एजेन्सी : जर्मनीको ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा छ जनाको मृत्यु भएको छ । गोलीकाण्डमा परी थुप्रै घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले केही घाइतेहरूलाई अस्पताल लगिएको बताएको छ । घाइतेहरूको संख्या र उनीहरूको अवस्थाबारे विवरण सार्वजनिक भएका छैनन् ।
इसाई धर्माबलम्बीको कार्यक्रम चलिरहेको ‘जहोभस विटनेस बैठक हल’मा बन्दुक आक्रमण भएको हो । अहिलेसम्म आक्रमणकारीको पहिचान भएको छैन भने आक्रमणको उद्देश्य पनि खुलेको छैन ।
ज्यान गुमाउनेमा आक्रमणकारी पनि हुनसक्ने अनुमान गरिएको छ । ह्याम्बर्गकै अर्को स्थान ग्रस ब्रोस्टलमा भएको गोली प्रहारमा पनि केही मानिसहरू घाइते भएका छन् ।
प्रहरीले स्थानीय क्षेत्रमा मानिसहरूलाई प्रहरी कारबाही नसकिएसम्म घरबाट बाहिर ननिस्किन भनेको छ ।
ह्याम्बर्गका आन्तरिक मामिला मन्त्री एन्डी ग्रोटले प्रहरीको विशेष फौज र ठूलो संख्यामा अधिकारीहरू घटनास्थलमा परिचालन गरिएको बताएका छन् ।
प्रहरीले सर्वसाधारणलाई घटनाको अनुमानबारे सार्वजनिक अभिव्यक्ति नदिन र हल्ला नफैलाउन अपिल गरेको छ । जहोभस विटनेस’ इसाई धार्मिक अभियानकर्मीहरू हुन् ।
न्यूयोर्कमा मुख्यालय रहेको यो अभियानको स्थापना १९औँ शताब्दीको अन्त्यतिर अमेरिकामा भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies