तनहुँः तनहुँको व्यास नगरपालिका–५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्छिन् ।
बिहान १० बजे नै आश्रममा पुगिसक्ने उनी त्यहाँ पुगेर गीत गाउने, सुखदुःखका कुरा गर्ने, नाच्ने काममा लाग्छिन् । घरमा एक्लै बस्नुभन्दा आश्रममा पुगेर दिन कटाउने उनको दैनिकी बनिसकेको छ । ‘घरमा एक्लै बस्दा दिन काट्न गाह्रो, बरु आश्रममा गएपछि मन भुलाउने ठाउँ पनि भएको छ, दिन कटेको पत्तै हुँदैन’, उनले भनिन् ।
छोराबुहारी कार्यालयको काममा गएपछि घरमा एक्लै बस्दा न्यास्रो लाग्ने भएकाले वाग्लेजस्तै अन्य ज्येष्ठ नागरिक दिवाकालीन आश्रममा पुग्ने गर्छन् । स्थानीय ६५ वर्षीया नारायणी वाग्ले पनि दिवाकालीन आश्रममा नियमित जान्छिन् । ‘दिवाकालीन आश्रम दिन बिताउने ठाउँमात्र होइन, सुखदुःखका गफ गर्ने चौतारी बनेको छ’, उनले भनिन् ।
स्थानीय ९१ वर्षीय मानसिं दर्लामी पनि नियमित दिवाकालीन आश्रममा आउँछिन् । ‘घरमा बस्यो अल्छी लाग्छ, न्यास्रो लाग्छ, बरु आश्रममा आउन थालेदेखि आनन्द महसुस हुन थालेको छ’, उनले भनिन् । उनीहरुका अतिरिक्त यहाँ दैनिक ५० जना ज्येष्ठ नागरिक आउँछन् । बिहान १० बजेदेखि ३ बजेसम्म दिवाकालीन आश्रम सञ्चालन गरिएको छ । दिउँसोका समयमा ज्येष्ठ नागरिकलाई भुलाउने ठाउँ बनाउने उद्देश्यसहित दिवाकालीन आश्रम सञ्चालन गरिएको सङ्कीर्तन समूहका अध्यक्ष विष्णु गौतमले जानकारी दिए ।
‘कोही कोही ज्येष्ठ नागरिक त नातिनातिनीलाई पनि लिएर आउनुहुन्छ, घरमा बस्दा उहाँहरुलाई दिन कटाउन गाह्रो हुने भएपछि दिवाकालीन आश्रम सञ्चालनमा ल्याएका हौँ’, उनले भने । दिवाकालीन आश्रममा आउने ज्येष्ठ नागरिकलाई आश्रमले नै दिवा खाजाको व्यवस्था गरेको छ ।
दिवाकालीन आश्रम हप्ताको छ दिन सञ्चालन हुने र आइतबार बन्द हुन्छ । ‘शनिबार र चाडपर्वका दिनमा झन बढी ज्येष्ठ नागरिकको आगमन हुन्छ, भजनकीर्तनका लागि वडाभित्रकै टाढा टाढाबाट समूह पनि आउँछन्’, उनले भने ।
ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने, एकापसमा भलाकुसारी गर्ने गरी सङ्कीर्तन समूहले दिवाकालीन आश्रम निर्माण गरेको थियो । विभिन्न कारणले बाबुआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित पञ्चायन मन्दिर, चौतारालगायतका ठाउँमा जम्मा भएर दिन कटाउन बाध्य भएका थिए ।
‘दिउँसोको समयमा ज्येष्ठ नागरिकलाई दिन कटाउन गाह्रो हुँदै गएको महसुस गर्यौँ, यसकारण उहाँहरु अन्यत्र ठाउँमा गएर दिन कटाउन थाल्नुभयो, त्यसैलाई मध्यनजर गरेर वडाभित्रै दिवाकालीन आश्रम निर्माण गरेका हौँ’, उनले भने । उनका अनुसार यहाँका ज्येष्ठ नागरिक २०–२५ मिनेट पैदल हिँडेरै राजमार्गको बाटो हुँदै सदरमुकाम जाने गर्दथे ।
वृद्धवृद्धाको सम्मान र अभिरुचिअनुरुप जीवन बिताउनका लागि ज्येष्ठ नागरिकलाई आश्रममा विभिन्न सङ्गीतका सामान उपलब्ध गराइएको छ । ‘वृद्धवृद्धा दैनिक आएर विभिन्न भजनकीर्तन गर्ने, गाउने, बजाउने गर्नुहुन्छ’, उनले भने । आश्रममा विभिन्न व्यक्तित्वले जन्मोत्सवको अवसरमा आएर सहयोग गर्ने गरेका छन् ।
सङ्कीर्तन समूहले वि.सं. २०७२ सालदेखि कृष्णअष्टमीको अवसर पारेर कृष्णझुला कार्यक्रम गर्दै आएको थियो । उक्त कार्यक्रममा भक्तजनबाट सङ्कलन भएको दान रकम, देउसीभैलो खेलेर सङ्कलन गरेको रकम र अन्य दानवीरको सहयोगबाट आश्रमको दुई तल्लाको भवन निर्माण गरिएको समूहका सचिव शरण खनालले बताए ।
उनका अनुसार भवन निर्माणका लागि रु. ३५ लाख खर्च भएको छ । ‘प्रत्येक वर्ष देउसीभैलो खेलेर रकम जम्मा गरेका थियौँ, वडा कार्यालयबाट पनि केही सहयोग भएपछि भवन निर्माण सम्पन्न गर्न सक्यौँ’, उनले भने । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies