१४ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि देशभरका क्याम्पसहरुमा उम्मेद्वारहरुको नामावली प्रकाशन भएको छ । सोमबार नामावली प्रकाशन भएका उम्मेद्वारहरुबीच आगामी ५ चैतमा चुनाव हुनेछ । चुनावबाट निर्वाचित नेतृत्वले क्याम्पस प्रशासनसँगको सहकार्यमा शैक्षिक गतिविधिमा सहभागिता जनाउनेछ । त्यसका लागि देशभरका त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा चुनाव हुँदैछ । त्रिवि प्रशासनका अनुसार, यो चुनावमा एक लाख ६३ हजार बढी विद्यार्थीले मतदान गर्नेछन् । उपत्यकाभित्र मात्रै २१ क्याम्पसमा ६६ हजार र उपत्यका बाहिरका क्याम्पसमा ९६ हजार विद्यार्थी छन् । सवैभन्दा धेरै विद्यार्थी पोखराको पृथ्वीनारायण (पीएन) बहुमुखी क्याम्पसमा विद्यार्थी छन् । पीएनमा १० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्यसपछि राजधानी उपत्यकाका क्याम्पसहरुमा धेरै विद्यार्थी छन् ।
यसपटक स्ववियु जित्न विद्यार्थी संगठनहरुबीच कतिपय क्याम्पस गठबन्धन बनेको छ । विशेषगरी अहिलेका सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले साझा उम्मेद्वार उठाएका छन् र अझैपनि साझा उम्मेद्वारी दिने प्रयत्न गरिरहेका छन् । सहमति जुटेका क्याम्पसहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायत सत्ता गठबन्धनमा आवद्ध दश दल निकट विद्यार्थीहरुबीच साझा उम्मेद्वारी कायम हुन सक्छ । यसबाहेक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुसँग पनि सत्तारुढ निकट विद्यार्थीहरुको कतिपय ठाउँमा साझा उम्मेद्वारीको सहमति जुटेको छ । जसरी उम्मेद्वारी दिएपनि अबको केही दिनभित्रै क्याम्पसहरुमा आधिकारिक विद्यार्थी नेतृत्व चयन हुनेछ ।
नेतृत्व हत्याउन अहिले विद्यार्थी नेताहरुको दौडधुप बढेको छ । कतिपय क्याम्पसमा अमर्यादित गतिविधि समेत देखिएको छ । चुनावी प्रतिस्पर्धामा गतिविधि बढ्नु र नेतृत्व हत्याउने प्रयत्न देखिनु स्वभाविक नै हो । अझ चुनाव नै नहुने पृष्ठभूमि हेर्दा स्ववियु चुनाव आफैमा सफलता हो । तर मर्यादित गतिविधिबाट नेतृत्व हत्याउने प्रयत्न निन्दनीय कुरा हो । किनकि यो चुनाव अरु संघसंगठन वा आमचुनाव जस्तो होइन । यसका मतदाता सचेत हुन्छन् । मुलुकको संभावित नेतृत्व जन्माउने चुनावका रुपमा पनि स्ववियु चुनावलाई हेरिने गर्छ । त्यसैले हिंसात्मक गतिविधि सर्वथा अनुचित हो । त्यसतर्फ आवश्यक ध्यान दिन आवश्यक छ । सचेत मतदाता र मुलुककै नेता जन्माउने यो चुनावले आगामी राजनीतिको समेत संकेत गर्छ । तसर्थ, सचेत विद्यार्थी पंक्ति, क्याम्पस प्रशासन र सरकारले सोही बमोजिमको बातावरण सिर्जना गर्न आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies