–त्रिपुरा खरेल
आज ! तिमी जन्मेको दिन
यसपालि मैले तिम्रो जन्मदिन मनाइन
समयले तिमीलाई यो धर्तीमा फाल्दा
थोरै समयको लागि कतैबाट
पैँचो मागेर ल्याएका तिम्रा दिनहरूले
तिमीलाई ब्याजसँगै लिएर गएपछि
मलाई तिम्रो जन्मदिनको रहर भएन
मेरा दृष्टिले तिमीलाई खोज्दै लाँदा
दृश्यमा तिमी ओझेल परिछौ
तिमीले हिँडेको बाटो घरिघरि नियाल्छु
अन्त्यहीन बाटोलाई चोट लागेर
थिलथिलो अवस्थामा पनि बौरिएको देख्छु
तिमीले सास फेर्ने गरेको हावालाई
प्रदुषणमा पनि बाँचेको पाउँछु
तिमीलाई न्यानो दिने घामलाई
आकाशमा उस्तै देदीप्यमान देख्छु
चन्द्र ताराहरूलाई आँखाले भ्याएसम्म हेर्छु
तिनीहरूले प्राणीलाई गिज्याएझैँ लाग्छ
मर्ने दायरामा श्वासप्रश्वास लिने पर्दारहेछन्
त्यसैले होला रुखहरू दिनहुँजसो मारिन्छन्
शिकारी काल दिनौँ विचरण गर्न छोड्दैन
काल किन मर्दैन ? लाग्छ त्यो पनि मर्नु नि
अर्कालाई मार्नेहरूको ठूलो छाती देख्छु
आमा ! तिमीलाई समयले खाएको दिनदेखि
जन्मिएर बास बसेका तिम्रा दिनहरू
अब मलाई मनपर्न छोडे
तिमी बिदा भएको त्यो दिन
तिमीले सांसारिकता त्यागेको दिन
तिम्रो उन्मुक्ति दिवस पनि हो
त्यसैले आमा ! मैले तिम्रो जन्मदिन मनाइन
बरु तिमीले धर्ती त्यागेको अविस्मरणीय दिनमा
अब म तिम्रो मृत्यु दिवस मनाउने छु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies