन सकिने अवस्था छैन । यी विविध समस्याले थिचेको क्रिकेट क्षेत्रलाई पुनर्उत्थान गर्नु आवश्यक छ ।
नेपाली क्रिकेट नेपाली खेलकुद जगतको शान हो । अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा हाँसिल गरी देशको नाम संसारभरी चिनाउनु आवश्यक छ । फिक्सिङ्ग एउटा अपराधिक कृयाकलाप हो । यसबाट नेपाली खेलकुद क्षेत्रलाई जोगाउनु पर्छ । मिलोमतो वा फिक्सिङ्ग गर्नेलाई कानूनी दायरामा ल्याई सजायको भागिदार बनाउनु पर्छ । खेलाडीलाई खेल खेलेर नै भविष्य सुनिश्चित गराउने वातावरण राज्यले निर्माण गर्नुपर्छ । क्यानभित्र पारदर्शिता, जवाफदेहिता कायम गराउनुपर्छ । आन्तरिक लोकतन्त्र सबल बनाउँदै क्रिकेटको विकास र विस्तारमा सबैको ऐक्यबद्धता हुनु जरुरी छ । राजनीतिक हस्तक्षेपबाट टाढा रही आइसिसिले तोकेको मापदण्ड अवलम्बन गरी क्रिकेट संघलाई अगाडी बढाउनु पर्छ । क्यान र खेलाडीबिच उचित तालमेल र समन्वयका माध्यमबाट खेलमा भएका समस्या समाधान गर्न तर्फ लाग्नुपर्छ । राज्यले खेलकुद क्षेत्रको विकासका लागि ऐन, नियम तर्जुमा गरी कार्यान्वयन पक्ष सुदृढ बनाउनु पर्छ । खेलाडीहरुले अनुशासन, नैतिक आचरण र खेलको मूल्य मान्यता परिपालन गर्नुपर्छ । निरन्तर अभ्यास र तालिममा सहभागी भई आफ्नो खेलमा कौशलता देखाउन तत्पर रहनुपर्छ । नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय लगानी भित्र्याई प्रशस्तरूपमा राष्ट्रिय तथा मोफसलका प्रतियोगिता सञ्चालन गर्न सक्नुपर्छ । नेपाली क्रिकेटमा भएका विविध समस्याहरु सल्टाउन सबै सरोकारवाला पक्षको ध्यान जानु जरुरी छ । फिक्सिङ्गविरुद्ध सबै पक्ष लागि ‘से नो टु फिक्सिङ्ग’ अभियान सञ्चालन गर्नु आवश्यक छ । खेलकुदले मनोरञ्जन मात्र दिलाउदैन । यसले राज्यलाई बहुआयामिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको हुन्छ । वैदेशिक सम्बन्धलाई मजबुत बनाउन खेलकुदले महत्वपूर्ण आधार बनाएको हुन्छ । तसर्थ, नेपाली खेल क्षेत्रको विकास र विस्तारमा राज्यको ध्यान जानु आवश्यक छ ।
इमेल : sharmajhalakpkr@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies