काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपप्रधानसहित गृहमन्त्रालय पाउनुपर्ने अडान यथावत राखेको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पूर्वसहमतिअनुसार गृह मन्त्रालयमा आफूहरूको स्वभाविक दाबी भएको निष्कर्ष निकालेको छ । यही निष्कर्ष अनुसार रास्वपाले तत्काल सरकार नछोड्ने बरु पार्टीको निर्णय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राख्ने निर्णय गरेको छ । गृह मन्त्रालय नपाएको झाेंकमा सरकारबाट बाहिरिने चेतावनी दिइरहेका सभापति रवि लामिछानेलाई पार्टीका बहुमत सांसद र केन्द्रीय सदस्यले हतारमा निर्णय गर्न नहुने भनी रोकेका छन् ।
महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार फेरि पनि रास्वपा गृह मन्त्रालयको अडानबाट पछि हट्ने छैन । उनले रास्वपाले गृह मन्त्रालय पाइराख्दा व्यक्ति को पठाउने भन्ने विषयमा पनि पार्टीले निर्णय लिने बताए ।
‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । यो अडानबाट हामी पछाडि हट्दैनौं । र, पार्टीबाट को व्यक्ति पठाउने भन्ने कुरा पार्टीको निर्णयको अधिकार हो । अन्य व्यक्ति वा पार्टीले यो पठाउनुपर्छ भन्ने होइन,’ उनले पत्रकारहरुसँग भने ।
गृह मन्त्रालय पाउँदा सांसद कि गैरसांसद पठाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता ढकालले भने, ‘जब प्रधानमन्त्रीले हाम्रो सभापतिलाई मन्त्रीको लागि नाम पठाउनुस् भन्नुहुन्छ । त्यसपछि पार्टी बैठक बस्छ र निर्णय गर्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए । तर, नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि उनी उपप्रधान तथा गृहमन्त्रीबाट पनि पदमुक्त भए । लगत्तै नागरिकता लिएका लामिछानेले फेरि उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहन्छन् ।
यो चाहना पार्टीको बैठकमा पार्टी सभापति रवि लामिछानेले व्यक्त गर्दा रास्वपाका अन्य सांसदहरुले गृहमन्त्रालय लिने प्रयास अधिकत्तम गर्नुपर्ने तर, यसैलाई देखाएर सरकारबाट बाहिरिने निर्णय लिनु उपयुक्त नहुने बताएका छन् ।
रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की अहिले सरकारबाट बाहिरिँदा भागबन्डा नमिलेर हिँडेजस्तो सन्देश जाने हुँदा यसबारे थप छलफल गरेर निर्णय गर्ने कुरा भएको बताउँछन् । उनका अनुसार सरकार छाड्ने कि नछाड्ने भनेर थप छलफल गर्नुपर्नेमा सबैको साझा धारणा बनेको छ ।
‘हामी अहिले नै सरकारबाट बाहिरिँदा नराम्रो सन्देश जान्छ । भागबन्डा नमिलेर हिँडेजस्तो हुन्छ,’ उनले भने, ‘मन्त्रीहरूको काम राम्रो हो कि नराम्रो हो भनेर अहिले नै भन्न सकिएको छैन । तर जनताले सोचेजस्तो भएको छैन । त्यसैले अझै छलफल गरौं भन्नेमा सबैको धारणा छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies