–बिदुर दाहाल
गाउँ बस्ती दिनप्रति दिन रित्तिदै छन् । गाउँ बस्तिले मानिसलाई सहर बजारमा धकेली रहेको छ । गाउँ बस्तिमा अवसर छैन; सकेसम्म छिटो गाउँ छोड भनेर उक्साउँदै छ । शिक्षा, स्वास्थ्य, रोजगारी तथा गुणस्तरीय जीवनको खोजीमा मानिस भौतारिरहेका छन् । जसका कारण केही दशकसम्म भरिभराउ गाउँ बस्ती सुनसान बनेका छन् । ति बुढाबुढीको आश्रयस्थल बनेका छन् । युवा शक्तिबिहीन बन्दै छन् ।
लेखको आसय ग्रामीण बस्ती खाली हुँदै जाउन भन्ने कदापी होइन तर, पुरातन ग्रामीण बस्ती रूपान्तरण होस् भन्ने तिब्र आशा र अभिलाश भने पक्कै छ । गाउँ बस्ती रित्तिनु केही कोणबाट गलत भए पनि भविष्यका लागि एउटा अवसर हुनसक्छ ।
मानिसहरुले गाउँ छाड्दै गर्दा, भविष्यका लागि जग्गा चक्लाबन्दी गर्न सहज हुने । चाहेअनुसार आधुनिक तथा औद्योगिक खेती प्रणाली शुरु गर्न सकिनेछ । भविष्यमा चाहेका ठाउँमा नयाँ र एकीकृत बस्ती निर्माण गर्न पनि सकिने । जुन अहिले निकै असहज छ ।
राज्यका सेवा सुबिधा छर्नु नपर्ने हुँदा राज्यले दीर्घकालीन लाभ लिन सक्ने अवस्था पनि छ । जसको कारण द्रुत विकास हुने अवस्था पनि हुन्छ ।
पर्यावरण सन्तुलन हुने तथा वनजङ्गल जन्य पदार्थमा आत्मनिर्भर हुने अवस्था पनि आउनेछ । जसबाट मुलुकले बेग्लै फाइदा उठाउन सक्छ । व्यक्तिको नाममा वनजंगल हुँदा आज जुन खालको समस्या छ, त्यो पनि आगामी समय दुर हुनेछ ।
आज समाज पुरातनवादी सोच र संस्कारले ग्रस्त छ । जातिय, धार्मिकलगायतका विभेदहरु चरम अवस्थामा छन् । यस्तोमा सहरीकरणको प्रभाव समाजको संरचना नै बेग्लै हुनेछ । जहाँ विभेदका विभिन्न श्रृंखलाहरु सहजै तोडिनेछन् ।
वास्तवमा अँध्यारो औंशीको रातमा पनि चन्द्रमाको चाँदी घेरा देखिन्छ । त्यसले उज्यालोको संकेल गर्छ भने झैँ नचाहाँदा नचाहाँदै ग्रामीण बस्ती रित्तिदै छन् । यो रोकिने देखिएन । बरु यो क्रम अझ तिब्र हुने देखिन्छ । पातला र छिरलिएका बस्ती पुरै निर्जन बन्ने अवस्था पनि देखिँदैछ । यसो भएमा नयाँ ढंगबाट बस्ती निर्माण भइ नयाँ मूल्य मान्यतासहितको समाज निर्माण हुने अवसर पनि मिल्नेछ । समाज विकास र परिवर्तनको लागि यो एउटा अवसर हुनसक्छ । विनाशपछि पनि विकास हुन्छ भनेको यस्तै होला कि ? ग्रामीण बस्ती रित्तिने विषय तत्कालका लागि सुखद होइन, तर यसले दीर्घकालमा सामाजिक संरचनालाई नयाँ ढंगबाट व्यवस्थित गर्न भने मद्दत गर्नेछ । बस्तीहरु सहर केन्द्रीत हुँदा एकातिर विकास दु्रत हुनेछ भने अर्कोतिर ग्रामीण भेगलाई योजनाबद्ध हिसाबले उत्पादनमूलक क्षेत्रमा एकीकृत ढंगले अगाडि बढाउन सकिनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies